निसानका सम्पूर्ण गाडीहरुमा ‘अहिले किन्नुहाेस्- पैसा पछि तिर्नुहाेस्’ योजना

काठमाडाै‌ं । काठमाण्डौं निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै “बाइ नाओ पे लेटर’ अर्थात अहिले किन्नुहाेस् र पैसा पछि तिर्नुहाेस् योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० % डाउन पेमेन्ट मा उपलब्ध हुने कम्पनिले जनाएकाे छ । निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबी गरेको छ। यस योजना स्टक रहने अवधि सम्म लागु हुने र साथै सर्तहरु लागु हुने मोटोकर्पले जनाएकाे छ ।

‘खल्ती’ मोबाइल एपमा जोडिए १ मिलियन युजर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोबाइल वालेट बनेको छ । आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेज khalti.com बाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । खल्तीले डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।

काठमाडौंका व्यापारिक केन्द्रः पसल खुले, ग्राहक आएनन्

काठमाडौं । काठमाडौंलगायत देशैभरका मूख्य व्यापारिक बजार खुलिरहेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा लकडाउन भएको ७२ औँ दिनबाट काठमाडौंका असन, न्युरोड र ठमेल जस्ता व्यवसायिक स्थानका पसलहरु खुल्न लागेका हुन् । सरकारले पनि लकडाउनकै समयमा सपिङ हलबाहेकका सबै पसल व्यापारिक केन्द्र लगायत खोल्ने निर्णय गरेको थियो । सरकारले गत शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको हो । गत बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै तोकिएको मापदण्ड पुरा गरेर व्यापारीहरुले आफ्नो व्यवसाय सञ्चालन गरेको थिए । तर, पसलहरु खुले पनि व्यापार भने नभएको व्यापारीहरु बताउछन् । बिहान आएर पसल खोले पनि खाना खान जाने बेलासम्म पनि बोहोनी नै नभएको व्यापारीहरुको भनाइ छ । सधै भिडभाड हुने व्यापारिक क्षेत्रमा सर्वसाधारणको चहलपहल शून्य जस्तै देखिन्छ । सुरुका दिनमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म पसलहरु चल्ने गरेका थिए । तर सरकारले नै सबै व्यापार सञ्चालन गर्ने निर्णय गरेपछि पुरै समय पसलहरु खुलेका हुन । राजधानीको प्रमुख व्यापारिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबौद्ध , असन, दबारमार्ग लगायतका क्षेत्र हुन । अरुबेला उपत्यका र उपत्यका बाहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान जस्तै छन् । नेपालभर नै सबै किसिमका व्यवसाय खुले पनि व्यापार भने छैन । व्यापार व्यावसयमा मन्दी आएपछि अर्थतन्त्रमा समेत असर परेको छ । व्यापारिक केन्द्रका व्यापारीहरु पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको बताउछन् । पसल खोले पनि बोहोनी नै नभइ बन्द गर्ने गरेको उनीहरुको भनाइ छ । खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पसल खोले पनि व्यापार नभएको बताए । बिहान आएर पसल खोले पनि व्यापार नै छैन भन्दै उनले सामान्य समयमा विदेशबाट आउने र विदेश जाने मान्छेहरु सामान किन्न आउने गरेका भएपनि अहिले सार्वजनिक सवारी साधन सञ्चालन नभएकोले व्यापार हुन नसकेको बताए । ‘मान्छेहरुसगँ पैंसा पनि छैन, सामान आवश्यक परेकाहरु पनि पसलसम्म किन्न आउन सक्ने अवस्था छैन, सार्वाजनिक सवारीसाधनहरु सञ्चालनमा नआउँदासम्म व्यापार खासै हुने देखिएन,’ न्यौपानेले भने । भाँडा वर्तनका पसल, फेन्सी पसल, इलेक्ट्रोनिक्स पसल, कपडा पसल तथा खाद्यान्नका मध्ये खाद्यान्न पसलमा ग्राहकहरुको तुलनात्मक रुपमा भिड बढी नै देखिन्छ । वर्षदेखि पुख्यौंली भाँडा पसल सञ्चालन गर्दै आएका सरोज ताम्राकारले लकडाउनमा नै पसल खुल्दा पनि व्यापार नभएको बताउँछन् । विगत वर्षहरुमा यही समयामा दैनिक ७०/८० हजारको व्यापार गर्दै आएका उनी अहिले दिनमा १०/१५ सयको व्यापार गरेर घर फर्किन्छन् । इलेक्ट्रोनिक्स सामानाका पसलमा फाट्टफुट्ट मात्रै ग्राहकहरु आउने गरेको व्यापारीहरु बताउछन् । विद्युतीय सामानहरु केही मात्रामा बिक्री भएपनि यो धेरै नै कम रहेको व्यवसायी रामहरि कार्कीले बताए । देशैभरकार व्यापारीहरु पसल खुलेपनि व्यापार नभएको गुनासो पोखिरहेका छन् । पर्यटकमा निर्भर रहने हस्तकला, चित्रकला, पस्मिना, नेपाली ढाकाटोपी, खुकुरी जस्ता बस्तुहरुको व्यापार पनि शून्य छ । निजी सवारी साधनको ओहोरदोहोर बाक्लिए पनि ग्राहकको पर्खाइमा व्यापारीहरु बसेका छन् । न्युरोड, असन क्षेत्रमा मासिक १५ हजारदेखि २० लाखसम्म भाडा तिर्ने व्यवसायी रहेको राष्ट्रिय व्यवसायी महासंघको अनुमान छ । सरकारले लकडाउन जारी राख्दा राख्दै सरकारले कर तिर्न बाध्य बनाएको भन्दै पसल खोलेका थिए । व्यापारीले पसल खोलेको केही दिनपछि सरकारले सपिङ मलबाहेकका सबै पसल खोल्ने निर्णय गरेको थियो । सरकार पनि लकडाउनको कारणले आयस्रोतको कमि आएकाले कमाइभन्दा खर्च धेरै भएकाले समस्या आएको बताइरहेको छ । लकडाउनका कारणले करिब ३ महिनादेखि बन्द रहेका व्यापार, व्यवसाय र उद्योगहरु विस्तरै खुल्ने क्रममा छन् ।