कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार (आज) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको उनले बताए । बैठकमा संस्थापन इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन, कांग्रेसको आन्तरिक एकता तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश लगायत विषयमा छलफल हुन लागेको हो । संस्थापन इतर समूहले आगामी साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो। बैठक छिटोमा दुई दिनसम्म चल्ने र आवश्यक भए लम्बिन सक्ने प्रवक्ता चालिसेले जानकारी दिए । पार्टीभित्रको विवाद चर्किँदै गएपछि संस्थापन इतर समूहले नेतृत्वमाथि एकता कायम गर्न ठोस पहल नगरेको आरोप लगाउँदै छुट्टै राजनीतिक बाटो रोज्ने बताउँदै आएको छ । तर, कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खुला गरेपछि इतर समूह तत्कालका लागि केही पछि हटेको देखिए पनि कांग्रेस विभाजनको तरबार पुर्णरूपमा हटेको छैन । सर्वोच्चको पछिल्लो आदेशपछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति, आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । इतर समूहले भने राष्ट्रिय भेलामार्फत पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी गरिरहेको नेता जितजंग बस्नेतले जानकारी दिए।
हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासँग राख्यो चार सर्त
काठमाडौं । हर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले अमेरिकासँग विभिन्न कडा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले शनिबार हर्मुज जलडमरूमध्य खोल्न अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनुपर्ने, यस क्षेत्रबाट अमेरिकी सैन्य फौज फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति तिर्नुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने बताएका हुन् । इरानी सुरक्षा परिषद्ले क्षेत्रीय सहयोगीमाथि अमेरिकाले गर्दै आएका आक्रमण रोक्नुपर्ने तथा इरानमाथि दिइने धम्की अन्त्य गर्नुपर्ने मागसमेत गरेको छ । जुन महिनामा अमेरिका र इरानबीच भएको अन्तरिम सम्झौताअनुसार प्रतिबन्ध हटाउने समयतालिका र क्षतिपूर्ति योजनालाई अन्तिम सम्झौताको हिस्सा बनाउने तथा रोक्का गरिएका इरानी सम्पत्तिबारे पनि वार्ता गर्ने सहमति भएको थियो । अन्तिम सम्झौताका लागि तय गरिएको ६० दिने वार्ताको अवधि अब एक साताभन्दा केही बढी समयमा सकिँदैछ । इरानको यस्तो घोषणा अबुधाबीको राष्ट्रिय तेल कम्पनी (एडीएनओसी) ले आफ्ना एउटा पानीजहाजमाथि हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको केही समयपछि आएको हो । एडीएनओसीले घटनामा कोही घाइते नभएको र अवस्था नियन्त्रणमा लिइएको जनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि घटनाको कडा शब्दमा निन्दा गर्दै हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एडीएनओसीसँग आबद्ध ट्यांकरलाई लक्षित गरिएको जनाएको छ । ओमानसँग पनि सम्झौताको तयारी यसैबीच, इरानले हर्मुज जलडमरूमध्य व्यवस्थापनका विषयमा ओमानसँग सम्झौता नजिक पुगेको बताएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार दुवै देश जलमार्गमा जहाजको आवागमनसम्बन्धी सम्झौताको नजिक पुगेको बताएका छन् । विशेषगरी जहाज आवतजावतका लागि निश्चित मार्ग तोक्ने विषयमा सहमति बन्न लागेको उनको भनाइ छ । ओमानले पनि वार्ता सकारात्मक र रचनात्मक वातावरणमा जारी रहेको जनाएको छ । साथै जलडमरूमध्यमा पानीजहाजमाथि भएका आक्रमणको निन्दा गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँगको अन्तर्वार्तामा इरान र उसका खाडी क्षेत्रका छिमेकी, विशेषगरी ओमान, जलडमरूमध्यबाट सुरक्षित रूपमा जहाज आवतजावत सुनिश्चित गर्ने विषयमा छलफल गरिरहेको बताएका छन् । उनका अनुसार प्रस्तावित योजनामा जहाज आवतजावतका लागि निश्चित ट्राफिक प्रणाली बनाउने, जलमार्गबाट विस्फोटक पदार्थ हटाउने तथा इरानले व्यापारिक पानीजहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउने