विकासन्युज

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले ५ निर्णय गरेको जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने । २. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहा जिल्लाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने । ३. पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने । ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका  निर्मलकुमार उप्रेतीलाई नियुक्ति गर्ने । ५. पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने । 

सुनसरी र सिरहाका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहा जिल्लामा घटेको घटनामा ज्यान गुमाउने ४ जनालाई सहिद घोषणा गर्ने भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

फ्लेम अवार्ड्स एसियामा नेपालको शानदार प्रदर्शन, पाँच एजेन्सीले जिते १७ अवार्ड

काठमाडौं । फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ एजेन्सीहरूले शानदार प्रदर्शन गरेका छन् । नेपालका विभिन्न एजेन्सीले कुल १७ अवार्ड जितेका छन् । नयाँ दिल्लीको ताज प्यालेस, द्वारकामा अगस्ट ७ मा आयोजित समारोहमा विजेता एजेन्सीलाई अवार्ड प्रदान गरिएको हो । नेपाली एजेन्सीहरूले १३ स्वर्ण, ३ रजत र १ कांस्य अवार्ड जितेका हुन् । फ्लेम अवार्ड्स एसिया ग्रामीण तथा उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ तथा सञ्चार कार्यलाई सम्मान गर्ने प्रतिष्ठित अवार्डका रूपमा परिचित छ । रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया (आरएमएआई)ले आयोजना गर्दै आएको यो अवार्डमा उपभोक्ता अन्तर्दृष्टि, नवप्रवर्तन, सिर्जनशीलता, प्रविधि, समुदाय संलग्नता र मापनयोग्य प्रभावलगायतका क्षेत्रमा उत्कृष्ट कामलाई सम्मान गरिन्छ । यस वर्षको प्रतियोगितामा नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन् । आउटरिच नेपाल, लेमन, डिजिटल इनलगायतका एजेन्सीले उत्कृष्ट प्रदर्शन गरेका छन् । स्टर्म कम्युनिकेसन नेपाल र डी२० ल्याब्सले समेत विभिन्न विधामा अवार्ड जित्न सफल भएका छन् । नेपालले भारतलगायत दक्षिण एसियाका अग्रणी एजेन्सी तथा संस्थाहरूसँगको कडा प्रतिस्पर्धाबीच १७ अवार्ड जितेको हो । यस उपलब्धिले नेपाली विज्ञापन, सिर्जनात्मक तथा डिजिटल एजेन्सीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रस्तुत गरेको छ । अवार्डका लागि भारत, बंगलादेश, नेपाल, भुटान, फिलिपिन्स र श्रीलंकालगायत विभिन्न देशबाट ४० भन्दा बढी निर्णायक सहभागी थिए । उनीहरूले विभिन्न विधामा प्राप्त प्रविष्टिको मूल्यांकन गरेका थिए । अवार्डको पारदर्शिता र तथ्यपरकता कायम गर्न अर्न्स्ट एन्ड यङ (ईवाई)ले गणना साझेदारका रूपमा भूमिका निर्वाह गरेको थियो । आउटरिच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (एएएन)का प्रथम उपाध्यक्ष उज्ज्वल शाक्यले नेपाली एजेन्सीहरूको उपलब्धि गर्वको विषय भएको बताए । उनले नेपाली विज्ञापन तथा मार्केटिङ उद्योगमा रहेको प्रतिभा, सिर्जनशीलता र महत्वाकांक्षाको यो राम्रो पहिचान भएको उल्लेख गरे । फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपालको प्रदर्शनले नेपाली सिर्जनात्मक, डिजिटल, कार्यक्रम तथा सक्रियता एजेन्सीहरूले क्षेत्रीय मञ्चमा आफ्नो कामलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएको छ ।  साथै, यस उपलब्धिले नेपाली विज्ञापन तथा मार्केटिङ क्षेत्रमा नयाँ पुस्ताका सिर्जनात्मक तथा व्यावसायिक प्रतिभाको सम्भावनालाई समेत उजागर गरेको छ ।

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै बलेफीका अधिकृतसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ । गाउँपालिकाको कार्यलयमा सेवा लिन आएका एक ज्येष्ठ नागरिकप्रति गरिएको व्यवहारका सम्बन्धमा उजुरी तथा गुनासो प्राप्त भएपछि मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको हो । मन्त्रालयको पत्रअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिइएको छ । मन्त्रालयले सार्वजनिक पदमा रहेका पदाधिकारी तथा कर्मचारीले सेवाग्राहीप्रति सम्मानजनक, मर्यादित र उचित व्यवहार गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति त्यस्तो व्यवहार नगर्नुको कारणबारे लिखित स्पष्टीकरणसमेत मागेको छ ।

