फोटोनको विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले नेपालको पहिलो विद्युतीय ट्रक टीएम वानको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने । नाडा अटो शो २०८० मा औपचारिक रुपमा सार्वजनिक गरिएको टीएम वानको उल्लेखीय बूकिंग रहेको कम्पनीले जानकारी गराएको छ । ३८.६४ किलोवाट आवर ब्याट्री भएको फोटोन टीएम वानले एक पटकको फुल चार्जमा २८० किलोमिटर (एन.इ.दि.सी) रेन्ज दिन्छ । यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने, यसको टर्क २ सय २० एनएम रहेको छ। उक्त गाडीको पेलोड १४०० किलो रहेको छ । कम्पनीका अनुसार सीसीएस टू चार्जिङ पोर्ट रहेको यो टीएम वान फास्ट चार्जरबाट १ घण्टामा र स्लो चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ । यसको ब्याट्री सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट हो । १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो विद्युतीय ट्रकका अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । टीएम वान विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ । उक्त टीएम वान विद्युतीय ट्रकले पूर्णक्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कामना सेवाले एनईभी नेपालको विद्युतीय गाडी किन्न कर्जा दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एनईभी नेपालको विद्युतीय सवारी साधान किन्नेलाई सस्तोमा कर्जा दिने भएको छ । सो सम्बन्धमा विकास बैंक र एनईभी नेपालबीच भदौ २६ गते नै सम्झौता गरेका हुन् । उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । यससँगै एनईभी नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकले कामना सेवा विकास बैंकबाट सस्तो ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् ।

काठमाडौंमा द्रुत बस सेवा सुरु, १९ स्थानमा स्टप, भाडा दर कति ?

काठमाडौं । सरकारले आजबाट काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवाको सञ्चालन गरेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत सेवा बस सञ्चालनको उदघाटन गरेका छन् । उद्घाटनको दिन मन्त्रीज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गर्नेछन् । यातायात व्यवस्था विभागले बिहीबारदेखि दिनको ४ घण्टा यात्रु (सर्वसाधारण) का लागि द्रुत बस सञ्चालन हुने जनाएको छ । यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने जनाईएको छ । एम्बुलेन्सको जस्तै सुविधा दिएर सरकारले उक्त रुटमा ३५ देखी ४० सिटे बस द्रुत सेवाको रुपमा सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा २८ वटा सार्वजनिक बसले उक्त सेवा दिनेछ । १९ स्थानमा बिसौनी बिहीबारदेखि यात्रुका लागि सञ्चालन हुने उक्त बसले विभिन्न १९ स्थानमा यात्रु ओराल्ने तथा चढाउन पाउँनेछन् । विभागका अनुसार द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटीमा बस स्टप राखिएको छ । यस्तैगरी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न गरी उक्त रुटमा १९ स्टप राखिएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए । उनका अनुसार द्रुत सेवाका बसहरुले अन्य बसहरु जस्तरी यात्रु कुरेर बस्न भने पाउँनेछैनन् । द्रुत सेवाका बसहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । कार्यालय आउने कर्मचारीहरुले ट्राफिक जामकै कारण समयमा कार्यालय आउन नसकेको गुनासो गरेपछि सरकारले कर्मचारीलाई लक्षित गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याएकोे हो । यसअघि उक्त रुटमा डेढदेखि २ घण्टाको समय लाग्नेगरेकोमा अब ४५ मिनेटमा नै पुगिने विभागको दाबी छ । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने विभागका सूचना अधिकारी पनेरुले जानकारी दिए ।