तानसेनको तेल्घा सुनडाँडामा थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही

पाल्पा । तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन् । तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन् । तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगर गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएका छन्। गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ । ‘सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ’, उनी भन्छन्, ‘ थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ ।’ दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ । यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ । कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ । दुईवटा भवन र सात सटर निर्माण गरिएको छ । ‘प्रत्येक दिन बजार लगाउने तयारीमा छौँ’, सहकारीका अध्यक्ष कमला भण्डारी भन्छन्, ‘गाउँ–गाउँबाट सहकारीको सवारीसाधनमार्फत कृषि उपज आयात गर्ने व्यवस्था मिलाएका छौँ ।’ थोक बजार केन्द्र लुम्बिनी प्रदेश सरकारबाट रु ७० लाख, तानसेन कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट ३४ लाख, हेफर इन्टरनेशनलबाट १० लाख र सहकारीको १० लाख गरी एक करोड २४ लाखको लागतमा निर्माण भएको हो । थोक बजार सञ्चालनका लागि बजार विकास समिति र निर्देशिका बनाइएको छ । प्रत्येक दिन कारोबार गर्ने गरी सञ्चालन गर्न थालिएको थोक बजार साताको एक दिन बजार लाग्ने सहयोगी संस्था ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए। तानसेन नगरपालिकामा दुई रोपनीभन्दा धेरैमा व्यावसायिक तरकारी खेती गर्नेहरू छ सय परिवार छन् । उनीहरूले वार्षिक रु ५० लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । यहाँ बाख्राको पकेट क्षेत्रसहित चारवटा स्रोत केन्द्र छन् । तानसेनबाट दुई करोड बढीको बाख्रा निर्यात हुँदै आएको छ । तानसेन बाख्राको मासुमा आत्मनिर्भर छ । तानसेन नगरपालिकाका ग्रामीण वडाबाट वार्षिक रु ३५ करोड बढीको कृषि तथा पशुजन्य उत्पादन निर्यात हुने गरेको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीको भनाइ छ । ‘जिल्लामै थोकबजार सङ्कलन केन्द्र नहुँदा व्यापारीको मूल्यमा कृषि उपज बिक्री गर्नुपरेको थियो’, उनी भन्छन्, ‘थोकबजार केन्द्र सञ्चालनले कृषकले राम्रो मूल्य पाउनेछन् ।

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

काठमाडौं । शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन राजदुतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताए । उनले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको बताए । उनले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए । उनले भने, ‘कोरोनापपिछ ४ वर्षसम्म बिजनेस प्रवद्र्धन गर्न नसकिरहेको अवस्थामा जर्मन एमबेसी र हामी मिलेर सानो वेमा उत्पादित वस्तुहरु प्रदर्शनीमा राखेका छाँै । चिया, कफी, गाभर्मेण्ट, कस्मिना लगायतका सामग्रीहरु राखेका छौँ । यसले थोरै भएपनि नेपाली निर्यातलाई बढाउँछ । सानो प्रयास भएपनि कोशेढुंगा सावित हुनेछ । ३५ वटा प्रोडक्ट र ४ वटा फूड स्टल छन् । जम्मा ४० वटा स्टल छन् ।’ त्यस्तै, नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरु साथै जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताए ।

