विकासन्युज

व्यापारीसँग सेटिङ मिलाएर भ्रष्टाचार, एकै पालिकाका आधा दर्जन कर्मचारी मुछिए

काठमाडौं । महोत्तरीको औरही नगरपालिकामा खानेपानी तथा सिँचाइ सामग्री खरिदका क्रममा व्यापक अनियमितता र भ्रष्टाचार भएको खुलेको छ । कागजी मिलेमतो गरी सार्वजनिक कोषको हानि–नोक्सानी पु¥याएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा अभियोग पत्र दायर गरेको छ ।  आयोगका अनुसन्धान अधिकृत पुण्यराम सुलुको प्रतिवेदनका आधारमा दायर मुद्दामा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित ६ जना राष्ट्रसेवक कर्मचारी, ५ वटा आपूर्तिकर्ता फर्म र तिनका सञ्चालकसमेत गरी कुल १६ जना र फर्महरूलाई प्रतिवादी बनाइएको छ ।  आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित नगरभित्र खानेपानी तथा सिँचाइ कार्यक्रम अन्तर्गत मालसामान खरिद गर्दा गैरकानुनी लाभ–हानि पु¥याएको अख्तियारको निष्कर्ष छ ।  सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ (२) बमोजिम मालसामान खरिद गर्दा बजार दररेट र ढुवानी खर्चका आधारमा लागत अनुमान तयार गर्नुपर्नेमा, निर्माण कार्यमा मात्र जोडिने १५ प्रतिशत ठेकेदार ओभरहेडलाई विद्युतीय मोटर, ह्याण्डपम्प र पाइप खरिदको लागतमा बदनियतपूर्वक समावेश गरिएको भेटिएको हो । सोही ओभरहेडका आधारमा अस्वाभाविक रूपमा बजेट स्वीकृत गराई सरकारी कोषबाट बढी भुक्तानी दिइएको अभियोगपत्रमा उल्लेख छ । नगरपालिकाले सो आ.व. मा बोलपत्र, सिलबन्दी दरभाउपत्र र सोझै खरिदका विभिन्न ५ चरणमार्फत क्वालिटी सोलुसन, जैसवाल निर्माण सेवा, श्री राम इन्टरप्राइजेज, लीला आयरा स्टोर्स र डि.एम. जेनरल अर्डर सप्लायर्सबाट सिँचाइ मोटर, ह्याण्डपम्प तथा ट्युबवेल खरिद गरेको थियो ।  अनुसन्धानका क्रममा नगरपालिकाले सङ्घीय विशेष अनुदानको १ करोड रुपैयाँ बजेटबाट कुल ८२० थान ह्याण्डपम्प खरिद गरी सबै वितरण भइसकेको दाबी गरे पनि प्राविधिक एवम् कागजी छानबिनबाट गम्भीर बदमासी पुष्टि भएको छ ।  अध्ययनअनुसार ६७६ थान मात्रै वास्तविक वितरण भएको, ५८ थानमा दोहोरो भरपाई देखाइएको र खरिदै नभएका २०२ थान ह्याण्डपम्प कागजी रूपमा स्टोर दाखिला गरी १५ लाख ६३ हजार ५८१ रुपैयाँ (मू.अ.कर सहित) अस्वाभाविक भुक्तानी दिएर सार्वजनिक सम्पत्ति गायब पारिएको छ ।  यसका साथै, ओभरहेड बापत क्वालिटी सोलुसनलाई ६ लाख ३० हजार, जैसवाल निर्माण सेवालाई ६ लाख २७ हजार ९८५, श्री राम इन्टरप्राइजेजलाई रु. १ लाख ९४ हजार ८६४, लीला आयरा स्टोर्सलाई रु. १ लाख ११ हजार ४४२ र डि.एम. जेनरललाई १ लाख १० हजार २२९ रुपैयाँ भ्याट बाहेक बढी भुक्तानी दिएको पाइएको छ । प्रतिवादी बनाइएका कर्मचारीहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र, इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन जिन्सी प्रमुख शिव शंकर यादव, योजना प्रमुख गंगाराम यादव, सब–इन्जिनियर बिपिन कुमार मण्डल र लेखापाल बिजय कुमार यादव रहेका छन् ।  त्यस्तै, आपूर्तिकर्ता फर्म र तिनका प्रोप्राइटरहरू लीला आयरा स्टोर्सका बिनय कुमार यादव, डि.एम. जेनरलका दुधनाथ कुमर, श्री राम इन्टरप्राइजेजका अमर नाथ कुमर, जैसवाल निर्माण सेवाका राम बाबु चौधरी र क्वालिटी सोलुसनका प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध मुद्दा चलाइएको छ । छानबिनबाट श्री राम इन्टरप्राइजेज र डि.