राष्ट्र बैंकले ४ वटा कार बेच्दै, मूल्य ७.२९ लाखदेखि २३.१६ लाख रुपैयाँसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनीका ४ वटा पुराना सवारी साधन बिक्री गर्न लागेको हो ।  राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सन् २०१२ मा बनेको बा ९ च ७३७८ नम्बरको चेभ्रोलेट टाभेरा ७ लाख २९ हजार रुपैयाँमा बिक्रीमा राखेको छ ।  यस्तै, सन् २०१४ मा बनेका किया स्पोर्टेजका ३ वटा कार बिक्रीमा राखेको छ । विभागका अनुसार बा १२ च ८२७५ नम्बरको कारको मूल्य ११ लाख ९२ हजार रुपैयाँ, बा १३ च २०९९ नम्बरको कारको मूल्य २१ लाख १९ हजार रुपैयाँ र बा १३ च २१०० नम्बरको कारको मूल्य २३ लाख १६ हजार रुपैयाँ तोकिएको छ ।  यी सवारी साधन जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा माघ १२ गते बोलपत्र खोलिनेछन् । खरिदका लागि बोलपत्र पेस गर्दा कबोल रकमको ५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ । 

नाडाको नयाँ नेतृत्व चयन प्रक्रियामा उच्च अदालतको ब्रेक, निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । उच्च अदालत पाटनले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमिति चयन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । अदालतको आदेशसँगै नाडाको शुक्रबारका लागि तय निर्वाचन कार्यक्रम यथास्थितिमा राखिएको छ । न्यायाधीश टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार (आज) नाडाको नयाँ नेतृत्व चयन प्रक्रिया रोक्न आदेश दिएको हो  । अदालतले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण गतिविधि हाललाई स्थगित गर्न निर्देशन दिएको हो । अदालतले नाडासँग पुस ९ गते सम्पन्न साधारण सभामा अपनाइएका सम्पूर्ण प्रक्रिया तथा निर्वाचनसम्बन्धी कागजात समेत झिकाउन आदेश दिएको छ । साथै लिखित जवाफ परेपछि वा तोकिएको अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत राखी नियमानुसार पेस गर्न निर्देशन दिएको छ । नाडाले पुस ९ गते साधारण सभा सम्पन्न गरी पुस १० गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तालिकाअनुसार पुस १७ गते उम्मेदवारी दर्ता भएको थियो । २५ सदस्यीय कार्यसमितिका लागि २५ जनाले नै उम्मेदवारी दर्ता गराएपछि सम्पूर्ण पदाधिकारी निर्विरोध भएका थिए । अध्यक्ष पदमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेको थियो । अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएपछि नाडाले शुक्रबार निर्वाचनमार्फत नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको थियो । तर निर्वाचन तालिकाविनै पुस ९ गते साधारण सभा गरिएको भन्दै प्रक्रिया रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छा पुस ६ गते उच्च अदालत पुगेका थिए । गोल्छाको रिट निवेदनपछि अदालतले साधारण सभा र निर्वाचन प्रक्रियामा अपनाइएका कागजात माग गर्दै निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो । यससँगै नाडामा नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ ।

रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढ्यो : नवराज अधिकारी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले देशको सडक सुरक्षा र सवारी व्यवस्थापनमा मेकानिकल इन्जिनियरिङ र चालक शिक्षाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।  बिहीबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले स्वदेशी सवारी उत्पादनसँगै सवारी चलाउने व्यक्तिको प्राविधिक ज्ञान र शिक्षाको पाटोमा पनि उत्तिकै ध्यान दिनुुपर्नेमा जोड दिए ।  अधिकारीले भने, ‘हामी करोडौंका गाडीका कुरा गर्छौं । तर त्यो चलाउने मान्छेलाई गाडीको भित्री मेकानिजम र गतिको बारेमा कत्तिको ज्ञान छ भन्ने कुरामा बहस हुँदैन ।’ उनले रोड इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङबीच तालमेल नहुँदा दुर्घटना बढेको बताए । नेपालको भूगोल पहाड, अफ–रोड र सिटी रोड अनुसार सवारी साधनको इन्डिजेनाइजेसन (स्वदेशीकरण) हुनुपर्ने उनको तर्क थियो । प्रमुख अधिकारीले नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रियामा पनि सुधारको आवश्यकता औंल्याए ।  ‘आठ अंक (८) मा सानो गाडी चलाएर लाइसेन्स लिने तर सडकमा पल्सर वा ठूला गाडी कुदाउने प्रवृत्तिले जोखिम बढाएको छ,’ उनले भने।  सवारी साधनको गति नियन्त्रणका लागि म्यानुफ्याक्चरिङकै तहबाट सोच्नुपर्ने र नेपालका सडकको अवस्था हेरेर स्पिड लिमिट तोकिनुपर्ने उनले बताए ।  नेपाल अटो इन्डस्ट्रिज म्यानुफ्याक्चरिङ एसोसिएसनसँगको सहकार्यमा अब ट्राफिक प्रहरीहरूलाई नयाँ सवारीसाधनहरूको प्रविधि र मेकानिजमबारे वर्क ओरिएन्टेसन दिइने भएको छ ।  यसले सडकमा खटिने प्रहरीलाई सवारी साधनको प्राविधिक पक्ष बुझ्न र दुर्घटना न्यूनीकरण गर्न सहज हुने विश्वास लिइएको छ ।  कार्यक्रममा नाइमाकी बोर्ड सदस्य तथा साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूको विदेश पलायन रोक्न नेपालमै नयाँ आविष्कार र उत्पादनको वातावरण बनाउनुपर्ने बताइन् । ‘हामीले ब्याट्री वा मोटर आयात गरे पनि सफ्टवेयर, एआई र एसेम्बलीमा आफ्नै इन्जिनियरिङ प्रयोग गर्न सक्छौं, जसले देशलाई औद्योगिकीकरणतर्फ लैजान्छ,’ श्रेष्ठले भनिन् । यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म ट्राफिक सप्ताह आयोजना हुन लागेको जानकारी दिँदै नाइमाले तयार पारेका सचेतनामूलक भिडियोहरू नाइमाको पेजमार्फत प्रचार गरिने बताए । कार्यक्रममा अन्य वक्ताहरूले सरकारले स्थिर नीति र नियम बनाएमा नेपालमै गाडी उत्पादन गर्ने सपना टाढा नरहेको र यसले देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निष्कर्ष निकालेका थिए ।  थापाथली क्याम्पसका विद्यार्थी, इन्जिनियरहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।