कोमाकी ब्रान्डका स्कुटर र मोटरसाइकलको मूल्य घट्यो

काठमाडौं । नेपालका लागि कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको मूल्य घटाएको छ । कम्पनीले बिहीबार नयाँ मूल्यसूची सार्वजनिक गरेर कोमाकी स्कुटर र मोटरसाइकलमा २० हजारदेखि ३५ हजार रुपैयाँसम्म सस्तो बनाइएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा ब्याट्रीको मूल्य घटेका कारण मूल्य समायोजन गरिएको कम्पनीको भनाइ छ । कम्पनीले एसई स्पोर्टको नयाँ मूल्य ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । यो मोडेलको पुरानो मूल्य ३ लाख ४९ हजार थियो । कम्पनीले यसमा ३० हजार रुपैयाँ घटाएको हो । त्यस्तै एसई प्रोको नयाँ मूल्य २ लाख ७९ हजार तोकिएको छ जसको पुरानो मूल्य २ लाख ९९ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम भएको छ । यसैगरी कम्पनीले अर्को मोडेलको एसई प्रोको नयाँ मूल्य २ लाख ५९ हजार रुपैया तोकेको छ । यो मोडेलको पुरानो मूल्य २ लाख ७९ हजार थियो । यसमा पनि कम्पनीले २० हजार रुपैयाँ कम गरेको छ । एसई प्रो डुअलको पुरानो मूल्य ३ लाख ५९ हजार रुपैयाँ थियो भने अहिले कम्पनीले यसको मूल्यमा २० हजार रुपैयाँ घटाएर नयाँ मूल्य ३ लाख ३९ हजार तोकेको छ । त्यसैगरी फ्लोराको नयाँ मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम गरिएको छ । यसको पुरानो मूल्य २ लाख ६९ हजार रुपैयाँ थियो । यसमा पनि कम्पनीले ३० हजार रुपैयाँ घटाएको छ । यस्तै कम्पनीले एलवाई प्रिमियमको नयाँ मूल्य ३ लाख २४ हजार तोकेको छ, यसको पुरानो मूल्य ३ लाख ५९ हजार थियो । यो मोडेलमा पनि कम्पनीले ३५ हजार कम गरेको छ । डीटी ३००० को पुरानो मूल्य ३ लाख ३० हजार रुपैयाँ भएकोमा अहिले यसको मूल्यमा २१ हजार कम गर्दै कम्पनीले नयाँ मूल्य ३ लाख ९ हजार तोकेको छ । यस्तै भेनिसको नयाँ मूल्य ३ लाख २४ हजार तोकिएको छ भने यसको पुरानो मूल्य ३ लाख ४४ हजार रुपैयाँ थियो । यो मोडेलमा २० हजार रुपैयाँ कम गरिएको छ । रेन्जरको पुरानो मूल्य ४ लाख ४९ हजार रुपैयाँ भएकोमा कम्पनीले यसको मूल्यमा ३० हजार रुपैयाँ घटाएर ४ लाख १९ हजार रुपैयाँ मूल्य तोकेको छ ।

नाडाले भन्यो – विद्युतीय सवारी साधनको व्यवसाय प्रभावित

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा दिएको सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्दा विद्युतीय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको नाडाले बताएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा आफ्नो धारणा राख्दै नाडाले सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा पटक पटक संशोधन गरेको भन्दै सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत स्पष्टता नभएको देखिएको बताएको हो । सरकारकै नीतिबाट नेपालमै विद्युतिय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित हुँदै गएको नाडाको धारणा छ । धेरै समय अघिदेखि नाडाले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दिर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह गर्दे आएको थियो । सोही अनुसार सरकारले पनि हरित उर्जालाई उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णहरु गर्दे आएको थियो । तर बजेटले विद्युतीय सवारी साधनहरुमा ५ प्रतिशत सडक निर्माण दस्तुर समेत लाग्ने व्यवस्था गरेको र सरकारले विद्युतीय सवारी साधनहरुका लागि पर्याप्त चारजिङ्ग स्टेशनहरुको निर्माण समेत काम नगरेकाले भनाइ र गराइमा ठूलो अन्तर रहेको जनाएको छ । पछिल्ला वर्षहरुमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको बिक्रीमा ठूलो ह्रास आउँदा देशको राजश्वमा प्रत्यक्ष प्रभाव परिरहेको महशुस सरकारले पनि गरिरहेको अवस्थामा सरकारले सवारी तथा ढुवानीका सवै किसिमका साधनहरुमा सडक निर्माण दस्तुर वृद्धि गरिएको नाडाको भनाई छ । त्यस्तै बर्तमान बजेटले एल।