विकासन्युज

सरकारी कर्मचारीले पीआर लिएपछि...

काठमाडौं । मुद्रण विभागले मुद्रण सहायक पदमा कार्यरत किरण वाग्लेलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ । विभागका अनुसार शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) मुद्रण सहायक पदमा कार्यरत वाग्ले स्वीकृत असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रहेका छन् । वाग्लेले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको देखिएको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको विभागको भनाइ छ । यसअघि विभागले उक्त कसुरमा कारबाही किन नगर्ने भन्ने विषयमा उचित आधार र कारणसहित सफाइ पेश गर्न वाग्लेलाई निर्देशन दिएकाे थियो । तर, तोकिएको समयावधिभित्र उनले सफाइ पेश नगरेको विभागले जनाएको छ । अब निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्ने विषयमा वाग्लेलाई स्पष्टीकरण पेश गर्न भनिएको छ । विभागले ३० दिनभित्र स्पष्टीकरण पेश गर्न वाग्लेलाई निर्देशन दिएको हाे । 

आज एकैदिन ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । संघीय संसद् मातहतका विभिन्न ९ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आगामी ८ भदौका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक शुक्रबार बस्ने कार्यतालिका छ । सोही कारण आज एकैपटक विभिन्न संसदीय समितिका बैठक बस्न लागेका हुन् ।  कार्यक्रमअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ । पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजना का सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ । यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गरिनेछ । विधायन व्यवस्थापन समितिको बैठक भने अपराह्न १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ जना संस्थापकले बिक्रीमा राखे सेयर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

नाडा अटो शोका लागि नामी भिगो ई-२ सार्वजनिक, ३५ लाख ९९ हजार तोकियो मूल्य

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी नामी भिगो ई-२ नेपाली बजारमा बिक्री सुरू गरेको छ । ​​​​​​एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र पारिवारिक प्रयोजनका लागि उपयुक्त हुने गरी ‘फुल एसयूभी’ को रूपमा बजारमा ल्याइएको बताए । अग्रवालले नयाँ बजेटमार्फत सरकारले ड्युटी संरचनामा हेरफेर गरेपनि कम्पनीले त्यसको लाभ सिधैं ग्राहकलाई पुर्‍याउने उद्देश्यले विशेष मूल्य निर्धारण गरेको बताए । ‘हाम्रो टोलीबीच ड्युटी हेरफेरबाट आएको भिन्नतालाई कम्पनीको नाफामा राख्ने कि ग्राहकलाई हस्तान्तरण गर्ने भन्ने छलफल भएको थियो । तर हाम्रा मूल्य मान्यता अनुसार हामीले सधैं ग्राहकलाई नै प्राथमिकता दियौँ र विशेष मूल्यमा यो गाडी बजारमा ल्याएका हौं,’ अग्रवालले भने । नामी भिगो ई-२ ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो सक्षमता प्रमाणित गरिसकेको अग्रवालले दाबी गरे ।उनका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटा जस्ता विकट क्षेत्रमा यो गाडी पुगिसकेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लुको यात्रा अहिले नेपालको सबैभन्दा ठुलो अटोमोबाइल समूह बन्न सफल भएको छ ।  डोङ्फेङ नामी अहिले नेपालमा दोस्रो ठुलो चिनियाँ ईभीआयातकर्ता ब्रान्ड बनेको छ, जसका देशभर २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक छन् । विश्वभर ब्याट्रीको अभाव र उच्च मागका कारण गाडी आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभीको प्रयोग ८५ प्रतिशत पुगिसकेको अग्रवालले जानकारी दिए ।  कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै यसको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अटो शोको अवधि सकिएपछि भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।  यसअघि उपलब्ध बेस भेरियन्टभन्दा यो ५ लाख रुपैयाँ सस्तो हो । कम्पनीले भिगोमा रहेको मुनरुफ हटाएर यो नयाँ संस्करण ल्याएकाले मूल्य केही सस्तिएको भए पनि अन्य सम्पूर्ण फिचरहरू यथावत राखिएका छन् ।  नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसले डब्लूएलटीपी अनुसार क्रमशः ३०० र ३५० किलोमिटरसम्मको रेन्ज दिन्छ ।  १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्ने यस गाडीमा न्याभ, रेस्ट र स्नो मोडसहितको एसीका साथै भ्वाइस कन्ट्रोल, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल डिस्प्ले र ३६० डिग्री क्यामेरा दिइएको छ ।  यसका साथै ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका सिटहरूलाई पूर्ण रूपमा बेड बनाउन सकिने सुविधा पनि यसमा समावेश छ । सुरक्षा र सुविधाका हिसाबले यो सेग्मेन्टमै उत्कृष्ट रहेको कम्पनीको दाबी छ । गाडीमा वेलकम र मेमोरी सिट, एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, बाहिरी स्पीकर, एडास लेभल टु, हिटेड र भेन्टिलेटेड ड्राइभर सिट, १८ इन्चको ह्वील र ३५ भन्दा बढी स्थानमा स्टोरेज स्पेस दिइएको छ ।  त्यसैगरी, ६ वटा एयरब्याग, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचरका साथै इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन वटा ड्राइभिङ मोड र तीन वटै स्टेरिङ मोड उपलब्ध गराइएको छ ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अछामका रावल वि.सं. २०६२ माघमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन् । हाल उनी बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । राष्ट्र बैंकमा करिब दुई दशक लामो अनुभव हासिल गरेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनका क्षेत्रमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । केन्द्रीय बैंकभित्र लामो समयदेखि कार्यरत उनी अब मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीको महत्त्वपूर्ण जिम्मेवारीमध्ये एक मानिने डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए । सरकारले यसअघि एक डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको थियो भने अर्को रिक्त पदमा रावललाई नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रीपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ । कानुनी प्रावधानअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने व्यवस्था रहेको छ ।

पार्टी बैठकमै आएनन् प्रधानमन्त्री बालेन, किन बढ्दैछ दूरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ । संसदीय दलको नेता नै बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको कार्यशैली र पार्टीभित्रको समन्वयलाई लिएर टिप्पणी हुन थालेको हो । संसदीय दलको बैठक सामान्यतया दलका नेता, सांसद तथा पार्टी नेतृत्वबीच संसदीय गतिविधि, सरकार सञ्चालन र राजनीतिक विषयमा छलफल गर्ने महत्त्वपूर्ण मञ्च हो । विशेष परिस्थितिबाहेक दलका नेता नै बैठकमा सहभागी हुने र सांसदका धारणा सुन्ने अभ्यास रहँदै आएको छ । तर रास्वपाको बुधबारको संसदीय दलको बैठकमा प्रधानमन्त्री शाह अनुपस्थित रहे। प्रधानमन्त्री शाह पछिल्लो समय प्रतिनिधि सभाको बैठकमा समेत उपस्थित नभएको विषय विपक्षी दलहरूले उठाउँदै आएका छन् । लामो समय संसदमा उपस्थित नभएपछि प्रधानमन्त्री शाहलाई सभामुख डोलप्रसाद अर्यालले सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिन रुलिङ समेत गरिसकेका छन् ।   संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विवाद भइरहेका बेला आफ्नै दलको संसदीय दलको बैठकमा समेत उनी सहभागी नभएपछि उनको अनुपस्थितिले थप राजनीतिक अर्थ पाएको हो । राजनीतिक विश्लेषक तथा अधिवक्ता परशुराम घिमिरेले प्रधानमन्त्रीले संसदमा उपस्थित हुन नचाहेजस्तै आफ्नै दलको बैठकबाट पनि दूरी बनाएको टिप्पणी गरे। उनले यसलाई प्रधानमन्त्री शाहको भगुवा रणनीतिका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा निर्वाचित नेतृत्व सञ्चारमाध्यम, संसद् र आफ्नै राजनीतिक दलसँग निरन्तर संवादमा रहनुपर्ने उनको भनाइ छ । ‘कुनै पनि लोकतान्त्रिक शासक मिडिया र बैठकबाट टाढा बस्न रुचाउनु राम्रो संकेत होइन,’ घिमिरेले भने ।   उनका अनुसार शासक मिडिया र बैठकबाट टाढिँदै जान्छ भने त्यसलाई लोकतान्त्रिक अभ्यासबाट पनि टाढिँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ । घिमिरेले प्रधानमन्त्री शाह रास्वपाका संसदीय दलका नेता भएकाले पार्टीका सांसदसँग प्रत्यक्ष संवाद गर्नु उनको राजनीतिक जिम्मेवारीसमेत रहेको बताउँछन् ।  सरकार सञ्चालनका क्रममा देखिएका समस्या, सांसदका गुनासा तथा पार्टी र सरकारबीचको समन्वयबारे छलफल गर्न संसदीय दलको बैठक महत्त्वपूर्ण हुने उनको तर्क छ । ‘जनताबाट निर्वाचित प्रधानमन्त्री आफ्नै दलको संसदीय दलको बैठकमा उपस्थित नहुनु सामान्य विषय होइन,’ घिमिरेले भने ।  घिमिरेका अनुसार यसले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाउँछ । प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण यता प्रधानमन्त्री कार्यालयले भने प्रधानमन्त्री शाह बैठकबाट भागेको वा पार्टीका गतिविधिबाट दूरी बनाउन खोजेको भन्ने टिप्पणी अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले प्रधानमन्त्रीको पूर्वनिर्धारित सरकारी कामका कारण बैठकमा उपस्थित हुन नसकेको बताइन् । उनका अनुसार बुधबार मन्त्रिपरिषद्को बैठक रहेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरू र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने कार्यक्रमसमेत रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसकेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई पार्टी वा संसदीय दलप्रतिको बेवास्ताका रूपमा बुझ्न नहुने र त्यसको मुख्य कारण उनको व्यस्त सरकारी कार्यतालिका रहेको दावी गरिन् । व्यस्तता भए पनि दलको बैठकको महत्त्व घट्दैन प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण आए पनि विश्लेषक घिमिरे भने यसलाई पर्याप्त कारण मान्दैनन् ।  उनका अनुसार मन्त्रिपरिषद्को बैठक र सरकारी जिम्मेवारी महत्त्वपूर्ण भए पनि प्रधानमन्त्री स्वयं संसदीय दलको नेता भएकाले दलको बैठकमा उपस्थित हुनु पनि उत्तिकै महत्त्वपूर्ण राजनीतिक दायित्व हो । विशेषगरी सरकार र सत्तारुढ दलका सांसदबीच असमझदारी बढिरहेको अवस्थामा प्रधानमन्त्रीको उपस्थितिले पार्टी र सरकारबीच समन्वय कायम गर्न सहयोग गर्ने उनको भनाइ छ । रास्वपाका सांसद र सरकारमा रहेका मन्त्रीहरूबीच पछिल्लो समय विभिन्न विषयमा असमझदारी देखिन थालेको चर्चा भइरहेको छ । यहीबेला संसदीय दलको बैठक बसेको हो ।  