फागुन ३ देखि छाला जुत्ता र वस्तु प्रर्दशनी मेला सञ्चालन हुने, ८० हजारले अवलोकन गर्ने

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा आठौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । काठमाण्डौको भृकुटी मण्डपमा ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ फागुन ३ गतेदेखि फागुन ९ गतेसम्म उक्त मेला सञ्चालन हुने भएको हो । नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत प्रचार गराउँदै राष्ट्रिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको संघले बताएको छ । मेलामा करीब ७० देखि ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्मनिर्भर गराउने र नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने बताइएको छ । मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री वितरण गरिनेछन् । मेलामा बिक्री गरीने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइनेछ । प्रवेश निशुल्क हुने मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्ने भएकी हुन् ।

पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, १७ हजारले गरे अवलोकन

काठमाडौं । मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले आयोजना गरेको ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आज सम्पन्न भएको छ । कृषि क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी माघ २७ गते सुरु भएको थियो । यही माघ २७ गतेदेखि २९ गतेसम्म भएको सो प्रदर्शनी चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालन गरिएको बताइएको छ ।प्रदर्शनीमा कुखुरापालन, माछा पालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण आदि राखिएको थियो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टल थिए । आज सम्पन्न पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा १७ हजार भन्दा बढीले अवलोकन गरेको आयोजक टिमले बताएको छ ।

३ लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन् । आज मेलामा ३ लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले बताए । उनले क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए । उनले मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको बताए । उनले काठमाडौंमा आजबाट सकिने इन्फोटेक सात आगामी दिनमा सात प्रदेशमा पनि सञ्चालन हुने जानकारी दिए । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ । क्यान इन्फोटेक २०२३ यही माघ २४ देखि २९ गते आजसम्म सञ्चालन भएको हो ।