जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड, राष्ट्र बैंकको डिभिजनमा पनि क्षति
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरेर ३७/३८ करोड रुपैयाँ लुटिएको छ । राष्ट्र बैंकको केही डिभिजनमा पनि क्षति पुर्याएको उनको भनाइ छ । ‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा सो भवनमा रहेका डिभिजनमा क्षति पुगेको छ । तर, कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । तर, बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ,’ उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरी ३७/३८ करोड रुपैयाँ लुटिएको छ ।’ सो शाखाबाट लुटपाट गर्नको अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौं ।’ यस्तै, नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमण गर्न गएपनि धेरै क्षति नभएको उनले बताए । तर, अन्य ठाउँमा बैंकलाई लक्षित गरेर भन्दा पनि सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ । ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो,’ उनले भने, ‘सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा रहेका बैंकको शाखा र एक्सटेन्सन काउण्टरमा आक्रमण भएको छ । तर, बैंक नै आक्रमण गरौं भनेर गएको भने देखिँदैन ।’ जेनजी आन्दोलनको समयमा भुक्तानी प्रणाली नियमित र डिजिटल पेमेन्ट एकछिन पनि नरोकिएको उनको दाबी छ । उनका अनुसार निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित छ । लकरमा राखिएको पैसा सुरक्षित छ । बैंक खातामा राखेको रकम जोखिममा छैन ।
आफू ‘घरविहीन’ बनेर पनि अरूलाई सम्हाल्दैछन् गभर्नर, कोर्दैछन् अर्थतन्त्र सुधारको मार्गचित्र
काठमाडौं । भदौ २६ गते गभर्नर डा. विश्व पौडेलले सामाजिक सञ्जाल फेसबुकमा दुइटा भावुक र मर्मस्पर्शी स्टाटस राखे । जेनजी आन्दोलनमा दुइटै घर आगजनी भएको भन्दै आफू आफन्तको शरणमा पुगेको स्टाटससहितको आगजनीको भिडियो उनले फेसबुकमा राखे । त्यो स्टाटस र भिडियोले अधिकांशको आँखा रसायो, भिडियो हेर्नेले आगजनी गर्नेलाई सरापे । गभर्नर पौडेलले पोष्ट गरेका दुइटै भिडियोलाई लाखौंले हेरेका छन्, हजारौंले आफ्नो प्रतिक्रिया दिएका छन् । गभर्नर पौडेलाक अनुसार जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते गभर्नर पौडेलको भैँसेपाटीस्थित घरमा आगजनी गरे भने चितवनमा रहेको घरमा तोडफोड गरे । दुइटै घर नष्ट भएपछि उनले बस्ने बासस्थान पाएनन्, उनी आफन्तको शरणमा पुगे । उनले स्टाटसमा भनेका छन्, ‘ढुङ्गा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिया बुढी आमाको सुत्ने कोठा हो । उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो, मेरो बुबाले १५ वर्षअघि म विद्यार्थी हुँदा यो घर बनाउनु भएको हो, बुबा पनि ८७ वर्षको हुनु भयो, जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।’ उनले सोही दिन भैसेपाटीको घर जल्दै गरेको अर्को भिडियोसहितको स्टाटस राखे । आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर जलाउँदा शरणार्थी भएर बस्नु परेको दुखेसो पोखे । उनले आफ्नो दुइटै घर आगजनी हुँदा शरणार्थी बनेको गुनासो गरेका छन् । गभर्नर पौडेलको मात्रै होइन जेनजी आन्दोलनले धेरै नेताहरु तथा व्यवसायीहरुको घर तथा निजी कम्पनी ध्वस्त भए । देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका गभर्नर डा. पौडेल अहिले ठूलो सकसमा छन् । किनकी आफ्नो परिश्रमले बनाएको घर नष्ट भएको छ । वर्षौं वर्ष मिहिनेत गरेर जोडेको करोडौंको सम्पत्ति खरानी बनेको छ । कुनै पनि पुस्तकालयमा खोजेर पनि नपाइने महत्वपूर्ण पुस्तकहरु आगजनीमै परेर विलिन भएका छन् । करोडौंको सम्पत्ति गुमाएका गभर्नर पौडेललाई आफ्नो पीडाभन्दा अरुको पडा सुन्न फुर्सद छैन । अहिले गभर्नर पौडेल आफ्नो पीडालाई लुकाएर अरूको सकस सुनिरहेका छन् । उनले जेनजी आन्दोलनकर्ताहरुले दिएको पीडा मनभित्र दबाएर उद्योगी व्यवसायी र बैंकरको मर्म सुनिरहेका छन् । मिहिनेतले बनाएको घर दनदनी जलेको दृश्यलाई भुलेर उनी देशको अर्थतन्त्र सुधारको उपचार खोजिरहेका छन् । जेनजी आन्दोलनकारीहरुले धेरै व्यवसायीहरुका व्यावसायिक कम्प्लेक्स ध्वस्त पारे । बैंक तथा वित्तीय संस्थाका शाखा तथा एटीएम आगजनी तथा तोडफोड गरे । आफ्नै दुइटै घर ध्वस्त भएको पीडा सम्हाल्दै गभर्नर पौडेल प्रदर्शनकारीले आगजनी गरेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गर्न पुगे । यहीबेला उनी प्रदर्शनकारीले ध्वस्त बनाएका उद्योगी व्यवसायीहरूका व्यावसायिक कम्प्लेकसहरुका कहानीहरु सुनिरहेका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा उपस्थित भएका गभर्नर पौडेलको मलिन अनुहार धेरैका लागि असह्य बन्यो । आफ्नो पीडालाई लुकाएर उनी अर्थतन्त्र सुधारको बाटो बोलिरहेका छन् । बिग्रिएको अर्थतन्त्र सुधारको मार्गचित्र प्रस्तुत गरिरहेका छन् । आफ्नो पीडालाई मनभित्रै दबाएर उनी अरुलाई सान्त्वना दिइरहेका छन् । उनको पीडा उद्योगी व्यवसायी र बैंकरले पनि महसुस गरेका छन् । संघर्ष र मिहिनेत गरेर खोने एक जना प्रोफेश्नलका लागि यो आगजनी असह्य नै हुन्छ । ‘जेनजी आन्दोलनपछि गभर्नरज्यूले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभयो । उहाँ एकदमै चिन्तित हुनुहुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले भने । गभर्नर पौडेलले सोमबार अर्थमन्त्री खनालको पदभार ग्रहण कार्यक्रममा राष्ट्र बैंक यो अवस्थामा सकेसम्मको सहयोग गर्न तत्पर रहेको सुनाए । उनले आन्दोलनबाट बिग्रिएको मनोबल बढाउन आवश्यक रहेको धारणा राखे । नेपाल राष्ट्र बैंक सधैं अर्थमन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले अर्थमन्त्रालयलाई चाहिने सहयोग राष्ट्र बैंकले गर्ने बताए भने आगामी दिनमा आत्तिनु नपर्ने अवस्था रहेको पनि सुनाए । सवा २ करोडको घर ध्वस्त नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि गत असारमा गभर्नर पौडेलले आफूसँग भएको सम्पत्ति सार्वजनिक गरेका थिए । उनले ललितपुरमा १ करोड ५५ लाख मूल्य पर्ने घर रहेको सार्वजनिक गरेका थिए । अहिले सोही घर आन्दोलनकारीले ध्वस्त बनाएका छन् । त्यस्तै ६० लाख रुपैयाँ मूल्यांकन गरिएको चितवनमा रहेको उनको घर पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । यो आन्दोलनमा उनले सवा २ करोड रुपैयाँ मूल्य पर्ने घर गुमाएछन् । घरभित्रका सम्पत्ति पनि सँगै विलिन भएका छन् । राष्ट्र बैंकले बनायो संयन्त्र गभर्नर पौडेले आफ्नो करोडौंको सम्पत्ति गुमाए पनि उनी अर्थतन्त्र सुधारको मार्गचित्र कोरिरहेका छन् । जेनजी आन्दोलनबाट बैंकिङ क्षेत्रमा भएको नोक्सानीको विवरण माग गरिरहेका छन् । उनका अनुसार जेनजी आन्दोलकर्ताहरुले बैंकहरुका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुर्याएको छ । जेनजी आन्दोलनबाट निजी क्षेत्रमा के कस्ता समस्या निम्तिएका छन् र अब राष्ट्र बैंकले कसरी सहजीकरण गर्नुपर्छ भनेर संयन्त्र तयार पारेका छन् । राष्ट्र बैंकले बैंकहरुसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई फोकल पर्सन तोकेको छ । यस्तै, उद्योगी व्यवसायीका पीडा र गुनासो सुन्न भुक्तानी विभाग प्रमुख कार्यकारी निर्देश किरण पण्डितलाई जिम्मेवारी दिइएको छ । ‘राष्ट्र बैंकले छुट्टाछट्टै फोकल पर्सन तोकेर डेस्क तयार पारेको छ । अहिलेको समयमा बैंक पनि संयमित हुनुपर्याे र निजी क्षेत्रले उच्च मनोबल लिएर अगाडि बढ्नुहोस् भनेर गभर्नरले भन्नु भएको छ । राष्ट्र बैंकको तर्फबाट हरसम्भव कोशिस गर्ने उहाँले आश्वासन दिनु भएको छ,’ निजी क्षेत्रसँगको छलफलमा सहभागी एक उद्योगीले भने । राष्ट्र बैंकले तयार गरेको संयन्त्रले काम गर्न सुरु गरिसकेको बताइएको छ । राष्ट्र बैंकले जारी गर्ने निर्देशिका र कडा भएका व्यवस्थालाई सहजीकरणमा उनीहरुले भूमिका निर्वाह गर्नेछन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आन्दोलनबाट क्षति भएका उद्योगी व्यवसायीहरूलाई रिफाइनान्सको सुविधा दिनुपर्ने बताउँछन् । साथै, क्षति भएका संरचना पुन निर्माणका लागि सरकारले निब्र्याजी रकम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले पीडित उद्योगी व्यवसायीलाई कर्जालाई रिस्ट्रक्चरिङ, रिसेड्यूलको सुविधा दिनुपर्छ । राहतको व्यवस्था गर्नुपर्छ । अब पुननिर्माणमा लागेको रकमका लागि वा पुरानै अवस्थामा फर्काउन सरकारले निब्र्याजी रकम उपलब्ध गराउनुपर्छ,’ उनले भने । राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देश किरण पण्डित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग भेटमा आन्दोलनबाट कस्तो प्रभाव पर्याे, कस्तो अवस्था छ भन्ने विषयमा छलफल भएको बताउँछन् । सम्बन्धित विभागले सम्बन्धित क्षेत्रसँग समन्वय गर्ने काम हुने भएकाले क्षतिको विवरण संकलनका लागि संयन्त्र नै तयार नगरिएको उनले बताए । ‘छलफलमा समन्वय गरिरहेका हुन्छौं । निरन्तर संवादमा बस्ने र के गर्न सकिन्छ भनेर छलफल भएको हो । उद्योगी व्यवसायीका सुझाव वा अप्ठेरा विषयमा राष्ट्र बैंक जहिले पनि खुला छ । प्रतिवेदन तयार पार्ने गरी संयन्त्र नै गठन भएको होइन,’ उनले भने । क्षतिको विवरण आउन बाँकी रहेकाले राष्ट्र बैंकले दिन सक्ने सुविधा के–के हुन भनेर अहिले नै भन्न नसकिने उनले बताए । किनभने क्षतिको विवरण आउन पर्ने हुन्छ । समस्या पहिचान पछि मात्रै सुविधा दिने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘उहाँहरूलाई राज्यको सबै निकायबाट सहयोग चाहिन्छ । उहाँहरु पनि डिस्टब्र्ड हुनुहुन्छ ।’
सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीमा वृत्तको कार्य सञ्चालन प्रभावित भएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । इन्चार्ज श्रेष्ठले यस्ता सहयोगहरूले कार्यालय सञ्चालनमा सहजता भए पनि आगजनीले ठूलो क्षति पुर्याएकाले अझ बढी सहयोग आवश्यक रहेको बताए । आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।