भेन्टो ट्रेन्डलाइन: नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो सेडान, यस्ता छन् विशेषता

काठमाडाैं । जर्मन अटोमेकर कम्पनी ‘भक्सवागन’ को नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । भक्सवागनको हाल नेपाली बजारमा उपलब्ध एकमात्र सेडान हो ‘भेन्टो’ । नेपालमा भेन्टोका ट्रेन्डलाइन, कम्फर्टलाइन, हाइलाइन र हाइलाइन प्लस गरी ४ अलग भेरियन्टहरु उपलब्ध छन्, जसमध्येको बेस भेरियन्ट ‘ट्रेन्डलाइन’ को मूल्य चाहिँ ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । भेन्टो ट्रेन्डलाइनको फिचर्सका रुपमा अटोमेटिक एयर कण्डिसनिङ्ग, क्रूज कन्ट्रोल, रेन सेन्सिङ्ग वाइपर्स, एप कनेक्ट सहितको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोवबक्स, अटो डिमिङ्ग रियर भ्यू मिरर, रियर पार्किङ्ग क्यामेरा, एडजस्ट गर्न मिल्ने स्टेयरिङ्ग तथा ड्राइभर सिट, आउटसाइड रियर भ्यू मिरर, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् । सेफ्टि फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल-होल्ड फङ्सन्, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, पावर डोर लक जस्ता विशेषताहरु रहेका छन् । भेन्टो ट्रेन्डलाइनमा प्रयोग गरिएको १.६ लिटर ४ सिलिण्डर पेट्रोल इञ्जिनले १०५ पीएसको पावर र १५३ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १६.०९ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेस ४९४ लिटर र फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ५५ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा एक लाख ५५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ । हाल नेपालमा भेन्टोको कम्फर्टलाइन, हाइलाइन, हाइलाइन डिजेल इञ्जिन र हाइलाइन प्लसको मूल्य चाहिँ क्रमशः ४३ लाख ९५ हजार, ४७ लाख ४५ हजार, ५१ लाख ४५ हजार र ५१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

बिएस६ र एफआई इञ्जिनका साथ ‘हिरो स्प्लेन्डर आइस्मार्ट’ सार्वजनिक, माइलेज र टर्क पनि बढ्यो

काठमाडाैं । बीएस६ प्रदुषण मापदण्डको इञ्जिन बाहनहरुमा अनिवार्य हुनुपर्ने नियम भारतमा चाँडै लागू हुँदैछ । यही नियमलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई धमाधम अपडेट गर्न थालिसकेका छन् । यसै क्रममा हिरो मोटोकर्पले भने सबैलाई उछिन्दै आफ्नो पहिलो बीएस६-कम्प्लायन्ट मोटरसाइकल ‘२०१९ स्प्लेन्डर आइस्मार्ट’ आज भारतमा सार्वजनिक गरेको छ । नयाँ स्प्लेन्डर आइस्मार्टमा ११३.२ सीसी सिङ्गल-सिलिण्डर एफआई इञ्जिन समावेस गरिएको छ । हिरोले यस फ्युल इन्जेक्टेड इञ्जिनलाई ‘आइ थ्री एस स्टप-स्टार्ट’ टेक्नोलोजीका साथ पेस गरेको हो ।  यस इञ्जिनले पहिले भन्दा ०.५ पीएस कम पावर अर्थात् ९ पीएसको पावर प्रोड्युस गर्दछ । तर हिरोका अनुसार यस इञ्जिनले पहिले भन्दा १० प्रतिशत बढी टर्क अर्थात् ९.८९ एनएमको टर्क प्रोड्युस गर्नुको साथै केही बढी माइलेज समेत दिन्छ । यस मोटरसाइकलको डाइमेन्सन पनि पहिलेको भन्दा बढेर आएको छ । अहिले स्प्लेन्डर आइस्मार्टको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने यसको ह्विलबेसमा ३६ मिलिमिटरले र त्यसैगरी सस्पेन्सन ट्राभलमा चाहिँ १५ मिलिमिटरले वृद्धि भएको छ । हिरोले २०१९ स्प्लेन्डर आइस्मार्टमा नयाँ डाइमन्ड-टाइप फ्रेम दिएको छ । त्यसैगरी, यस इण्डियन मोटरसाइकल उत्पादक कम्पनीले नाइट राइडिङ्गलाई मध्यनजर गर्दै सो मोडेलमा पहिले भन्दा अझ बढि चम्किलो हेडलाइट पनि जडान गरेको छ । यस्ता परिमार्जन पश्चात् हिरोले नयाँ स्प्लेन्डर आइस्मार्टको मूल्यमा थोरै वृद्धि गर्दै भारतिय बजारमा यसको मूल्य ६४ हजार नौ सय रुपैयाँ तोकेको छ ।

५ करोडको लगानीमा खुल्यो अटो गार्डेन, साना गाडीको सबै काम मेसिनबाटै

काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै आइपुग्ने बताए । हाल सञ्चालनमा आइसकेको अटो गार्डेनबाट सबै मेसिन आइसकेपछि पूर्ण रुपमा सेवा शुरु हुने छ । अटो गार्डेनमा ३० जनाले रोजगारी पाएका छन् । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक अटो गार्डेनले प्रयोगमा ल्याएको पाठकले दाबी गरे । अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट अटो गार्डेनमा अत्याधुनिक मेसिन भित्र गाडी हालेर वास र पेन्ट गरिन्छ । यसरी मेसिन भित्र हालेर गाडीको वास र पेन्टिङ गर्दा नयाँ जस्तै चमक देखिन्छ । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा गाडीको आयु लामो हुने अटो गार्डेनका सञ्चालक पाठकले दाबी गरे । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा समयको बचत समेत हुनेछ । अत्याधुनिक प्रविधिमार्फत सर्भिसङ, पेन्ट, थ्रीडी प्रविधिद्वारा अलाइनमेन्ट, अटोमेटिक मेसिनमार्फत प्युरिफाई पानीद्वारा वास गर्ने र टायर चेन्जर लगायतका सेवा अटो गार्डेनले प्रदान गर्नेछ । अटो गार्डेनभित्रै क्याफेसमेत सञ्चालित छ । आफ्नो गाडी बनाउन आउँदा ग्राहकले क्याफेमा बसेर आनन्द लिन सक्छन् । देशैभर कार तथा जिप चढ्ने प्रयोगकर्ताहरुको संख्या बढेसँगै प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट हुने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालनमा ल्याइएको अटो गार्डेनका मेकानिकल इञ्जिनियर दिनेश पण्डितले बताए ।