रकम जम्मा नगरी मोको वालेटबाट पेमेन्ट गर्न सकिन्छ : सरोज बस्नेत

फोकसवान पेमन्ट सोलुसन एक भुक्तानी प्रदायक कम्पनी हो । मोको वालेट वा एपबाट डिजिटल भुक्तानी गर्न सकिन्छ । माेकाेले मोबाइल भुक्तानी प्रणालीमार्फत् कार्डवाहकरुलाई विशेष सेवा प्रदान गर्दै आएको छ । मोको एप प्रयाेग गरेर मोबाइलबाटै भुक्तानी गर्न, टिकट बुक गर्न र मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । साथै, वालेटमा रकम बिना नै डेबिट तथा क्रेडिट कार्डहरू डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी मोकोले प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । कुनै प्रचार-प्रसार बिना हजारौं ग्राहकलाई सेवा दिईरहेको यस कम्पनीको आगामी योजना र सेवा सुविधाका विषयमा मोको वालेटका हेड अफ बिजनेश अप्रेसन सरोज बस्नेतसँग विकासन्युजका लागि सीआर भण्डारी र राजिव न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत उक्त कुराकानीको सम्पादित अंश : फोकसवान पेमेन्ट सोलुसन्स् अर्थात् मोको वालेट कहिलेबाट सुरु भएको हो ?  पहिला पेमेन्ट सिस्टममा पीएसपी तथा पीएसओ थिएन । सन् २०१९ बाट पीएसपी तथा पीएसओ आएको हो । सुरुमा फिन टेकमा एसएमएस जस्ता कामका लागि फोकसवान स्थापित भएको थियो । सन् २०१९ मा राष्ट्र बैंकले चिप बेस कार्डहरु लन्च गर्न निर्देशन दिएको थियो । त्यो बेलामा एससीटीसँग चिप बेस कार्ड थिएन । भिजासँग मात्रै चिप बेस कार्ड थियो । त्यसपछि हामीले एससीटीसँगको पार्टनरसिप छुट्टिएर भिजासँग पार्टनरसिप गरेका हौं । त्यसअघि सन् २०१४ देखि २०१९ सम्म एससीटी कार्ड एड गरेर विभिन्न पेमेन्ट गर्न मिल्थ्यो । माेकाेले सन् २०२० मा चाहिँ पीएसपीको लाइसेन्स पाएको थियो । सन् २०२१ को जुलाईबाट हामीले नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल) र हिमालयन बैंक (एचबिलएल) सँगको पार्टनरसिपमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) एड गरेको हो । अहिले त्यसैबाट एक्टिभिटिज पे गर्न मिल्छ । अहिले मोको वालेटबाट थुप्रै पेमेन्ट गर्न मिल्छ । जस्तो टप अप, खानेपानीको बिल, विजुलीको बिल, विद्यालयको शुल्क र टिभिको बिल तिर्न पनि मिल्छ । हामीले अब इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्न मिल्ने, ट्राफिक जरिवाना तिर्न मिल्ने गरी सेवा थप्ने तयारी गरेका छौं । क्यूआर पेमेन्ट पनि सहज रुपमा गर्न सकिन्छ । दरबारमार्ग र ठमेल क्षेत्रतिर क्यूआर मर्चेन्ट पनि छन् । एपबाट स्क्यान र पे गर्न मिल्छ । बजारमा थुप्रै वालेट कम्पनीहरु छन्, मोको वालेटले कसरी प्रतिस्पर्धा गरिरहेको छ ?  