एसबीआईले ४० प्रतिशत हकप्रद जारी गर्ने, बोनस र एफपिओ पछिको पुँजीमा हकप्रद

काठमाडौं, १४ मंसिर । नेपाल एसबीआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्री पछि कायम पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी करिब ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै बैंकले ९८४ रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव पनि धितोपत्र बोर्डमा लगेको छ । सो एफपिओपछि बैंकको चुक्ता पुँजीमा ६७ लाख रुपैयाँ बढेर चार अर्व ९७ करोड ७८ लाख रुपैयाँमा हुनेछ । बैंकले एफपिओ र बोनस सेयरपछिको चुक्ता पुजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा  बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

प्राइम कर्मशियल बैंकको ८९ करोड बोनस सेयर स्वीकृत, ४ लाख ८४ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १३ मंसिर । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको ८९ करोड २२ लाख १० हजार ३२१ रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार १७९ नगद लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । साथै प्राइम बैंकले गत भदौ र असोजमा निष्काशन गरेको हकप्रद सेयर बाडाफाँड गरेको छ । हकप्रद सेयरका लागि आवेदन नपरेको ४ लाख ८४ हजार ६९४ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले गत भदौं १२ देखि असोज १६ गतेसम्म ३ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

कृषि विकास बैंकबाट ४० लाखकाे सुनचाँदी चाेरी

वीरगन्ज, १३ मंसिर । वीरगन्ज महानगरपालिका–१० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु। ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु। ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु। २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ । अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए सो दराजको तीनवटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाई प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेको थियो । चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ । रासस