एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । उनले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।  उनका अनुसार बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएको उनले बताए । ‘उहाँ योबीचमा भारत जानु भयो । भारतमा स्वास्थ्यमा समस्या आयो । उहाँको कार्यकाल पनि धेरै छैन । डाक्टरको सुझाव अनुसार रेष्ट गर्नुपर्ने भएकाले राजीनामा नै दिने निर्णय गर्नु भयो,’ उनले भने, ‘म्याडम (न्योपानेकी श्रीमती)को गाइनो सम्बन्धी समस्या छ । उहाँ (न्यौपाने)को नाकको समस्या भएर अप्रेशन गर्नु पर्याे ।’  न्यौपाने पहिलाेपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो । उनको दोस्रो कार्यकालको समय बाँकी नै छ । तर, दोस्रो कार्यकालको समय बाँकी हुँदा उनले राजीनामा दिएका हुन् ।  बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको छ । 

अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ ।  केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।  

नेपाल बैंकका नव नियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् ।  भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।