नयाँ प्रविधिसहित आयो बीवाईडी एट्टो सिरिज, मूल्य ३० लाख ७५ हजारदेखि

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो । नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ ।  एट्टो १ मा थप सुविधा नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ । एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएमसमेत थप गरिएको छ । एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।  एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट बीवाईडीले एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ। यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ३१२ किलोमिटरसम्म रेन्ज दिनेछ । एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  नयाँ एट्टो ३ मा डिजाइनदेखि प्रविधिसम्म सुधार सन् २०२२ मा नेपालमा सार्वजनिक भएदेखि लोकप्रिय बनेको एट्टो ३ लाई बीवाईडीले नयाँ पुस्तामा थप परिष्कृत गरेको छ । नयाँ एट्टो ३ मा ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ । पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा नयाँ टेललाइट डिजाइन राखिएको छ । गाडीको भित्री भागमा पनि सुधार गरिएको छ । सफ्ट–टच सरफेस बढाइएको छ भने प्रयोग भएका सामग्रीको गुणस्तर र आराममा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो ३ मा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ । त्यस्तै, ५० वाटको वायरलेस स्मार्टफोन चार्जर, ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर तथा अन्य प्रविधि सुविधा थप गरिएको छ । चालक र अगाडिको यात्रुका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ । एट्टो ३ एडभान्स र सुपेरियर भेरियन्टमा डिराक एचडी साउन्ड र ८ वटा स्पिकरसमेत राखिएको छ । २०२६ बीवाईडी एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।  एक्स्पोमा विशेष सुविधा नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न सुविधा ल्याएको छ । योजनाअन्तर्गत एक वर्षको निःशुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, नगद छुट, १० वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । एक्स्पोमा बीवाईडीको स्टल हल ‘ए’ अन्तर्गत स्टल ए५ मा रहेको छ । त्यहाँ ग्राहकले नयाँ एट्टो सिरिजका गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । नयाँ पुस्ताका एट्टो सिरिजमा गरिएको डिजाइन, प्रविधि, सुरक्षा र आरामसम्बन्धी सुधारले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाउने कम्पनीको अपेक्षा छ ।

सुजुकीको मनसुन सर्भिस क्याम्प : पार्ट्समा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘सुजुकी मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो । मनसुनका कारण सवारीसाधनमा हुने जोखिमलाई ध्यानमा राख्दै अभियान सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने सवारीका विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन् । क्याम्पअन्तर्गत पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत, श्रम शुल्कमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यस्तै, ग्राहकले निःशुल्क सामान्य जाँच, एसी तथा ब्याट्री जाँच गराउन सक्नेछन् । ब्रेक, टायर, वाइपर र विद्युतीय प्रणालीको समेत विशेष जाँच गरिने कम्पनीले जनाएको छ । क्याम्पमा सवारीसाधनको हेरचाह तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारीसमेत दिइनेछ । सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकको सुरक्षा र सवारीको उचित मर्मतसम्भारलाई प्राथमिकता दिइएको बताए । क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्प देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर क्याम्पको सुविधा लिन सक्नेछन् ।

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न अध्ययन कार्यदल गठन

काठमाडौं । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।  उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (हिजो) बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरिएको हो । बैठकमा सचिव यादवका साथै अर्थसचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथासरोकारवालाहरू सहभागी थिए । बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो ।  सचिव यादवका अनुसार कार्यदलले पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक, कानुनी तथा अन्य सम्बन्धित पक्षको वस्तुगत अध्ययन गर्नेछ ।  कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा आवश्यक निर्णय लिइनेछ ।   प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनेछन् ।  साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव रकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनेछन् । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिवसदस्य–सचिव रहने जनाइएको छ । कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयमा पेस गर्नेछ। मिल पुनः सञ्चालनका सम्बन्धमा यसअघि लिइएका निर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेश गरेका प्रतिवेदन, सुझाव र सिफारिसहरूको पनि कार्यदलले अध्ययन गर्नेछ । साथै मिल परिसरमा रहेका भवन, कारखाना,अन्य भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था समेत अध्ययन गरिनेछ ।  सम्पत्ति तथा दायित्वसम्बन्धी विषयको फरफारकका लागि आवश्यक कानुनी तथा व्यावहारिक सुझाव सरकारलाई पेस गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ ।

नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई चितवनस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा छुट दिने भएको छ । यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, अस्पतालमा उपलब्ध सिटी स्क्यान तथा शल्यक्रिया सेवामा थप १०–१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सहभागीले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य कागजात पेस गरी सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।