सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार ६ सय पुग्यो

काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाली सुनचाँदी व्यबसायीका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ ।

डिशहोममा नयाँ २१ वटा फिल्मको मेला

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, भिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाइएको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

म्याग्दीमा केराखेती फस्टाउँदै, वार्षिक १३ लाख आम्दानी

गलेश्वर । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताए । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा १० लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् । सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । ‘उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन’, सापकोटा बताउछन् । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन् । खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका हुन् । दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन् । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन् । खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन् । “धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ”, कार्कीले भने। उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए । ‘केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ’, उनले भने । खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताए । बेनी–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । बेनी–२ खबरा र बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ । रासस