राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे विदामा, एक महिनापछि अनिवार्य अवकाश पाउँदै

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशिक तथा नियमन विभाग प्रमुख शिवनाथ पाण्डे आजदेखि विदामा बसेका छन् । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा अबको एक महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेको आधारमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था छ । पछिल्लो समयमा पुरानो व्यवस्था परिवर्तन गरेर ५८ वर्ष उमेर उमेर पुगेपछि मात्र अनिवार्य अवकाश हुने व्यवस्था गर्नु पर्ने आवाज राष्ट्र बैंक भित्र उठिरहेको छ । तर यस विषयमा राष्ट्र बैंकभित्रै चर्को विवाद रहेकाेले सञ्चालक समितिले यस विषयमा निर्णय लिन सकेको छैन । पाण्डे राष्ट्र बैंकभित्र कार्यसम्पादन क्षमता राम्रो भएको र स्वच्छ छवि भएको प्रशासकको रुपमा चिनिन्छन् । ५२ वर्षको उमेरमा उनले अवकाश पाएका छन् । ३० वर्षे कार्यकालका अाधारमा कार्यकारी निर्देशक त्रिलाेचन पंकेनीले पनि केही महिनापछि अबकाश पाउँदैछन् ।

नयाँ सिईओ आएपछि राष्ट्रिय वाणिज्य बैंक अधोगतिमा , नाफा १७ प्रतिशतले घट्यो

काठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको नाफा १७ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ५० करोड ८ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सबै वाणिज्य बैंकहरुको नाफा उच्चदरले बढेको समयमा राष्ट्रिय वाणिज्य बैंकको नाफा भने उच्च दरले घटेको छ । नाफा घटेपछि यस बैंकमा केही महिनाअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका किरण श्रेष्ठको कार्यसम्पादन क्षमतामा प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल रहेको सरकारले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । क्षमताको आधारमा नभई राजनीतिक शक्तिको आडमा श्रेष्ठलाई नियुक्त गरिएको त्यति बेलामा नै आरोप लागेको थियो । यस बैंकमा १०० प्रतिशत लगानी सरकारको छ । २०५० को दशकमा राजनीतिक चलखेलले गम्भिर संकटमा परेको यो बैंक विश्व बैंक लगायत विदेशी संस्थाबाट ऋण लिएर सुधार गरिएको थियो । विदेशी व्यवस्थापनले समालेपछि सुधारको क्रममा रहेको यस बैंकले विगत करिव १० वर्ष पछाडि फर्कन परेको थिएन । यस बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब ४६ अर्ब रुपैयाँ छ । बैंकले करिव ८६ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको सेयर पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ छ ।

चारहजार एटीएमका डाटा र पिन चोरी, प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले थप विवरण खोज्दै

काठमाडौं ३, मंसिर । जासुसी उपकरण बोकेर नेपाल आएका टर्किस, रोमानियन र बुल्गेरियन नागरिकले विभिन्न बैंकका ४ हजार ग्राहकको पिन नम्बर चोरी गरेको खुलेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार एटिएम बुथमा गोप्य क्यामरा लगायतका उपकरण जडान गरी उनीहरुले नेपाली ग्राहकको पिन नम्बर चोरी गरेका हुन् । चोरी गरिएका पिन नम्बर सोही समूहका अन्य सदस्यलाई इमेल गरेर पठाएको पनि खुलेको छ । ‘तर, ती पिन नम्बर कुन कुन बैंकका हुन् र त्यसबाट पैसा निकालिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले कान्तिपुरसँग भने । ब्युरोले कात्तिकमा बुल्गेरिया, रोमानिया र टर्किका गरि ८ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट नक्कली एटिएम कार्ड, नेपाली बैंकका कार्डको विवरण र पिनसँगै त्यसको चोरीमा प्रयोग हुने उपकरण फेला परेको थियो । उनीहरुको साथबाट प्रहरीले गोप्य क्यामरा फिस आई, एटिएम मेसिनबाट अर्काको पिन नम्बर चोर्न सघाउने कार्ड स्किमिङ मेसिन, रित्तो कार्डमा पिन नम्बर राख्ने कार्ड पर्सनलाइजेसन मेसिन, एटिएम बुथको नम्बर दवाउन प्रयोग हुने किप्याड, कार्ड काट्ने र घोट्ने मेसिन लगायतका उपकरण र पिन नम्बर संग्रह गरिएको ल्यापटप फेला परेको थियो । उनीहरुको ल्यापटप र इमेल हेर्दा उनीहरुले नेपाली एटिएम बुथबाट संकलन गरेको पिन विवरण र पासवर्ड फेला परेका हुन् । पक्राउ परेकाहरुले पिन नम्बर चोरी गर्न दरबारमार्ग, ठमेल, कान्तिपथमा रहेका विभिन्न बैंकका एटिएम बुथ प्रयोग गरेको खुलेको थियो । प्रहरीले २०७१ देखि हालसम्म चोरी भएको २ करोड ३७ लाख रुपैयाँ फेला पारेको छ । टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेट्रोस्लाभ रिस्तोवबाट प्रहरीले एक करोड ६८ लाख रुपैया फेला पारेको थियो । रोमानियाली नागरिक पेड्रा ओरिलियन, बुल्गेरियन नागरिक डिमा एनातासोव स्टेफानोव र रोमानियाली गिता हुजुम, लोसिफ मोरारु र एलेक्स क्रिष्टियान लगायतबाट प्रहरीले ६६ लाख रुपैंया फेला परे पनि ती रकम कुन कुन बैंकका ग्राहकको हो भने खुलिसकेको छैन । कुन कुन बैंकका कुन कुन ग्राहकको पिन चोरी भएको हो भन्ने विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिए पनि जानकारी नआइसकेको ब्युरोका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकबाट ।