सिटिजन्स बैंकको एपबाट २ लाखसम्म ऋण लिन सकिने सुविधा सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा सुरु गरेको छ । अब ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै तत्काल ऋण लिन सक्ने सुविधा पाउनेछन् । बैंकले उक्त सेवा ल्याउने उद्देश्य सेवा प्रक्रियालाई सरल, सहज र डिजिटल माध्यममै उपलब्ध गराउनु रहेको जनाएको छ । ग्राहकले मोबाइल एपमार्फत मुद्दती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म (५ हजारदेखि २ लाख रुपैयाँभित्र) ऋण प्राप्त गर्न सक्नेछन् । ऋणको स्वीकृति पश्चात् रकम आवेदकको बचत खातामा तुरुन्तै जम्मा हुनेछ । यस सेवाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने भएकाले डिजिटल बैंकिङको दिशा तर्फको यो प्रयासले ग्राहकलाई सहजता र समयको बचत गराउने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजान निरन्तर रुपमा नयाँ-नयाँ प्रविधिमैत्री सेवा ल्याइरहेको जनाएको छ ।

गभर्नर पौडेल सानिमा बैंककाे मालिक, ४ करोड बढीको सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्थाअनुरुप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।  उनको सानिमा बैंकमा पनि लगानी देखिएको छ । सानिमा बैंकमा उनको २ करोड ४४ लाख १७ हजार ६ सय रुपेयाँ बराबरको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर रहेको छ ।   अहिले सानिमा बैंकको संस्थापक सेयरको मूल्य १६७ रुपैयाँ छ । आजको मूल्यमा गणना गर्दा उनको कुल सेयरको मूल्य ४ करोड ७ लाख ७७ हजार ३९२ रुपैयाँ हुन आउँछ ।  उनले सानिमा ग्रुप अन्र्गतकै बैंक तथा कम्पनीमा लगानी गरेको देखिन्छ । उनले र उनको श्रीमती प्रतभिा शर्माले पनि सानिमा बैंकमै खाता खोलेर कारोबार गरेको देखिन्छ ।  गभर्नर पौडेलको सानिमा बैंकमा १३ लाख २३ हजार रुपैयाँ बचत रहेको छ भने उनको श्रीमतिको पनि सानिमा बैंकमा डलर खाता रहेको छ । जहाँ साढे ५ हजार डलर जम्मा छ । त्यसको नेपाल रुपैयाँ ६ लाख बढी हुन्छ ।  गभर्नर पौडेलले सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रबद्र्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको उल्लेख गरेका छन् । 

