विशेष अदालतमा गोल्छाको बयान लिइँदै
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि शेखर गोल्छा विशेष अदालत पुगेका छन् । मंगलबार (आज) गोल्छा विशेष अदालतमा बयानका लागि हाजिर भएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा यति बेला उनको बयान चलिरहेको छ । गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।
अमेरिकी अदालतबाट अडानीलाई ‘क्लिन चिट’, मुद्दा नै स्थायी रूपमा खारेज
काठमाडौं । अमेरिकाको एक अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध ठगी तथा घुसखोरीसँग सम्बन्धित आपराधिक आरोप स्थायी रूपमा खारेज गरेको छ । यससँगै दुई वर्षदेखि चलिरहेको आपराधिक कानुनी प्रक्रिया पनि अन्त्य भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाको न्युयोर्कस्थित इस्टर्न डिस्ट्रिक्टको जिल्ला अदालतले न्याय विभागले दायर गरेको मुद्दा खारेज गर्न माग गर्दै दिएको निवेदन स्वीकृत गरेको हो । अदालतले गौतम अडानी, सागर अडानी र अडानी ग्रिन इनर्जी लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत विनीत जैनविरुद्ध लगाइएका आरोप खारेज गरेको छ । उनीहरूमाथि सेक्युरिटिज ठगीको षड्यन्त्र, वायर ठगीको षड्यन्त्र तथा सेक्युरिटिज ठगीलगायतका आरोप लगाइएको थियो । अदालतको यो फैसला ‘डिसमिसल विथ प्रिजुडिस’ अर्थात् स्थायी रूपमा मुद्दा खारेज गर्ने आधारमा आएको हो । यसको अर्थ यी आपराधिक आरोपमा पुनः मुद्दा दायर गर्न पाइने छैन र आपराधिक कानुनी प्रक्रिया स्थायी रूपमा अन्त्य भएको छ । गौतम अडानीले अदालतको फैसलाको स्वागत गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘म ती सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु, जसले हामीमाथि, व्यवस्थामाथि र भारतको न्याय दिने क्षमतामाथि कहिल्यै विश्वास गुमाएनन् ।’ यो मुद्दा सन् २०२४ को नोभेम्बरमा सार्वजनिक भएको थियो । अमेरिकी अभियोजकहरूले गौतम अडानी, सागर अडानी, अडानी ग्रिन इनर्जीका तत्कालीन सीईओ विनीत जैन तथा अन्य व्यक्तिहरू भारतीय सरकारी अधिकारीहरूलाई करिब २५ करोड अमेरिकी डलर घुस दिने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका थिए ।
कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि बैंकले उक्त सहयोग गरेको हो । सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने छ । नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार सहयोगले बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्नुका साथै जीवनरक्षा दर बढाउन र स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्नेछ । ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनासहित बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
देउवा समूहको भेलामा बद्री पाण्डे नजाने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री बद्री पाण्डे साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको संस्थापनइतर समूहको भेलामा सहभागी नहुने भएका छन् । वरिष्ठ नेता डा. शेखर कोइराला भने उक्त भेलामा सहभागी भएर सम्बोधन गर्ने निश्चित भइसके पनि कोइराला समूहकै नेता पाण्डेले भेलामा सहभागी नहुने स्पष्ट पारेका हुन् । पाण्डेले आफू विगतदेखि नै पार्टीभित्रका कुनै पनि समूह वा गुटले आयोजना गर्ने छुट्टाछुट्टै भेला तथा कार्यक्रममा सहभागी नभएको बताए । त्यसैअनुसार साउन २९ गतेदेखि आयोजना हुने भेलामा पनि आफू सहभागी नहुने उनको भनाइ छ । विकास न्यूजसँग कुरा गर्दै पाण्डेले भने, ‘म कुनै समूहको भेला र कार्यक्रममा जाने गरेको छैन । त्यसैले २९ गते हुने भेलामा पनि जाँदिनँ ।’ वरिष्ठ नेता डा. कोइराला भने आफ्नो राजनीतिक धारणा राख्नका लागि उक्त फोरममा सहभागी हुनु उपयुक्त हुने पाण्डेको धारणा छ । पार्टीभित्र फरक विचार र दृष्टिकोण राख्ने नेताहरूले आफ्ना कुरा राख्ने अवसरलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । तर, आफू भने कांग्रेसलाई समूहगत विभाजनबाट बाहिर निकालेर एकीकृत र सग्लो पार्टी निर्माण गर्ने अभियानमा रहेको पाण्डेले बताए । पार्टीभित्र अहिले देखिएको गुटगत गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने भन्दै उनले सबै पक्षलाई एकताको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पाण्डे कुनै समूह विशेषको गतिविधिमा सहभागी हुनुभन्दा पार्टीको समग्र एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने पक्षमा छन् । त्यसैले पार्टीभित्रको पूर्ण एकतापछि आयोजना हुने भेलामा मात्र आफू सहभागी हुने उनले बताए । ‘मेरो प्राथमिकता कांग्रेसलाई एकीकृत र सग्लो बनाउने हो । पूर्ण एकतापछिको भेलामा मात्रै म सहभागी हुन्छु,’ पाण्डेले भने । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुने भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, विशेष महाधिवेशनसँग जोडिएका विषय तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी छ । भेलामा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहने नेताहरूले बताएका छन् । उक्त भेलालाई पूर्वसभापति देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पाण्डे भने आफू कुनै गुट वा समूहको भेलामा सहभागी नहुने पुरानै अडानमा कायम रहेको बताएका छन् । उनले पार्टीभित्र देखिएका मतभेदको समाधान समूहगत शक्ति प्रदर्शनबाट नभई संवाद र एकताबाट खोजिनुपर्ने धारणा राखेका छन् ।
शक्तिशाली भूकम्पले कोलम्बिया संकटमा , मृतकको संख्या बढ्ने आशंका
काठमाडौं । पश्चिमी कोलम्बियामा उद्धार कार्य मंगलबार दोस्रो दिन पनि जारी रह्यो । उद्धारकर्मीहरूले भत्किएका भवन र ध्वस्त भएका घरको भग्नावशेषमा खोजी गरिरहेका छन् । दशकौंयताकै शक्तिशाली भूकम्पका कम्तीमा १३० जना मानिसहरूको मृत्यु भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले पेरेइरा र कालीजस्ता सहरमा अग्ला भवनहरूलाई भग्नावशेषमा परिणत गरिदिएको छ । मनिजालेस सहरको ऐतिहासिक क्याथेड्रलको एउटा टावरसमेत चर्किएर क्षतिग्रस्त भएको छ । प्रहरी, सैनिक र स्वयंसेवकको सहयोगमा उद्धार टोलीले रातभर उत्खनन गर्ने मेसिन प्रयोग गर्दै तथा कतिपय अवस्थामा आफ्नै हातले भग्नावशेष हटाउँदै जीवित मानिसको खोजी गरेका थिए । करिब २२ लाख जनसंख्या रहेको कालीमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । दर्जनौं भवन ढल्ने अवस्थामा पुगेका वा पूर्ण रूपमा ध्वस्त भएका छन्, जसका कारण स्थानीय बासिन्दा सडकमा निस्कन बाध्य भएका छन् । सहरको एउटा अस्पतालका माथिल्ला केही तला आफैभित्र खसेका छन् । तीमध्ये केही बालबालिकाको उपचारका लागि प्रयोग हुने तला थिए । घटनाका कारण केही बिरामी भग्नावशेषमा फसेका छन् भने करिब ६ सय अन्य बिरामीलाई भग्नावशेषले भरिएको सडकमा उपचार गर्नुपरेको अस्पतालका निर्देशक इर्ने टोरेस कास्ट्रोले काराकोल टेलिभिजनलाई बताएका छन्। कालीकी ४३ वर्षीया कार्मेन यास्मिन गार्सिया उद्धार टोलीसँग स्वयंसेवकका रूपमा काम गरिरहेकी छन् । उनले सोमबार दिउँसो आफ्नो समूहले भत्किएको भवनबाट सात जनालाई जीवितै उद्धार गरेको, तर अन्य चार जना र एउटा कुकुर अझै भग्नावशेषमा फसेको बताइन् । ‘केही समयअघि हामीले कोतरेको जस्तो आवाज सुनेका थियौं तर अहिले केही सुनिँदैन। कुकुर जीवितै छ र हामी यी मानिसलाई बाहिर निकाल्न सक्छौं भन्ने आशा अझै छ,’ गार्सियाले भनिन्, ‘हामीलाई लाठी र बेल्चा लिएर आउने मानिस चाहिन्छ । जति धेरै मानिसले सहयोग गर्छन्, त्यति नै राम्रो हुन्छ ।’ भूकम्पबाट सबैभन्दा बढी प्रभावित रिसाराल्डा राज्यको राजधानी पेरेइरामा अधिकारीहरूले ६६ जनाको मृत्यु भएको बताएका छन् । सहरमा भूकम्पबाट भएको विनाश पनि स्पष्ट रूपमा देखिएको छ । पूरै आवासीय क्षेत्र कंक्रिटका ढिस्का र बटारिएका फलामका थुप्रोमा परिणत भएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा भूकम्पका बेला सहरको विमानस्थल निकै जोडले हल्लिएको देखिन्छ । मानिसहरू सुरक्षित स्थानमा बसिरहेका बेला विमानस्थलको छतका ठूला टुक्रा खसेका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको ग्रामीण प्रान्त चोकोमा थप १३ जनाको मृत्यु भएको छ । कालीतर्फ सुरक्षा बल परिचालन केही दिनअघि मात्रै सत्ता सम्हालेका राष्ट्रपति अबेलार्दो डे ला एस्प्रिएल्लाले कालीमा मात्रै ३५ जनाको मृत्यु भएको र १८८ जना बेपत्ता रहेको बताएका छन् । लुटपाटका घटना भएको खबरपछि उनले बिहान उज्यालो हुनुअघि नै १ हजार सुरक्षाकर्मी सहरमा परिचालन गरिने बताएका छन्। काली र पेरेइरामा सोमबार राति कर्फ्यू लागू गरिएको थियो । ‘हाम्रो उद्देश्य आवश्यक पर्ने