७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ
सानिमा बैंकको १ अर्ब ७ लाख रुपैयाँ लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले ७.३६८५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा १४.७ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १०.९८ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १७.८९ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७२/७३ मा १५.७९ प्रतिशत, आव २०७१/७२ मा २१.०५ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत, आव २०६९/७० मा १०.५३ प्रतिशत, आव २०६८/६९ मा ५.५ प्रतिशत, आव २०६७/६८ मा ६.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनःनिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य काम गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनःनिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ । बैंकको लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालयहरू हाल सञ्चालनमा रहेका छन् ।