विकासन्युज

सीटीईभीटीमा कार्यरत करार तथा ज्यालादारी श्रमिक आन्दोलित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार तथा ज्यालादारी श्रमिक आन्दोलित बनेका छन् ।  विभिन्न माग राख्दै आन्दोलित बनेका कर्मचारीहरूले मंगलबार (आज) सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।  लामो समयदेखि संस्थामा कार्यरत भए पनि आफूहरूको रोजगारी तथा सेवा–सुविधा सुनिश्चित नगरिएको भन्दै श्रमिकहरूले माग सम्बोधनका लागि दबाबस्वरूप कार्यालय घेराउ गरेका हुन् । उनीहरूले आफूहरूलाई हाल जुन पद तथा जिम्मेवारीमा काम गरिरहेका छन्, सोही पदमा निरन्तर काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन् ।  यस्तै, करार कर्मचारीलाई पनि संस्थामा गरेको श्रम र योगदानका आधारमा न्यायोचित सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । करार कर्मचारीलाई दशैंदेखि पोसाक भत्ता, प्रशिक्षण भत्ता, दुर्गम भत्ता, स्थानीय भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता, सामाजिक सुरक्षा, उपदान लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग श्रमिकहरूले अघि सारेका छन् । त्यस्तै, मासिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हालकै अवस्थामा निरन्तर काम गर्न दिनुपर्ने र अनावश्यक रूपमा पद, काम, जिम्मेवारी वा कार्यप्रकृतिमा परिवर्तन गर्न नहुने माग पनि उनीहरूको छ ।

बैंकको कर्जा बढाउन सांसद गजुरेलका तीन सुझाव

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै कर्जा विस्तार हुन नसकेको भन्दै सांसद आशिष गजुरेलले कर्जा प्रवाह बढाउन तीनवटा विषयमा तत्काल सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गजुरेलले बैंकमा पैसा भए पनि व्यवसायी तथा लगानीकर्ताले कर्जा लिन नचाहनु अर्थतन्त्रको गम्भीर समस्या भएको बताए । उनका अनुसार अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभावभन्दा पनि निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर हुनु मुख्य चुनौती बनेको छ । ‘बैंकमा पैसा छ तर व्यवसायीले कर्जा लिन चाहिरहेका छैनन्,’ उनले भने, ‘व्यवसायीको कर्जा लिने आत्मविश्वास घटेको छ। यसलाई बुस्ट गर्न सरकारले सोच्नुपर्छ ।’ सरकारले मात्रै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी र कर्जा विस्तार नबढेसम्म उच्च आर्थिक वृद्धि हासिल गर्न कठिन हुने उनको भनाइ छ । गजुरेलले बैंकबाट कर्जा प्रवाह बढाउन सरकारले मुख्यतः नीतिगत सुधार तथा स्थिरता, लगानीकर्ताको सुरक्षा र कर्जालाई उत्पादनसँग जोड्ने तीन क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए । उनका अनुसार सरकारले नीतिगत सुधार र स्थिरतामा ध्यान दिनुपर्छ । उनले लगानीकर्ताले दीर्घकालीन निर्णय गर्न सक्ने वातावरण निर्माण गर्न नीतिगत स्थिरता आवश्यक रहेको बताए । पटक–पटक हुने नीतिगत परिवर्तनले निजी क्षेत्रलाई लगानीसम्बन्धी निर्णय लिन असहज बनाउने भन्दै उनले सरकारले स्पष्ट, पूर्वानुमानयोग्य र स्थिर नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । उनका अनुसार दोस्रो  लगानीकर्ताको सुरक्षामा ध्यान दिनुपर्छ । गजुरेलले निजी क्षेत्रलाई लगानीका लागि सुरक्षित वातावरणको अनुभूति गराउनुपर्ने बताए । लगानीकर्ताले आफ्नो लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा हुने विश्वास नगरेसम्म बैंकबाट कर्जा लिएर जोखिम लिन तयार नहुने उनको तर्क छ । ‘सरकारले निजी क्षेत्रलाई कन्फिडेन्समा लिनुपर्छ,’ उनले भने । उनका अनुसार सरकारले निजी क्षेत्रलाई केवल कर तिर्ने वा रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा हेर्नुभन्दा आर्थिक विकासको साझेदारका रूपमा व्यवहार गर्नुपर्छ।  लगानीकर्तासँग नियमित संवाद, समस्याको समाधान र नीतिगत स्पष्टताले निजी क्षेत्रको मनोबल बढाउन सक्ने उनले बताए । उनले बैंककाे कर्जा बढाउन उत्पादनमा जोड जाेड दिनुपर्छ । ​​​​​​​गजुरेलले बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जालाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिए । कर्जा बढाउनु मात्र अर्थतन्त्रका लागि पर्याप्त नहुने भन्दै उनले कर्जा उत्पादन, रोजगारी र आय सिर्जना गर्ने क्षेत्रमा जानुपर्ने बताए । उत्पादनशील क्षेत्रमा कर्जा विस्तार हुँदा त्यसले व्यवसायको विस्तार, रोजगारी सिर्जना, आय वृद्धि र समग्र माग बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशतमा सवारी कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकले उक्त विशेष कर्जा योजना ल्याएको हो । बैंकका अनुसार योजनाअन्तर्गत हाल कायम सवारी कर्जाको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । यो विशेष ब्याजदर भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ । बैंकका अनुसार ग्राहकले कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा २४ घण्टाभित्र सवारी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिद गर्न सहज र छिटो कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ । उक्त सवारी कर्जा सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुने जनाइएको छ । नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यो विशेष योजनाबाट लाभ लिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजारअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने उद्देश्यले विशेष सवारी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।