विषय समावेश छन् । ‘हामी विश्वास गर्दैनौं, हामी प्रमाणित गर्छौं,’ भान्सले भने । उनका अनुसार अमेरिकाले इरानलाई उसको भनाइभन्दा पनि व्यवहारका आधारमा मूल्यांकन गर्नेछ । हर्मुज बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु हुनुअघि हर्मुज जलडमरूमध्य खुला र कुनै शुल्क नलाग्ने अन्तर्राष्ट्रिय जलमार्ग थियो । तर इरानले यसको आवागमन प्रभावकारी रूपमा रोक्न सक्ने अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्याएको छ । यसका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै मुद्रास्फीति थप चर्किएको र विश्वका विभिन्न मुलुकमा तेल भण्डारको अवस्थालाई लिएर चिन्ता बढेको छ । शुक्रबार तेलको मूल्यसमेत बढेको थियो । हर्मुज जलडमरूमध्यमा स्वतन्त्र रूपमा जहाज आवतजावत गर्न दिने सम्बन्धमा ट्रम्प प्रशासनले सम्झौताको संकेत गरेपछि लगानीकर्ताहरू त्यसको प्रतीक्षामा थिए । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ता सरदार मोहबीले भने होर्मुज खोल्ने विषय इरानले तय गर्ने विशेष संयन्त्र र सर्तमा निर्भर रहेको बताएका छन् । उनका अनुसार यसको इरान-ओमान वार्तासँग सम्बन्ध छैन । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार सीएनबीसीसँग होर्मुजमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने सम्झौता बुधबारसम्म हुन सक्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले पनि सम्झौता नजिक पुगेको संकेत गरेका थिए । तर हालसम्म त्यस्तो कुनै सम्झौता घोषणा भएको छैन । व्यापारसम्बन्धी गुप्तचर संस्था केप्लरका अनुसार शुक्रबार हर्मुज जलडमरूमध्यमार्फत हुने पानीजहाज आवागमन अघिल्लो दिनको तुलनामा ३३ प्रतिशतले घटेको थियो । तीमध्ये अधिकांश पानीजहाजले इरानतर्फको मार्ग प्रयोग गरिरहेका थिए । मिडिया रिपोर्टअनुसार इरान र ओमानले जलडमरूमध्यबाट जहाज आवतजावत गर्ने मार्ग निर्धारण गर्न सम्झौताको तयारी गरिरहेका छन् । प्रस्तावअनुसार भित्रिने पानीजहाजले इरानी जलक्षेत्र र बाहिरिने पानीजहाजले ओमानी जलक्षेत्र प्रयोग गर्नेछन् । तर इरानी सरकारी सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेको मस्यौदा योजनामा हर्मुजमार्फत हुने आवागमनमा थप प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । सरकारी सञ्चारमाध्यम फार्सका अनुसार उक्त योजनामाथि इरानी संसद्ले समीक्षा गरिरहेको छ । मस्यौदाअनुसार अमेरिकी र इजरायली पानीजहाजलाई हर्मुज जलडमरूमध्यबाट पार हुन प्रतिबन्ध लगाइनेछ । इरानलाई क्षति पुर्याएका अन्य देशका पानीजहाजलाई पनि क्षतिपूर्ति नतिरेसम्म जलडमरूमध्यबाट पार हुन नदिने प्रस्ताव गरिएको छ । यसैबीच, अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ८३.५५ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य पनि करिब १ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.१८ डलरमा पुगेको छ । यद्यपि, साप्ताहिक आधारमा भने दुवैको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । अमेरिका–इरान तनाव अझै चर्किँदै जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि केही समय युद्धविरामजस्तो अवस्था बने पनि त्यसपछि दुवै पक्षबीच लगातार आक्रमण र जवाफी आक्रमण हुँदै आएका छन् । इरानले आफ्ना केही खाडी छिमेकीलाई समेत क्षेप्यास्त्र र ड्रोनमार्फत निशाना बनाएको छ । बिहीबार इरानका प्रमुख वार्ताकारले अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ‘नाटकपूर्ण कूटनीति’ गरेको आरोप लगाएका थिए । वासिङ्टन र तेहरानबीच महिनौंदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको भनिएको वार्ताबारे दुवै पक्षले फरक-फरक दाबी गरिरहेका छन् । इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई लक्षित गर्दै लेखेका थिए, ‘ठूलो आक्रमण आउँदैछ... पर्खनूहोस्, उनीहरू वार्ता गर्न चाहन्छन् । यही हो नाटकपूर्ण कूटनीति ।’ यसअघि ट्रम्पले प्रस्तावित आक्रमण रोक्दै तेहरानसँग सम्झौताको रूपरेखा तय भइसकेको दाबी गरेका थिए । तर इरानी अधिकारीहरूले यस्तो दाबी अस्वीकार गर्दै आफूहरूबीच कुनै वार्ता नभएको बताएका थिए । यसैबीच खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र महत्त्वपूर्ण समुद्री मार्गहरू पुनः जोखिममा परेसँगै अमेरिका-इरान द्वन्द्वको प्रभाव पूरै क्षेत्रमा फैलिँदै गएको छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी पानी पर्ने, केही स्थानमा भारी वर्षाको जोखिम