फ्रिल्यान्सरलाई सिटिजन्स बैंकमा तलबी खाता, डलर कमाउने ६६ हजारलाई सुविधा

काठमाडौं । ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ विकासका लागि सिटिजन्स बैंकका कर्मचारीहरू विभिन्न सूचना प्रविधि (आईटी) कम्पनीहरूमा धाइरहेका थिए । बैंकका कर्मचारीहरू एफवान सफ्टदेखि विदेशी आईटी कम्पनीमा समेत पुगे । आईटी कम्पनीमा कार्यरत कर्मचारीहरूले आफूहरू जस्तै फ्रिलान्सर रूपमा काम गर्नेहरूका लागि बैंक खाता नरहेको गुनासो सिटिजन्स बैंकका कर्मचारीलाई गरे । धेरै वटा आईटी कम्पनीका फ्रिलान्सर कर्मचारीको गुनासोपछि बैंकका कर्मचारीहरूले पनि चासो दिन थाले । नेपालमा कति फ्रिलान्सर छन् भनेर २०२२ मा एउटा सर्वेक्षण भएको रहेछ । उक्त अध्ययन अनुसार नेपालमा ६६ हजार बढीले फ्रिलान्सर रूपमा काम गरिरहेको तथ्याङ्क प्राप्त गरेपछि बैंकका कर्मचारीहरूमा थप उत्सुकता जाग्यो ।  ‘विभिन्न प्रतिवेदनको तथ्याङ्क अध्ययन गर्दा नेपालमा ठूलो जमात फ्रिलान्सर रहेछन् । उनीहरूले तलब बचत खाता खोल्न नपाउने, सामान्य खाता मात्रै खोल्न पाउने रहेछन् । उहाँहरूलाई पनि रेगुलर कर्मचारीले पाउने सरहको सुविधा दिने र आकर्षित गर्ने गरी ‘फ्रिलान्सर सेभिङ एकाउन्ट’ खाता सञ्चालनमा ल्यायौं,’ डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाले खाता सिर्जनाको आन्तरिक पाटोलाई  स्मरण गर्दै भने ।  पछिल्लो समय रेमिट्यान्स समेतलाई चुनौती दिने गरी आईटी क्षेत्र बढिरहेकाे छ । ६६ हजार बढीले बाहिरबाट परियोजना ल्याएर फ्रिलान्सर रूपमा काम गरिरहेका छन् । उनीहरूले राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्ता परियोजनाबाट फ्रिलान्सरका रूपमा २ हजारदेखि १५ हजार डलरसम्म कमाउने पनि रहेको थापाको भनाइ छ । त्यसैगरी टिकटक, यूट्यूब लगायत सामाजिक सञ्जाल, पठाओ, इनड्राइभ, टूटल, ट्याक्सीमाण्डु, ई-ड्राइभलगायत राइड कम्पनीमा फ्रिलान्सरले राम्रो आम्दानी गरिरहेकाले त्यो जमातलाई समेट्ने गरी फ्रिलान्सर सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको उनले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूसँग दर्जनौं बचत तथा मुद्दती खाता छन् । जसमध्ये तलब बचत खाता पनि बैंकहरूले सञ्चालन गरिरहेका छन् । तर, टिकटक, यूट्यूब लगायत सामाजिक सञ्जाल, पठाओ, इनड्राइभ, टूटल, ट्याक्सीमाण्डु, ईड्राइभ र विभिन्न आईटी कम्पनीमा फ्रिल्यान्सर भएर काम गरी आम्दानी गर्नेहरूका लागि नेपाली बैंकमा बैंक खाता नै छैनन्,’ उनले भने, ‘कुनै संस्थासँग आबद्ध छैन तर निरन्तर आम्दानी भइरहेको छ ।स्थायी रूपमा नभई कन्ट्र्याक्टमा काम गरिरहेका छन् । उहाँहरूलाई लक्षित गरी नेपाली रुपैयाँ र डलर दुइटा मुद्रामा खाता खोल्न मिल्ने गरी यो खाता सञ्चालनमा ल्याएको हो । यदि नेपाली रुपैयाँमा आम्दानी गर्छ भने नेपाली र डलरमा आम्दानी गर्छ भने डलरमै खाता खोल्न पाइन्छ ।’ उनका अनुसार फ्रिलान्सर सेभिङ एकाउन्टमा अन्य खाताभन्दा बढी ब्याजदर तोकिएको छ । पछिल्लो समय बचतको ब्याजदर ३ प्रतिशतको हाराहारीमा झरेका बेला सिटिजन्स बैंकले फ्रिलान्सर सेभिङ एकाउन्टमा ४.५६ प्रतिशत ब्याजदर निर्धारण गरिएको उनको भनाइ छ । साथै डलरमा ३.७५ प्रतिशत ब्याज तोकेको छ ।  खाता खोल्दा नेपालीमा रुपैयाँमा आम्दानी आउने हो भने न्यूनतम् रकम ५ सय रुपैयाँ र डलरमा आम्दानी आउने हो भने १० डलर राख्नुपर्ने प्रावधान छ। साथै, उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ नि:शुल्क छ । साथै, २५ हजार रुपैयाँसम्मको मेडिकल इन्स्योरेन्स र ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा रहेको उनले थापाले बताए ।  डलर आम्दानी गर्नेहरूका लागि डलर एक्सचेन्ज रेटमा १० पैसा बढी ग्राहकले पाउनेछन् । यात्रा गरिराख्नु पर्ने भएकाले ट्राभल कार्डमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनले बताए । बैंकको तलब बचत खातामा आएको आम्दानीबाट कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषमा तोकेको निश्चित रकम जम्मा गर्नु पर्ने हुन्छ ।  फ्रिल्यान्सरहरूले पनि फोर्स सेभिङ गर्न चाहनु हुन्छ भने रिकरिङ डिपोजिटको सुविधा रहेको छ । जस्तो ग्राहकको आवश्यकताका आधारमा आफूले चाहेको रकम रिकरिङ डिपोजिटमा राख्न सकिन्छ । त्यसमा मुद्दती निक्षेप सरह ब्याज पाइन्छ,’ उनले भने, ‘ग्राहकले तोकेको समयसम्मका लागि उक्त रकम फिक्स्ड रहन्छ । त्यसैले २ वर्षसम्म कन्ट्र्याक्ट छ भने २ वर्षसम्म फोर्स सेभिङ गर्न सकिन्छ ।’  पछिल्लो समय ब्याजदर न्यून विन्दुमा छ । अन्य बचत खातामा भन्दा फ्रिलान्सर बचत खातामा ब्याजदर उच्च तोकिएको छ । बीमाको फाइदा पनि लिन सकिन्छ । डलर एक्सचेन्जमा १० पैसा बढी सुविधा दिने भएकाले अन्य बचत खाताभन्दा फरक रहेको उनले बताए । अरु बचत खातामा लाखौं आम्दानी गर्ने ग्राहकलाई समेत बैंकले क्रेडिट कार्ड दिँदैन । तर, यो बचत खातामा भने क्रेडिट कार्ड पाइनेछ ।  ‘राम्रो प्रतिक्रिया आइरहेका छन् । धेरै इन्क्वाइरी आइरहेका छन् । खाता खोल्न विभिन्न आईटी कम्पनीका कर्मचारी पाइपलाइनमा हुनुहुन्छ । राइडरहरू पनि खाता खोल्ने तयारीमा हुनुहुन्छ । याङ्गो राइडरबाट पनि खातामा आउने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘राइड सेयरिङ गर्ने, विदेशी कम्पनीसँग टाइअप गरेर काम गरिरहेका जमातले खाता खोल्न सक्नुहुन्छ ।’  खाता खोल्नका लागि राष्ट्रिय परिचय पत्र र फ्रिलान्सर हो भनेर घोषणापत्र ल्याउनुपर्ने हुन्छ । डलर आम्दानीका लागि राष्ट्र बैंकले स्रोत खोज्ने भएकाले सम्बन्धित कम्पनीसँगको सम्झौता ल्याउनुपर्ने हुन्छ ।  ‘यो प्रोडक्ट बैंकिङ क्षेत्रकै नयाँ हो । अरु बैंकले तलब बचत खाता भनेर ल्याएका छन् । फ्रिलान्सरकै लागि भनेर ल्याएका छैनन् । तलब खाता र फ्रिल्यान्सर एउटै प्रकृतिका खाता हुन् तर, स्यालरी एकाउन्टमा एउटा संस्थासँग सम्झौता गरेर सबै स्यालरी व्यवस्थापन गरिदिने हो । तर, यस खातामा व्यक्तिगत रुपमा पनि खाता खोल्न सकिन्छ । कुनै व्यक्तिलाई म तलब बचत खाता खोल्छु भन्न सक्दैन । तर, फ्रिलान्सर भएर कोही व्यक्ति आउँछ भने यो खाता खोल्न सकिन्छ ।