एम. जेनरलका प्रोप्राइटरहरू दाजुभाइ नाता पर्ने र आपसमा दररेट घटबढ गराई बदमासी गरेको भेटिएको उल्लेख छ । आयोग समक्ष बयान दिने क्रममा आरोपी कर्मचारीहरूले कार्यपालिकाको निर्णय र स्वीकृत मापदण्डअनुसार नै खरिद कार्य गरिएको दाबी गर्दै बचाउ गरेका छन् भने विभिन्न वडाका वडाध्यक्षहरू र उपप्रमुख रेणु झाले नागरिकताका आधारमा विपन्न परिवारलाई चापाकल वितरण गरिएको र जडान खर्च सम्बन्धित व्यक्ति आफैँले व्यहोरेको बयान दिएका छन् ।  पर्याप्त प्रमाणका आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार कसुरदारहरूबाट बिगो असुलउपर गरी कडा कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गराएको छ ।

नामी भिगो ई२ सार्वजनिक, ३५.९९ लाख रुपैयाँमा पाइने

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो अवधिभरका लागि यसको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार नाडा अटो शो सकिएपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । थप प्रिमियम सुविधा चाहने ग्राहकले ८ लाख रुपैयाँ थपेर भिगो ई२ प्लस संस्करण रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर–१८ टायरलगायत अतिरिक्त सुविधा उपलब्ध छन् । गाडी सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्त सहभागी थिए । कार्यक्रममा अध्यक्ष अग्रवालले नयाँ राष्ट्रिय बजेटपछि विद्युतीय सवारीमा आएको सकारात्मक प्रभावलाई ग्राहकसम्म पुर्‍याउने उद्देश्यले भिगो ई२ को मूल्य पुनःसमायोजन गरिएको बताए । उनले कम मूल्यमा पनि फुल एसयूभीको स्पेस, क्षमता र ड्राइभिङ अनुभवमा कुनै सम्झौता नगरिएको दाबी गरे । कम्पनीका अनुसार भिगो ई२ दैनिक सहरी आवतजावतदेखि पारिवारिक तथा लामो दूरीको यात्रालाई लक्षित गरेर तयार गरिएको फुल एसयूभी हो । यसमा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन, २ हजार ७१५ एमएम ह्विलबेस र ५७२ लिटर बुट स्पेस उपलब्ध छ । फिचर्सतर्फ भिगो ई२ मा हिटेड र भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ’ टेलगेट र डीजेआई–सञ्चालित एडास प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ । पर्फर्मेन्सका हिसाबले यसमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एक पटकको चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ । एमएडब्लू वृद्धि मोटर्सका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी ब्रान्डका गाडी सञ्चालनमा छन् । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीजस्ता विभिन्न भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको कम्पनीको दाबी छ । ग्राहकले एमएडब्लू वृद्धि मोटर्सका शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलबाट भिगो ई२ को टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य २६० रुपैयाँले बढी ४ हजार ८५५ रुपैयाँमा काराेबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ५१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत वर्षको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

