महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात

काठमाडौं । डिश होमले महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात गरेको छ। साउन १२ गते सोरुम उद्घाटन, डिशहोमका तर्फबाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा हेड रेभिन्यु एण्ड एम्प, कलेक्सन उज्जल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको थियो । २०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । ८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ, प्रोटिन र भिटामिन प्रशस्त पाइने

गलेश्वर । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा  घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्राङ्गारिक परिकारले नै  पर्यटकको स्वागत  गरिन्छ । पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताए । धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महङ्गो हुन्छ । प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताए । ‘घरबासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्’, उनले भने, ‘पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।’ रातो च्याउ आलोमा आठ सय र सुकाएको चार हजारमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए । जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्याउनै नसकिएको उनको भनाइ थियो । स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्रीवितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताए । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उनको भनाइ थियो । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जङ्गलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । रुमको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जङ्गलमा पाइन्छ । रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्राङ्गारिक च्याउ उत्पादनको व्यापार गर्दै आएका सुमन पौडेलले बताए । उनले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेलीका रूपमा पठाउने गरेको जानकारी दिए । देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देविस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जङ्गली रातो च्याउ सङ्कलन गरी बिक्री गरेर वार्षिक ५० हजारदेखि  दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै ४७ हजार रुपैयाँको रातो च्याउ बिक्री गरेको जानकारी दिए । व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उनको भनाइ थियो । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित  आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए । उनले भने, ‘अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ ।’ यहाँको रातो च्याउ विदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ । रासस

बुटवलमा दोस्रो पटक एनओजी राइड

काठमाडौं । टिभिएस मोटरको नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो । राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ भने अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।