टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । टाटाको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालसालै आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमको दौरानमा विभिन्न संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘इभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै ‘मोडुल’ र ‘सेल’ परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन् । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ । त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो । केवल टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दावी रहेको छ । यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवं डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा विक्री वितरण गरिरहेको छ । यसैगरी यसले यस्ता गाडीहरुको बजारलाई प्रभावकारी एवं दिगो रुपमा विकास गर्न आवश्यक पूर्वाधार (जस्तै चर्जिङ्ग स्टेसन) एवं जनशक्तिको विकास पनि तिब्र गतिमा गरिरहेको बताएको छ ।
कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो
पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन् । ग्राहकको मनै लोभ्याउने बुट्टा भरेर बनाइएका सामग्री आवश्यकता परिपूर्तिका लागि मात्र नभई घर तथा कोठा सजावट गर्न घरेलु सामग्रीमै ग्राहक लोभिन्छन् । पाल्पाको रामपुरमा हाल सञ्चालित व्यापार मेलामा हस्तकलाका सामग्रीप्रति ग्राहकको आकर्षण बढेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड देखिन्छ । बजारमा झट्ट उपलब्ध नहुने भएकाले ग्राहकले मेलामा आफूले खोजेको सामग्री पाइएपछि उत्साहित हुँदै खरिद गर्ने गरेको रामपुरका स्थानीय व्यापारी मणि भट्टराईले बताए । ‘घरेलु उत्पादन भनेपछि ग्राहकले हेर्ने नजर बेग्लैछ, हिजोआज घरेलु उत्पादन कम हुँदै गएको छ, यहाँ रोजी रोजी सामग्री लिन पाइएको छ, यसमै ग्राहकलाई सन्तुष्टि मिलेको छ’, उनले भने । कलात्मक स्वरुप दिएर घरेलु सामग्रीबाट उत्पादन भएका सामग्री ग्राहकको रोजाइमा परेका छन् । पाल्पा कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला अवलोकन गर्न पुगेका दर्शकले आकर्षक मान्दै सामग्री खरिद गर्ने गरेका छन् । घरेलु उत्पादन, कारागारका कैदीबन्दीको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किनमेल गरेर फर्कने गरेका छन् । यहाँ मुढा, ढँकिया, नाम्लो, नाङ्लो, ठेकीलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । कारागारका कैदीबन्दीले उत्पादन गरेको सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत प्रोत्साहन गर्दै व्यवसायी बालकृष्ण अर्यालले सामग्री खरिद गरी मेलामा बिक्री गगर्छन् । कार्यालयले कक्षको व्यवस्था गरेपछि धेरै सजिलो भएको व्यवसायी अर्याल बताउँछन् । पाल्पाको तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहेका अर्यालले कारागारमा कैदीबन्दीले उत्पादन गरेका हस्तकलाका सामग्री मेला महोत्सव तथा पसलबाटै बिक्री गर्दै आएका छन् । यहाँको मेलामा घरेलु उत्पादनका सामग्री भएकाले टिकाउ र गुणस्तरीय, हेर्दै आकर्षक रहेको हुँदा राम्रै व्यापार भइरहेको अर्याल बताउँछन् । ‘घरेलु सामग्रीको महत्व बुझ्नेले खोजी खोजी किनेर लैजाने गर्नुहुन्छ’, उनले भने, ‘मेलामा दैनिकजसो व्यापार बढ्दै गएको छ, बजारमा पछिल्लो समय घरेलु उत्पादन कम पाइने भएकाले पनि मेलामा आउने व्यक्तिले घर सजावट तथा दैनिक प्रयोगका लागि सामग्री खरिद गरिरहनुभएको छ ।’ मेलामा प्रति मुढा न्यूनतम ३ सय ५० देखि सात सय रुपैयाँसम्म, नाङ्लो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म, जुटको नाम्लो एक सय रुपैयाँ, ठेकी आठ सय रुपैयाँ, मादल दुई हजार पाँच सय रुपैयाँ र बेतको ढँकिया एक सय रुपैयाँ मूल्य कायम गरिएको छ । मेला सुरु अवधिदेखि नै हस्तकलाका सामग्रीमा ग्राहकको आकर्षण बढिरहेको छ । हस्तकलाका सामग्री गुरुङ, मगर, राई, लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा धेरै खपत हुने गरेको व्यवसायी अर्यालको अनुभव छ । कोभिड–१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिँदै आएकामा कोरोना महामारीमा सामग्री खपत हुन छाडेको उनले बताए । एक वर्षमा कारागारमा रहेका कैदीबन्दीबाट तयार भएका विभिन्न सामग्री गरी २० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरी अन्यत्र बिक्री वितरण भइरहेको अर्यालले जानकारी दिए । उनको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादललगायत वाद्यवादनका सामग्री उपलब्ध छन् । करिब तीन दशकदेखि तानसेनमा हस्तकलाका सामग्रीको व्यापार गर्दै आएका अर्यालले गाउँघरमा पाइने विभिन्न सामग्री प्रयोग गरी हातले तयार पारेका सामग्री खोज्ने ग्राहक पछिल्लो समय बढ्दै गएको बताउँछन् । कारागारमा रहेका करिब तीन सय ५० कैदीबन्दीले ती सामग्री उत्पादन गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लासहित अन्य जिल्लामा पनि सामग्री खपत भइरहेको छ । हाल यहाँको मेलामा नाम्लो ग्राहकको मागअनुसार पुर्याउन सकिएको छैन । स्थानीय सामग्रीबाट उत्पादन भएका सामग्रीलाई प्रवद्र्धन गर्दै उत्पादन बढाएर आयस्रोत वृद्धि गर्ने गरी कार्यालयले मेलामा कक्षका लागि व्यवसायीलाई प्रोत्साहनस्वरुप सहयोग गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत देवीराम भण्डारी बताउँछन् । स्थानीय उत्पादनमा कार्यालयले जोड दिँदै खरिद बिक्रीमा व्यवसायीलाई प्रोत्साहन दिँदैआएको उनको भनाइ छ । रासस
इलाममा गुन्द्रुकलाई ब्रान्डिङ गरिँदै
इलाम । गुन्द्रुक सुन्दा हेपेर बोलिए जस्तो हुन्छ । तर त्यही गुन्द्रुकको निकै उत्कृष्ट स्वाद हुन्छ । नेपालीको भान्सामा अमिलो अत्यधिक मन पराइने गरिन्छ । झोल बनाएर र अचारमा निकै स्वादिष्ठ मानिन्छ, गुन्द्रुकलाई । नेपाल कृषि प्रदान मुलुक हो । नेपालीले तरकारी खेती गर्ने गरेका छन् । सोही तरकारीको सागबाट गुन्द्रुक बनाइन्छ । हामीले मुलाको मात्र गुन्द्रुक खाएका हुनसक्छौँ । तर मुलाको सागसँगै रायोको साग, फूलकोपी, बन्दाकोपी, तोरीको सागबाट समेत स्वादिष्ठ गुन्द्रक तयार गरिन्छ । सबैभन्दा बढी त मुलाको सागबाट गुन्द्रुक बनाइन्छ । साथै मुलाबाट सिन्की निर्माण बनाइन्छ । प्रायः किसानको करेसामा साग र मुला रोप्ने गरिन्छ । सोही सागबाट गुन्द्रुक बनाइन्छ । उत्पादित बजारसम्म पु¥याउन सके उपभोक्ताले खरिद गरेर तरकारी खान्छन् । इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाईवस्तुलाई खुवाउने गरिन्छ । सोही सागलाई गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । जनताको पहिलो सरकार भनेकै स्थानीय तह हो । सोही स्थानीय तहले किसानका क्षेत्रमा काम गर्न नसक्दा उत्पादित तरकारीसमेत खेर गइरहेका छन् । तर इलामको रोङ गाउँपालिकाले भने गुन्द्रुक ‘ब्रान्डिङ’ सुरु गरेको छ । किसानले उत्पादन गरेर खेरगइरहेको सागबाट गुन्द्रुक बनाइन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो । उत्पादन र बजारीकरण सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको छ । तर अब गुन्द्रुकले भाउ पाउने धेरै किसानको अपेक्षा रहेको छ । इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्ने गरिको काम अगाडि बढाएको छ । स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्याउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन सुरु गरेको छ । पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने तरकारी यहीँ बिक्री हुन्छ । खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की निर्माण गरिने गाउँपालिकाको लक्ष्य रहेको छ । उत्पादित सिन्की–गुन्द्रुकलाई प्रवर्द्धन गर्ने कार्यक्रम अगाडि बढाइएको जनाइएको छ । प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोको भनाइ छ । उत्पादित साग बजारमा बिक्री हुने र बाँकी रहेको पालिकाले किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाले सुरुआती तीन महिना गुन्द्रुक–सिन्की लेबलिङका लागि फुड टेक्निसियनसमेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ । ६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार उपलब्ध गराउने छ । पालिकाले १७ लाख ६० हजार रुपैयाँ र सहकारीले १५ लाख ८० हजार लगानी गर्ने बताइको छ । देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवं मार्केटिङको सबै कार्य गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । उनका अनुसार यसवर्ष कम्तीमा तीन सयदेखि एक हजार किलो उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिनेछ । पहिलो चरणमा ६० जना किसानलाई सहभागी गराइएको