साना किसान विकास लघुवित्तको सञ्चालकमा भुसाल र शर्मा नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ सञ्चालकहरू नियुक्त भएका छन् । वित्तीय संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको ९४ औँ बैठकले संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दीपेन्द्र राज काफ्लेको सट्टामा लेखनाथ भुसाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भुसालले भदौ ४ गते नै सञ्चालक पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । यस्तै, संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा काठमाडौं मीनभवन निवासी सृजना शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । संस्थाले सोबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ । 

१२ महिना नै पर्यटनको सिजन

नेपालको पर्यटन क्षेत्रलाई सम्भावना बोकेको उद्योगको रूपमा लिइन्छ । तराईका फाँटदेखि हिमालसम्मका भागलाई पर्यटनको स्रोत मानिन्छ । प्राकृतिक स्रोतसाधनको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँका प्राकृतिक दृश्य तथा सांस्कृतिक धरोहर देखाएर नेपालले मनग्य आम्दानी गर्न सक्छ । सँगसँगै विदेशी पर्यटकलाई नेपालसम्म ल्याउन सम्भावना र चुनौती उत्तिकै देखिँदै आएको छ । ट्राभल एण्ड टुरको क्षेत्रमा व्यवसायीले पनि समस्या भोगिरहेका छन् । ट्राभल एशोसिएसनले पर्यटनको सम्भाव्यताको क्षेत्र र यस क्षेत्रले भाेगेका चुनौती लगायत विषयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेसँग विकासन्युजकर्मी अतिन आचार्यले कुराकानी गरेका छन् ।  भर्खरै नाट्टाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । यो जितलाई कसरी लिनुभएको छ ?  यो हामी सबैको जित हो। अब गर्नुपर्ने धेरै काम छन् । नेपालको पर्यटन क्षेत्रमा लुकेका तथा अझै अगाडि आउन नसकेका सम्भावनालाई उजागर गर्दै काम गर्नुपर्नेछ । यो कुनै व्यक्तिको मात्र जित नभएर समग्र संस्था र नाट्टाको जित हो भन्ने महसुस गरेको छु । निर्वाचनका क्रममा तपाईंले विभिन्न एजेन्डा अघि सार्नुभएको थियो । ती एजेन्डा कार्यान्वयन गर्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? हामीसँग ट्रान्सपोर्टेसन, टिकटिङलगायत विभिन्न क्षेत्रका साथीहरू आबद्ध हुनुहुन्छ। यस निर्वाचनले टुर अपरेटरहरूसँग पनि सँगसँगै काम गर्ने वातावरण बनाएको छ । पर्यटनका विविध क्षेत्रमा काम गरेका साथीहरूको सहभागिता छ । मेरो अहिलेको प्राथमिकता ‘क्लिन एन्ड ग्रीन’ अर्थात् ‘स्वच्छ तथा हरित’ परियोजना हो । यो मेरो परिकल्पना हो र पहिलो बैठकमै यसलाई अघि बढाउनेछु । नेपालका डाँडाकाँडा, भीरपाखा र बाटाघाटा प्लास्टिकका र्‍यापर तथा पानीका बोतलले ढाकिएका छन् । यस्ता वस्तु नभएको ठाउँ भेट्टाउनै मुस्किल छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा प्राथमिक तहदेखि विद्यालय, समुदाय र सामाजिक सञ्जालसम्म पुगेर सचेतना अभियान सञ्चालन गर्नुपर्छ । यी सबै प्रयासलाई एकीकृत गरेर व्यापक अभियानका रूपमा अघि बढाउन चाहन्छु । यसबाट भविष्यमा वातावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ। साथै, विदेशबाट नेपाल आउने पर्यटकले ‘नेपाल साँच्चिकै सफा र स्वच्छ रहेछ’ भन्ने सकारात्मक सन्देश लिएर फर्किऊन् भन्ने मेरो सोच हो । ‘क्लिन एन्ड ग्रीन’ परियोजनाको अवधारणा कसरी आयो ? म आफै फोटोग्राफी पनि गर्छु । यात्राका क्रममा धेरै ठाउँमा पुग्ने गरेको छु । मसँग हजारौं तस्बिर छन्, जसमा विभिन्न ठाउँमा थुप्रिएको फोहोर पनि देखिन्छ । पर्यटकहरू कुनै ठाउँमा यात्रा गर्दा धेरै अपेक्षा र योजना बनाएर गएका हुन्छन् । तर आफूले खोजेको र हेर्न चाहेको कुरा नपाउँदा उनीहरू निराश हुन्छन् । सफा