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भाग तथा बागमती प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ : रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनअघि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढङ्गले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताए । उनले सरकारले नागरिकमाथि करको भार थोपरेको पनि आरोप लगाए । सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उनको भनाइ छ । चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिए । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको उनको भनाइ छ । गाउँका किसान धान न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनले दाबी गरे । उनका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरे पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ । उनले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताए । देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिमा छलछाम हुन्छ, छलैछल हुन्छ । तीन महिना पहिले चुनावभन्दा अगाडि हामीले धेरै भाषण सुन्यौँ, विदेशमा काम गर्ने युवाहरूलाई भित्र्याउँछौँ भने, अहिले ती साथीहरू बाहिरै जाँदैछन् । यो देशमा सुशासन हुन्छ भन्थे, यो देश अब अनलाइनबाट चल्छ भन्थे, यो देश अब ग्यासको लाइनबाट चल्ने भएको छ । यो देशमा धेरै कुरामा हामी सुशासन दिन्छौँ भन्थे, नागरिकले प्रत्याभूति गर्छन्, महँगी भयो, भ्रष्टाचार भयो भन्थे । आज पढ्ने विद्यालयमा छोरीको फिस तिर्दा ट्याक्स तिर्नुपरेको छ ।’ चौधरीले सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै गएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनीसमेत दिए । सरकारले आफूहरूको माग र सुझावलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै चौधरीले नागरिकको आवाज बेवास्ता नगर्न सरकारलाई आग्रह गरे ।
सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न आरोपमा तीन जना पक्राउ
काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भएका हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नबिन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले वानएक्स बेट पमार्फत सट्टेबाजी गर्ने–गराउने गरेको र ठूलो परिमाणमा युएस डलर लगायत अभौतिक मुद्राको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको कारोबार विवरणमा ७९ हजार ६८ दशमलव ६५ युएस डलर नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ युस डलर नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३६ रुपैयाँ बराबरको अभौतिक मुद्रा मौज्दातसमेत फेला परेको छ। यसैगरी, उनीहरूले वानएक्स बेट मार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद गरेको छ। उनीहरूमाथि सट्टेबाजी गर्न–गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चालू पूँजी कर्जा ६० प्रतिशतसम्म दिन मोरङ उद्योग व्यापार संघको सुझाव
