नयाँ एमजी हेक्टर सार्वजनिक, सुरुवाती मूल्य ६६ लाख ९९ हजार

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर भारतका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइलले नेपाली बजारमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गरेको छ । बिहीबार थापाथलीस्थित एमजी शोरुममा एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरिएको हो ।  केही समयअघि मात्रै एमजी विन्डसर र एमजी कमेट ईभी सार्वजनिक गरेको कम्पनीले यस नयाँ गाडीको आगमनसँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको जनाएको छ । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको यस गाडीमा आरामदायी यात्राका लागि फराकिलो क्याबिन र उत्कृष्ट आन्तरिक सजावट रहेको छ । अत्याधुनिक जडान प्रणाली र प्रयोगकर्तामैत्री सुविधाहरू छन् । चालक र यात्रीको सुरक्षालाई ध्यानमा राख्दै उत्कृष्ट सुरक्षा सुविधाहरू समावेश तथा समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा ठूलो एसयूभी अनुभव र दैनिक प्रयोगमा बढी उपयोगिता रहेको कम्पनीको भनाइ छ ।  कार्यक्रममा जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक भएको दाबी गरे ।  उनका अनुसार नयाँ संस्करणमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ । नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि र व्यवहारिकताको सम्मिश्रण खोज्नेहरूका लागि यो उपयुक्त विकल्प हो ।  उनले भने, ‘नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’ नेपाली बजारमा नयाँ एमजी हेक्टर चार फरक संस्करणमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एमजी हेक्टर सार्वजनिक भएसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने कम्पनीको विश्वास छ । जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनका साथै भरपर्दो बिक्रीपछिको सेवा र आधिकारिक पार्टपुर्जाहरूको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको  छ । नयाँ एमजी हेक्टरलाई नजिकबाट नियाल्न र बुझ्न चाहने ग्राहकहरूले थापाथलीस्थित एमजी शोरुममा गई प्रत्यक्ष अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।

डोङफेङद्वारा थप सेयर खरिद, प्रिमियम ईभी ब्रान्ड भोयामाथि नियन्त्रण अझ मजबुत

काठमाडौं । डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभमा थप सेयर खरिद गर्दै आफ्नो नियन्त्रण अझ सुदृढ बनाएको छ । भोयाले बुधबार जानकारी दिँदै डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत २ करोड १ लाख ९० हजार सेयर खरिद गरेको जनाएको छ, जुन कम्पनीको कुल जारी पूँजीको करिब ०.५५ प्रतिशत हो । यो खरिदपछि डोङफेङ मोटर र यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७०.०२ प्रतिशत पुगेको छ, जसले कम्पनीमाथिको नियन्त्रण थप बलियो बनाएको छ । हाल नियन्त्रणकारी सेयरधनीहरूले २ अर्ब ४३ करोड ८० लाखभन्दा बढी घरेलु सेयर तथा करिब १३ करोड ८० लाख सेयर स्वामित्वमा राखेका छन् । सन् २०२० को अन्त्यतिर सार्वजनिक भई २०२१ मा औपचारिक रूपमा स्थापना भएको भोयाले मुख्य रूपमा २ लाखदेखि ५ लाख युआन मूल्य वर्गका सवारी उत्पादन गर्दै आएको छ । डोङफेङले अगस्ट २०२५ मा भोयालाई 'लिस्टिङ बाइ इन्ट्रोडक्सन' प्रक्रियामार्फत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने घोषणा गरेको थियो । यस प्रक्रियामा नयाँ सेयर जारी नगरी पहिल्यै जारी भएका सेयरलाई मात्र बजारमा कारोबारका लागि उपलब्ध गराइन्छ । यसै वर्ष मार्च १९ मा भोया ०७४८९ स्टक कोड अन्तर्गत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । वित्तीय प्रदर्शनतर्फ, भोयाले सन् २०२५ मा १ अर्ब २ करोड युआन खुद नाफा कमाएको जनाएको छ । कम्पनीको आम्दानी सन् २०२३ को १२ अर्ब ७५ करोड युआनबाट बढेर २०२५ मा ३४ अर्ब ८६ करोड युआन पुगेको छ । यस अवधिमा गाडी बिक्री ५० हजार २८५ युनिटबाट बढेर १ लाख ५० हजार १६९ युनिट पुगेको छ । साथै, चालु वर्षको पहिलो चार महिनामा मात्रै कम्पनीले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.०२ प्रतिशतले बढी हो ।  

पोखरामा बजाज चेतक ईभीको नयाँ ‘एक्सपेरियन्स जोन’ सञ्चालन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) प्रति ग्राहकको आकर्षण तीव्र रूपमा बढिरहेका बेला बजाज चेतक ईभीले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँबजारमा रहेको ‘चेतक एक्सपेरियन्स जोन’ को उद्घाटन गत बिहीबार भएको हो। राजधानी बाहिरका ग्राहकहरूलाई सवारीको प्रत्यक्ष अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले यो शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरूका साथै नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैली र आवश्यकतालाई मध्यनजर गर्दै यो एक्सपेरियन्स जोन निर्माण गरिएको हो ।  एक्सपेरियन्स जोनमा टेस्ट राइड, डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत फिचर्सको जानकारी, दक्ष ईभी विज्ञहरूबाट चार्जिङ समाधान र स्मार्ट फिचर्ससम्बन्धी परामर्श तथा खरिद र एउटै स्थानबाट मर्मत सम्भार सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अघोष मान बुद्धाचार्यले पोखरामा यो प्रिमियम केन्द्रको सुरुवात हुनु विद्युतीय गतिशीलताको क्षेत्रमा महत्वपूर्ण कदम भएको बताए ।