यस्तो अवस्थामा प्रधानमन्त्री तथा संसदीय दलका नेता बैठकमा उपस्थित भएर सांसदका गुनासा सुन्ने, सरकारको कामकारबाहीबारे जानकारी दिने र पार्टीभित्रको समन्वय बलियो बनाउने अपेक्षा गरिएको थियो । तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिको कारणलाई लिएर दुई फरक धारणा सार्वजनिक भएका छन् । प्रधानमन्त्री कार्यालयले सरकारी कामको व्यस्ततालाई कारण देखाएको छ भने आलोचकहरूले यसलाई नेतृत्वको संवाद र जवाफदेहितासँग जोडेर हेरेका छन् । रास्वपाभित्र समन्वयको प्रश्न प्रधानमन्त्री शाहको अनुपस्थिति केवल एउटा बैठकमा सहभागी नभएको विषयमा सीमित नरही रास्वपाभित्र सरकार र संसदीय दलबीचको समन्वय कस्तो छ भन्ने प्रश्नसँग पनि जोडिएको छ । सत्तारूढ दलको संसदीय दल सरकारका नीति तथा कार्यक्रम, संसदमा प्रस्तुत हुने विधेयक र सरकारका कामकारबाहीबारे छलफल गर्ने महत्त्वपूर्ण निकाय हो ।  त्यसैले दलका नेता स्वयं बैठकमा अनुपस्थित हुँदा सांसद र नेतृत्वबीच प्रत्यक्ष संवादको अवसर भने प्रभावित हुन्छ । प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर उठेका प्रश्नको राजनीतिक जवाफ भने आगामी दिनमा उनको संसद् तथा पार्टीका बैठकमा हुने सहभागिताले दिने विश्लेषक घिमिरेको वुझाइ रहेको छ ।  तर रास्वपाका नेताहरू भने यो विषयमा मौनता साँध्नुमै भलो ठान्छन् ।  विकासन्युजले रास्वपाका महामन्त्री विपिन आचार्य र पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीसँग प्रतिक्रिया मागेको थियो । तर दुवै नेताले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

३ सहर पार गर्दै गरिमाको यात्रा बालुवाटारसम्म, १.२५ अर्बमा बन्यो हेड अफिस

काठमाडौं । भदौ ३ गते (बुधबार) दिउँसो बालुवाटारस्थित गरिमा विकास बैंकको नवनिर्मित भवनमा असामान्य चहलपहल थियो । बैंकका कर्मचारीहरू पाहुनाको स्वागतमा व्यस्त थिए । नेपाल राष्ट्र बैंकका गभर्नरदेखि न्यायाधीश, नियामक निकायका प्रतिनिधि, सेयरधनी र बैंकका अधिकारीहरू एकै ठाउँमा उपस्थित थिए ।  कार्यक्रमको केन्द्रमा थियो- नयाँ भवनको उद्घाटन । तर, समारोह केवल एउटा भवन उद्‍घाटनको औपचारिक कार्यक्रममा सीमित थिएन । त्यो एक संस्थाले आफ्नो यात्रालाई फर्केर हेर्ने, विगतलाई सम्झिने र भविष्यको दिशाबारे प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले एउटा रोचक टिप्पणी गरे । ‘सम्पत्ति जोडिनु त्यति महत्त्वपूर्ण विषय होइन । संस्थाको परिचय नाम के हो र ठेगाना कहाँ छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ,’ उनले भने । उनको यो अभिव्यक्तिले गरिमा विकास बैंकको दुई दशक लामो यात्रालाई छोटकरीमा चित्रित गरिदियो ।  ३ सहर पार गरेर बालुवाटारसम्म २०६४ सालमा स्याङ्जाको वालिङबाट सुरु भएको गरिमा विकास बैंकको यात्रा अहिले काठमाडौंको बालुवाटारमा आइपुगेको छ । बैंकको केन्द्रीय कार्यालय सुरुआतमा वालिङमा थियो । त्यसपछि २०६७ सालमा कार्यालय पोखरा सारियो । शाखा सञ्जाल र व्यवसायको आकार वृद्धिसँगै २०७२ सालमा काठमाडौं प्रवेश गर्यो । लाजिम्पाटमा केही वर्ष बिताएपछि बैंकले अहिले आफ्नै भवनबाट सेवा सञ्चालन थालेको छ । सीईओ उपाध्यायका अनुसार संस्थाको विकास केवल कारोबारको आकारले मात्र मापन हुँदैन । संस्थाको आफ्नै परिचय, स्थायित्व र पहिचान पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । उनले भने, ‘आज बैंकको परिचयले पूर्णता पाएको छ । बैंकको परिचय नाम गरिमा विकास बैंक र ठेगाना काठमाडौं-२ बालुवाटार बनेको छ ।’ करिब १ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन केवल कार्यालय मात्र होइन, बैंकको दीर्घकालीन सोचको प्रतिबिम्ब पनि हो । ३७ आना अर्थात् ४७ हजार ६२५ वर्गफिट क्षेत्रफलमा बनेको भवनमा एकै समयमा ३२० जना कर्मचारीले काम गर्न सक्छन् । तर, हाल भने करिब १३० जनाले मात्रै काम गर्नेछन् ।  बैंकको भवनमा डबल बेसमेन्ट पार्किङ, पुस्तकालय, तालिम कक्ष र क्यान्टिनको व्यवस्था गरिएको छ । पाँचौं तलाबाट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको भवन स्पष्ट रूपमा देखिन्छ । भवनको अवलोकन गरेपछि गभर्नर डा. विश्वनाथ पौडेलले सहज प्रतिक्रिया दिँदै भने, ‘गज्जबको भवन छ । चारैतिर हरियाली देखिँदो रहेछ ।’ तर, उनको ध्यान भवनको संरचनामा मात्र सीमित रहेन । उनले स्याङ्जाको पहिचान झल्काउने सामग्री भवनभित्र राख्न सुझाव दिए । ‘स्याङ्जाको चिनो के हो ? स्याङ्जाको पहिचान झल्किने वस्तुहरू राख्नुपर्छ,’ उनले भने ।  गभर्नरको रमाइलो संवाद भवन उद्घाटन समारोहमा स्याङ्जाको प्रसङ्गले वातावरणलाई केहीबेर रमाइलो बनायो । गभर्नर पौडेलले आफू स्याङ्जा घुमेको अनुभव सुनाउँदै त्यहाँका सडकहरू निकै साँघुरा रहेको बताए । त्यसैबेला बैंकका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्वमेयर दिलीपप्रताप खाँडले आफूले सडक विस्तार गर्न खोज्दा मुद्दा परेको अनुभव सुनाए । त्यसपछि गभर्नर पौडेलले मजाक गर्दै प्रतिक्रिया दिए, ‘न्यायाधीश पनि स्याङ्जाकै, वकिल पनि स्याङ्जाकै र मुद्दा हाल्ने पनि स्याङ्जाकै हुन्छन् ।’ कार्यक्रम हल हाँसोले गुञ्जियो । त्यसको जवाफमा अध्यक्ष खाँडले कार्यक्रममा चार जना न्यायाधीश उपस्थित रहेको प्रसंग निकाले ।  बैंकिङ र अध्यात्मलाई सँगै अघि बढाउने  गरिमा विकास बैंकको नयाँ भवनको अर्को विशेषता भनेको परिसरभित्र निर्माण गरिएको मन्दिर हो । बैंकका सीईओ उपाध्यायले यसलाई संस्थाको कार्य संस्कृतिसँग जोडेर व्याख्या गरे । उनका अनुसार बैंकले कुनै पनि निर्णय गर्दा नैतिकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेको छ । धार्मिक अनुष्ठानले मानिसलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने भएकाले मन्दिर निर्माण गरिएको उनको भनाइ छ ।  तीन दिनसम्म गरिएको धार्मिक अनुष्ठानपछि देवदेवीहरूको प्राण प्रतिष्ठा गरिएको उनले जानकारी दिए । ‘हामीले लाखौं सेवाग्राहीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । त्यसका लागि नैतिक प्रेरणा आवश्यक हुन्छ,’ उनले भने ।  उनले बैंकबाट हुने प्रत्येक गतिविधि ग्राहक, सेयरधनी, कर्मचारी र नियामक निकायको हितअनुसार सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे । सीईओ उपाध्यायले संस्थाको विकासलाई बच्चा हुर्काउने प्रक्रियासँग तुलना गरे । उनका अनुसार जसरी एउटा आमाले सानो बच्चालाई विभिन्न चरण पार गराउँदै परिपक्व बनाउँछिन्, त्यसरी नै एउटा संस्थालाई पनि निरन्तर संरक्षण, मार्गदर्शन र नेतृत्व आवश्यक हुन्छ । २०६४ सालमा २ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी र ६१ जना सेयरधनीबाट सुरु भएको बैंक आज लाखौं सेयरधनी र ६ अर्ब २ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको संस्थामा रूपान्तरण भएको सीईओ उपाध्यायले जानकारी दिए । उनका अनुसार १० लाखभन्दा