संवैधानिक निकाय लाचार बने : सांसद केसी

काठमाडाैं । नेपाली कांग्रेसका सांसद अर्जुननर सिंह केसीले संवैधानिक निकाय लाचा बनेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक निकायहरु सरकारको लाचार बनेको आरोप लगाएका हुन् ।  उनले प्रधानमन्त्री बालेन शाहको एक्लै हिँड्ने बानीमा पनि प्रश्न गरे । उनले सिंगो संसद प्रधानमन्त्रीको साथमा रहेको भए पनि उनी एक्लै भएको भन्ने स्टाटसप्रति प्रश्न गरे । उनले संसदप्रति जिम्मेवार र जवाफदेही हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । 

करिब ३ करोड ठगी गरेका आरोपमा ग्याटसबाइ कन्सल्टेन्सीका सीईओ बुढाथोकी पक्राउ

काठमाडौं । जापान पठाउने भन्दै ठगी गरेको आरोपमा ग्याटसबाइ इन्टरनेशनल कन्सल्टेन्सीका सीईओ पक्राउ परेका छन् । जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका २९ वर्षीय प्रतीक बुढाथोकी सोमबार बुटवलबाट पक्राउ परेका हुन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका बुढाथोकी रहेका छन् । उनलाई प्रहरीले वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

६ लाख घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दुवै कर्मचारीले आपसी मिलेमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर खड्काले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पुलको डिजाइन, पुनःडिजाइन, तेस्रो पक्षबाट प्रमाणीकरण तथा भुक्तानी प्रक्रियासम्बन्धी काम सम्पन्न गर्न दुवै कर्मचारीले मिलेमतो गरेको खुलेको अख्तियारले जनाएको छ । ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर कायम गरेको छ । आयोगले ६ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

बजाजका दुई नयाँ विद्युतीय स्कुटर नेपालमा, मूल्य २ लाख ८१ हजार

काठमाडौं । बजाज अटो लिमिटेडले नेपालमा चेतक विद्युतीय स्कुटरका दुई नयाँ मोडल सी२५०१ र सी३५०३ सार्वजनिक गरेको छ । नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा यी स्कुटर सार्वजनिक गरिएको हो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएका नयाँ स्कुटरले बजाजको विद्युतीय सवारीसाधनको सूची थप फराकिलो बनाएको कम्पनीले जनाएको छ ।  सी२५०१ मा ११३ किलोमिटरसम्मको दूरी चेतक सी२५०१ मा २.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको चार्जमा प्रमाणित आईडीसीअनुसार ११३ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा शून्यदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने द्रुत चार्जिङ प्रणाली छ । रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, संगीत चलाउने तथा रोक्ने सुविधा, पछाडि चलाउने सुविधा र २५ लिटरको सिटमुनिको भण्डारण क्षमता उपलब्ध छ । सी२५०१ ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी यल्लो गरी ६ रङमा उपलब्ध हुनेछ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।  सी३५०३ मा १५१ किलोमिटरसम्मको यात्रा चेतक सी३५०३ मा ३.५ किलोवाट घण्टाको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ । सी३५०३ मा डिजिटल एलसीडी पर्दा, ब्लुटुथ जडान, फोन तथा सन्देश आएको सूचना र ३५ लिटरको सिटमुनिको भण्डारण क्षमता रहेको छ । घोडाको नालजस्तो आकारको डीआरएल बत्तीले यसको पुरानो शैलीको आकर्षणलाई आधुनिक डिजाइनसँग जोडेको कम्पनीले जनाएको छ । सी३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।  हरित यातायात प्रवर्द्धनमा जोड लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चेतकको नयाँ मोडलसँगै नेपालमा हरित यातायातको क्षेत्रमा बजाजको उपस्थिति थप विस्तार भएको बताए । गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि नयाँ दुई मोडलमार्फत थप ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । चेतक सी२५०१ र सी३५०३ नेपालभरका छनोट गरिएका बजाज विक्रेतामार्फत बुकिङका लागि उपलब्ध छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ स्कुटर प्रत्यक्ष रूपमा हेर्न तथा अनुभव गर्न विशेष प्रदर्शनी क्षेत्रसमेत राखिएको छ । बजाज नेपालले विद्युतीय सवारीसाधनका ग्राहकलाई सहज र भरपर्दो सेवा दिन आफ्नो सेवा सञ्जालमार्फत निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ ।

विशेष अदालतमा गोल्छाको बयान लिइँदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि शेखर गोल्छा विशेष अदालत पुगेका छन् ।  मंगलबार (आज) गोल्छा विशेष अदालतमा बयानका लागि हाजिर भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ ।  गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ।  त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।