दश अर्बको ऋणपत्र जारी, बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने

काठमाडौँ, १२ असार । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ ।तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट बिक्री वितरण गरिने जनाइएको छ । आइतबार अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्न सक्ने जनाएको छ । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ऋणपत्रको ब्याजदर भने हरेक छ महिनामा भुक्तानी दिइने छ । उक्त पत्र खरिद गर्न चाहनेले रु एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी रु १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रुपमा ऋणपत्र राख्न सकिने छ । पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल रु एक खर्ब बढीको तरलता छ । तरलता व्यवस्थापन गर्न अनेकौँ उपाय अवलम्बन गर्दै आएको बैंकले व्याजदर घटाएर भए पनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ । रासस

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा इलाममा

काठमाडौं, ९ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको हो । उक्त सेवा बैंकको इलाम शाखाका प्रमुख राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका छन् । सो अवसरमा रेग्मीले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने रेग्मीले बताएका छन् । बैंकका अनुसार बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने बैंकले बताएको छ ।

एनसीसी बैंकको विशेष साधारणसभा असार २९ गते, प्रमुख अजेण्डा मर्जर सम्बन्धि

काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि भएको निर्णयहरुको अनुमोदन गराउने र बाँकी कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने गरी चार वटा प्रस्ताव विशेष साधारणसभामा प्रस्तुत गरिनेछ । दुईवटा वाणिज्य बैंकहरु एनसीसी र कुमारी तथा चार वटा विकास बैंकहरु इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक सहित ६ वटा बैंकबीच मर्ज प्रक्रिया चलिरहेको छ । यी बैंकहरुबीच मर्जर सम्वन्धि स्वाप रेसियोमा समेत सहमति भईसकेको छ ।