बढी ग्राहक र ३७ जिल्लामा फैलिएका १२६ शाखामार्फत बैंकले सेवा प्रवाह गरिरहेको छ । संस्थापक अध्यक्षदेखि पूर्वसीईओसम्म धेरै व्यक्तिको योगदानले आजको अवस्था सम्भव भएको उनको भनाइ छ । बैंकका अध्यक्ष दिलीपप्रताप खाँडले बैंकको भावी यात्रा पारदर्शिता, नैतिकता र अध्यात्मको आधारमा अघि बढाइने बताए । बैंकले केवल आर्थिक गतिविधिलाई मात्र प्राथमिकतामा नराखी नैतिक मूल्य र आध्यात्मिक चेतनालाई पनि संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात गर्ने उनको भनाइ छ ।  उनका अनुसार संस्थाको दीर्घकालीन सफलता केवल वित्तीय उपलब्धिले मात्र सुनिश्चित हुँदैन । त्यसका लागि सत्य, निष्ठा, आत्मबल र कर्मशीलतालाई व्यवहारमा उतार्न आवश्यक हुन्छ । ‘हामीसँग आत्मबल छ, दृढता छ, कर्मशीलता छ र सत्य तथा निष्ठा छ । यही आधारमा सेयरधनी, निक्षेपकर्ता र सेवाग्राहीको मन जित्दै विश्वासलाई अझ बलियो बनाउनेछौं,’ उनले भने ।  अध्यक्ष खाँडले बैंकको सफलतामा कर्मचारीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाभित्र बलियो टिम भावना विकसित भएको बताए । उनले बैंकको सीईओ, डीसीईओ, प्रदेश कार्यालय, शाखा कार्यालय तथा चालकसहित सबै तहका कर्मचारीहरूबीच सहकार्य र एकताको वातावरण रहेको बताए । ‘होस्टेमा हैस्से गर्दै सामूहिक रूपमा काम गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । कर्मचारीहरूको सेवा-सुविधामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै  अध्यक्ष खाँडले संस्थाभित्रको टिम स्पिरिटलाई थप सुदृढ बनाइने बताए । उनका अनुसार बैंक सञ्चालक समितिले अभिभावकीय भूमिका निर्वाह गर्दै कर्मचारीहरूको मनोबल बढाउने र उनीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्नेछ ।

प्रभु इन्स्योरेन्सको खुद नाफा र आम्दानी दुवैमा सुधार

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको खुद नाफा, खुद बीमा शुल्क आम्दानी, प्रतिशेयर आम्दानी (ईपीएस) लगायतका प्रमुख सूचकमा सुधार आएको छ । अघिल्लो आर्थिक वर्ष २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुर्‍याएको छ ।  समीक्षा अवधिमा कम्पनीको नाफा १९.७१ प्रतिशतले वृद्धि भएको छ । नाफामा आएको सुधारसँगै कम्पनीको व्यवसाय (आम्दानी) पनि बढेको छ ।  एक वर्षमा कम्पनीले ६९ करोड ४५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ६.४१ प्रतिशतले वृद्धि भएको छ ।  एक वर्षमा कम्पनीले ६९ करोड ४५ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ६५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ६.४१ प्रतिशतले बढेको छ ।  कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ । कम्पनीको ईपीएस ११.१३ रुपैयाँबाट सुधार भई १३.३३ रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीले १ वर्षको अवधिमा १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो आवमा कम्पनीले २ अर्ब ३ करोड ३३ लाख रुपैयाँ कल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १४.०३ घटेको छ । १ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको विशेष जगेडामा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा उक्त कोषमा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ थियो ।  त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.४८ रहेको छ । यसले कम्पनीको वित्तीय आधार बलियो रहेको र भविष्यका दाबीहरू सहजै भुक्तानी गर्न सक्ने क्षमता देखाउँछ ।