विकासन्युज

जुट्न नपाउँदै फुटे, वरीयतामा मिलेन कुरा

काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रमा राखेर सहकार्य थालेका धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीचको राजनीतिक सहयात्रा राम्रोसँग जुट्न नपाउँदै फुटेको छ । राणा पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहँदा प्रसाईं भने छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने गृहकार्यमा लागेका बुझिएको छ ।  राप्रपाको महामन्त्री पद छाडेर नयाँ राजनीतिक अभियानमा लागेका राणाले ‘जय नेपाल पार्टी’ नामको दल गठन गर्न लागेका हुन् । प्रस्तावित दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोग पुग्ने कार्यक्रम तय भएको राणा पक्षका नेताहरुले बताएका छन् । दलको प्रस्तावित चुनाव चिह्न त्रिभुज राख्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।  प्रारम्भिक चरणमा राणा र प्रसाईं दुवैलाई एउटै राजनीतिक दलमा समेट्ने सहमति बनेको थियो । त्यसअनुसार राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने समझदारी भएको थियो । तर, संगठनको नेतृत्व, वरियता र निर्णय गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टिक्न नसकेको बुझिएको छ ।  पार्टीभित्र आफ्नो वरीयता पहिलो हुनुपर्ने र महत्वपूर्ण कार्यकारी अधिकारसमेत आफूले पाउनुपर्ने प्रसाईंको मागपछि दुई पक्षबीच मतभेद चुलिएको बताइएको छ । राणा पक्षले उक्त प्रस्ताव स्वीकार नगरेपछि संयुक्त पार्टी निर्माणको योजना प्रभावित भएको हो ।  विवादकै बीच प्रसाईंले पछिल्लो समय दिएका सार्वजनिक अभिव्यक्तिले पनि दुई पक्षबीचको दूरी बढाएको बताइएको छ । प्रसाईंले एक अन्तर्वार्तामा राणाको राजनीतिक दृष्टिकोणप्रति प्रश्न उठाउँदै राजसंस्था पुनःस्थापनाका विषयमा उनीहरूको धारणा समान नरहेको संकेत गरेका थिए ।  प्रसाईं पक्षका नेताहरूले भने तत्काल दल दर्ता गर्नुभन्दा केही समय लिएर सहमति खोज्नुपर्ने धारणा राखेका थिए । तर, राणा पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै दल दर्ता अघि बढाउने निर्णय गरेपछि दुई समूह छुट्टिने अवस्था आएको उनीहरूको भनाइ छ ।  राजसंस्था र हिन्दु राष्ट्रको एउटै एजेन्डामा नजिकिएका राणा र प्रसाईं अब फरक राजनीतिक संगठनमार्फत अघि बढ्ने अवस्थामा पुगेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रवार (आज) बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगी मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए ।  उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ३ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले नेकपा एमाले र नेकपाको गठबन्धनपश्चात अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।

सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यही सुन ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य समायोजनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।

रिलायबल नेपाल लाइफको नाफा ५८ करोड, बीमाशुल्क साढे ६ अर्ब बढी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।  कम्पनीले सार्वजनिक गरेको गत आव २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २.१८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  त्यसैगरी, गत आवमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष ३२.१४ प्रतिशतले बढेको हो । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.८६ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा वर्षमा ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.५६ प्रतिशतले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.२१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १०.९७ रुपैयाँ थियो ।  कम्पनीको प्रति सेयर नेटवर्थ १४८‍४९ रुपैयाँ रहेको छ । 

