यी विदेशी उद्योगका २८ वस्तुले पाए नेपाल गुणस्तर चिह्न प्रदान
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित एलपिजी सिलिण्डर र एलपिजी भल्व, अल्ट्राटेक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्टलाई गुणस्तर चिह्न प्रदान गरेको हो । यस्तै, आल्स्टोम सिमेन्ट उद्योगबाट उत्पादित पिपिसी सिमेन्ट, बाल्ट्रा एशोसियट लिमिटेडबाट उत्पादित एलपिजी भल्व, बेकी स्टिल लिमिटेडबाट उत्पादित आइरन बार, दिल्ली एलपिजी भल्वबाट उत्पादित एलपिजी भल्व फिटिङ, ग्यास ड्रोइड इञ्जिनीयर लिमिटेडबाट उत्पादित एलपिजी सिलिण्डर, हरि उद्योग प्रालिबाट उत्पादित एलपिजी रेगुलेटरलाई समेत लाइसेन्स प्रदान गरेको छ । विभागले इण्डिया सिमेन्ट लिमिटेडबाट उत्पादित ओपिसी सिमेन्ट, जयपीरेवा प्लान्टबाट उत्पादित ओपिसी सिमेन्ट, प्रभा इलेक्ट्रोनिक उद्योगबाट उत्पादित एलपिजी भल्व, सलोजा स्टीलबाट उत्पादित आइरन बार, सर्वमङ्गलम पेट्रोलियमबाट उत्पादित एलपिजी सिलिण्डर, स्टार सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट, सुप्रिम उद्योग प्रालिबाट उत्पादित कम्पोजिट सिलिण्डर, सूर्यशक्ति उद्योगबाट उत्पादित एलपिजी सिलिण्डर, टाटा स्टीलबाट उत्पादित आइरन बार र टाइम टेक्नोप्लेटबाट उत्पादित कम्पोजिट सिलिण्डरलाई गुणस्तर चिह्न प्रदान गरेको हो । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ । विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले उद्योगमन्त्री नवीन्द्रराज जोशी भएपछि मात्र विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गर्न शुरु गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउँछन् । “प्रक्रिया पु¥याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई एनएस चिह्न प्रदान गर्दै आएका छौँ”, उनले भने । विभागले हालसम्म देश तथा विदेशका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । रासस
कैलाश विकास बैंकको शाखा बुटवलमा
काठमाडौँ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी मिति पुस २६ गते बिहिबारदेखि औपचारिक कारोकार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्णप्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले बोलेका थिए । नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, माघ ४ गते उपराष्ट्रपति पुनले उद्घाटन गर्ने
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले तयारी अन्तिम चरणमा रहेको बताए । राजधानीको भृकुटी मण्डपमा आगामी माघ ४ गतेदेखि एक्स्पो शुरु हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको पत्रकार सम्मेलनमा बताइयो । एक्स्पोमा सहभागी हुन अहिलेसम्म ८५ भन्दा बढी प्रदर्शकहरुले १०० भन्दा बढी स्टल बुकिङ गरिसकेका छन् । जलविद्युतको क्षेत्रमा महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पो १ लाख बढीले अवलोकन गर्ने आयोजक संस्थाले अनुमान गरेका छन् । यस एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया र बेलायतका जलबिद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसैगरी एक्स्पोमा सहभागी भएर जलविद्यत् आयोजनाको अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले पत्रकार सम्मेलनमा बताए ।