१३ वर्ष दुबईमा काम गरेका गुल्मीका गोपाल घाँसखेतीबाट मनग्य आम्दानी लिँदै
तम्घास । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन् । उनले भने, ‘अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ । ‘ गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गरेका उनले हालसम्म १० लाख ५० हजार रुपैयाँभन्दा बढीको बिरुवा बिक्री गरेका छन् । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उनले अनलाइन मागका आधारमा पठाउने गरेका छन् । प्रतिबिरुवा दुईदेखि ५० रुपैयाँसम्मका बिरुवा उनीसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उनीसँग ४० लाख रुपैयाँ बराबरका घाँसका बिरुवा रहेको छ । उनले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गरेका छन् । मासिक ८२ हजारको जागिर छाडेर आएँ खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गरे । उनले भने ‘दुबईमा मेरो मासिक ८२ हजार रुपैयाँ आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।’ सात लाख रुपैयाँबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै ४० लाख रुपैयाँको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पालेका छन् । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गर्नुभएको छ । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताए । ‘घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ’, उनले भने, ‘गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।’ व्यवसायका लागि उनले श्रीमतीका साथ पाइरहेका छन् । ‘विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ’, खत्रीले भने, ‘अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।’ उनले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिए । घाँखखेती गर्नका लागि उनले कतैबाट पनि अनुदान लिएबा छैनन् । ‘अनुदानले मानिसलाई परनिर्भर गराउँछ’, उनी भन्छन्, ‘सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।’ जग्गाको भाडामात्र वार्षिक एक लाख रुपैयाँ बुझाउने उनले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताए । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताए । रासस
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
शिवम् सिमेन्टले गर्यो उत्कृष्ट ३१ डिलरलाई सम्मान
काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तरालपछि ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरमध्ये उत्कृष्ट ३१ डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो भने नेशनलअन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिइएको थियो । साथै, उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यबद्धतालाई आधार मानेर उक्त शीर्षक राखिएको जानकारी दिए । जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए । त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ट विक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए । शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।