एनएलजी इन्स्योरेन्सको व्यापार बढ्यो, बीमा कोष पौने ४ अर्ब पुग्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा उल्लेख्य घटेको छ भने बीमाशुल्क आर्जनमा भने राम्रो वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा १५ करोड ३३ लाख रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा ६२.३१ प्रतिशतले घटेको हो । कम्पनीको चुक्ता सेयर पुँजी २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सेयर प्रिमियममा १३ करोड ८५ लाख, स्पेसल रिजर्भमा १ अर्ब ४२ करोड २ लाख, महाविपत्ति कोषमा ८ करोड ९४ लाख, रिटेन्ड अर्निङमा १ करोड १७ लाख र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको सेयर प्रिमियम २७ करोड १९ लाख, स्पेसल रिजर्भ १ अर्ब ३९ करोड १३ लाख, महाविपत्ति कोष ८ करोड ६५ लाख, रिटेन्ड अर्निङ ९ करोड १३ लाख र अन्य इक्विटी १७ करोड ६६ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको बीमा कोषको आकार बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कोषमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोषमा ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बीमा कोष १४.७६ प्रतिशतले बढेको हो । बीमाशुल्क आर्जनतर्फ भने कम्पनीले उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ थियो । यससँगै कुल बीमाशुल्क आर्जन ३९.४७ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ९८ करोड २८ लाख रुपैयाँ थियो । यता, कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा ईपीएस २.१७ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको ईपीएस ५.९८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.३६ रुपैयाँ रहेको छ । वित्तीय विवरणअनुसार बीमाशुल्क आर्जन र बीमा कोषमा वृद्धि भए पनि कम्पनीको खुद नाफा तथा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको देखिएको छ ।

बैंकका कर्मचारीले नै गरे आर्थिक घोटाला, कोर बैंकिङमा छिरेर ३३ करोड गायव

काठमाडौं । घटना २०७१ साल असोजतिरको हो । कृषि विकास बैंक, स्वयम्भू शाखाका दिनहरू अरू बेलाजस्तै सामान्य गतिमा चलिरहेका थिए । सेवाग्राहीको आवतजावत, काउन्टरमा बज्ने क्यास काउन्टर मेसिनको आवाज र कर्मचारीहरूको दैनिकीमा कुनै भिन्नता थिएन । तर, त्यहाँ कसैलाई पत्तो थिएन- यही बैंकको एउटा कुनामा रहेको कम्प्युटर स्क्रिनभित्र नेपालको वित्तीय इतिहासकै ठूलो र चलाखीपूर्ण अपराधको खाका कोरिसकिएको छ । केही महिनाको छोटो अवधिमै बैंकको प्रणालीभित्रै बसेर सुटुक्क ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ गायब पारियो । यो केवल रकम घोटाला वा साधारण चोरीको विषय मात्र थिएन, यो त एउटा विश्वासघात, नक्कली नागरिकताको प्रयोग, आधुनिक सूचना प्रविधिको दुरुपयोग र भारतको सिल्लीगुडीसम्म जेलिएको एउटा हाइ-प्रोफाइल वित्तीय अपराधको रहस्यमयी सञ्जाल थियो ।  यसरी बुनियो अपराधको योजना  यो सम्पूर्ण काण्डका मुख्य सूत्रधार थिए कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम । गौतम बैंकका एक अनुभवी कर्मचारी भए पनि उनी व्यक्तिगत जीवनमा गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । जग्गा कारोबारमा परेको ठूलो नोक्सानी र त्यसपछि टाउकोमा थुप्रिएको ऋणको बोझले उनलाई विचलित बनाएको थियो ।  आर्थिक सङ्कटबाट उम्किने सहज र द्रुत बाटो खोज्ने क्रममा उनको भेट भारतमा नेटवर्किङ व्यवसाय र अन्य संदिग्ध गतिविधिमा संलग्न राजीव थापा उर्फ कृष्णहरि थापासँग भयो ।  दुवैबीच काठमाडौंका विभिन्न स्थानमा भेटघाट र गहन छलफल भयो । अन्ततः उनीहरूले बैंकको प्रविधिभित्र रहेको छिद्रको फाइदा उठाउँदै करोडौं रकम लुट्ने र सो रकम पचाएर सुरक्षित रूपमा भारत भाग्ने खतरनाक योजना तयार पारे । योजना अनुसार लुटिएको रकमको ३३÷३३ प्रतिशत रकम केदारप्रसाद गौतम र राजीव थापाले बाँड्ने सहमति भयो । बाँकी रहेको ३३ प्रतिशत रकम भने नक्कली खाता खोल्ने, रकम निकाल्ने बिचौलियाहरूलाई कमिसन दिने र अन्य प्राविधिक खर्चहरूमा प्रयोग गर्ने तय गरियो । योजना कार्यान्वयन गर्न गौतमले सबैभन्दा पहिले आफ्नै सहकर्मीको विश्वासमाथि प्रहार गरे । स्वयम्भू शाखामै कार्यरत महिला लेखापाल गीता पन्त काममा व्यस्त रहेका बेला वा उनी सिटबाट उठेको मौका छोपेर गौतमले सुटुक्क उनको कम्प्युटरको ‘युजर आईडी’ र ‘पासवर्ड’ पत्ता लगाए । त्यसपछि सुरु भयो कोर बैंकिङ प्रणालीसँगको खतरनाक खेल ।  गौतमले दिनभरिको नियमित काम सकिएपछि वा साँझपख कार्यालय सुनसान हुने समय रोज्थे । उनले लेखापाल गीता पन्तको पासवर्ड प्रयोग गरी देशका विभिन्न साना र दुर्गम शाखाहरूबाट स्वयम्भू शाखामा ठूलो परिमाणको रेमिट्यान्स रकम आएको भन्दै प्रणालीमा नक्कली विवरण प्रविष्ट गराउँथे । लगत्तै, सो रकमलाई आफ्नै आधिकारिक ‘युजर आईडी’ बाट स्वीकृत गरिदिन्थे । बैंकका अन्य हाकिम र कर्मचारीहरू कार्यालय समय सकिएर घर फर्किसकेपछि गौतम भने मध्यरातिसम्म बैंकभित्रै बसेर यो गैरकानुनी ‘डिजिटल’ लुट मच्चाइरहेका हुन्थ्ये । नक्कली नागरिकता, ट्याक्सी र ’काउन्टर’ बाटै करोडौंको भुक्तानी स्वयम्भू शाखाको प्रणालीमा रकम जम्मा देखिइसकेपछि त्यसलाई नगदमा रूपान्तरण गर्नु अर्को ठूलो चुनौती थियो । सोझै स्वयम्भू शाखाबाटै ठूलो रकम निकालिँदा अन्य कर्मचारीलाई शंका हुने डर थियो । त्यसैले गौतम र थापाको समूहले सो नक्कली रकमलाई पुतलीसडक, न्यूरोड, रत्नपार्क, मङ्गलबजार र सातदोबाटो जस्ता व्यस्त शाखाहरूमा खोलिएका खाताहरूमा ट्रान्सफर गरे । रकम निकाल्नका लागि राजीव थापाले गिरोहका अन्य सदस्यहरू प्रयोग गरी नक्कली नागरिकताका आधारमा सरोज यादव, रणजित भट्टराई, नवनिधान गुरुङ र बलराम के.सी. को नाममा खाता खोलेका थिए । यति मात्र होइन, भारतको सिक्किमबाट काठमाडौं बोलाइएका सूर्यबहादुर लिम्बू लाई ‘बसन्त राई’ को नक्कली नागरिकता र फोटो टाँसेर खाता खोल्न लगाइयो। बिचौलियाहरूले यी व्यक्तिहरूलाई ट्याक्सीमा राखेर बैंकसम्म पु¥याउने, ट्याक्सीभित्रै चेकबुकमा सही गराउने र काउन्टरबाट करोडौं रुपैयाँ नगद बुझ्न लगाउने गर्दथे । ‘मलाई कुल रकमको १२ प्रतिशत रकम दिने प्रलोभन देखाइएको थियो । बैंक नजिकै ट्याक्सी रोकेर मलाई चेक र नक्कली नागरिकता दिएर भित्र पठाइन्थ्यो । म रकम निकालेर बाहिर ल्याएर उनीहरूलाई बुझाउँथे,’ पछाडि पक्राउ परेका आरोपी सूर्यबहादुर लिम्बूले प्रहरी बयानका क्रममा खुलाएका छन् ।  