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ । साउन २२ गते शुक्रबार विराटनगरमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले सुझाव पत्र गभर्नर पौडेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष राठीले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले लिएको लचिलो मौद्रिक कार्यदिशा तथा निजी क्षेत्रमैत्री व्यवस्थाको स्वागत गरे । उनले मौद्रिक नीतिमा भएका व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे । सरकारले लिएको ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक उत्पादन र लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । संघले चालू पूँजी कर्जासम्बन्धी कडा प्रावधानलाई व्यावहारिक र लचिलो बनाउन सुझाव दिएको छ । उद्योगको नगद प्रवाह र प्रकृतिका आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्न पनि संघले माग गरेको छ । त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसायका लागि स्प्रेड दर न्यून गर्न सुझाव दिइएको छ । निर्यातमुखी उद्योगलाई सहुलियतपूर्ण डलर सटहीदर र सस्तो ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ । आर्थिक शिथिलताबाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत दिन कम्तीमा एक वर्षसम्म बिना हर्जाना तथा जरिवाना कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिनुपर्ने संघले बताएको छ । रियल स्टेट क्षेत्रको कर्जा सीमा, जोखिम भार र धितो मूल्यांकनमा पुनरावलोकन गर्न पनि सुझाव दिइएको छ । उद्योग–व्यवसायको ऋण प्रोभिजनिङ गर्दा ‘बुक लस’को सट्टा ‘क्यास लस’लाई मान्यता दिनुपर्ने संघको माग छ ।त्यसैगरी, सरकारले पुँजीगत खर्च बढाउन राष्ट्र बैंकले वित्तीय सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ । सार्वजनिक बिदाका कारण व्यावसायिक कारोबार प्रभावित हुन नदिन बैंक तथा वित्तीय संस्थामा वार्षिक १३ दिन मात्र बिदा दिने व्यवस्था गर्न पनि संघले सुझाव दिएको छ । ‘असारे विकास’ तथा आर्थिक वर्षको अन्त्यमा हुने वित्तीय चाप अन्त्य गर्न वैशाखदेखि चैतसम्मको अवधिलाई आर्थिक वर्ष कायम गर्नुपर्ने सुझावसमेत संघले दिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले राष्ट्र बैंकले नीतिगत सुधारका कार्यक्रमलाई द्रुत गतिमा कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे । अध्यक्ष राठी र वरिष्ठ उपाध्यक्ष साहले संघका तर्फबाट तयार पारिएको सुझाव पत्र गभर्नर पौडेललाई हस्तान्तरण गरेका थिए ।
पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको सक्रियता, अध्यक्षका उम्मेदवार पाण्डेका यस्ता छन् एजेण्डा
काठमाडौं । पर्यटन, हस्पिटालिटी तथा एभिएसन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका भरतजंग पाण्डे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्सका संस्थापक निर्देशक तथा ग्यालरी पार्क होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डे लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । पर्यटन क्षेत्रको निजी व्यवसायमा हासिल गरेको अनुभवलाई अब संस्थागत नेतृत्वमा रूपान्तरण गर्ने उद्देश्यसहित आफू अध्यक्षको उम्मेदवार बनेको बताउँछन् । पाण्डेको चुनावी अभियानको मूल नारा ‘सशक्त नाट्टा, समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागि’ रहेको छ । उनले नाट्टालाई केवल व्यवसायीको प्रतिनिधिमूलक संस्था नभई सरकारसँग प्रभावकारी नीतिगत संवाद र पैरवी गर्न सक्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमटीटीएम, पोखरा विश्वविद्यालयबाट बीएचएम तथा मकाउस्थित आईएफटीबाट पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन गरेका पाण्डे नाट्टाका पूर्व कार्यसमिति सदस्यसमेत हुन् । अघिल्लो कार्यकालमा उनले नाट्टाको सचिवालय आधुनिकीकरणमा योगदान पुर्याएका छन् । यसपटक भने संस्थालाई प्रविधिमैत्री, पारदर्शी र सदस्य केन्द्रित बनाउने उनको प्रमुख लक्ष्य छ । पाण्डेका अनुसार नेपालको ट्राभल तथा टुर व्यवसाय पछिल्लो समय अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । हवाई टिकटमा लगाइएको भ्याट, डलर कार्डको समस्या, विदेशी मुद्रा कारोबार, अनलाइन ठगी, जीडीएस फ्रड तथा एयरलाइन्ससँगको कमिसन र सेटलमेन्ट विवादले व्यवसायीलाई प्रत्यक्ष असर गरिरहेको उनको भनाइ छ । ‘ट्राभल तथा टुर व्यवसायीहरूले अहिले हवाई टिकटमा लगाइएको भ्याट, डलर कार्डको समस्या र अनलाइन ठगीजस्ता गम्भीर समस्या झेलिरहेका छन्,’ पाण्डेले भने, ‘यी समस्याको समाधान भाषणले होइन, ठोस नीतिगत पहलबाट मात्र सम्भव छ ।’ उनले नाट्टालाई केवल व्यवसायीको प्रतिनिधिमूलक संस्था मात्र नभई सरकारसँग नीतिगत संवाद र पैरवी गर्न सक्ने प्रभावशाली संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । पाण्डेको दृष्टिमा अब नाट्टा परम्परागत शैलीमा सञ्चालन भएर मात्र पुग्दैन । प्रविधिको तीव्र विकाससँगै संस्थाको कार्यशैली र सेवा प्रवाह पनि परिवर्तन गर्न आवश्यक छ । त्यसैले उनले ‘डिजिटल नाट्टा’ निर्माणलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । डिजिटल नाट्टाअन्तर्गत अनलाइन सदस्यता नवीकरण, डिजिटल भुक्तानी, गुनासो सुनुवाइ प्रणाली तथा सदस्यका लागि आवश्यक सूचना र सर्कुलर एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने उनको योजना छ । साथै, नाट्टाको व्यवस्थित डिजिटल डेटाबेस निर्माण गरी सेवा प्रवाहलाई सहज बनाउने र सदस्य तथा संस्थाबीचको दूरी घटाउने उनले बताए । ‘संस्था सदस्यका लागि हो भने सदस्यले संस्थाको सेवा सहज रूपमा पाउनुपर्छ,’ पाण्डेले भने । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको पाण्डेको धारणा छ । नेपालको पर्यटन प्रवद्र्धन सरकार वा नेपाल पर्यटन बोर्डको मात्र जिम्मेवारी नभएकाले निजी क्षेत्रले पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने उनले बताए । सम्भावना भएका अन्तर्राष्ट्रिय बजार पहिचान गरी नियमित ‘सेल्स मिसन’ सञ्चालन गर्ने तथा विश्वका चर्चित ट्राभल मार्टसँग सहकार्य गर्ने योजना उनले अघि सारेका छन् । विदेशी दूतावास तथा कूटनीतिक नियोगसँग सहकार्य गरी नेपाललाई प्राथमिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय स्तरको आफ्नै ट्राभल मार्ट विकास गर्ने योजना पनि उनको छ । पर्यटन व्यवसाय प्रतिस्पर्धात्मक बन्दै गइरहेको अवस्थामा व्यवसायीको क्षमता विकासलाई पनि उनले प्राथमिकतामा राखेका छन् । एकाउन्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङसम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय बजार बुझ्न र नयाँ गन्तव्यसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न फ्याम ट्रिप आयोजना गर्ने उनको योजना छ । नाट्टाको सदस्यता केवल संस्थागत आबद्धता वा परिचयपत्रमा सीमित नभई व्यवसायीको व्यावसायिक क्षमता विकासको माध्यम बन्नुपर्ने पाण्डेको धारणा छ । आउटबाउन्ड टुर व्यवसायमा देखिएका समस्या समाधानका लागि पनि नीतिगत पहल गर्ने उनले बताए । नेपालीहरू विदेश भ्रमणमा जाने क्रम बढे पनि स्विफ्ट ट्रान्सफर, डलर कार्डको उपलब्धता र विदेशी मुद्रा कारोबारसँग जोडिएका समस्या रहेको भन्दै उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी समाधान खोज्ने योजना रहेको बताए । त्यस्तै, कर्पोरेट हाउसलाई आन्तरिक पर्यटनसँग जोडेर देशभित्रै पर्यटन गतिविधि बढाउनुपर्ने उनको भनाइ छ । माउन्ट कैलाश, भुटान, भारत, श्रीलंका लगायतका गन्तव्यलाई समेटेर बहुउद्देश्यीय टुर प्याकेज विकास गर्नुपर्ने उनले बताए । विदेशी कम्पनीबाट हुने ठगी नियन्त्रण गर्न त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न पहल गर्ने पाण्डेले बताए । बंगलादेशी पर्यटकका लागि नेपालमै टाका सटहीको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग पहल गर्ने उनको योजना छ । पर्यटन व्यवसाय विस्तारसँगै व्यवसायीको जोखिम व्यवस्थापन पनि महत्वपूर्ण छन् । जीडीएस फ्रड तथा साइबर अपराधबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि बीमा कम्पनीसँग सहकार्य गरी ‘इन्स्योरेन्स प्रोटेक्सन स्किम’ लागू गर्नुपर्ने उनको भनाइ छ । पर्यटन पूर्वाधार विकासलाई पनि पाण्डेले आफ्नो प्राथमिकतामा राखेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा अझै आधारभूत पूर्वाधारको अभाव रहेको भन्दै उनले दुई वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यमा कम्तीमा २० वटा सार्वजनिक शौचालय निर्माण गर्न पहल गर्ने बताए । त्यस्तै, ‘क्लिन एण्ड ग्रीन नेपाल’ अभियान सञ्चालन गर्ने तथा प्रमुख ट्रेकिङ रुटमा ‘क्यारी इन–क्यारी आउट’ नीति लागू गर्न पहल गर्ने उनको योजना छ । पाण्डेले नाट्टाको सदस्य संख्या कम्तीमा एक हजार पुर्याउने लक्ष्य पनि अघि सारेका छन् । हालको संरचनालाई विस्तार गर्दै नाट्टालाई पर्यटन क्षेत्रको छाता संगठनका रूपमा महासंघको ढाँचामा पुनर्संरचना गर्ने उनको योजना छ । केन्द्रमा सबै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरी काठमाडौं केन्द्रित संस्थाको छवि परिवर्तन गर्ने र देशभरका ट्राभल तथा टुर व्यवसायीलाई एउटै संस्थागत संरचनामा जोड्ने उनले बताए । ‘पर्यटन गन्तव्यको विकाससँगै व्यवसायीको मनोबल उच्च राख्नु हाम्रो दायित्व हो,’ पाण्डेले भने, ‘हामी सदस्यसँगै रहेर, सदस्यकै लागि काम गर्न यो टिम लिएर आएका छौं ।’
ठमेलमा ‘मार्लो होटल’ जसले दिन्छ फाइभस्टारको सुविधा
काठमाडौं । पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ लगानी थपिँदै गएको छ । पर्यटकीय क्षेत्र ठमेलमा ‘मार्लो होटल’ सञ्चालनमा आएको छ । करिब ५ करोडको लगानीमा निर्माण गरिएको होटलले पाहुनालाई स्वागत तथा सेवा गर्दै आइरहेको छ । होटलमा विभिन्न तहका गरेर ३६ वटा कोठा रहेका छन् । गेष्टको आवश्यकता र बजेटअनुसार कोठाको सुविधा तथा मूल्य निर्धारण गरिएको होटलका निर्देशक अभी ढकालले जानकारी दिए । ढकालका अनुसार मार्लो होटलमा स्ट्यान्डर्ड डबल रुमदेखि स्वीट अपार्टमेन्टसम्मका कोठा उपलब्ध छन् । होटलका कोठाको मूल्य न्यूनतम ३ हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म रहेको छ । होटलमा स्ट्यान्डर्ड डबल रुम ६ वटा छन्, जसको मूल्य प्रतिरात ४ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, स्ट्यान्डर्ड ट्विन रुम ६ वटा रहेका छन् भने यसको मूल्य ४ हजार ५ सय रुपैयाँ रहेको छ । त्यसैगरी, डिलक्स फेमिली र डिलक्स थ्री–बेड गरी ६ वटा कोठा रहेका छन् । होटलमा प्रिमियर फेमिली रुम ६ वटा र प्रिमियर किङ रुम ६ वटा छन्। दुवै श्रेणीका कोठाको मूल्य प्रतिरात ६ हजार रुपैयाँ रहेको छ । होटलको विशेष आकर्षणका रूपमा स्वीट अपार्टमेन्ट समेत रहेको छ । ६ वटा स्वीट अपार्टमेन्ट रहेको होटलमा यसको मूल्य प्रतिरात १० हजार रुपैयाँ निर्धारण गरिएको छ । मार्लो होटलका कोठाहरू आकारका हिसाबले पनि फरक–फरक छन् । होटलमा करिब १८५ वर्गफिटदेखि ६ सय वर्गफिटसम्मका कोठा उपलब्ध रहेको निर्देशक ढकालले जानकारी दिए । ठूलो आकारका कोठा परिवार तथा लामो समय बस्ने पाहुनालाई लक्षित गरी तयार पारिएको ढकालको भनाइ छ । होटलले विभिन्न प्रयोजनका लागि आउने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेको छ । व्यवसायिक कामका लागि आउने, पारिवारिक भ्रमणमा रहेका तथा लामो समय बस्न चाहने पाहुनालाई एउटै होटलमा फरक–फरक श्रेणीको आवास सुविधा उपलब्ध गराउने उद्देश्य रहेको ढकाल बताउँछन् । भारत, बंगलादेशी, चीन तथा एशियन मुलुक र युरोपेयिन एवम अमेरिकन सबै मुलुकका पर्यटकहरू होटलमा आउने गरेको उनले जानकारी दिए । होटल सञ्चालनका लागि हाल २५ जना कर्मचारी कार्यरत छन् । आतिथ्य सेवाको गुणस्तर कायम गर्दै पाहुनालाई सहज र आरामदायी वातावरण प्रदान गरिरहेको उनी बताउँछन् । करिब ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको होटलले आवासीय सुविधासँगै पर्यटन तथा आतिथ्य क्षेत्रको बढ्दो मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 'पाहुनाको आवश्यकता र बजेटअनुसार फरक–फरक श्रेणीका कोठा उपलब्ध गराएका छौं । गुणस्तरीय सेवा र आरामदायी वातावरणमार्फत पाहुनाको रोजाइको होटल बन्ने हाम्रो लक्ष्य हो,’ निर्देशक अभी ढकाल भन्छन् । मार्लो होटलले फरक मूल्य र सुविधाका कोठामार्फत बजेटदेखि प्रिमियम वर्गसम्मका पाहुनालाई समेट्ने प्रयास गरेको छ । ३६ कोठा, विभिन्न तहका आवास सुविधा र २५ जना कर्मचारी भएको होटलले पाहुनाको सेवा गरेर आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य राखेको उनले बताए ।