ठाउँबाट आएका विदेशी पर्यटकले नेपालमा फोहोर देख्दा कस्तो महसुस गर्लान् भन्ने कुराले मलाई प्रभाव पारेको हो । हामीले वातावरण सफा र हरियाली बनाउन सक्यौं भने पर्यटकलाई प्रकृतिसँग अझ नजिक जोड्न सक्छौँ भन्ने लागेर यो अवधारणा अघि सारेको हुँ । अब संस्थाको कुरा गरौं । नाट्टाप्रति सदस्यहरूको केही निराशा देखिएको र कतिपयले सदस्यता नवीकरण नगरेको सुनिन्छ । संस्था छाडेर गएकाहरूलाई फर्काउन के योजना छ  ? नाट्टाले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरिरहेकै हुन्छ । तर, यसमा मुख्य कुरा ‘फेलोसिप’ हो । टिम बिल्डिङ र सदस्यहरूको सहभागिता महत्त्वपूर्ण हुन्छ। मानिसले संस्थामा आफ्नो अस्तित्व खोज्छ । म सदस्य भइरहँदा संस्थाभित्र मेरो भूमिका के हो भन्ने महसुस गर्न पाउनुपर्छ । सामाजिक कार्य, सरसफाइ, डोनेसन कार्यक्रम वा सीएसआरजस्ता गतिविधिमा सदस्यहरूलाई सहभागी गराउन सकियो भने उनीहरूको उत्साह बढ्छ । नाट्टाले गर्ने नियमित कामसँगै सदस्यहरूलाई आफ्नो सहभागिता र भूमिका महसुस गराउन सक्नुपर्छ । विभिन्न तरिकाबाट सदस्यलाई संस्थाप्रति अपनत्व महसुस गराउन आवश्यक छ ।  पछिल्लो समय मुलुकमा पर्यटकको संख्या घटेको र आम्दानी हुन नसकेको व्यवसायीहरूको गुनासो छ। यस्ता समस्या समाधान गर्न तपाईंको भूमिका कस्तो हुन्छ ? सबैभन्दा पहिलो कुरा पूर्वाधारको हो । वर्षायाममा बाटाघाटा बन्द हुन्छन् । तर अहिले यातायातका अन्य धेरै विकल्प पनि निर्माण भइसकेका छन् । अर्को कुरा, हामीले मौसमी मार्केटिङ गरिरहेका छौं । अब भने बाह्रै महिना पर्यटनको सिजन हो भन्ने अवधारणासहित मार्केटिङ गर्नुपर्छ । हामी ‘सिजन’ भनेर बसिरहेका छौं । अब ‘सिजन’ भन्ने शब्द त्यागेर १२ महिना नै पर्यटनको सिजन हो भन्ने मान्यताका साथ अघि बढ्नुपर्छ । यसका लागि आवश्यक तयारी र पूर्वाधारबारे अध्ययन गर्नुपर्छ । नेपाल हिमाल मात्र होइन, यहाँ ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता पनि छ भन्ने कुरा विश्वलाई बुझाउनुपर्छ । अन्तर्राष्ट्रिय मार्केटिङ अभियानमा हाम्रो भूमिका अझ प्रभावकारी हुनुपर्छ । पर्यटन क्षेत्रमा रोजगारी व्यापक रूपमा बढाउन के गर्नुपर्ला ? नाट्टाले व्यापक रूपमा हस्पिटालिटी क्षेत्रमा तालिम दिनेछ । अब काठमाडौंकेन्द्रित नभई प्रदेशगत रूपमा त्यहाँका संघ–संस्थासँग आबद्ध भएर सीपमूलक तालिम प्रदान गर्नेछौं । हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित जनशक्तिको सीप विकाससँगै अहिले भइरहेका रोजगारीलाई कसरी स्थिर र दिगो बनाउने भन्ने विषयमा पनि काम गर्छौँ । रोजगारीलाई टिकाउने र थप माथि लैजाने विषयमा अध्ययन गरेर अघि बढ्नेछौं । पर्यटन क्षेत्रमा काम गरिरहेका व्यवसायीका लागि कानुनी जटिलता कत्तिको छ ?  मेरो अनुभवमा कानुनले हामीलाई धेरै अप्ठ्यारो पारेको छैन । हामी सधैं कानुनको दायराभित्र रहेर काम गरिरहेका छौं । हामीसँग भएका स्रोत र सम्भावनालाई प्रयोग गरेर अधिकतम फाइदा लिनुपर्छ । हामीजस्ता पर्यटन व्यवसायीका लागि राज्यको भूमिका अहिलेसम्म सहज नै छ । अप्ठ्यारो पर्दा राज्यको ढोका ढकढक्याउनुपर्छ । राज्यले हाम्रो सधैं रक्षा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अन्तर्राष्ट्रिय हवाई टिकटमा सिद्धान्तविपरीत जबर्जस्ती भ्याट लगाइएको भन्ने विषय सार्वजनिक भएको छ । यसले हवाई यात्रुलाई कस्तो असर पारेको छ ? यसको समाधान कसरी खोज्नुहुन्छ ?  यी नीतिगत तहका विषय हुन् । यसमा हामीले बुझ्न र आफ्नो धारणा राख्न सक्ने धेरै ठाउँ छन्। भ्याटको सन्दर्भमा हामीभन्दा अघिल्लो कार्यसमितिले पनि धेरै पहल गरेको छ । उहाँहरू पनि यस विषयमा लागिसक्नुभएको छ  । त्यो विषय अहिले कहाँ पुगेको छ, किन अड्किएको छ वा त्यसले सफलता पायो कि पाएन भन्ने विषयमा अध्ययन गरेर अगाडि बढ्छु  । धेरै समस्या नीतिगत तहमा छन्। हामीले ‘समस्या यस्तो छ’ भनेर सरकारसमक्ष कुरा राख्ने र आवश्यक दबाब सिर्जना गर्ने हो । राज्य सधैं पर्यटक र व्यवसायीको हितमा हुनुपर्छ भन्ने हाम्रो माग र मान्यता हो । १३ प्रतिशत करको विकल्पमा के गर्न सकिन्छ भन्नेबारे पनि सोच्नुपर्छ । सरकारी सुविधामा कर लगाउने कि अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा विचार गर्नुपर्ने बेला आएको छ । करका कारण टिकटिङ व्यवसायमा धेरै समस्या भएको छ । वित्तीय कागजातसँग सम्बन्धित विषयमा पनि व्यवसायीहरूले समस्या भोगिरहेका छन् । व्यवसायीको आम्दानी उल्लेख्य रूपमा बढ्न नसक्नुको कारण के होला ?  व्यवसायमा माग र आपूर्तिको कुरा आउँछ । हाम्रोमा आपूर्ति अर्थात् होटल र सेवाहरू धेरै भए । तर माग अर्थात् पर्यटकको संख्या अपेक्षित रूपमा बढेन । यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको छ । १० वर्षअघि जुन दरमा प्याकेज बिक्री हुन्थ्यो, अहिले त्योभन्दा कम दरमा प्याकेज बेच्नुपर्ने अवस्था छ । समयअनुसार मूल्य समायोजन हुन नसक्नु पनि आम्दानी नबढ्नुको एउटा कारण हुन सक्छ । ट्राभल तथा टुर व्यवसायीले कस्ता–कस्ता समस्या भोगिरहेका छन् ?  मुख्य रूपमा टिकटिङ र एभिएसन क्षेत्रमा समस्या छन् । राज्यले भौतिक उपस्थितिमार्फत मात्र सेवा दिएर हुँदैन । अहिलेको डिजिटल युगमा भ्लगर र आईटीको प्रयोग गर्दै अघि बढ्नुपर्छ । नाट्टाले अब तालिम र क्षमता विकासमा व्यापक रूपमा काम गर्छ। हस्पिटालिटी र एभिएसन क्षेत्रमा पनि तालिम सञ्चालन गर्नेछौं ।  नाट्टाको अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै समग्र व्यवसायी तथा पर्यटन क्षेत्रको हितका लागि सरकारसँग कस्तो लबिइङ गर्नुहुन्छ ?  धेरै विषय छन् । उदाहरणका लागि, भारतबाट गाडीहरू आएर नेपालमा टुरिङ गरिरहेका छन् । यसले स्थानीय ट्रान्सपोर्ट कम्पनीलाई समस्या परेको छ । नेपालका गाडी महँगा छन् र विभिन्न कर तिर्नुपर्छ । बोर्डरबाट आउने पर्यटकका लागि न्यूनतम ‘ओभरनाइट स्टे’को मापदण्ड तोकिनुपर्छ । टिकटिङमा कमिसन नहुने अवस्था छ । अनलाइन ट्राभल पोर्टलहरूले स्थानीय व्यवसायको हिस्सा घटाइरहेका छन् । राज्यले रोजगारी सिर्जना र त्यसको स्थायित्वका लागि नीतिगत तहमा काम गर्नुपर्छ । मुख्य रूपमा पर्यटन व्यवसायीले भोगिरहेका समस्याहरू उठान गरेर सरकारसँग समन्वय र लबिइङ गर्नेछौं ।  तपाईंको विचारमा पर्यटन क्षेत्रमा राज्य र निजी क्षेत्रबीचको समन्वय कस्तो हुनुपर्छ ?  