सि मार्फत सामान आयात गर्न पनि हतोत्साहित गरेको तथा छिमेकी मुलुकहरु भारत र चीनबाट आयात हुने अटोमोवाइल लगायतका वस्तुहरुमा दिइएको छुट पनि हटाइएको छ । वर्तमान बजेटले लुव्रिकेटिङ्ग आयलमा १ प्रतिशत र बेश आयलमा ०.५ प्रतिशत हरित कर लाग्ने र आयातित हाइड्रोलिक आयल र ब्रेक आयलमा १० प्रतिशत अन्तःशुल्क महशुल लाग्ने नयाँ व्यवस्था गरेको छ । यसबाट निर्माण व्यवसाय झन महङ्गो हुने मात्र नभई सीमा क्षेत्रबाट यसको अनधिकृत आयात समेत बढने भएकोले यस्तो महशुल हटाउन नाडाले अनुरोध गरेको छ । ‘उता बजेटले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्थाको भने स्वागत गरेको छ । यसले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको विक्रीमा केही सुधार आउने अपेक्षा समेत हामीले राखेका छाैँ । साथै सरकारले व्यवसायीहरुको समस्याहरुलाई ध्यानमा राख्दै उधारो रकम उठाउने सम्बन्धमा नयाँ ऐन ल्याउने विषयलाई सकारात्मक रुपमा लिएको छ,’ नाडाले भनेको छ । त्यसैगरी सधै समस्याको रुपमा देखिने गरेको सन्दर्भ मूूल्य सूची नै हटाई पैठारीकर्ताले पेश गरेको विलमूल्यलाई नै मान्यता दिने व्यवस्थाका लागि गरिएको आग्रहको कुनै सुनवाई नगरिएकोतर्फ सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

जनार्दन शर्मा र मधुकुमार मरासिनीले उक्साए, वर्षमान पुनले फसाए

काठमाडौं । ‘नेपालमा बिजुली उत्पादनको हब बनिरहेको छ । अब उत्पादन भएको बिजुली स्वदेशमै खपत गर्नुपर्छ । तपाईहरू ठूला उद्योग खोल्नुहोस् । सरकारले त्यसका लागि के गर्नुपर्छ ? हामी तयार छौं,’ तीन वर्षअघि सरकारका प्रतिनिधिहरू (अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनी)ले स्टील उद्योगीहरूसँग भनेका थिए । विदेशबाट बिलेट आयात गरेर रड उत्पादन गरिरहेका व्यवसायीहरूले सरकारको आश्वासनपछि आइरन आयात गरेर नेपालमै स्टील उत्पादन उद्योग खोल्ने मनसाय बनाए । बोलिमा मात्रै आश्वास दिँदै आएको सरकार आर्थिक वर्ष २०७८/७९ को बजेटमा फलामजन्य सामाग्रीमा लाग्दै आएको ५ प्रतिशत ड्यूटीलाई शून्यमा झारेर आस पनि देखायो । सोही बमोजिम सरकारको विश्वास गरेर अधिकांश उद्योगीहरूले नेपालमै प्लान्ट सञ्चालमा ल्याए । हाल नेपालमा २३ वटा स्टिल उद्योग छन् । जसमध्ये १८ वटा उद्योगको आफ्नै मेल्टिङ प्लान्ट (उद्योग) छ । मेल्टिङ प्लान्ट स्थापनामा अग्रसर भएका उद्योगीलाई सरकारले दोस्रो वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० को बजेटमा भन्सार महसुल १ प्रतिशत लगाएर झट्का दियो । सरकारको उक्त निर्णयलाई उद्योगी व्यवसायीहरू तत्कालका लागि स्वीकार गर्दै फिर्ता गराउन पनि लबिङ गरिरहेका थिए । तर, सरकारले उद्योगीहरूको सुझाव र मागलाई सुनुवाई नगरी उल्टै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मेल्टिङ उद्योगलाई भन्सार महसुल २.