देवः विकास बैंकको शाखा चितवनको माडीमा
चितवन। देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक बृद्धि उच्च हुने प्रष्ट पारेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरवासीहरुको आर्थिक आवश्यकता पूरा गर्न र माडी उपत्यकामा आर्थिक गतिविधि बढाउन आगामी दिनमा बैंक अझै क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । मन्तव्यको क्रममा उनले नगरको विकासका लागि बैंकसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । त्यस्तै , माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले शुभकामना मन्तव्य दिंदै माडी क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धिका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने आशा व्यक्त गरेका हुन्। बैंकका संचालक समितिका संचालक बज्र गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले माडी उपत्यकाको आर्थिक कारोवार अभिबृद्धि गर्न बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा बैंकले हालसम्म रु। १० अर्ब निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको र २०७३ चैत्र मसान्तसम्ममा रु. ३१ करोड ४० लाख संचालन मुनाफा हासिल गर्न बैंक सफल भएको बताइएको थियो । बैंकका संचालक विजयराज शर्मा भुषाल, महिला समाजसेवी श्रीमती सविता बराल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
चार वित्तीय संस्था प्राप्तिसँगै कुमारी बैंक अब आफैं स्थापित, एकिकृत कारोबार अाज
काठमाडौं । एनसीसी बैंकसँग मर्ज तोडेको कुमारी बैंकले आफ्नो अस्तित्व र नेतृत्वलाई स्थापित गरेको छ । कुमारी बैंकले काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्तिगरी शुक्रबारदेखि एकिकृत कारोबार गरेको छ । तीन विकास बैंक र एक फाइनान्स कम्पनी प्राप्तिपछि कुमारी बैंकमा १ अर्ब ६० करोड रुपैयाँ सेयर पुँजी थपिएको छ । चार वटै संस्थाको सेयर स्वाप रेसियो १०० बराबर ८५ कायम गरिएको छ । कुमारीमा गाभिएका चार वटै संस्थाका सेयरधनीले आफूसँग भएको १०० कित्ता बराबर कुमारी बैंकको ८५ कित्ता सेयर पाउने भएका छन् । हाल कुमारी बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ । ‘चार वित्तीय संस्था प्राप्तिपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब नाघेको छ’ कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरीले भने–‘२० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रियामा रहेको छ । त्यसबाट १ अर्ब ६० करोड पुँजी थपिन्छ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ ।’ २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट भईसकेको र कुमारी बैंकका गभिएका संस्थाका सेयरधनीले पनि २० प्रतिशत हकप्रद सेयर पाउने उनले बताए । मर्जपछि बैंकको निक्षेप करिव ५२ अर्ब, कर्जा करिव ४६ अर्ब रुपैयाँ भएको छ । शाखा ७४ वटा भएका छन् । कर्मचारी संख्या करारसहित करिव ८०० जना भएका छन् । मर्ज नभइ एक्विजिशन भएकोले कुमारी बैंक लिमिटेडको नाम, केन्द्रीय कार्यालय, सञ्चालक समिति सबै यथावत रहने छ । काष्ठमाण्डप डेभपलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी कुमारी बैंकको डेपुटी सिईओ बन्ने भएका छन् । बैंकले एक महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । बारम्बार विभिन्न वाणिज्य बैंकसँग मर्जको चर्चामा आउने गरेको कुमारी बैंक अरु बैंकसँग विलय हुन सक्ने अनुमान गरिदै आएको थियो । चार वित्तीय संस्था प्राप्तिमा सफलतापछि अब कुमारी बैंक अरुमा मर्ज हुने सम्भावना पुरै टरेको छ ।
महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्ज प्रक्रिया सम्पन्न, असार १८ गते एकिकृत कारोबार हुने
काठमाडौं । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्जर (एक आपसमा गाभ्ने गाभिने) प्रक्रिया सम्पन्न भएको छ । मर्जपछि दुर्इ बैंककाे एकिकृत कारोबार असार १८ गते हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टरार्इले जनाएका छन् । यस मर्जको लागि नेपाल राष्ट्र बैंकबाट असार १ गते अन्तिम स्वीकृति दिईसकेको छ । मर्जपछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहनेछ । मर्जको लागि डाटा एकिकृत गर्न शुक्रबार यस बैंकको सबै कारोबार बन्द हुने भएको छ । मर्जपछि महालक्ष्मी विकास बैंक सबैभन्दा ठूलो विकास बैंक बन्न पुगेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । बैंकको चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा संख्या, कर्मचारी संख्या, ग्राहक संख्याको हिसावले अहिले नैं सबैभन्दा ठूलो बैंक भएको र असार मसान्तसम्म नाफाको आधारमा पनि विकास बैंक मध्ये सबैभन्दा अगाडि हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार मर्जपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ भएको छ । ‘राष्ट्र बैंकले तोकेको समय अगाडि नै २५० करोड भन्दा बढी चुक्ता पुँजी पुर्याउने महालक्ष्मी विकास बैंक पहिलो हो’ भट्टराईले भने–‘विकास बैंकबीचमा प्रतिस्पर्धामा हामी अब अरु भन्दा अगाडि जाने आधारहरु तयार भएका छन् ।’ मर्जसँगै महालक्ष्मी विकास बैंकको निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड रुपैयाँ भएको छ । बैंकको शाखा ६५ वटा र कर्मचारी ६१९ जना, ग्राहक २ लाख ६४ हजार भएका छन् । असार मसान्तसम्ममा सञ्चालन नाफा १०० करोड भन्दा बढी हुने र खुद नाफा ६५ देखि ७० करोड रुपैयाँ हुने अनुमान गरिएको उनले बताए । ‘सञ्चालन नाफाको आधारमा यो वर्ष नै हामी विलिनियर क्लवमा पुग्नेछौं । आगामी आर्थिक वर्षमा खुद नाफा १०० करोड भन्दा बढी आर्जन गर्ने लक्ष्य लिएका छौं’ भट्टराईले भने ।