एसयुभी स्कोडा कुशाकको बुकिङ शुरु, अनुमानित मूल्य अधिकतम ६५ लाख रूपैयाँ 

काठमाडौं । स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको मूल्य भारतमा मूल्य सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको घोषणा गरेको छ । जुन साउनमा मात्रै नेपालमा भित्र्याइने कम्पनीकाे याेजना रहेकाे छ । नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपाल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी-एओ-आईएन प्लेटफर्ममा बनाइएको हो । इन्जिन ट्रान्समिसन कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रनेछन् । टीएसआई इन्जिन बहुप्रतिक्षित इन्टरनेशनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो ।े एस अवाड लाई अटोमोबाइल क्षेत्रका ओस्कार जस्तै मानिन्छ । यो इन्जिनले ११५ बीएचपी पावर र १७ ८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इन क्लास हो । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ । डाइमेन्सन कुशाक एमक्युबी एओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयुभी हो जुन कठोर सडकलाई ध्यानमा राखेर विकास गरिएको हो । यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । साथै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी हो । कुशाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । फिचर नयाँ कुशाकमा टु-स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन् । सुरक्षा व्यवस्था सुरक्षाका लागि कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन् । स्कोडमा ईएससी सबै भेरिन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ । यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ । भेरियन्ट र कलर नयाँ कुशाक तीन ट्रिम-एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ । मूल्य भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ । कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ ।

जगदम्बा मोटर्सले नेपालमा प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गर्दै

काठमाडाैं । जगदम्बा मोटर्सले प्रोटोन एक्स ७० भर्चुअल रुपमा बुधबार सार्वजनिक गर्ने भएकाे छ । कम्पनीले यहि आउने असार १६ अर्थात जुन ३० तारिखमा भर्चुअल माध्यमबाट चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकै नै उत्साहका साथ लिइएको बहु–प्रतिक्षित मोडल सार्वजनिक गर्ने लागेकाे हाे । पहिला नै लञ्च गर्ने तय भइ सकेको यस गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो । त्यसैले विस्तारै परिस्थिति सहज भए सँगै यस गाडीलाई नेपालमा पुन लञ्च गर्न लागिएको कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार भर्चुअल लञ्च कार्यक्रम साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ रहेको द प्राेटाेन लन्च इभेन्टमा क्लिक गरी इन्ट्रेस्टेडमा क्लिक गर्नुपर्ने हुन्छ । साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई विभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ । प्रोटोन एक्स १० को बारे कुरा गर्न पर्दा यो अत्याधुनिक फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको एस् यु भि रहेको छ । यसको एक्स्टेरियरमा बाे सेप्डकाे फ्रन्ट बम्पर, फ्लोटिंग रुफ डिजाइन, टाइगर सेप्ड एलइडी हेड ल्याम्प अर्थात् बाघको आँखाको जस्तै आकार भएको एलईडी हेडलैम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरूफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक विशेषताहरु रहेकाे छ । यसको इन्टेरियरमा नाप्पा छालाबाट बनेको सीट र स्टीयरिंग व्हील रहेको छ जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली रहेको छ। त्यस्तै ८ इन्चको ठुलो स्क्रीन, स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणाली, ६ यु एस् बि पोर्टहरू तथा भेंटिलेटेड फ्रन्ट सीट रहेकाे छ । यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा रहेको टर्बोचार्ज डाइरेक्ट इंजेक्शन ईन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ प्रदान गर्दछ । सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी एकदमै भरपर्दो रहेको छ। सेफ्टी रेटिङ्ग पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स रहेका छन्। यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाईन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डि क्यामेरा, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरु रहेका छन् । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा उपलब्ध रहेका छन् भने यसका लगभग ४.४ करोड प्रयोगकर्ता रहेका छन् ।  

आन्तरिक उडानकाे तयारी: टिकट बिक्रि सुरु, भाडा बढ्ने, प्रतिघण्टा ५ जहाज मात्रै उड्ने

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ । सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी उडान संख्या तय गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णय अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायुसेवा कम्पनीले उडानको तयारी गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धेरै भिडभाड नहुने गरी सुगम क्षेत्रमा प्रतिघन्टा पाँचवटा मात्रै उडानको अनुमति दिने तयारी गरेको छ । कार्यालयले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै जोखिम कम गर्न प्रतिघण्टामा पाँचवटा मात्रै उडान गर्न लागिएको जनाएको छ । कार्यालयले बिहीबारदेखि दिनमा ६३ वटा उडानको अनुमति दिने तयारी गरेको छ । सरकारले नियमित उडानको तुलनामा ५० प्रतिशत बढी नहुने गरी उडान पुनः सञ्चालनकोे अनुमति सगैँ विमानस्थल कार्यालयले उक्त संख्यामा उडान गर्ने तयारी गरेको हो । ट्रंक रुटमा विभिन्न वायुसेवा कम्पनीका ठूला किसिमका जहाज (एटिआर–७२, टर्बोप्रोप क्यु–४००) प्रयोग हुँदै आएका कारण प्रत्येक १० मिनेटको अन्तरालमा उडान गर्ने तालिका तयार पारिएको छ । निषेधाज्ञा अगाडि दैनिक अधिकतम १ सय ३० उडान हुँदै आएको थियो । सरकारको अनुमतिसगैँ क्यानले उडान संख्या निश्चित गरिदिए लगत्तै आन्तरिक उडान गर्दै आएका (बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत ) वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गरेका छन । अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ । यस्तै, यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका रहेका छन् । यात्रुले टिकटका लागि आप्नो आवश्यकता अनुसार मोवाइल एप, सम्बन्धित वायुसेवा कम्पनीको वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट अग्रिम टिकट काट्न सक्नेछन । कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सरकारको निर्देशन अनुसार वायुसेवा कम्पनीका सञ्चालकलाई संक्रमणरहित उडानको तयारी गर्न निर्देशन दिइसकिएको क्यानका महानिर्देशक राजन पोखरेल बताउँछन् । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डकोे पूर्ण रुपमा पालन गर्दै नियमित उडान सञ्चालनको तयारी भएको छ । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । विमानस्थलले उडानतालिका फेरबदल गरेर भिड घटाउने उपाय लगाए पनि मौसमका कारण हुने ढिलाइमा भने चेक–इनमै यात्रु सीमित संख्यामा प्रवेश दिनुपर्ने देखिएको छ । वायुसेवा कम्पनीहरुले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्न सक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ । भाडा बढ्ने तयारी गरेतापनि अग्रिम टिकट बुकिङमा पुरानै भाडादर राखिएको छ । यता संस्कृति, पर्यटन तथा नाागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु भने भाडाको विषयमा कुनै निर्णय नभएको बताउँछन् ।