५ प्रतिशत लगाउने घोषणा गरेको छ । नेपाल फलामे छड उत्पादक संघका उपाध्यक्ष हरि न्यौपाने सरकारले मेल्टिङ उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा भन्सार महशुल वृद्धि र बिलेटको अन्तशुल्क घटाएर समस्यामा पारेको बताउँछन् । सरकारले भन्सार महसुल बढाउँदा नेपालमा भ्यालू एडिसन गर्ने उद्योगलाई निरूत्साहित बनाएको उनको भनाइ छ । ‘अधिकांश स्टिल उद्योगको आफ्नै मेल्टिङ प्लान्ट छ । स्पन्ज आइरनको कच्चा पदार्थ आयात गरी नेपालमा बिलेट उत्पादन गरेर स्टिलका सामाग्रीमा आत्मनिर्भर बनाउने लक्ष्य थियो । फलाम उद्योगले करिब ५० प्रतिशत मूल्य अभिवृद्धि गरेका  (भ्यालू एडिसन) छन,’ उनले भने, ‘बिलेट आयात र कच्चा पदार्थमा भन्सार महसुल एउटै र एक्साइज ड्यूटी नलाग्ने हो भने नेपालमा मेल्टिङ उद्योगले प्रतिस्पर्धा गर्न सक्दैन ।’ उनका अनुसार आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्युत बढी खपत गर्ने गरी ठूला उद्योग सञ्चालन गर्न उत्प्रेरित गरेको थियो । सोही बमोजिम ५ प्रतिशत ड्यूटीलाई शून्यमा झार्दा अधिकांश उद्योगीले सरकारको विश्वास गरेर प्लान्ट सञ्चालन गरेको उनको भनाइ छ । ‘तीन वर्ष अगाडि ठूला उद्योग सञ्चालन गर्न सरकारले सुविधा दिने आश्वासन दियो । सबै उद्योगीहरूले सरकारको बचनमा विश्वास गरेर प्लान्ट स्थापना गर्याैं । एक वर्षमै १ प्रतिशत ड्यूटी लगाउँदा सहेर बसेका थियौं । फेरी आगामी आर्थिक वर्षको बजेटमा २.५ प्रतिशत ड्यूटी लगाउँदा ठूलो पीडा खेप्नु परेको छ,’ न्यौपानेले गुनासो गर्दै भने, ‘१८ वटा मेल्टिङ उद्योगले सरकारको अपेक्षा अनुसार बिजुली खपत गरिहरेका छन् । प्रतिमहिना ४५० मेगावाट विद्युत खपत गरेर ३ अर्ब रुपैयाँ महसुल तिरिरहेका छन् । अब यी उद्योग बन्द हुँदा सरकारलाई नै घाटा हुन्छ ।’ भारतबाट आयात हुने बिलेटमा २५ सय अन्तशुल्क लाग्दै आएकोमा सरकारले शून्यमा झारेको र नेपालमा बिलेट बनाउन आवश्यक पर्ने कच्चा पदार्थमा भन्सार बढाउँदा नेपालका उद्योगहरू बन्द भई ३ हजार ५ सय जनाको रोजगारी समेत गुम्ने उपाध्यक्ष न्यौपानेको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति राजेश अग्रवाल सरकारको नीतिगत उलटफेर कहिलेसम्म सहने भन्दै प्रश्न गरे । पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै फलामजन्न वस्तु १२/१३ हजार करोड रुपैयाँको आयात हुने गरेको उनले बताए । ‘नेपालमा फलामका खानी भेटिएका छन् । अन्य फलाम खानीको पनि खोजी कार्य जारी छ । विद्युत उत्पादन बढ्दै छ, विद्युत निर्यात गर्नुको सट्टा देशभित्रै खपत गर्नुपर्छ । उद्योग लगाउनु होस्, विशेष छुट दिन्छौं भनेर कमिटमेन्ट गर्नुभयो,’ उनले भने, ‘३ वर्षअघि सरकारले प्रोत्साहन र आश्वासन दिँदा व्यवसायीहरूले स्टील उद्योगमा व्यापक लगानी गरे । तर, सरकारको नीतिमा उलटपुलट हुँदा समस्या खेप्नु पर्याे ।’ फलामजन्य वस्तुमा भन्सार महसुल बढाएर सरकारको उद्योगीहरूलाई आघात पुर्याएको उनको भनाइ छ । उनका अनुसार सरकारले प्रोत्साहनलाई निरन्तरता दिएको भए आगामी १० वर्षमा फलामजन्य सामाग्री आयातलाई पूर्णरूपमा विस्थापित गर्ने लक्ष्य छ । तर, विशेष छुट दिने कमिटमेन्ट गरेर हालसम्म पनि कार्यविधि नबनाउँदा पीडामाथि पीडा थपेको उनको भनाइ छ । सरकारको अहिलेको कदम आयातलाई बढावा दिने रहेको उनले बताए । आगामी १० वर्षमा फलामजन्य सामान पूर्ण रूपमा विस्थापित गर्न दीर्घकालिन नीति आवश्यक रहेको उनको धारणा छ । साथै, सरकारले फलामजन्य सामाग्रीमा कर बढाएपछि नेपाल विद्युत प्राधिकरणलाई पनि ठूलो धक्का लाग्ने देखिन्छ । नेपालमा सञ्चालित १८ वटा उद्योगले मासिक ४५० मेगावाट बिजुली खपत गरी ३ अर्ब रुपैयाँसम्म महसुल सरकारलाई बझाउँछन् । यदि हाल मेल्टिङ उद्योगलाई भन्सार महसुल बढाएर २.