सिटिजन्स बैंकको नाफा १.२९ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढ्यो

काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो ।  गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानीमा केही वृद्धि, कर्मचारी खर्चमा केही कमी र अन्य सञ्चालन खर्च र परिशोधन तथा ह्रास खर्चमा केही वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका कारणले खुद नाफामा गत वर्षको सोही त्रैमासको तुलनामा कमी आएको बैंकले जनाएको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ०.५४ रुपैयाँ घटेर ८.७६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९.३० रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ ।  अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ५.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९४ प्रतिशत, आधार दर ६.२५ प्रतिशत र कस्ट अफ फण्ड ४.४९ प्रतिशत रहेको छ ।  व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको उद्देश्य तथा स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखा, शाखा रहित बैंकिङ्ग, विस्तारित काउन्टर र डिजिटल सेवा सुविधाका विभिन्न माध्यमबाट ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच वृद्धि गर्दै लैजाने, ग्राहक मुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकको भनाइ छ ।

कामना सेवा बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।  यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले लाभ लिने बैंकले विश्वास लिएको छ ।

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स- २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ ।  बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो ।   नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको  प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।  साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो ।  यसैगरी, बैंकले मुलुकका  महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा  वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड  प्राप्त गरेको हो ।   नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन् । हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं ।’ उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।  नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।