सरकारले सबै कुरा बुझेको जस्तो गर्छ, तर ग्राउन्ड लेभलमा के समस्या छ भन्ने पर्याप्त जानकारी नहुन सक्छ । राज्यले निजी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्छ । कर मात्र थोपर्ने होइन, सम्मान पनि दिनुपर्छ । राज्य सधैँ व्यवसायीको पक्षमा हुनुपर्छ। व्यवसायीहरूको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्छ । राज्य सधैँ सहयोगी र नरम हुनुपर्छ। वित्तीय तथा अन्य विविध पक्षमा राज्य व्यवसायीसँगै हुनुपर्छ । निजी क्षेत्रले राज्यबाट पर्याप्त सहयोग र सम्मान पाएको महसुस गरेको छैन । व्यवसायीहरूले सम्मान खोजेका छन् । गल्ती गर्नेलाई सजाय दिनुपर्छ, तर इमानदारीपूर्वक काम गरिरहेका व्यवसायीलाई सम्मान गर्दै राज्य अभिभावकको भूमिकामा रहनुपर्छ । ट्राभल कम्पनी, होटल वा रेस्टुरेन्टका लागि स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्छ र उनीहरूलाई त्यसअनुसार काम गर्न सहयोग गर्नुपर्छ । मापदण्डमा के–के कुरा समेटिएका छन् भन्ने विषयमा पनि स्पष्ट जानकारी दिनुपर्छ । व्यवसायीहरू पनि तोकिएको मापदण्डभन्दा बाहिर जानु हुँदैन । भौगोलिक विविधता भएको मुलुकमा चुनौती पनि प्रशस्तै छन्। यस्तो अवस्थामा नयाँ पर्यटन बजार कसरी खोज्ने  ?  हामी ‘सेलेबल’ हुनुपर्छ । नेपालका लुकेका सम्भावनालाई बाहिर ल्याउनुपर्छ । संसारले कथा खोज्छ । हामीले आफ्नो कथा बुझाउन र सुनाउन सक्नुपर्छ । यहाँको प्रकृतिको कथा विश्वलाई बुझाउनुपर्ने बेला आएको छ । बुद्ध जन्मेको देश, हिमाल र विविध संस्कृतिको कथा हामीले बेच्नुपर्छ । यसका लागि व्यवस्थित दस्तावेजीकरण हुनुपर्छ । दस्तावेजीकरणसँगै सम्बन्धित सबैलाई त्यसबारे जानकारी पनि गराउनुपर्छ । उदाहरणका लागि, कर्णाली प्रदेश, रारा र खप्तडको व्यवस्थित दस्तावेजीकरण गरेर नाट्टाको ‘प्रोपर्टी’का रूपमा विकास गर्न सकिन्छ । स्थानीय तहलाई पूर्ण रूपमा सक्रिय बनाउनुपर्छ। स्थानीय तहमा लुकेका तथा ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई अगाडि ल्याउने समय आएको छ । नेपालको पर्यटन विकासको सबैभन्दा ठूलो बाधक हवाई कनेक्टिभिटीलाई मानिन्छ । यसको समाधान के होला ? पूर्वाधार निर्माण हुनुपर्छ । राज्यले अब बाटोघाटो निर्माणमा ध्यान नदिएसम्म पर्यटन क्षेत्र अघि बढ्न सक्दैन । जबसम्म पूर्वाधार निर्माण हुँदैन, तबसम्म पर्यटक गन्तव्यसम्म सहज रूपमा पुग्न सक्दैनन् । पर्यटक बसका लागि पार्किङको सुविधा हुनुपर्छ । बाटोमा विदेशी पर्यटकका लागि शौचालयको सुविधा छैन । यस्तो अवस्थामा हामीले लक्ष्यअनुसार पर्यटक कसरी भित्र्याउन सक्छौँ ? मुख्य कुरा पूर्वाधार नै हो । हाम्रो मुलुकको आफ्नै किसिमको भौगोलिक विकटता भएकाले पनि पर्यटन विकासका लागि पूर्वाधारको महत्त्व अझ बढी छ । नेपालले पर्यटन प्रवर्द्धनमा खर्च गरेअनुसार प्रतिफल पाउन नसकेको हो ? प्रचार रणनीति कमजोर भएको हो कि यसको वास्तविकता के हो ?  म पर्यटन क्षेत्रमा कसैलाई दोष दिन्नँ । राज्यदेखि व्यवसायीसम्म सबै जना जागरुक हुनुपर्छ । अब डिजिटल तहमा पुगेर प्रचारको विस्तार र दायरा बढाउनुपर्छ । अहिले मानिससँग पढ्ने र सुन्ने धैर्यसमेत कम हुँदै गएको छ । त्यसैले हेर्ने, देखाउने र मनन गर्ने किसिमको सामग्री निर्माण गर्नुपर्छ । पर्यटकलाई लक्षित गरेर डिजिटल माध्यम र सामाजिक सञ्जालको ‘अल्गोरिदम’अनुकूल प्रचार रणनीति बनाएर अघि बढ्नुपर्ने अवस्था आएको छ । अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपाल महँगो गन्तव्य बनिरहेको छ। यसमा नाट्टाको भूमिका कस्तो हुनेछ ?  सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्नेछौं । यसमा करको विषय पनि अवश्य आउँछ । मलाई कर नै मुख्य कारण हो जस्तो लागिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आउने उतारचढाव पनि हवाई भाडा महँगो हुनुको एउटा कारण हो ।  