बजारमा आयो मुस्ताङको स्याउ

काठमाडाैं । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पु¥याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्याउँछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् । “रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने लक्ष्य छ”, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका छन् । ‘‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ,’’ लामाले भने ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’’ बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् । विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् ।

काेकाकाेलाकाे ‘धन्यवाद’ बजारमा

काठमाडाैं । महामरीकाे समयमा सहयाेग गर्ने सबैलाई सम्मान गर्दै काेकाकाेलाले धन्यवाद लेखिएकाे नयाँ बाेतल बजारमा ल्याएकाे छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दशैंलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । यसको मुख्य आशय कोभिड-१९ को महामारीको कठिन समयमा सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोतलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको कम्पनीले बताएकाे छ । कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल ल्याएकाे कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए । उनले यसपालिको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गर्नेकाे परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले अनुराेध गरेको बताए ।

वाणिज्य सचिवको प्रश्नः वार्षिक मागभन्दा बढी चिनी आयात हुँदा पनि कसरी फैलियो अभावको हल्ला ?

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य पदार्थको अभाव नहुने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने बताए । ‘हामीलाई दिईएको तथ्यांक अनुसार पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात छ, कोही कसैले खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नका लागि अभाव छ भन्ने गरेका छन्, हल्लाको पछि नलाग्नुस्, पर्याप्त मात्रामा खाद्य पदार्थको मौज्दात छ’, उनले भने । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेशनले आफूसँग रहेको चिनीको मौज्दात सकिन लागेकाले बजारमा अभाव हुने भनिरहदाँ सचिव भटराईले पर्याप्त रहेको जनाएका हुन । उनले भन्सार विभागको तथ्यांक अनुसार भारत लगायत अन्य देशबाट पर्याप्त मात्रामा चिनीको आयात भइरहेको भन्दै निजी व्यापारीसँग मौज्दात रहेको जनाएका हुन । ‘सरकारसँग आधार, तथ्य र तथ्यांक छ, चाडपर्वमा मात्रै नभई अन्य समयमा पनि अभाव हुन दिँदैनौं, बाहिरको हल्ला जस्तो अभाव छैन, हामी निरन्तर बजार अनुगमन तथा अध्ययनमा छौँ, कुनै पनि हालतमा अभाव छैन, हुन दिन्नौं,’ सचिव भट्टराईले भने । उनले भन्सारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै २ लाख १२ हजार टन चिनी आयात भएको जनाउँदै नेपालमा नै १ लाख ५ हजार टन उत्पादन भएको जनाए । चिनी उत्पादक संघको तथ्यांक अनुसार तेस्रो वर्षमा चिनीको उत्पादन अलि कम हुँदा गत वर्षमा १ लाख ५ हजार टन उत्पादन भएको थियो । ‘उपभोक्ता तथा व्यापारिक प्रयोजनका लागि नेपालमा वार्षिक २ लाख ५० हजार चिनीको माग छ । मागभन्दा धेरै आयात भइसकेको छ, कसरी बजारमा चिनीको अभाव हुन्छ ? चालु आर्थिक वर्षको साउनमा १७ हजार टन आयात भयो, भदौमा आउनुपर्ने १० हजार टन पाइपलाइनमा छ, हिसाबले गर्दा अभाव हुँदैन, सम्भावना छैन,’ सचिव भट्टराईले थपे । अन्य समयमा मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरन्तर बजार अनुगमन गर्ने गरेको भन्दै सचिव भट्टराईले चार्डपर्वको समयमा मात्रै ४० प्रतिशतभन्दा बढी खपत हुँदा बजार अनुगमनलाई विशेष बनाईएको जानकारी दिए । वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले पनि चाडपर्वका लागि आवश्यक खाद्य पदार्थको मौज्दात पर्याप्त रहेको जानकारी दिए । ‘हामी चाडपर्वमा हुने अनुचित व्यापारिक क्रियाकलापलाई मध्यनजर गर्दै संयुक्त बजार अनुगमन गरीरहेका छौं, बजारमा वस्तुको अभाव भएको जनाउँदै कालोबजारी गर्नेहरु सक्रिय हुने समय यही हो, हामीसँगै व्यवसायी र उपभोक्ता पनि सक्रिय हुनुपर्छ,’ महानिर्देशक पौडेलले भने । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सामग्रीको नापतौलमा गल्ती भेटिए तत्काल कारवाही गर्ने चेतावनी दिए । ‘हामी पछिल्लो समय निर्माण सामग्री केन्द्रीत भएर बजार अनुगमन गर्ने गरेका छौं, अनुगमनका क्रममा सामग्रीको मूल्य एउटै राखेर तौल घटाउने गरेको पाइयो’, उनले भने । नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले चाडबाडमा इन्धनको अभाव नहुने जनाए । ‘हामीसँग ७९ प्रतिशत इन्धनको मौज्दात छ, पाइपलाइनबाट निरन्तर रुपमा इन्धन आइरहेको छ, दशैंमा हाम्रो इन्धन डिपोहरु खुल्ला हुन्छन्, अभाव हुँदैन,’ गोइतले भने ।