नगद भुक्तानीका अलावा उनीहरूले सिभिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमार्फत इलेक्ट्रोनिक चेक क्लियरिङ  प्रणालीको समेत दुरुपयोग गरी करोडौं रकम अन्यत्र स्थानान्तरण गरेका थिए । एउटा सानो गल्तीले ‘महाघोटाला’ को भण्डाफोर महिनौंसम्म निर्वाध रूपमा चलेको यो वित्तीय अपराधको पर्दाफास भने एउटा सानो प्राविधिक गल्तीका कारण हुन पुग्यो । २०७२ असार ७ गते साँझ ६ बजेतिर केदारप्रसाद गौतमले सरोज यादवको खाताबाट अर्को खातामा १० लाख रुपैयाँ ट्रान्सफर गर्न गीता पन्तको आईडीबाट इनपुट त गरे, तर हतारमा वा ध्यान नगेर आफ्नै आईडीबाट त्यसलाई स्वीकृत अथोराइज गर्न छुटाए । त्यो १० लाख रुपैयाँ प्रणालीमा पेण्डिङ भएर बसिरह्यो । भोलिपल्ट असार ८ गते बिहान १० बजे लेखापाल गीता पन्त कार्यालय आएर आफ्नो प्रणाली खोलिन् । उनलाई देख्नासाथ शाखाका अन्य वरिष्ठ अधिकारीहरूले सोधे– ‘अघिल्लो साँझ १० लाख रुपैयाँको फन्ड ट्रान्सफर किन पेन्डिङ राखेको ?’ पन्त छाँगाबाट खसेजस्तै भइन् । किनकि उनले अघिल्लो दिन त्यस्तो कुनै पनि कारोबार गरेकी थिइनन् । शंका लागेर भौचर र चेक खोज्दा केही पनि भेटिएन । त्यसपछि बैंकको मुख्य प्रणालीभित्र छिरेर गहिरोसँग अनुसन्धान गर्दा पन्तको पासवर्डबाट दर्जनौं नक्कली रेमिट्यान्स इन्ट्रीहरू भएका र ती सबैलाई अधिकृत गौतमले स्वीकृत गरेको सनसनीपूर्ण तथ्य बाहिर आयो । घटनाको गम्भीरतालाई बुझेर तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ र बैंकका वरिष्ठ अधिकारीहरूले तत्काल मुख्य कार्यालय, नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा खबर गरेपछि स्वयम्भू काण्डको रहस्य औपचारिक रूपमा बाहिर आएको हो । नक्कली नाम दोस्रो विवाह र असीमित फजुल खर्च बैंकमा छानबिन सुरु भएको पत्तो पाउँनासाथ केदारप्रसाद गौतम रातारात फरार भए । उनीसँगै बैंकबाट गैरकानुनी रूपमा निकालिएको करोडौं रकम हुन्डीका विभिन्न सञ्जालमार्फत भारतको सिल्लीगुडीतर्फ पठाइयो । गौतमको व्यक्तिगत जीवन पनि कुनै फिल्मी कथाभन्दा कम रहेन । नेपाल र भारतीय प्रहरीको नजरबाट बच्न उनले आफ्नो पुरानो पहिचान पूर्ण रूपमा लुकाए । उनले भारतको दार्जिलिङ र सिल्लीगुडी पुगेर ‘प्रेम शर्मा’ को नक्कली नाममा भारतीय नागरिकता, आधार कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाए ।  काठमाडौंमा रहेकी जेठी श्रीमती (सम्झना पोखरेल) र छोरालाई बेवास्ता गर्दै उनले काठमाडौंमै भेटिएकी जेनी श्रेष्ठ नामकी युवतीसँग दोस्रो विवाह गरे र सिल्लीगुडीमा एउटा भव्य फ्ल्याट भाडामा लिएर बस्न थाले । अनुसन्धानका क्रममा नेपालमा रहँदा गौतम र उनी सम्बद्ध गिरोहले लुटेको पैसा अत्यन्तै विलासी र फजुल काममा उडाएको अनुसन्धानबाट खुल्यो । उनले सो रकमलाई साथीभाइ र बिचौलियाहरूलाई बोलाएर हवाईजहाजमा यात्रा गराउने, महँगा रिसोर्टमा बस्ने र तडकभडकपूर्ण पार्टी दिने, आफन्त, नातागोता र चिनेजानेकाहरूलाई उदारताका साथ लाखौं रुपैयाँ ऋण र सापटी बाँड्ने गरेको अभियोगपत्रमा उल्लेख छ ।  यस्तै, उनले काठमाडौंका नामी सुन पसलहरूबाट बिना हिचकिचाहट लाखौं मूल्यका सुन तथा बहुमूल्य गहना खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  बैंकको नियमअनुसार हरेक दिनको कारोबार सोही दिन साँझ मिलान  हुनुपर्छ । तर, स्वयम्भू शाखामा महिनौँसम्म करोडौँको नक्कली कारोबार भइरहँदा पनि क्षेत्रीय कार्यालय र मुख्य कार्यालयले कुनै सोधपुछ वा अनुगमन नगरेको अभियोगपत्रमा उल्लेख छ ।  बैंकिङ प्रणालीको दुरुपयोग गरी, नक्कली कागजात खडा गरेर बैंकलाई सोझै ३३ करोड ८२ लाखभन्दा बढी नोक्सानी पु¥याएको ठहर गर्दै नेपाल सरकारका तर्फबाट उच्च अदालत पाटन, वाणिज्य इजलासमा बैंकिङ कसूर तथा सजाय ऐन अनुसार पुरक अभियोगपत्र दायर गरिएको छ ।