तपाईंको कार्यकाल सकिँदा व्यवसायीहरूले तपाईंलाई के भनेर सम्झिऊन् भन्ने चाहनुहुन्छ ? एउटा त ‘क्लिन एन्ड ग्रीन’ परियोजना सफल भयो भनेर सम्झिऊन् भन्ने चाहन्छु  । मैले यहाँको वातावरणलाई हरियाली र सफा बनाउनुपर्छ । वातावरण सफा बनाउनु भनेको मेरो लागि मात्र होइन, सबैका लागि हो भन्ने मेरो मान्यता हो । अर्को, अहिलेको सदस्य संख्यालाई आधार बनाएर नाट्टाको सदस्य संख्या ५० प्रतिशतले बढाउने मेरो लक्ष्य छ । सातै प्रदेशमा नाट्टालाई सक्रिय बनाउने र व्यावसायिक रूपमा व्यवस्थित दस्तावेजीकरण गर्ने काममा हामी लाग्नेछौं । 

घरभाडामा कर छुट नपाएपछि रविन्द्र मिश्रले अर्थमन्त्रीलाई गरे प्रश्न

काठमाडौं । राजवादी नेताको परिचय बनाएका रविन्द्र मिश्रले घरभाडामा कर छुट नपाएको भन्दै आक्रोश पोखेका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै बजेटमा १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख भए पनि घर भाडा कर बुझाउन जाँदा छुट नदिइएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले घर भाडा मात्र आयस्रोत भएका र अन्य कुनै आयस्रोत नभएका व्यक्तिले समेत कर छुट नपाउने अवस्था रहेको भन्दै प्रश्न उठाएका हुन् । ‘यो वर्षको बजेटले १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख गरेको थियो । तर, घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइयो,’ मिश्रले लेखेका छन् । उनका अनुसार बजेटमा एउटा व्यवस्था उल्लेख गर्ने तर स्थानीय निकायले त्यसको फरक व्याख्या वा अधिकार निर्धारण गर्ने अवस्था देखिएको छ । यसअघि पनि यस्तै समस्या देखिएको उल्लेख गर्दै उनले यसपटक भने सार्वजनिक रूपमा विषय उठाउने निर्णय गरेको बताएका छन् । मिश्रले यस्तो व्यवस्थाले इमानदार करदातालाई ठूलो मर्का पर्न सक्ने भन्दै आवश्यक संशोधन गरेर समस्या समाधान गर्न अर्थमन्त्री वाग्लेसँग आग्रह गरेका छन् । ‘यो त अति भयो अर्थमन्त्रीज्यू । कसरी, के संशोधन गरेर मिलाउनुपर्ने हो, मिलाउनुप¥यो । नत्र धेरै इमानदार करदातालाई ठूलो मर्का पर्ने देखियो,’ उनले भनेका छन् । 

टाटा सियरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । भारतीय अटोमोबाइल बजारमा चर्चित बनेको टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ । कम्पनीले यसलाई आगामी नाडा अटो शो २०२६ मा पहिलोपटक नेपाली बजारका लागि आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।  भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा सियरा ईभी सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सार्वजनिक हुनुअघि नै यो मोडलले नेपाली अटो पारखीमाझ व्यापक उत्सुकता सिर्जना गरिसकेको कम्पनीको दाबी छ ।  कम्पनीका अनुसार सियरा ईभी उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र फ्युचरिस्टिक डिजाइनको संयोजन भएको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो । भारतीय बजारमा बिक्री र बुकिङका नयाँ कीर्तिमान कायम गरेको यो मोडलले नेपाली ईभी बजारमा पनि नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकता ध्यानमा राखेर सियरा ईभी नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका कारण यसले प्रिमियम ड्राइभिङ अनुभव दिने विश्वास कम्पनीको छ ।  कम्पनीले नाडा अटो शोमा सियरा ईभीको स्टल अवलोकन गर्न र गाडीलाई नजिकबाट अनुभव गर्न दर्शकलाई आमन्त्रण गर्दै अटो शोको काउन्टडाउन सुरु भइसकेको जनाएको छ ।