अरु वालेट कम्पनी र मोको वालेटमा फरक छ । अरु वालेटमा रकम जम्मा गर्नुपर्ने हुन्छ । यदि रकम जम्मा नगरेमा बैंक लिंक गर्नुपर्छ । जसरी पनि वालेटमा रकम हुनैपर्छ । मोको भनेको नन् स्टोर भ्यालू वालेट हो । मोको वालेटमा रकम जम्मा गर्नु पर्दैन । यसमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) लाई एड गरेर रकम लोड नगरि पेमेन्ट गर्न सकिन्छ । अहिले भिजा कार्डबाट मात्रै कारोबार भइरहेको छ । पछि हामीले मास्टर कार्डबाट पनि कारोबार हुने व्यवस्था मिलाउनले छौं । कार्ड प्रयोग गरेपछि मात्रै काटिने भएकाले इन्ट्रेस्ट लस हुँदैन । बैंकमा जम्मा भएको रकम बैंकमा नै सुरक्षित हुन्छ । पेमेन्ट गरेको सयममा मात्रै रकम काटिन्छ । जति पनि वालेट छन्, तिनीहरुमा रकम जम्मा गरेको हुनुपर्छ । तर मोको वालेटमा रकम नहुँदा पनि क्रेडिट कार्डबाट पेमेन्ट गर्न सकिन्छ । क्रेडिट कार्डमा ४५ दिनसम्म पेमेन्ट गर्न लिमिट छ । जस्तो आज खर्च गर्नु भयो भने ४५ दिनसम्म फ्रि क्रेडिट पाउन सकिन्छ । अहिले क्रेडिट कार्ड ठूलाठूला पर्स मेसिनहरुमा मात्रै प्रयोग गरिन्छ । भाटभटेनी वा ठूलाठूला मर्चेन्टहरुमा मात्रै स्वाइप गर्न पाइन्छ । नेपालमा स्वाइप मेसिन १५/२० हजार भन्दा बढी छन् । त्यो बैंकलाई स्पाण्ड गर्न पनि गाह्रो छ । पर्स मेसिन भनेको फिक्स कस्ट हुन्छ । डिभाइसको कस्ट लाग्छ । नेट चाहिन्छ । रेगुलर अप्रेटिङ कस्ट पनि लाग्छ । मोको वालेटबाट अहिले बजारमा संचालनमा रहेका क्यूआर गर्न सकिन्छ । क्यूआरमा नेट पनि चाँहिदैन । पैसा छ भने डेबिट कार्डबाट तिर्दा भयो । डेबिट कार्डमा रकम नभए क्रेडिट कार्डको प्रयोग पनि गर्न मिल्ने भयो । यसले गर्दा बैंकलाई पनि सजिलो हुन्छ । कस्टमरलाई पनि पैसा नहुँदा पनि कारोबार गर्न सकिन्छ । सानो-सानो मर्चेन्टमा पनि आजकाल क्यूआर राखिएको हुन्छ । पसलमा क्यूआर कोड हुन्छ । उसलाई नेट चाहिएन पर्सको क्यूआर कोड रिप्लेसमेन्ट हुनसक्छ । क्यूआर स्टाण्डिङ राखेर पेमेन्ट रिसिभ गर्न मिल्छ । नयाँ स्वाइप स्वाइप मेशिनको ३० हजार रुपैयाँ पर्छ । त्यो ३० हजार बैंकको लागि कस्ट कम भयो । त्यसको सट्टा क्यूआर राख्यो भने क्रेडिट कार्ड र डेबिट कार्डबाट पनि लिन सकिन्छ । मोको एप डाउनलोड गरेर आफ्नो भिजा डेबिड क्रेडिट कार्ड एड गरेर पेमेन्ट गर्न मिल्छ । ९५ प्रतिशत कस्टमरले क्रेडिट कार्ड प्रयोग गर्नु भएको छ । पैसा भएर यसबाट पेमेन्ट गर्नेभन्दा पनि पैसा नहुँदाखेरि क्रेडिट कार्डको प्रयोगले रकम पे गर्न सक्नुहुन्छ । डेबिट कार्डभन्दा पनि क्रेडिट कार्ड बढी प्रयोग भइरहेको छ । अन्तर्राष्ट्रिय ग्राहकहरुले पनि भिजा कार्डबाट पेमेन्ट गर्न सक्नुहुन्छ । भारत, बङ्गलादेश, चाइनाबाट जहाँबाट पनि ग्राहकले मोबाइल एप्लिकेसनबाट पे गर्न सक्नुहुन्छ । सबै बैंकहरुको मोबाइल एपमा नेपाल पे इनएबल भइरहेको छ । मोकोको मर्चेन्टमा भिजा, नेपाल पे, यूनियन पे, आलि पे बाट पेमेन्ट गर्न मिल्छ । यस्तै, स्मार्ट क्यूआर सँग पनि छलफल भइरहेको छ । त्यहाँबाट पनि स्क्यान र पे गर्न सकिन्छ । हाम्रो क्यूआर सिंगल यूनिफाइड क्यूआर जस्तै भइरहेको छ । यसकाे प्रयाेग गर्दा मर्चेन्टहरुलाई ३/४ वटा क्यूआर राख्नुको सट्टा एउटा