नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशतसम्म छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ । यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, अस्पतालमा उपलब्ध सिटी स्क्यान तथा शल्यक्रिया सेवामा थप १०–१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य कागजात पेस गरी सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । मंगलबार (आज) अपरान्ह ३ बजे बस्ने भनिएको बैठक पौने चार बजेदेखि सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसिरहेको बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
सर्वोच्चमा पुनरावलोकनको ‘निस्सा’पछि कांग्रेसका सांगठनिक गतिविधि रोक्न देउवा पक्षको माग
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका रूपमा रहेको देउवा समूहले पार्टीका आगामी सबै सांगठनिक गतिविधि तत्काल रोक्न माग गरेको छ । सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनका लागि ‘निस्सा’ जारी गरेको आधार देखाउँदै देउवा पक्षले पार्टीको केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेस सभापति गगन थापा, प्रदेश, जिल्ला, क्षेत्रीय तथा वडा तहका सबै कार्यसमितिका साथै निर्वाचन आयोगलाई समेत पत्र पठाएका छन् । पत्रमा सर्वोच्च अदालतबाट विवादको अन्तिम निरूपण नभएसम्म कांग्रेसका तर्फबाट १५औँ महाधिवेशनलगायत कुनै पनि दूरगामी प्रभाव पार्ने सांगठनिक निर्णय तथा गतिविधि अघि नबढाउन आग्रह गरिएको छ । कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले पुनरावलोकनका लागि ‘निस्सा’ जारी गर्दै यसअघिको फैसलामा गम्भीर कानुनी त्रुटि रहेको औँल्याएको कोइरालाको दाबी छ । सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भएसँगै पार्टीको वर्तमान नेतृत्व तथा सांगठनिक संरचनाको वैधानिकतामाथि नै कानुनी प्रश्न उत्पन्न भएको देउवा पक्षको निष्कर्ष छ । त्यसैले अदालतबाट अन्तिम फैसला नआएसम्म वर्तमान अवस्थामा कुनै पनि नयाँ सांगठनिक प्रक्रिया अघि बढाउँदा विवाद थप जटिल बन्न सक्ने उनीहरूको तर्क छ । विशेषगरी १५औँ महाधिवेशनको तयारी, सदस्यता नवीकरण, अधिवेशनसम्बन्धी प्रक्रिया तथा पार्टीका विभिन्न तहका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न पत्रमार्फत आग्रह गरिएको छ । देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन विषयको अन्तिम टुंगो नलाग्दै पार्टीको नेतृत्व र संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय गरिएमा त्यसको वैधानिकतामाथि पुनः प्रश्न उठ्न सक्ने भन्दै सावधानी अपनाउन माग गरेको हो । यसैबीच, कांग्रेसभित्र नेतृत्व र पार्टीको वैधानिकतासम्बन्धी विवाद थप चर्किएको छ । एकातर्फ वर्तमान नेतृत्वले पार्टीका नियमित सांगठनिक गतिविधिलाई निरन्तरता दिने तयारी गरिरहेको छ भने अर्कोतर्फ देउवा पक्षले अदालतको निर्णय नआएसम्म कुनै पनि दूरगामी सांगठनिक प्रक्रिया अघि नबढाउन दबाब बढाएको छ । यसले कांग्रेसभित्रको संस्थापन र संस्थापनइतर पक्षबीचको विवादलाई थप कानुनी तथा राजनीतिक मोडमा पुर्याएको छ ।
ग्लोबल आइएमई बैंकको नाइमा अफर : ५.२५ प्रतिशत ब्याजमै अटो लोन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन् । हालको आधारदरअनुसार यस्तो कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ । त्यस्तै, नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ । तीन वर्षपछि भने उक्त कर्जामा बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने व्यवस्था गरिएको छ । नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमई बैंकले आफ्नै प्रदर्शनी कक्षसमेत राखेको छ । उक्त कक्षबाटै गाडी खरिद गर्न इच्छुक ग्राहकले सवारी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकले आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार विशेष योजनाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज र छिटो कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्नेछ ।
नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको छ । मंगलबार बजारमा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिमा ९५ लाख ३४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । कुल ३४० कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२२ कम्पनीको सेयर मूल्य घट्दा २० कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर (एसओएचएल) शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनी (आरआईडीआई) को ३३ करोड ६७ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको १७ करोड ८६ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार युनाइटेड हाइड्रोपावर लिमिटेड (यूएलएचसी) का लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४३६.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीबीडी २०८८ को सेयर मूल्य ५.९२ प्रतिशत, एलयूकेको ५.२७ प्रतिशत, हिमस्टारको ३.७४ प्रतिशत र यूएचईडब्ल्यूएको ३.६० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेमा ठूलो उतारचढाव देखिएन । परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । दिनभर कुल ५२ हजार ३३ वटा कारोबार भएका छन् ।
अस्ट्रेलियाले मोहनलाललाई भिसा नदिएपछि...