५ प्रतिशत पुर्याएपछि नेपालका उद्योगहरू बन्द हुने र बिजुली खपतमा समस्या आउने उद्योगीहरूको दाबी छ । फलामे छड उत्पादक संघका अध्यक्ष विष्णु न्यौपाने भन्सार महसुल बढाउँदा बैंक ब्याज पनि तिर्न सकस हुने बताउँछन् । उनका अनुसार बिलेट उत्पादन गरी डण्डी बनाउने उद्योगहरूका लागि छट्टै संयन्त्र जडान गर्न ४ अर्बसम्म लगानी आवश्यक पर्छ । सो लगानीको ब्याज तिर्दा प्रतिकिलो २/३ रुपैयाँ बढी लागत लाग्ने र सरकारले संरक्षण गरेन भने लगानी गर्न कोही पनि इच्छुक नहुने उनको भनाइ छ । ‘बङ्गलादेश, भारतमा बिलेट र स्पन्ज आइरन दुवै आयात हुन्छ । भारत आफैंले उत्पादन गरेपनि बिलेट आयात गर्छ । बिलेट आयात गर्दा भारतमा १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ भने बङ्गलादेशमा ३५ प्रतिशत भन्सार महसुल छ,’ उनले भने, ‘तर, स्पन्ज आइरनमा १ प्रतिशत भन्सार महसुल छ । ती देशमा त्यति धेरै ठूलो ग्याप छ । नेपालमा अन्तशुल्क सहित ६/७ प्रतिशत मात्रै ग्यापलाई घटाएर २.५ प्रतिशतमा झारेको छ ।’ साढे २ प्रतिशत ग्याप हुँदा २ अर्ब लगानी गर्दा ब्याज पनि नउठ्ने भएकाले उद्योगको तालाचाबी सरकारलाई बुझाउने उनको भनाइ छ । कम्तिमा १० प्रतिशत फरक राख्नपर्ने माग गरेको भएपनि सरकारले पुरानै व्यवस्था कायम गर्नु पर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विगत जस्तै पुन सरकारको विरोधमा बोल्नु परेको बताउँछन् । राज्यले ल्याएका नीतिको निश्चित अवधिसम्म स्थिर हुनुपर्ने उनको भनाइ छ । तत्कालीन समयमा ठूला ठूला आश्वासन देखाएर सरकारले उद्योग खोल्न प्रोत्साहित गरेको भएपनि दीर्घकालसम्म नरहेको उनको भनाइ छ । ‘विद्युत खपत गर्नुपर्छ र देशलाई आत्मनिर्भर बनाउनुपर्छ । नेपालमा फलाम खानी देखाएर छिट्टै सञ्चालनमा ल्याउँछौं भनेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले भन्नु भयो,’ उनले भने, ‘विश्वास लागेर उद्योग स्तरवृद्धि गरेँ । बैंकबाट कर्जा नै पाउन नसकिरहेको अवस्थामा निकै मिहेनत गरेर  उद्योगको क्षमता विस्तार गरियाे, नयाँ उद्योग सञ्चालनमा आएको १५ दिन मात्रै भएको छ । तर, हिजोको नीतिले चिन्ता लागेको छ । अर्थमन्त्री र अर्थसचिवलाई के भएर नीति परिवर्तन गर्नुभयो, किन जरूरी पर्याे ? भनेर प्रश्न गर्न चाहान्छु ।’ नीतिगत स्थिरताका नाममा बजेटले धज्जी उडाएको उनले बताए । अर्थमन्त्री वर्षमान पुनले भने अनुहार हेरेर करका दर वृद्धि नहुने धारणा राखे । बुधबार अर्थमन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो नीति कुनै व्यक्ति वा उद्योगलाई केन्द्रीत गरेर नल्याएको बताउँदै वर्तमान वस्तुस्थिति र स्वस्थ प्रतिस्पर्धाका लागि करको दर हेरफेर गरिएको धारणा राखे । ‘तीनवटा स्ल्याब बनाएर स्पन्ज आइरन र ब्लेडमा भन्सार लगाइएको हो, स्पन्ज आइरनमा बिचलन नहोस् भनेर हामीले हाम्रो सिद्धान्त अनुसार काम गरेका हौं, लामो छलफलले नै यो निर्णयमा पुगेका हौं, यसको बारेमा चर्चा परिचर्चा र टिप्पणी हुन्छ भन्न्े पनि हामीलाई थाहा थियो, कच्चा पदार्थभन्दा तयारी सामान एक तह बढी कर हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं,’ उनले भने । ‘सरकारको नीतिले ३६ अर्ब लगानी डुब्ने अवस्था आयो, ताला चाबी बुझाउँछौं’