क्यूआर राखे पुग्ने सुविधा हुन्छ । हाम्रो ग्राहक भनेका बैंकका ग्राहकहरु हुन् । २ लाख बढी क्रेडिट कार्ड होल्डरहरु हुनुहुन्छ । बैंकसँग सहकार्य गरेर यसबाट आम्दानी गर्न सक्नुहुन्छ । सर्वसाधारणले मोको किन चलाउने ? ‘मेक योर एभ्रिडे मोर रिवार्डिङ’ अर्थात् दैनिक कारोबार गरेर थप पुरस्कार जित्नुस् भन्ने छ । मोकोले रिवार्डहरु धेरै दिन्छ । रिवार्ड रिटर्न गर्न मिल्छ । रिवार्डका लागि हामीले छुट्टै सिस्टम मिलाएका छौं । जस्तै, आफूसँग रकम नभएको बेला बत्तिको बिल तिर्न सकिन्छ, क्रेडिट कार्डबाटै सहज रुपमा तिर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणको बिल तिर्न स्वाइपको काम छैन । तर प्राधिकरणलाई तत्काल दिनुपर्ने हुन्छ । नगद बाट नै तिर्नुपर्ने हुन्छ वा वालेटबाट नै तिर्नुपर्ने हुन्छ । तर मोको वालेटमा रकम जम्मा गरेको छैन भनेपनि क्रेडिट कार्डबाट बिल तिर्न सकिन्छ । क्रेडिट कार्ड होल्डर भएका सेवाग्राहीलाई फाइदा भनेको रकम नभएको बेलामा पनि पेमेन्ट गर्न सकिन्छ । मोकोले कस्ता कस्ता सेवाहरु प्रदान गरिरहेको छ, स्किममा कसरी प्रतिस्पर्धा गरिरहनु भएको छ ? मोकोले ‘उडानमा उमङ्ग, लान्छौं हामी गोसाईकुण्ड’ अफर चलिरहेको छ । यो अफर सेप्टेम्बरदेखि नोभेम्बरसम्म मात्रै हो । हामीसँग २० वटा बैंक सदस्य छन् । २० वटा बैंकबाट कुनै पनि डेबिट वा क्रेडिट कार्डबाट एयरलाइन्सको टिकट काट्यो भने हरेक दिन एकजनाले शतप्रतिशत क्यास ब्याक पाउनुहुन्छ । यस्तै, ६३ दिनको क्याम्पेन छ । ६३ दिनमा यूनिक प्रयोगकर्ताले क्यास ब्याक पाउन सक्नुहुन्छ । साथै बम्परमा १० वटा हेलि राइड टू गोसाइकुण्ड छ । ६३ दनभित्र टिकट काट्नेहरुमध्ये १० जनालाई गोसाईकुण्ड हेलिकप्टरमा घुमाउने स्किम छ । माेकाेले अहिले ल्याएका स्किम यति नै हो । अब नयाँ वर्ष, विश्व कपमा केही नयाँ स्किम ल्याउने तयारी छ । नयाँ ग्राहकलाई पनि थप्नु पर्ने भएकाले बेलाबेलामा स्किम ल्याइरहेका हुन्छौं । हाल मोको वालेट ३५ हजार बढीले प्रयोग गरिहरनु भएको छ । उहाँहरु अर्गानिक ग्राहकहरु हुनुहुन्छ । आफ्नो व्यवसाय प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? वालेटमा हामी नयाँ हो । हामीले अहिलेसम्म वालेटको मार्केटिङ गरेका छैनौं । हामीले मार्केटिङमा लगानी पनि गरेका छैनौं । सधैं बैंकको कार्ड हुन्छ भन्ने छैन । जस्तो एनआइबिएलमा मात्रै लाइभ गरेर मार्केटमा लाइभ भयाे भनेर पब्लिस नगर्नुको कारण अरु कुनै बैंकको कार्ड छ भने त्यो कस्टमरले एसेप्ट गर्दैन । त्यसैले हामी सबै बैंकसँग जोडिन खोज्दै छौं । त्यसपछि हामी मार्केटमा जाने  छौं । अहिले एक जनासँग दुइतीन वटा खाता छन् । त्यसैले उहाँहरुले एउटा न एउटा बैंकको कार्ड लिंक गर्न सक्नुहुन्छ । अहिले २० वटा बैंक लाइभ भइसकेको छ । बाँकी रहेका बैंकसँग तिहारपछि काम हुन्छ । अब हामी मार्केटिङ गर्ने हिसाबले जाने तयारी गरिरहेका छौं । अहिलेसम्म एक वर्षको अवधिमा अर्गानिक ३५ हजार ग्राहक आउनु भनेको राम्रो नै हो । हामी सन्तुष्ट नै छौं ।  