सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँ अंकित मूल्य दरले २ अर्ब रुपैयाँको ‘८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।​​​ बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारी गरे पश्चात् सोहि हदसम्म बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी किन्दा छुट हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई हुन्डाई ब्रान्डका गाडी खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीका अधिकृत वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच बिहीबार भएको सम्झौताअनुसार कर्मचारी तथा ग्राहकहरूले कम्पनीबाट उपलब्ध नियमित छुटबाहेक थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्मको छुट पाउने भएका छन् । सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।

दसैँ, तिहार र छठमा दैनिक ४० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सीमा बढाएको छ । भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या)लाई अस्थायी रुपमा वृद्धि गरिएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले जानकारी दिए ।  उनका अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ । तर, चाडपर्वका अवसरमा एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उनले बताए ।  ‘बडा दसैँको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, शुभ दिपावली तथा छठ पर्वको अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ,’ भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा उल्लेख छ ।  उक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन परिपत्र जारी गरिएको छ ।