चाडवाड नजिकिएपछि बजार अनुगमन तीव्र

काठमाडौं । सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताए । उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट ९२ लाख २५ हजार जरिवाना तिराइएको छ । त्यस्तै ३४ फार्मबाट एक करोड दुई लाख मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले बताए । चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए । आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ । विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना लगाइएको छ । कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ । अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ ।

बाख्रापालनबाट वार्षिक ७ लाख आम्दानी गर्दै आले

असोज । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छन् । उनले भनिन्, ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरेकी छन् । उनले भनिन्, ‘बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।’ उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताईन् । उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छन् । बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ । उनले उन्नत जातको बोयर बोकासमेत पालेकी छन् । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले बताईन् । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ । किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिईन् । उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ । रासस

साउनयता तीन सय ४७ फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने बजार अनुगमनका क्रममा करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ गतेसम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फार्मलाई ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फार्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ । तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका हुन् । अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ । दसैँ, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको सङ्ख्या बढाउन लागिएको विभागले जनाएको छ । चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उनका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ । त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ । रासस