कुमारी बैंकको सेयर ३०८ रुपैयाँ हाल्नेले पाए, ३०७ कबोल गर्नेलाई बराबर

काठमाडौं । कुमारी बैंकले बोलकबोलमा बिक्री आह्वान गरेको सेयरमा प्रतिकित्ता ३०८ रुपैयाँसम्म कबोल गर्नेले पाउने भएका छन् । प्रतिकित्ता ३०७ रुपैयाँ कबोल गर्नेहरुले माग अनुसार बराबर पाउने गरी कटअफ भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले जानकारी दिए । बैंकले दुई महिनाअघि हकप्रद सेयर निष्काशन गरेकोमा माग नभएको २ लाख ८० हजार कित्ता सेयर बोलकबोलका माध्यमबाट बिक्री आह्वान गरेको थियो । अधिकांश आवेदकले प्रतिकित्ता ३०९/३१० मूल्यमा किन्न आवेदन गरेका छन् । बोलकबोल आवेदन बुझाउने अन्तिम दिन बजारमा प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको थियो । टेण्डर खुलेको दिन प्रतिकित्ता ८ रुपैयाँले वृद्धि भई ३३० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयरको लागि केही आवेदकले प्रतिकित्ता ४०० रुपैयाँ हालेका छन् भने घटीमा २६५ रुपैयाँको कबोल भएको उनले जानकारी दिए । प्रमोटरतर्फ लिलाममा राखिएको ८६ हजार कित्ता सेयर पनि सबै बिक्री भएको छ । प्रमोटरतर्फ प्रतिकित्ता १०७ रुपैयाँ कबोल गर्नेले पाएका छन् । प्रमोटरतर्फको अधिकांश सेयरका लागि प्रतिकित्ता १४०/१४१  रुपैयाँ बिक्री भएको उनले बताए । पछिल्लो समय बोलकबोलका माध्यमबाट बिक्री आह्वान भएको सेयरको माग उच्च रहेको र बजार मूल्यको हाराहारी मूल्यमा माग आवेदन पर्न थालेको उनले बताए ।

स्वीडेनको १०० र ५०० दरका नोट हटाउन निर्देशन

काठमाडौं । स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएको छ । बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५०० दरका नोटहरु हटाउन निर्देशन दिएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जेठ २८ गतेसम्म त्यस्ता नोटहरु साट्न आग्रह गरेको छ । आफूसँग भएका त्यस्ता नोटहरु यस बैंकको बैकिङ् कार्यालय थापाथली, काठमाडौंबाट साट्न सकिने बैंकले जानकारी गराएको छ । तोकिएको समयभन्दा ढिला भएमा त्यस्ता नोटहरु यस बैंकले नसाट्ने राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । जेठ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो । भण्डारी यसअघि सिद्धार्थ बैंकमा सिइओ थिए । भण्डारीले नियुक्त भएको दिनदेखि नै बैंकको कार्यभार सम्हाललेका छन् । सिद्धार्थ बैंकमा सिईओ हुनुपूर्व भण्डारी कुमारी बैंकमा नै प्रमुख कार्यकारी अधिकृत थिए । कुमारी बैंकमा करिव २ वर्षदेखि सिईओ पद खाली थियो ।  यस अवधिमा सो बैंकमा राजीव गिरी कामु सिईओ थिए ।