दशैंमा खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा बिक्री गरिँदै
काठमाडौं । नेपालीहरूको महान पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैंको लागि तयारी तीव्र छ । सहरहरूबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैंमा खसी, बोकाहरू कमी हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैं यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्याउने बताउँछ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए । उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको जानकारी दिए । मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको व्यवस्थापक खतिवडाले बताए । विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको बताए । उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको जानकारी दिए । खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको जानकारी दिए । उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ बिक्री गरिरहेको बताए ।
सुनको मूल्य तोलामा १ लाख ६१ हजार ३ सय पुग्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य शुक्रबार तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।
महँगो दशैं, हरेक सामानमा बार्गेनिङ गर्नुपर्ने
काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए । असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए । उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरूमा मूल्य सूचीहरु समेत नभएको बताए । उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे । उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए । उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको जानकारी दिए । मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए । सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको जानकारी दिए । अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन् । उनले दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन् । त्यस्तै काठमाडौंको बसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेडाँइले पनि सामान्य समयको भन्दा दशैंमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् । उनले काठमाडौंका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताइन् । मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने अवस्था नभएको बताइन् । त्यस्तै, सुमित्रा सेडाँइले दशैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन् । भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन् । उनले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको जानकारी दिइन् । अधिकांश उपभोक्ताहरूले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरूले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।