मोको वालेट कति सुरक्षित छ ? मोको पीसीआई डीएसएस सर्टिफाइड पहिलो पीएसपी कम्पनी हो । डाटा सुरक्षामा राम्रो गरेको सर्टिफिकेट हामीले पाएका छौं । हाम्रो डाटा सुरक्षित छ भन्ने सर्टिफिकेट हो । हामीले सबै ऐन नियमलाई नै मानिरहेकोले हाम्रो एप्स सुरक्षित छ । मोको एपमा एड गरेको कार्डको विवरण मात्रै देखाउँछ । मोबाइलमा कार्डको डिटेल्स बस्ने भएकाले अर्काे मोबाइलबाट लगइन गर्याे भने फेरि कार्ड एड गर्नुपर्ने हुन्छ । जस्तो एउटा मोबाइलमा कुनै बैंकको कार्ड एड गरियो । फेरि अर्काे डिभाइसमा लग इन गर्याे भने त्यसमा कार्डको डिटेल देखाउँदैन । त्यसैले ह्याकिङ गर्दा पनि ह्याकिरले सबै कस्टमरको एउटा एउटा ह्याक गर्नुपर्छ । मोबाइल चोरि भइहाल्यो भने अथवा पासवर्ड कसैले थाहा पायो भने पनि लग इन गरेर केही गर्न सक्दैन । सुरक्षाको हिसावमा धेरै राम्रो छ । बजारमा प्रतिस्पर्धी बन्न आगामी योजनाहरु के-के छन् ?  नयाँ वर्ष र विश्व कपलाई टार्गेट गरेर अथवा पछि आउने दिनहरुमा ग्राहकलाई कुनै न कुनै फाइदा हुने किसिमको स्किम ल्याउने तयारी छ । अहिले पेमेन्ट गर्ने मात्रै धेरै एप्सहरु छन् । तर मोको एप पेमेन्ट मात्रै नभएर लाइफ स्टाइल एप पनि हो । मोको एपमा डिस्कोभर प्ल्याटफर्म छ । यसमा हाम्रो मर्चेन्ट को को हो, कुन मर्चेन्ट कुन स्थानमा छ भनरे खोज्न मिल्छ । त्यो मर्चेन्टले के–के सेवा दिन्छ, मर्चेन्टमा विशेष के रहेको छ भनेर हेर्न पनि सकिन्छ । मर्चेन्ट कति बजे खुल्छ, ग्राहकले एभरेजमा कति खर्च गर्ने रहेछ, यो पसल केको लागि फेमस छ भनेर यी सबै कुराहरु एड गरेका छौं । नयाँ रेष्टुरेन्ट, नयाँ पसल जानु भयो भने के छ भनेर थाहा हुँदैन । यी सबै कुरा हेरेर त्यहाँ जान सकिन्छ । यसैले नै मोको एप लाइफ स्टाइल एप बनेको हो । एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर्मर गर्न किन मिल्दैन ?  वालेटहरु छुट्टाछुट्टै संस्था भएको हुनालो एउटा संस्थाबाट अर्काे संस्थामा सजिलै पेमेन्ट गर्न सकिदैँन । मुख्य दुई वटा पीएसओ छन् । एनसिएचएलमा केही पीएसओ आवद्ध छन् भने फोन पेमा केही पीएसओ आबद्ध छन् । दुइवटै पीएसओ इन्टर अप्रबेवल भयो भने सम्भव छ । कोही एनसिएचलसँग आवद्ध भएका छन् भने कोही फोन पेमा आवद्ध भएका छन् । मुख्य भनेको दुइवटा पीएसओबीच इन्टर अप्रेटर छैन । त्यो भएर वालेटमा एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर गर्न एउटा सुपर बडि हुनु पर्छ । कुनै डिस्पियुट आयो भने मिलाइदिन अथोरिटी आवश्यक हुन्छ । आगामी दिनमा राष्ट्र बैंकले त्यो व्यवस्था पनि गरिदिनुपर्छ । कारोबारको सीमा बढाउन आवश्यक छैन ? कारोबारको सीमा बढाउने भनेको सेवाग्राही अनुसार हुन्छ । ठूलाठूला मर्चेन्टमा पेमेन्ट गर्न, इन्स्योरेन्स कम्पनीको प्रिमियम पेमेन्ट गर्न वा लाखौंको पेमेन्ट गर्न मर्चेन्ट स्पेसिफिक बनाउन सकिन्छ । कसैको क्षमता हजार हुन्छ भने कसैको लाखौं हुन्छ । सबैलाई एउटैमा राख्नुभन्दा पनि क्याटागोरीवाइज जुन मर्चेन्टमा बढी पेमेन्ट हुन्छ त्यसको लागि मात्रै बढी कारोबार हुने सिस्टम बनाउन सकिन्छ । अहिले तोकिएको सीमा ओभरलमा ठिकै हो ।