बागमती प्रदेशले हेटौंडा र काठमाडौंमा स्पेसल टुल बैंक स्थापना गर्ने

काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ मा सवारी साधनको गुणस्तरीय मर्मत सम्भारको लागि हेटौंडा र काठमाडौं उपत्यकामा स्पेसल टुल बैंक स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले निजी क्षेत्रसँग सहकार्य गरी हेटौंडा र काठमाडौं उपत्यकामा स्पेसल टुल बैंक स्थापना गर्ने नीति लिएको बताए ।

विद्युतीय सवारी साधन किन्न प्रभु बैंकले ऋण दिने, सबै शाखाबाट पाइने

काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने भएको हो । सो सम्बन्धमा प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका हुन् । हाल बैंकले ३०१ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

बाइकको मूल्य ८० हजार रुपैयाँसम्म घट्याे; क्रसफायर, टारो, केटिएमका पुराना ग्राहक घाटामा

काठमाडौं । सरकारले आर्थिक अध्यादेश २०८० मा करको दर परिवर्तन गरेसँगै बजारमा दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधानको मूल्य परिवर्तन हुन थालेको छ । बजेटमा कर बढेको भन्दै केही कम्पनीले मूल्य बढाएका छन् भने केहीले करको दर घटेसँगै उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा लाग्ने भन्सार तथा अन्तशुल्क घटाएसँगै केही कम्पनीले उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । २ सय सीसी माथिको मोटरसाइकल बिक्री गर्दै आएको क्रसफायर, टारो तथा केटिएम बाइकको मूल्य घटेको छ भने टिभिएस र यामाहाका बाइकको मूल्य बढेको छ । बजेटअघि यी ब्राण्डका बाइक किन्ने ग्राहकलाई घाटा लागेको छ । केटिएम बाइकको मूल्य घट्यो बजेटमा करको दर परिवर्तन भएसँगै केटिएम बाइकको मूल्य घटेको छ । कम्पनीले हाल बिक्री गर्दै आएको केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युकको मूल्य घटाएको हो । कम्पनीले दुबै मोडलका बाइकको मूल्य ५०/५० रुपैयाँले घटाएको छ । यसअघि सात लाख ४९ हजार नौ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको नयाँ मूल्य ६ लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ । त्यस्तै यसअघि ७ लाख ८४ हजार रुपैयाँमा बिक्री हुँदै आएको केटिएम २५० ड्युकको नयाँ मूल्य ७ लाख ३४ हजार तोकेको छ । टारोको मूल्य ८० हजारले घट्यो टारो मोटरसाइकलको नेपालमा रहेका २ मोडलका बाइकको मूल्य ८० हजार रुपैयाँले घटेको  छ । टारो मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले जीपी टू २०० र जीपी वान २५० मोडलका बाइकको मूल्य घटाएका हुन् । मूल्य घटेसँगै अब जीपी टू २०० को मूल्य ४ लाख ७५ हजार रुपैयाँ र जीपी वान २५० को मूल्य ७० लाख रुपैयाँले घटेर ६ लाख भएको छ । ७१ हजार रुपैयाँसम्म घट्यो क्रसफायरको मूल्य बजेटमा करको दर परिवर्तन भएसँगै क्रसफायर मोटरसाइकलको मूल्य समायोजन गरेको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक कम्पनि क्लासिक ह्वील एक्सपोर्ट तथा इम्पोर्ट प्रालिले ३ मोडलका बाइकको मूल्य घटाएकोे हो । कम्पनीले जारी गरेको नयाँ मूल्य सूचीका अनुसार क्रसफायरको आर एम २५० मोडलको मोटरसाइकलमा ४५ हजार रुपैयाँसम्म घटेको छ । यसअघि ८ लाख ८८ हजार रुपैयाँ पर्ने उक्त बाइक कम्पनीले मूल्य घटाउँदै ८ लाख ४३ हजार रुपैयाँ बनाएको छ । यस्तै, कम्पनीले क्रसफायर एचजे २५० को मूल्य ७१ हजार रुपैयाँले घटेको छ । यसअघि ७ लाख ७० हजार रुपैयाँ रहेको उक्त बाइकको मूल्य अब ६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । क्रसफायर ट्रेकर मोडलको बाइकमा ४० हजार रुपैयाँ मूल्य घटेको छ । यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री भएको उक्त बाइक अब ३ लाख ७० हजार रुपैयाँ भएको छ । टीभीएस बाइकको मूल्य १३ हजारले बढ्यो बजेटपछि टीभीएस कम्पनीको बाइकको मूल्य १३ हजार रुपैयाँले बढेको छ । नेपालका लागि टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० फोरभी एबीएस आरटीएफआई बीएस–६ मा १३ हजार रुपैयाँ मूल्य बढाएको छ । यसअघि ३ लाख ९८ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ४ लाख ११ हजार ९ सय मूल्य तोकेको छ । यस्तै, एबीएस भेरियन्टको मूल्य १० हजार रुपैयाँले बढेको छ । यसअघि ३ लाख ६९ हजार रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ तोकेको हो । कम्पनीले १६० एबिएस अपाचेको मूल्य ३ लाख ८३ हजार ९ सय तोकेको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ थियो । अपाचे आरटीआर १६० फोरभी मोडलको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ थियो । यामाहा बाइकको मूल्य १६ हजारले बढ्यो यामाहा कम्पनीले समेत बाइकको मूल्य बढाएको छ । नेपालका लागि यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले भारतबाटै बढेर आएकोे भन्दै एमटी १५ तथा आर १५ मोडलको बाइकको मूल्य बढाएको हो । यसअघि ४ लाख ८३ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको एमटी १५ मोडलको मूल्य १६ हजार रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार अब उक्त मोडलको बाइकको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ भएको छ । यस्तै, कम्पनीले आर–१५ मा १० हजार रुपैयाँ बढाएको छ । यसअघि ५ लाख ९९ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको मूल्य अब ६ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीले आफ्नो एफजेड एक्स एक्स कनेक्ट डार्क नाइटमा ९ हजार, एफजेडएस भीटूमा ७ हजार, एफजेड भी टू र सलुटोमा १ हजार रुपैयाँले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार यामाहाको एफजेडएक्स एक्स कनेक्ट डार्कनाइटको ३ लाख ९७ हजार ९००, एफजेडएस भी टूको मूल्य ३ लाख ५९ हजार ९००, एफजेड भी टूको मूल्य ३ लाख २९ हजार ९०० र सलुटोको मूल्य २ लाख ४७ हजार ९०० कायम भएको छ । यस्तैगरी, यामाहाले स्कुटरको मूल्य समेत बढाएको छ । कम्पनीले हाल बिक्री गर्दै आएको रेजेडआर १२५ एफआईमा ५ हजार र रेजेडआर स्ट्रीट र्याली १२५ एफआईमा ३ हजार रुपैयाँ मूल्य बढाइएको छ । बढेको मूल्य अनुसार रेजेडआर १२५ एफआई २ लाख ७४ हजार ९०० र रेजेडआर १२५ स्ट्रीट र्याली एफआईमा २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।