काठमाडौं । मलयालम फिल्मका सुपरस्टार मोहनलाललाई अस्ट्रेलियाले भिसा नदिएपछि सिड्नीमा आयोजना हुने भनिएको स्टेज कार्यक्रम नै रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सिंगापुरबाट रेकर्ड गरिएको भिडियो सन्देशमार्फत उनले कार्यक्रममा सहभागी हुन नसकेकोमा दुःख व्यक्त गर्दै घटनाका लागि कसैलाई दोष दिन नचाहेको बताए । ‘मेरो जीवनमा पहिलोपटक मैले भिसा पाइनँ । यस्तो कसरी भयो भन्ने मलाई थाहा छैन । यो प्राविधिक वा कागजी त्रुटि हुन सक्छ अथवा एआईबाट उत्पन्न भएको समस्या पनि हुन सक्छ,’ उनले भने । उनले आफू फिल्म उद्योगमा प्रवेश गरेको करिब ५० वर्ष भइसकेको उल्लेख गर्दै यस वर्ष अमेरिका, जर्मनी, बेलायत र आयरल्यान्डमा विभिन्न कार्यक्रममा प्रस्तुति दिएको बताए । सिड्नीको कार्यक्रम पनि राम्रो अवधारणासहित आयोजना गरिएको उनको भनाइ थियो । गायिका केएस चित्रासहित आफ्नो टोलीका अन्य सदस्य सिड्नी पुगिसकेको जानकारी दिँदै मोहनलालले कार्यक्रम सफल बनाउन आयोजक र आफ्नो टोलीले सक्दो प्रयास गरेको बताए । कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट यात्रा गरेर आएका दर्शकसँग माफी माग्दै उनले भने, ‘यो कार्यक्रम हेर्न टाढाबाट यात्रा गरेर आउनुभएका प्रत्येक व्यक्तिसँग म हृदयदेखि माफी माग्छु ।’ मोहनलालले आगामी दिनमा सोही टोलीसहित सिड्नी फर्किएर भव्य कार्यक्रम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
हायर पर्चेज कर्जामा सेवा शुल्क १ प्रतिशत, ब्याज २ प्रतिशत थपघट गर्न नपाइने
काठमाडौं । हायर पर्चेज कर्जामा सेवा शुल्क १ प्रतिशतमा सीमित गरिएको छ । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’ मा छैटौँ संशोधन गर्दै कर्जा स्वीकृत गर्दा हायर पर्चेज कम्पनीले सेवा शुल्कबापत स्वीकृत कर्जाको अधिकतम १ प्रतिशत मात्र लिन पाउने व्यवस्था गरेको हो । यद्यपि, ग्राहकको आवश्यकता अनुसार अन्य संस्था वा निकायमार्फत सेवा लिँदा लाग्ने वास्तविक लागतभन्दा बढी नहुने गरी सेवा शुल्क लिन भने कम्पनीलाई बाधा नपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदर निर्धारणमा समेत कडाइ गरेको छ । कम्पनीले कर्जाको ब्याजदर निर्धारण गर्दा ‘कस्ट अफ फण्ड’लाई आधार बनाउनुपर्नेछ । कस्ट अफ फण्ड निर्धारण गर्दा स्वपुँजीको लागत र ऋणबाट प्राप्त कोषको भारित लागतलाई आधार मान्नुपर्नेछ । कम्पनीले आफूले निर्धारण गरेको ब्याजदरसम्बन्धी सूचना सार्वजनिक गर्नुपर्नेछ । ब्याजदर निर्धारण गरेको तीन दिनभित्र त्यसको जानकारी राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई दिनुपर्ने व्यवस्था गरिएको छ । ग्राहकलाई प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा कम्पनीले प्रकाशित गरेको ब्याजदरमा २ प्रतिशतभन्दा बढी थपघट गर्न नपाइने भएको छ । ब्याजदरसम्बन्धी उक्त व्यवस्था संशोधित व्यवस्था जारी भएपछि प्रवाह हुने कर्जामा लागू हुनेछ । संशोधित व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीले धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउनेछन् । तर सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जामा भने ऋण–मूल्य अनुपात राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशनअनुसार कायम गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जामा कृषि, औद्योगिक, व्यावसायिक वा घरायसी प्रयोजनका लागि सवारी साधन, मेशिनरी, औजार, वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिसवासरलगायतका विद्युतीय तथा अन्य उपकरण खरिद गर्न दिइने किस्ताबन्दी कर्जा समेटिन्छ । सम्पूर्ण किस्ता भुक्तानी