कृषि क्षेत्रमा वित्तीय संस्थाको लगानी ८४, कृषिको व्यवासायीकरण गर्न लगानी सकारात्मक

काठमाडौं १०, मंसिर । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ८४ अर्ब रुपैयाँ नाघेको छ । उत्पादनमूलक क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीति तथा कृषिमा व्यवसायीकरणका कारण यो क्षेत्रमा लगानी थपिएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंक तथा वित्तिय संस्थाले गत वर्षको यही अवधिको तुलनामा २० अर्बभन्दा बढी लगानी कृषि क्षेत्रमा गरेका छन् । गत वर्ष असोजसम्ममा कृषि क्षेत्रमा बैंकहरूको ऋण लगानी ६४ अर्ब २९ करोड थियो । सरकारले कृषि कर्जामा बढीमा ६ प्रतिशत ब्याज अनुदान दिन थालेको र राष्ट्र बैंकले कृषिमा लगानीको नीतिलाई कडाइ गरेपछि लगानी बढ्दो क्रममा छ । लगानी बढेसँगै व्यावसायिक कृषि उत्पादनमा समेत टेवा पुगेको देखिन्छ । तथ्यांकअनुसार सबैभन्दा बढी ३० अर्ब २५ करोड लगानी पशुपालनमा देखिन्छ । यो गत वर्षको यही अवधिको तुलनामा करिब ७ अर्ब बढी हो । पशुपालनपछि व्यावसायिक कृषि उत्पादनको क्षेत्रमा १० अर्ब ४२ करोड ऋण लगानी गरिएको छ भने चियामा गरिएको लगानी ३ अर्ब ५० करोड छ । मस्त्यपालनको क्षेत्रमा हालसम्म १ अर्ब ९२ करोड लगानी भएको छ । तरकारी उत्पादन, कुखुरापालन, माछापालन, पुष्प खेती, गाईपालन, बाख्रापालन आदि क्षेत्रमा व्यावसायिक उत्पादकको संख्या पनि बढ्दै गरेको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाले कुल लगानीको २० प्रतिशत उत्पादनशील क्षेत्रमा गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ । यसमध्ये १५ प्रतिशत जलविद्युत् र कृषिमा अनिवार्य लगानी गर्नुपर्ने हुन्छ । यसअघि १२ प्रतिशत रहेकोमा चालू आवको मौद्रिक नीतिमार्फत यसको सीमा बढाएपछि लगानी पनि बढेको राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले कृषि क्षेत्रमा कर्जा बढाउन राष्ट्र बैंकले प्राथमिकता दिँदै कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी नीति अवलम्बन गरेका कारण कर्जा वृद्धि भइरहेको बताए । कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपालनको क्षेत्रमा व्यावसायीकरणका लागि कृषि औजार, मलखाद तथा बीउबिजन खरिदमा विभिन्न अनुदानको व्यवस्था गरेका छन् । यो वर्षदेखि उत्पादनमा आधारित अनुदान कार्यक्रमसमेत सञ्चालन गरेको छ । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्दै उत्पादन वृद्धि लक्षित पकेट, जोन र सुपरजोन क्षेत्रसमेतको घोषणा गरी सरकारले कृषिमा बजेटसमेत वृद्धि गरेको छ । यद्यपि, कृषिमा लगानीका लागि बैंकबाट कर्जा लिन झन्झटिलो भएको, दुर्गममा बैंकको पहुँच नभएकाले कर्जा लिन समस्या रहेको र कतिपय बैंकहरूले कृषि कर्जा दिन नमान्ने गरेको गुनासो कृषकहरूको छ । कारोबार दैनिकबाट ।

उपत्यकामा अनुदान वितरण गर्ने बैंकहरुको नाम र शाखा टुंगो लाग्यो, कुन ठाउँमा बैंक ? सूचि हेर्नुहोस्

काठमाडौं, ९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ । जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको हो । थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइनेछ । उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही दिनअघि नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसियसनसँग छलफल गरेको थियो । यसअघि उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणका लागि प्राधिकरण र तीनवटा बैंकर्स एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले सोही अनुसार अघि बढ्न बैंकर्स एशोसियसनहरुलाई आग्रह गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताए । बैंकहरुको नाम र शाखा  निम्नअनुसार रहेका छन् ।  

कन्काई विकास बैंकको नयाँ शाखा झापाको राजगढमा सञ्चालन

काठमाडौं, ९ मंसिर । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ । झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरेका छन् । उनले राजगढ र आसपासका ग्रामिण क्षेत्रमा कृषिजन्य उपजको व्यवशाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु ढुक्क रहेको बताए । उद्घाटन समारोहमा बोल्दै बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा श्रम तथा यातायात सहायक मन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए । बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथा इलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ । नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजत पाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’ वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्ता पूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गत वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ४७ करोड रुपैंया पुग्नेछ । तीन जिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यशाय, व्यक्तिगत, सामाजिक, अटो, बिना धितो सामुहिक कर्जा लगायतमा आक्रामक उपस्थिती जनउँदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, एक्सप्रेस मनी लगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ बैंकले जनाएको छ ।