फलफूलको बिरुवा बेचेर लाखौँ आम्दानी गर्दै धुलिखेलकी लक्ष्मी दाहाल

धुलिखेल । नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ काफ्लेडीका  घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छिन् । विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी बर्षको १५ लाख देखि २० लाख रुपैयाँसम्मको बिरुवा बिक्री हुँदै आएको उनले बताइन् । ‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । तीन रोपनी जमिनमा फैलिएको नर्सरीमा किबी, कागती, सुन्तला, जुनार, आँप, लिची, केरा र कफीको बिरुवा उत्पादन हुँदै आएको उनको भनाइ थियो । थोरै लगानीबाट सुरु गरिएको व्यावसायमा करिब २५ लाख रुपैयाँसम्म लगानी गरेर मौसमी रुपमा अरुलाईसमेत रोजगार दिँदै आएकी उनले मेहनत गरे कृषिबाट धेरै आम्दानी लिन सकिने बताइन् । ‘यहाँ उत्पादन भएका विभिन्न जातका फलफूलका बिरुवा काभ्रेपलाञ्चोकलगायत नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र पूर्वी जिल्ला खोटाङ र ताप्लेजुङसम्म पनि बिक्री हुने गरेको छ ।’ उनले भनिन्, ‘नर्सरीमा उत्पादन भएको बिरुवा बिक्री भएन भन्ने चिन्ता लिनुपर्दैन, ठाउँ ठाउँबाट लिन आउने गरेकी छिन् ।’ विशेष गरेर अमिलो जातको फलफूलको बिरुवा उत्पादन गर्दै आएको नर्सरीमा केरा र कफीको बिरुवासमेत उत्पादन गर्ने गरेको उनले बताइन् । पछिल्लो समयमा उत्पादन हुने बिरुवा सिधैँ किसानले भन्दा पनि पालिकाले उठाउने गरेको सञ्चालक दाहालको भनाइ थियो । नर्सरीमा निरन्तर काम गर्न एक जनालाई रोजगार दिइएको छ । जेटिए अध्ययन गरेकी उनले नर्सरी स्थापना गरी मनग्य आम्दानी गर्दै आएकी हुन् । कामदारसँगै दैनिक नर्सरीमा उनलाई ससुराबुबा मोहनमणि दाहालले व्यवस्थापनमा सहयोग गर्दै आएकी छिन् । फुर्सदको समयमा श्रीमान्ले पनि सहयोग गर्दै आएको उनले बताइन् । किसानले थोरै थोरै मात्रमा खरिद गर्ने र पालिकाले एक पटकमा धेरै मात्रामा खरिद गरेर लाने भएकाले एकै पटक बिक्री गर्न पाउँदा सजिलो पनि हुने दाहालले बताइन् । नर्सरीमा धेरै मात्रमा कागती र कफीको बिरुवा बिक्री हुने गरेको छ । त्यससँगै मेकाडेमियानटलगायतको बिरुवा पनि बिक्री हुने गरेको छ । रासस

जुनसुकै गाडीसँग एमजी साट्न सकिने, नेपालभर एक महिनाको अफर

काठमाडौं । एमजी मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यस्तो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी साट्न सक्ने छन् । ‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रावण २६ देखि भाद्र २४ सम्म यो अफर अन्तर्गत गाडी एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा यस्तो अफर उपलब्ध रहेको कम्पनीले बताएको छ ।

तरकारीको भाउ बढ्यो, ६० रुपैयाँ पर्ने गेलभेँडाको मूल्य १६० पुग्यो

काठमाडौं । तरकारी र फलफूलको भाउ दिनप्रतिदिन बढिरहेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ७०, हरियो फर्सी ९०, घिरौला ४० कायम भई कारोबार भइरहेको छ । त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ४०, सेतो मूला ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २००, कागती १३० रुपैयाँ, भिण्डी ५०, पिँडालु ५०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ९०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ । समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपती ७०, आभोकाडो ५००, कालो अङ्गुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा९मुंगरी० २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको जनाएको छ । साथै, लप्सी ५०, हरियो धनियाँ ३५०, लसुन हरियो २५०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।