छ भने आगामी वर्ष अझ यसलाई बढाएर कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश नं १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाइ छ । अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडि आदरणीय थप्ने भन्दै नेपालमा अहिलेसम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुःखद् रहेको किसानको समेत भनाइ रहेकोछ । यसको रिसर्च रोङ गाउँपालिकाबाटै सुरु हुने अध्यक्ष स्याङ्बोको भनाइ छ । पालिकाले हरेक वर्ष एक/दुईवटा उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढवा दिइने बताइएको छ । तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम बढाइएको बताइएको छ । चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न तीन लाख, बीउका लागि दुई लाख, प्रतिकिलो अनुदानका लागि तीन लाख रुपैयाँ र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न दुई लाख विनियोजन गरेको छ । उत्पादनपश्चात सहकारीमार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदै गरेको छ । विश्लेषणसहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको बताइएको छ । उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकारबीच साझेदारीपछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिनेछ । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बीमा लागू गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ । कसरी निर्माण गरिन्छ गुन्द्रुक ? सागलाई अमिल्याएर बनाइएको वस्तुलाई नै गुन्द्रूक भनिन्छ । गुन्द्रुक राष्ट्रिय तरकारीसमेत हो । राष्ट्रिय तरकारी भएर पनि सम्मान पाउन नसकेको गुन्द्रुकलाई नेपालभित्र मात्र नभएर विश्व बजारमा पुर्याउन कार्यक्रम थालिएको हो । गाउँघरमा प्राय किसानले गुन्द्रुक बनाएको भए पनि पनि सहर बजारमा गुन्द्रुक कसरी बनाइन्छ भन्ने कमैलाई मात्र जानकारी हुने गरेको छ । हरेक किसानले साग रोप्ने गर्छन् । त्यही सागलाई गुन्द्रुक बनाए वर्षैसम्म प्रयोग गर्न सकिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ र यसलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ । छिप्पिएको रायो, तोरी, मुलाका पात टिपेर घाममा केही दिन ओइलाइन्छ । त्यसलाई ढिँकीमा अथवा कुनै प्रविधिबाट कुच्याइन्छ र गहिरो खाडलवा प्लाष्टिकको भाँडोमा खाँध्ने गरिन्छ । खाडलमा लगाइएको भने खाल्डोमाथि पुरेपछि आगो बालेर तताइन्छ । प्लाष्टिकको भाँडोमा लगाइएको भए तातो ठाउँमा राखिन्छ । यसरी लगाइएको २२ देखि दुई महिनामा यसलाई बाहिर किालिने गरिएको छ । खाल्डोमा लगाइएको भए माटो नलागोस् भनेर वरिपरी बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल आदि लगाएर बिचमा खाँदेर छोपिन्छ । सागअनुसार अट्ने खाल्डो खनिएपछि त्यसलाई समेत केही दिनभित्र आगो बालेर तातो पारिन्छ । लगाइएको प्राय २२ देखि एक महिनामा यसको स्वाद अमिलो हुन्छ । निकालेर आवश्यक्ता अनुसार काटेर घाममा सुकाइन्छ । यसरी तयार पारिएको वस्तुलाई हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौंसम्म खान सकिन्छ । यसलाई तरकारी वा अचार बनाएर पनि खाने गरिन्छ । सिन्की र गुन्द्रुक बनाउने तरिका एउटै हो । मुलाबाट सिन्की निर्माण हुन्छ भने सागबाट गुन्द्रुक तयार हुन्छ । यस्तो बस्तु हाल थकाली भान्सादेखि चारतारे होटलमा समेत पछिल्लो समय अत्याधिक चल्न गरेको छ । नेपालमा हाल पनि बढिजसो मानिस कृषिमा लागेका छन् । हरेक निर्वाचन अघि उम्मेद्वार र पार्टीले घोषणापत्रमा नै कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आएको छ । तर उल्लेख्या काम गर्न नसक्दा किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुग्न नै पाउँदैन । बजार पुगे पनि उचित मूल्य पाउन नै सकेको छैन । किसानका उत्पादन बजारीकरण गर्ने वाचा गरेका नेताले जितेर माथि पुग्छन् तर भोट दिने जनता जहीकोतहिँ भइरहेका छन् । चुनाव अघि तिनै जनतासँग निउरिने नेता चुनाव जितेपछि किसानप्रति कुनै योजना बनाउँदैनन् । त्यसैले पनि किसानका उत्पादन सदुपयोग हुनसक्दैनन् । उतदित बस्तु बजारीकरण हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङगाउँपालिकाले प्रयास थालेको छ । यो प्रयासले निरन्तरता पाउन सके किसानको जनजीविकाका क्षेत्रमा निकै महत्वपूर्ण मानिनेछ । रासस