जुनसुकै तरिकाले सहयोग गर्नु हो । यहाँ आफ्ना जनताको रक्षा गर्ने वा ऐक्यबद्धता जनाउने विषयमा कुनै भेदभाव वा वैचारिक विभाजन छैन,’ डे ला एस्प्रिएल्लाले सोमबार साँझ पत्रकारहरूसँग भने। यस विपत्तिलाई सन् १९९९ मा यही कफी उत्पादन हुने क्षेत्रमा गएको विनाशकारी भूकम्पसँग तुलना गरिएको छ । उक्त भूकम्पमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यस्तै, गत जुनमा छिमेकी भेनेजुएलामा गएको विनाशकारी भूकम्पसँग पनि यस घटनाको तुलना गरिएको छ, जहाँ ६ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार (आज) अपरान्ह ३ बजे बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
एमबैंक र एनएमसी कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेड (एनएमसी कोअप) बीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ । एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच साझेदारी भएको हो । सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो । सेवा भने साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । देशभर ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको डिजिटल प्लेटफर्ममार्फत थप वित्तीय सेवा उपलब्ध गराउने भएको छ । साझेदारीपछि एनएमसी कोअपका सदस्यले एउटै मोबाइल एपमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट र केवाईएम अपडेटलगायतका सेवा लिन सक्नेछन् । साझेदारीमा डिजिटल ऋण सेवालाई समेत प्राथमिकता दिइएको छ । चरणबद्ध रूपमा सदस्यले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण तथा नयाँ ऋण आवेदनजस्ता सेवा मोबाइल प्लेटफर्मबाटै लिन सक्नेछन् । डिजिटल प्रक्रियाबाट आवश्यक कागजात बुझाउन र ऋण आवेदनको अवस्था हेर्न सकिने भएकाले ऋणका लागि शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ । एनएमसी मल्टिपर्पज को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए । उनले साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले साझेदारी मोबाइल बैंकिङ सेवाको विस्तारमा मात्र सीमित नभएको बताए । सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहलका रूपमा यसलाई अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार बैंकिङ, भुक्तानी र ऋण सेवालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरी सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ । कम्पनीका अनुसार साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ र ‘वन एप, मल्टिपल सर्भिसेज’ अवधारणालाई थप बलियो बनाएको छ । यसले सहकारी, लघुवित्त तथा वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई समेत थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
२९ गतेको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन् । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले आगामी २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । उक्त भेलामा नेता कोइरालाले समेत सम्बोधन गर्ने तयारी रहेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार २९ गतेको भेला एकताको आह्वान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । उनले भने, ‘यो भेला विभाजनको भेला होइन, एकताको भेला हो ।’ पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि इतर समूहले विभिन्न गतिविधि गर्दै आए पनि कोइराला भने समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकहरूमा सहभागी भएका थिएनन् । तर, कोइरालाले राष्ट्रिय भेलामा भने सहभागी हुने निर्णय गरेका छन् । पार्टीभित्र देखिएको विवादमा कोइरालाले पछिल्लो समय आफूलाई मध्यमार्गी भूमिकामा प्रस्तुत गर्दै आएका छन् । देउवा पक्ष र थापा पक्षबीच बढ्दो टकरावका बीच कोइरालाको भेलामा सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. कोइराला विगतदेखि नै पार्टीभित्र मेलमिलापको पक्षमा देखिँदै आएका नेता हुन् । देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । उक्त भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भएपछि इतर समूह थप उत्साहित बनेको छ । अदालतले फैसला पुनरावलोकनका लागि आदेश दिएसँगै तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको निष्कर्ष उक्त समूहको छ ।