भएपछि मात्र सम्बन्धित वस्तुको स्वामित्व हस्तान्तरण हुने व्यवस्था यसमा हुन्छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई दिएको स्वीकृति प्रत्येक १० आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्तसम्म स्वीकृति नवीकरण गरिसक्नुपर्नेछ । तर संशोधित व्यवस्था जारी हुँदाको समयमा नै स्वीकृति प्राप्त गरिसकेका हायर पर्चेज कम्पनीको हकमा भने पूर्वनिर्धारित मितिमा नवीकरण भएपछि मात्र नयाँ १० वर्षे अवधि लागू हुनेछ । कम्पनीलाई स्वीकृति प्रदान गर्दा प्रस्तावित संस्थापक सेयरधनी तथा सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’ गरेपछि मात्र स्वीकृति प्रदान गरिनेछ । त्रैमासिक कारोबार विवरण अनिवार्य हायर पर्चेज कम्पनीले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र आफ्नो कारोबारको विवरण राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ । कम्पनीले उपभोग भएको कर्जाको विवरण, कर्जा प्रवाह गर्ने संस्था र ब्याजदर, कुल प्रवाह भएको ऋण, कर्जा संख्या तथा कर्जा नोक्सानी व्यवस्था, ठूला ३० ऋणीको विवरण, बहु–ब्राण्डमा भएको लगानी, वासलात तथा नाफा–नोक्सान हिसाब र प्रमुख वित्तीय परिसूचकसम्बन्धी विवरण पेश गर्नुपर्नेछ । हायर पर्चेज कम्पनीले एकभन्दा बढी कम्पनी अर्थात् बहु–ब्राण्डबाट उत्पादित सवारी साधन, मेशिनरी, औजार तथा उपकरणमा अनिवार्य रूपमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले बहु–ब्राण्डमा गरेको लगानीसम्बन्धी जानकारी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्नुपर्नेछ । विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा मात्र ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ । त्यसका लागि कम्पनीको सञ्चालक समितिबाट निर्णय हुनुपर्नेछ र निश्चित अवधिका लागि मात्र पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
डीआर कंगोमा इबोला नियन्त्रणबाहिर, करिब २ हजारको मृत्यु
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डीआर कंगोमा इबोलाका बढ्दो घटनालाई लिएर चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका अनुसार स्वास्थ्य अधिकारीहरू अझै पनि भाइरस नियन्त्रण गर्ने प्रयासमा छन् । तर संक्रमण फैलिने गति उनीहरूको प्रयासभन्दा तीव्र रहेको छ । देशमा इबोलाको पछिल्लो प्रकोप आधिकारिक रूपमा घोषणा हुनुभन्दा करिब तीन महिनाअघि नै फैलिन थालेको थियो । डीआर कंगोमा मे १५ मा इबोला प्रकोपको आधिकारिक घोषणा गरिएको थियो । तर त्यसको करिब तीन महिनाअघिदेखि नै संक्रमण फैलिन थालेको थियो । त्यसयता हालसम्म १ हजार ९६० जनाको मृत्यु भइसकेको छ भने ४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ । डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मोहम्मद जनाबीले भने, ‘हामी भाइरसको पछाडि दौडिरहेका छौं जबकि भाइरस हामीभन्दा अगाडि छ ।’ उनका अनुसार एउटा अध्ययनले भाइरसको फैलावट फेब्रुअरीमै सुरु भएको देखाएको छ । सुरुवातमा धेरै बिरामीलाई मलेरिया वा टाइफाइड भएको ठानिएकाले इबोला पहिचान गर्न ढिलाइ भएको थियो । डब्ल्यूएचओका अनुसार स्वास्थ्यकर्मीहरू करिब ३० प्रतिशत बिरामीसम्म मात्र पुग्न सकिरहेका छन्। बाँकी बिरामीको घरमै मृत्यु भइरहेको छ । केही क्षेत्रमा अन्त्येष्टिका परम्परागत प्रचलनले पनि संक्रमण फैलिने जोखिम बढाइरहेको छ । कतिपय स्थानमा अन्त्येष्टिका क्रममा मानिसहरूले मृत व्यक्तिको शव छुने गर्छन् । त्यसैगरी, केही समुदायमा स्वास्थ्य अधिकारीहरूमाथि विश्वासको कमीका कारण पनि रोग नियन्त्रण गर्न कठिनाइ भइरहेको डब्ल्यूएचओले जनाएको छ ।