एसियन लाइफको नाफा ४१ करोड पुग्दा बीमाशुल्क आम्दानी १० अर्ब नाघ्यो

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।  कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.१९ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीले बीमाशुल्कबाट १० अर्ब ६४ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४० करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।   अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.१३ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष १२.९७ प्रतिशतले बढेको हो । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ईपीएस ७.८० रुपैयाँ रहेकोमा ७.८९ रुपैयाँ कायम भएको हो ।  त्यस्तै, पीई रेसियो ५३.१२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.१३ रुपैयाँ रहेको छ ।

नेपालमा करोडौं पर्यटक भित्र्याउने योजना बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालमा एक करोड मात्रै नभई करोडौं पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको पर्यटन क्षेत्रलाई थप विस्तार गर्न महत्वाकांक्षी लक्ष्य निर्धारण गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले पर्यटकको संख्या लाखमा सीमित गर्ने सोचबाट माथि उठेर करोडौं पर्यटक भित्र्याउने सपना देख्नुपर्ने बताए । ठूलो लक्ष्य लिएर अघि बढे मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । ‘लाख पर्यटक भित्र्याउने योजना मात्र होइन, करोडौं पर्यटक भित्र्याउने सपना देख्नुपर्छ । ठूलो सपना देखेमा मात्र हामीले लक्ष्य प्राप्त गर्न सक्छौं,’ उनले भने । सभामुख अर्यालले पर्यटन नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड रहेको उल्लेख गर्दै राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि राज्यका कानुन तथा नीतिहरू पर्यटनमैत्री हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । नाट्टाले नेपालको पर्यटनलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको सभामुख अर्यालले बताए । नाट्टाको उपस्थिति सातै प्रदेशमा पुगिसकेको उल्लेख गर्दै उनले यसले नेपालको पर्यटनलाई स्थानीय तहदेखि विश्व बजारसम्म पुर्‍याउन सहयोग गरेको बताए । ‘नाट्टाले पर्यटनलाई विकेन्द्रीकरण गरेको छ । सातै प्रदेशमा नाट्टा पुगेको छ । नाट्टाका कारण नेपालको पर्यटन स्थानीयदेखि विश्व बजारसम्म पुगेको छ,’ उनले भने ।