तनहुँको घिरिङमा डेढ करोड लगानीमा व्यावसायिक अगुंरखेती गरिँदै

दमौली । जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अगुंरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अगुंरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अगुंर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।’ अगुंरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यहाँ उत्पादित अगुंर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अगुंरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अगुंरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो । कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’  फार्ममा ३२ प्रजातिका अगुंरखेती गरिए पनि आठदेखि १० प्रजातिका अगुंरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए । रासस

ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त:शुल्क फिर्ता लिन क्यान महासंघको माग

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्त:शुल्कबारे पुन:विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । ‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ,’ उनले भने, ‘सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्त:शुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं ।’ आगामी आवका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्त:शुल्क बढाउनुले गलत सन्देश दिएको पोदारको भनाइ छ । ‘ल्यापटपको मूल्य एक लाख रुपैयाँ छ भने १३ हजार त भ्याट लाग्छ, अब पाँच प्रतिशत अन्त: शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ,’ अध्यक्ष पोदारलाई उदृत गर्दै क्यान महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ ।’ साथै यसले ल्यापटपको ग्रे मार्केटलाइ बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ । सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्ने र यसले गर्दा ग्रे मार्केट अझ फस्टाउने पोदारको दाबी छ । सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुरुत्साहित गरेकाले यसमा पुन:विचार गर्न जरुरी रहेको उनले बताएका छन् । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले पनि सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आईटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने धारणा राखे । प्रविधिमैत्री समाज निर्माण गर्न ल्यापटपजस्ता अत्यावश्यक डिभाइस आयातमा प्रोत्साहनमूलक नीति हुन जरुरी रहेकोमा उनले जाेड दिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।