राजधानी भित्र्याइने फलफूल र तरकारीको परिमाणमा वृद्धि, मूल्य पनि घट्ने
काठमाडौं । बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो । फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम आजदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो । आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो । सोमबार दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो । तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ । सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उनले बताए । पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो । थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको थियो । सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ । जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ । मंगलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ । राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ । मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ ।
१० वर्ष विदेश बसेका इञ्जिनियर सुदर्शन, बुवासँगै राजमार्गमा गाउँले स्वाद पस्किँदै
गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, ‘गाईले कति दूध दिन्छ बुबा ?’ ६० वर्षीय भण्डारीले भने, ‘एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।’ यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए । फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, ‘यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।’ भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । ‘पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।’ मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे । पुर्खौँली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् । राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’ खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । यामअनुसार गाउँमा उब्जेकोतरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए । ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’ खाजाघरमा मासुभातको चार सय ५० रुपैयाँ र मासु चिउराको दुई सय ५० रुपैयाँ मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए । भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्याउँदै आएको छ । ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’ इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दसवर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् । ‘घरपरिवारको राम्रो साथ र सहयोग छ’, भण्डारीले भने, ‘भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।’ ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । ‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने । रासस
भेटायोको दशैं अफर घोषणा, कम मूल्यमै सफा गर्नूहोस् घर
काठमाडौं । भेटायोले दशैंलक्षित अफर घोषणा गरेको छ । भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले घर मर्मत गर्नेदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाइजस्ता काम गर्दै आएकाे छ । काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झटरहित सेवाहरू उपलब्ध गराउँदै आएकाे भेटायाेले दशैं लक्षित विभिन्न अफर सार्वजनिक गरेकाे छ । भेटायोले दशैंकाे अवसरमा घरको भान्सा एक हजार ३ सय रुपैयाँ र बाथरुम तीन हजार ३ सय ८० रुपैयाँमा मर्मत गर्ने जनाएकाे छ । यसैगरी, ८५ रुपैयाँ प्रति किलाेमा सामान्य लुगा धाेइने र डबल सिरक ४ सय रुपैयाँमा धाेइने छ । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेकाे छ । तीन हजार रुपैयाँमा घर सफा गरिने पनि भेटायाेले जनाएकाे छ । १ हजार ५०० रुपैयाँमा (३ फिट सम्म) वा २ हजार ५०० रुपैयाँमा (३–५ फिट) मा चिम्नी सफा गरिनेछ । यसैगरी, टायल्स र मार्बल सफाइ १२ रुपैयाँ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको ६ हजार रुपैयाँमा) गरिनेछ । साथै एउटा निःशुल्क बाथरूम सफाइ गरिनेछ ।