इन्फा अवार्ड्स २०२६ मा ‘ऊनको स्विटर’ को दबदबा, विपिन र नीर शाह बने उत्कृष्ट अभिनेता

काठमाडौं । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स नेपाल-२०२६) काठमाडौंमा भएको छ । जुरी प्यानलका सदस्यहरू हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापाले शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि सुरु भएको समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज तथा लोकप्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।  राष्ट्रिय गान र दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य-दृश्य सामग्री प्रदर्शनपछि मनोरञ्जनात्मक प्रस्तुतिका साथ कार्यक्रम अघि बढेको थियो ।  यस वर्षको अवार्डमा नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्विटर’ सर्वाधिक नौ विधामा विजयी हुँदै सर्वोत्कृष्ट ठहरियो । फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (नवीन चौहान), उत्कृष्ट अभिनेत्री (मिरुना मगर), उत्कृष्ट पाश्र्व गायिका (झुमा लिम्बु- ‘काफ्ले’), उत्कृष्ट पाश्र्व गायक (सुजन चापागाईं- ’फूलहरू’), उत्कृष्ट गीतकार (हर्क साउद - ’फूलहरू’) र उत्कृष्ट पटकथा (नवीन चौहान र सुरज) लगायतका प्रमुख विधामा सफलता हात पारेको छ । मुख्य अभिनय विधामा भने कडा प्रतिस्पर्धाका बीच ‘परान’ बाट नीर शाह र ‘ऊनको स्विटर’ बाट विपिन कार्की संयुक्त रूपमा उत्कृष्ट अभिनेता घोषित भए ।  यस्तै, चरित्र अभिनयतर्फ ‘श्री बुकुरो’ बाट लक्ष्मी गिरी र ‘हर्ष’ बाट सन्तोष पन्त उत्कृष्ट घोषित भए भने सह-अभिनेतातर्फ प्रकाश दाहाल (‘अभिमन्यू’) र सह-अभिनेत्रीतर्फ आँचल शर्मा (‘जेरीः अन टप’) ले अवार्ड जिते । नव-कलाकारतर्फ विमोचन दवाडी (‘झरीपछिको इन्द्रेणी’) र श्यामश्री शेर्पा (‘माइतीघर’) ले सफलता प्राप्त गरे ।  प्राविधिक तथा अन्य विधाहरूमा ‘जेरीः अन टप’ ले छायांकन (निमेष रेग्मी) र सम्पादन (निमेष श्रेष्ठ) मा सफलता पायो। यस्तै ‘द ब्लू लाइट’ ले उत्कृष्ट खलपात्र (श्रृष्टि श्रेष्ठ) र पाश्र्व संगीत (मोहक श्रेष्ठ) को अवार्ड जित्यो। द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ (‘राम नाम सत्य’) र नृत्य निर्देशनमा रामजी लामिछाने (‘मोहर’) पुरस्कृत भए । समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ नगदसहित ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरियो । विशेष विधाहरूमा कविता नेपाल ‘पर्फमर अफ द इयर’, उषा उप्रेती ‘इन्करेजमेन्ट अवार्ड’, जस्सिता गुरुङ ‘लोकप्रिय अभिनेत्री’ र पल शाह ‘लोकप्रिय अभिनेता’ घोषित भए ।  जुरी अवार्डतर्फ अभिनेता सौगात मल्ल (‘सिटामोल’), निर्देशक सुदीप्ता अधिकारी (‘रमिताको पिरती’) र चलचित्र ‘गुन्यु चोलो’ (निर्देशक समुद्र भट्ट) पुरस्कृत भए भने कान फिल्म फेस्टिभलमा सफलता पाएको ‘एलिफेन्टस इन द फग’ लाई विशेष सम्मान गरियो ।  सन्दिप क्षेत्री र ओशिन सिटौलाको ठट्टाउलो सञ्चालन रहेको समारोहमा दीया मास्के, तेरिया मगर, कमेडी दरबारका कलाकार र बाबुल गिरी लगायतको सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।  आयोजकका तर्फबाट बोर्ड निर्देशक आशिष पन्तले आन्तरिक व्यवस्थापन र स्क्रिप्ट लेखनको जिम्मेवारी सम्हालेका थिए भने पाल्देन लामाले धन्यवाद ज्ञापन गर्दै नेपालमा पहिलो पटक आयोजित यो संस्करण सफल भएकोमा खुसी व्यक्त गरे ।