कामना सेवा विकास बैंकले विराटनगरको मालपोत कार्यालय पुनःनिर्माण गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विराटनगरको भूमिसुधार तथा मालपोत कार्यालय पुनःनिर्माण गर्ने भएको छ। जेन–जेडको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा जलेर नष्ट भएको मोरङस्थित मालपोत कार्यालयको मर्मतसम्भारसमेत बैंकले गर्ने जनाएको छ । यसका लागि मालपोत अधिकृत अजय राजवंशी र बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका अनुसार हाल कार्यालय जलेर नष्ट भएको विवरण संकलनको कार्य भइरहेको छ र विवरण पूरा भएपछि पुनःनिर्माण सुरु गरिनेछ । यसैबीच आन्दोलनका क्रममा जलेर पूर्णरूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय, पथरीलाई बैंकले तत्काल आवश्यक पर्ने कम्प्युटर उपलब्ध गराएको छ । बैंकका प्रदेश प्रमुख भुषालले उक्त कम्प्युटर प्रहरी प्रमुख डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरेका हुन् । डिएसपी अर्यालले कार्यालय सञ्चालनमै गम्भीर चुनौती रहेको अवस्थामा कम्प्युटर सहयोगले ठूलो राहत पुगेको भन्दै बैंकप्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा प्रहरी अधिकृत तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो । कामना सेवा विकास बैंकले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा अन्य स्थानका वडा कार्यालय, मालपोत कार्यालय तथा प्रहरी कार्यालयहरुको पुनःनिर्माण र मर्मतसम्भारका लागि सहकार्य गर्ने जनाएको छ।

आजदेखि बैंकहरू चार घण्टा खुल्ने, डिजिटल कारोबारमा जोड दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंकहरू २ बजेसम्म खुल्ने भएका छन् । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेकै समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिने निर्णय गरेको हो । उपत्यका बाहिर भने प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको उनले बताए ।  ‘काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा कार्यालय खुला गरेर सेवा दिन भनेका छौं । उपत्यका बाहिर प्रशासनसँग छलफल गरेर कहाँ खोल्न सकिन्छ, सोहीअनुसार सेवा दिने भनिएको छ,’ उनले भने, ‘बिहान १० बजेदेखि २ बजेसम्म शाखा खुला गरेर सेवा दिनु भनिएको छ ।’ यस्तै, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबारमा जोड दिन निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थाले व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।  साथै, अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यु भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ । निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि भदौ २६ गते बिहान ६ बजेदेखि  १० बजेसम्म र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ । निषेधाज्ञा तथा कर्फ्युको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनाहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ । उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जनाएको छ ।

जेनजी आन्दोलनमा बैंकको पैसा लुटपाट, लकर तोडफोड, कुन बैंकमा कति नोक्सान ?

काठमाडौं । जेनजी आन्दोलनकारीहरुले बैंक तथा वित्तीय संस्थाहरूका दर्जनौं शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुर्याएका छन् । बैंकरहरुका अनुसार देशभर बैंकलाई टार्गेट गरी दर्जनौं शाखा कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । साथै, बैंकको शाखा कार्यालय तोडफोड गरी पैसा समेत लुटिएको पाइएको छ ।  एनआईसी एशिया बैंकका १४ वटा एटीएम मेसिन, ५ वटा शाखा कार्यालय, ६ वटा काउण्टरमा क्षति पुगेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले जानकारी दिए । उनका अनुसार भौतिक संरचनामा क्षति पुर्याएको भएपनि पैसा भने चोरी नभएको उनले बताए । उनले कर्मचारीहरू भने सुरक्षित रहेको जनाए ।  कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा क्षति पुगेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले जानकारी दिए । घरमा बाहिरबाट ढुंगामुढा गर्ला बैंकको सिसा फुटेको उनले बताए । साथै, हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिन ड्यामेज भएको उनले जनाए ।  कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा हुलदङ्गामा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा लाग्यो । गोली कसले हानेको स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’  उनका अनुसार हिजो नै अन्नपूर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए ।  ‘प्रेसर स्टेबल हुन नसकेका कारण डक्टरको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर डक्टरले भन्नु भएको छ,’ उनले भने ।  उनका अनुसार बैंकको कीर्तिपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको छ । लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।  हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा क्षति भएर खरानी भएको सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीले जानकारी दिए । तर, लकर र भल्टमा भने क्षति नभएको उनको भनाइ छ । न्युरोड शाखामा क्षति हुन्छ की भन्ने आशंका गरिएको भएपनि खासै क्षति हुन नपाएको उनले बताए ।  उनका अनुसार भैरहवा एयरपोर्ट, आईटी प्लाजा कमलादी, हिलटन होटल परिसर, विराटनगरको भाटभटेनीको र बुटवलको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको छ । तर, नगद भने सुरक्षित रहेको उनले बताए ।  ‘अन्य संरचनामा आगजनी गर्दा क्षति भएको भन्दा पनि आन्दोलनकारीले फुटाउनै खोजेको देखिएको छ । उनीहरुले एटीएम नै झिकेर फालेका छन्,’ उनले भने । ग्लोबल आइएमई बैंकका अनुसार कान्तिपुर भवनमा रहेका बैंकका २ वटा विभागमा क्षति पुगेको छ । भवनमा आगो लगाउँदा बैंकको सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा क्षति पुगेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्माले जानकारी दिए ।  उनका अनुसार आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था, मालपोत कार्यालय लगायतमा रहेको बैंकको राजस्व संकलन काउन्टरमा भौतिक क्षति पुगेको छ । देशभर के कति क्षति भएको छ भनेर भोलीसम्म तथ्याङ्क आउन सक्ने उनले बताए । ‘चितवन र सर्वाेच्च अदालत परिसरका एक/एक, पोखरामा ३ वटा, तुलसीपुरमा २ वटा काउण्टर गरी ७ वटा काउण्टरमा क्षति भएको छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार कुन ठाउँमा बैंकमा कति क्षति भएको छ भनेर विवरण संकलनको काम भइरहेको बताउँछन् । बानेश्वर शाखा, दुहबी शाखा, भैरहवा शाखा र केही एटीएम मेसिन तोडफोड भएको सूचना आएको उनले बताए ।  ‘शाखा, काउण्टर र एटीमए मेसिन गरेर एक दर्जन संरचनामा क्षति पुगेको छ । बानेश्वर शाखामा पैसा पनि चोरि भएको जानकारी आएको छ । अरु शाखामा कम्प्युटर चोरी भएका छन् । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको छ । ५ वटा एटीएम तोडफोड भएका छन् । पैसा भने निकालिएको छैन । थप क्षतिको विवरण आउन बाँकी छ,’ उनले भने ।  नेपाल बैंकका सीईओ तिलकराज पाण्डेयका अनुसार बैंकको काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा गरी ३ वटा काउण्टर र एउटा एटिएम मेसिनमा क्षति भएको छ ।  माछापुच्छ्रे बैंकको भरतपुर मालपोत, सिंहदरबार परिसर, अख्तियार दुरूपयोग अनुसन्धान आयोग परिसर गरी ३ वटा एटीएम मेसिनमा क्षति पुगेको बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।  सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुगेको जनाएको छ ।  प्रभु बैंकको लैनचौर शाखामा पनि तोडफोड भएको बैंकले जानकारी दिएको छ ।