हुन्डाईले पूरा गर्यो ५७ वर्ष, स्मार्ट र दिगो मोबिलिटीमा जोड
काठमाडौं । हुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ । स्थापना कालदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राखी उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको जनाएको छ । हुन्डाईले स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति निरन्तर प्रतिबद्ध रहँदै आएको बताउँदै, यो महत्वपूर्ण उपलब्धिको अवसरमा विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्‍याएको छ । सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी हाल २०० भन्दा बढी देशमा सञ्चालनमा रहेको विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो । कम्पनीले विभिन्न श्रेणीका सवारीसाधन तथा आधुनिक मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ । नेपालमा हुन्डाईको आधिकारिक वितरकका रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ । वितरक बनेदेखि नै कम्पनीले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बलियो आफ्टर–सेल्स नेटवर्क तथा दक्ष र प्रशिक्षित पेशेवर टोलीमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ । ४५ हजारभन्दा बढी ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमा यस कार्यक्रममार्फत हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गरिँदै आएको छ । नेपालप्रति दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यस कदमले स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ । ‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणअनुसार हुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहक अनुभवलाई अझ समृद्ध बनाइरहेको जनाएको छ ।
बीमा नहुँदा थप मर्कामा परे ध्रुव थापा
काठमाडौं । गत भदौमा भएको जेजनी आन्दोलनले नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापालाई अत्यधिक पीडा दियो । उनले आफ्नो जीवनभरको कमाइ गुमाउनुपर्याे । जेनजी आन्दोलनको क्रममा थापाको पोखरास्थित कर्पोरेट भवन, गाडीको शोरुम र निवाससहित सम्पूर्ण भौतिक संरचनामा आगजनी तथा तोडफोड गर्दा करिब १७ करोड रुपैयाँ बराबरको क्षति भयो । तर, यो भौतिक क्षतिभन्दा पनि ठूलो पीडा उनलाई बीमा नहुँदा भएको छ । थापाले भने, ‘मेरो कर्पोरेट बिल्डिङ, शोरुम, बस्ने घर सबै जल्यो । बीमा नै नभएका कारण सम्पूर्ण क्षति आफैले बेहोर्नुपरेको छ । सबै कुराहरू आफैले फेरि उठाउनुपर्ने भयो ।’ थापाका लागि बीमाको महत्त्व एउटा पीडादायी पाठ बनेको छ । उनले पहिले बैंकको ऋण लिँदा बीमा गरेका थिए । तर बीचमा ऋण अन्त सार्दा वा पुरानो ऋण चुक्ता हुँदा नयाँ भवन र सम्पत्तिको बीमा नवीकरण गरेनन् । उनले भने, ‘सुरुमा बैंकको लोन हुँदा बीमा गरिएको थियो । तर बीचमा घरसम्बन्धी लोन छुट्याएर अन्यत्र डाइभर्ट गरियो । त्यसपछि बैंकसँग प्रत्यक्ष लोन नहुँदा पुरानो घरको लोनको आधारमा गरिएको थोरै रकमको बीमा मात्रै निरन्तर रहेछ । नयाँ संरचनाअनुसार बीमा अपडेट गर्नुपर्छ भन्ने कुरा त्यसबेला ध्यानमै आएन ।’ थापाको शोरुममा रहेका छ वटा गाडीको भने बीमा थियो । जसको क्षतिपूर्ति करिब १.५ देखि २ करोड रुपैयाँसम्म पाउन सकिने अनुमान छ । उनका दाजु विन्दुकुमार थापाको पनि सोही क्रममा करिब ६० करोड रुपैयाँको क्षति भएको थियो । दाजुको व्यवसायमा आंशिक बीमा भएकाले २० देखि २५ करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । अहिले ध्रुव थापा आफ्नो ५ जनाको परिवारसहित पोखरामै भाडा तिरेर अपार्टमेन्टमा बस्दै आएका छन् । गाडी, रियल स्टेट र होटल व्यवसायमा संलग्न उनले जेनजी आन्दोलनले पुर्याएको क्षतिबाट तंग्रिदै व्यवसायलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । ‘गर्नुपर्ने रहेछ, गरिएन’ अहिले भोगिरहेको पीडापछि थापाले बीमाको महत्व राम्ररी बुझेका छन् । उनले भने, ‘रेकर्ड हेर्दा अब गर्नुपर्ने रहेछ भन्ने स्पष्ट भयो । धेरैतिर हेर्नुपर्दा कुन ठाउँमा के थियो, के थिएन वा थप्नुपर्ने थियो भन्ने कुरा दिमागमै आएन । त्यतिबेला कुनै किसिमको थ्रेट छ भन्ने अनुभूति पनि भएन, राजनीतिमा लागिएको होस् वा नलागिएको त्यस्तो जोखिम कहिल्यै महसुस भएन ।’ ‘यो विषय खासै नोटिसमै आएन । तर घटना भइसकेपछि भने सबै कभरेज हुने गरी बीमा गर्नुपर्ने रहेछ भन्ने कुरा अब बुझेका छु,’ उनले थपे । असुरक्षाले लगानीमा दुविधा थापाको पीडा केवल व्यक्तिगत क्षतिमा मात्र सीमित छैन, यसले नेपालको वर्तमान लगानीमैत्री वातावरणमाथि पनि प्रश्न उठाएको छ । उनले अहिले नयाँ लगानी गर्ने कुनै योजना नभएको र भइरहेका व्यवसायलाई कसरी जोगाउने भन्ने चिन्ता रहेको बताए । उनले भने, ‘अहिलेको तरल र अनिश्चित राजनीतिक अवस्थामा नयाँ लगानी गर्ने कुनै आधार छैन । सुधार नआउन्जेलसम्म नयाँ इन्भेस्टमेन्ट सम्भव छैन । अहिले त सबैको ध्यान भएको लगानीलाई कसरी जोगाउने र टिकाइराख्ने भन्नेमा मात्रै केन्द्रित छ । ’ उनका अनुसार जबसम्म शान्ति–सुरक्षा र स्थायित्व बहाल हुँदैन, तबसम्म थप लगानीको वातावरण बन्दैन । किनभने अहिलेको अवस्था कतिखेर के हुन्छ भन्ने अझै पनि निश्चित छैन । उनले यसपालिको आन्दोलनले निजी क्षेत्रलाई नै लक्षित गरी आक्रमण गरेकोमा गहिरो चिन्ता व्यक्त गरे । उनले भने, ‘नेपालमा राजनीतिक आन्दोलन आठ–दश वर्षको अन्तरालमा हुने गर्छन् । तर पहिले निजी क्षेत्रमाथि यसरी प्रत्यक्ष आक्रमण भएको अनुभव थिएन । अहिले भने सरकारी तहदेखि नै निजी क्षेत्रलाई लक्षित गरी आक्रमण भएको जस्तो देखियो । यसले व्यवसायीहरूमा गहिरो चोट पुर्याएको छ र निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ ।’ थापाले आफू राजनीतिक व्यक्ति नभएर पनि टार्गेटमा आफै परेकोमा दुखेसो पोखे । उनले भने, ‘अहिलेको अवस्था यस्तो देखियो कि मान्छेलाई ज्यान जोगाउनसमेत गाह्रो छ । व्यापारी-व्यवसायीहरूलाई कमाइरहेको छ भनेर ताकेर बस्ने । यसलाई ठिक पार्नुपर्छ भन्ने मानसिकता समाजमै विकसित भएको जस्तो लाग्यो । हामी न त राजनीतिमा संलग्न छौं, न कुनै गतिविधिमा ।’ उनका अनुसार आफू सधैं नेपालमै अवसर देख्ने र बाहिर जानुहुँदैन भन्ने विचार राख्ने व्यक्ति भए पनि अहिलेको परिस्थितिले उनलाई केही सोच्न नसक्ने अवस्थामा ल्याइदिएको छ । ‘नेपाल छोडेर बाहिर गएर व्यवसाय गर्ने सोच मेरो कहिल्यै थिएन । नेपालमै पर्याप्त अवसर छन् । यहीँ लगानी गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास हो । र म अरूलाई पनि यही सन्देश दिँदै आएको व्यक्ति हुँ । तर अहिलेको अवस्था हेर्दा म केही सोच्नै नसक्ने अवस्थामा पुगेको छु, ’ थापाले भने । बीमाको महत्वलाई नजरअन्दाज गर्दा कस्तो मूल्य चुकाउनुपर्छ भन्ने सबै व्यवसायीका लागि यो एउटा अत्यावश्यक पाठ पनि हो । थापा अहिले पनि व्यवसायलाई निरन्तरता दिने प्रयासमा छन् । तर उनको मनमा भविष्यप्रतिको डर र अन्योल भने कायमै छ ।
रोहित पौडेललाई एसपीजी अटोमोबाइल्सको सम्मान, जे फाइभ ईभीसहित ब्रान्ड एम्बासडर घोषणा
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली क्रिकेटमा ऐतिहासिक सफलता दिलाउँदै पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले हालै एनपीएल सिजन-२ को उपाधि जित्न सफल भएको थियो । उक्त उल्लेखनीय उपलब्धिको सम्मानस्वरूप एसपीजी अटोमोबाइल्सले पौडेललाई अत्याधुनिक जे फाइभ ईभी गाडी प्रदान गरेको छ । कम्पनीले गाडी मात्र होइन, गाडीमा लाग्ने सम्पूर्ण करसमेत स्वयं व्यहोर्ने घोषणा गर्दै पौडेलप्रतिको सम्मान र विश्वासलाई अझ बलियो बनाएको छ । यस अवसरमा एसपीजी अटोमोबाइल्सले यसअघि ब्रान्ड एम्बासडरको भूमिका निर्वाह गरेका राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पनि विशेष सम्मान गरेको छ । एसपीजी अटोमोबाइल्सले खेलकुद क्षेत्रसँगको सहकार्यमार्फत युवा पुस्तालाई प्रेरणा दिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको जनाएको छ ।