कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड, दूधमात्रै एक करोडको बिक्री

गलकोट । बागलुङ काँठेखोला गाउँपालिका-६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् । त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट आठ लाख ९५ हजार २००, अम्बा बेचेर ७५ हजार ३५०, कुखुरा पालनबाट पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार भित्रिएको वडा कार्यालयले जनाएको छ । ब्राह्मण र दलित समुदायको बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानीको स्रोत कृषि पेशा नै रहेको छ । स्थानीय तहले पनि यस वडालाई कृषि क्षेत्रबाटै विकास गर्ने लक्ष्य लिएको छ । समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको यस क्षेत्रमा दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ । “कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने योजना आगाडि बढाएका छौँ,” अध्यक्ष कँडेलले भने, “किसानलाई व्यावसायिक कृषिखेती गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमसहित अगाडि बढेका छौं ।” वडा कार्यालयले कृषि प्रोफाइल तयार गरेर उचाइ तथा मोहोडा, माटो, भू–बनोट तथा हावापानीको हिसाबले कुन ठाउँमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर किसानलाई मार्गदर्शन समेत गरेको छ । वडा कार्यालयले यस क्षेत्रका किसानलाई भूगोलका हिसाबले उपयुक्त मानिएको व्यावासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन सिफारिस गरेको छ । परम्परागत तरिकाले खेती गर्दा जीविकोपार्जन गर्न मुस्किल भएको भन्दै वडाध्यक्ष कँडेलले युवाको बढ्दो विदेश पलाएन रोकी बाँझो जमीनलाई उर्वरभूमिमा रुपान्तरण गरेर सिङ्गो वडालाई नै समृद्ध बनाउने योजना रहेको बताए । वडा कार्यालयले कृषकलाई वर्गीकरण समेत गरेको छ । वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेको अध्यक्ष कँडेलले जानकारी दिए । रासस

नानो कारको उत्पादन बन्द गर्ने घोषणा, ‘एउटा सपनाको अन्त्य’

मुम्बई । विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । “हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए । टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो । भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनमा थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो । विश्लेषकहरु पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौं भारतीयलाई यो कार बरदान सावित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले “विश्वकै सस्तो कार” को उपनाम पाएको थियो । तर, यो कारको बिक्रीमा मन्दी आयो । “यो मार्केटिङमा भएको असफलता हो,” अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले बताए । “यो कारलाई गरिबको कार भनियो र भारतीयहरु आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रबद्र्धन त्यस किसिमबाट भएन ।” यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए । शुरुका दिनहरुमा यो कार प्रति महिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो । सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानो समेतका सानो मोडेलका अरु कारहरुको पनि बिक्री बढ्न सकेन । “एउटा सपनाको अन्त्य,” दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ । रासस/एएफपी

सुजुकी हायातको प्रत्येक मोटरसाइकल खरिदमा टिभी उपहार, ५ वर्षको वारेन्टी

काठमाडौं । नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा. लि ले प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा टिभी उपहार दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको हो । सुजुकी हायात बाईक माइलेज धेरै दिने र कम लागतमा चढ्न सकिने बाइक हो । बाइकसँगै परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन् भनेर कम्पनीले सुजुकी हायात किन्दा आफ्ना ग्राहकका लागि एउटा टिभी उपहार दिने भएको छ । यस योजना माघ १ गतेदेखि माघ ३० गतेसम्म नेपाल अधिराज्यभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमबाट सजिलै पाउन सक्नेछन् । साथै, यस योजनाले ग्राहकको मन जित्ने साथै सुजुकी जापानिज कम्पनी भएकोले ५ वर्षको वारेन्टी दिएको कुरा सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।