लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई सिबिफिनको आग्रह

काठमाडौं । जेनजीको नेतृत्वमा भएको आन्दोलन अन्तरिम सरकार गठनसँगै शान्तिपूर्ण अवतरणमा पुगेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी देश इतिहासकै कठिन घडीलाई पार गरेर सामान्यतर्फ उन्मुख हुन थालेको जनाएकाे छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेकाे छ । परिसंघले आन्दोलनलाई 'सुशासनयुक्त नवनेपाल निर्माणको प्रस्थान विन्दु'का रूपमा व्याख्या गर्दै नवगठित सरकारसँग सहकार्य गरी शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आक्रमण र क्षतिबाट प्रभावित निजी क्षेत्रमा आशा, ऊर्जा र उत्साह थप्ने गरी लगानी अनुकूल नीति तथा वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ। सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रमा क्षति पुर्‍याउने तत्वहरूप्रति सचेत रहँदै बैंकिङ सेवाहरूलाई सहज सञ्चालन गर्न सबै पक्षसँग सहयोग मागेको विज्ञप्तिमा उल्लेख छ ।

जलेका नोटले बैंकलाई चुनौती, एउटै नोटमा फरक-फरक सिरियल नम्बर

काठमाडौं । ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ,’ एक हजार दरको नोटको मध्य मागमा उल्लेखित शब्द हुन् । नोटमा राष्ट्र बैंकका गभर्नरको पनि हस्ताक्षर छ । राष्ट्र बैंकले नोट जारी गर्दा प्रयोग हुने कागज पनि सही छ । नोटमा प्रयोग भएका विभिन्न किसिमका संकेतसहित पनि ठीक छन् । तर, नोट भने नक्कली हो । किनभने एउटै नोटमा फरक-फरक सिरियल नम्बर छन् । नोटको दायाँ भागमा सिरियल नम्बर ग ६१-३१६२६४ र बाँया भागमा ग ६२-४७२०६६ पनि उल्लेख छ । जेनजी आन्दोलनपछि एउटै नोटमा फरक-फरक सिरियल नम्बर रहेका नोटहरू बजारमा भेटिन थालेका छन् ।  भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता र निजी क्षेत्रका संरचनामा क्षति पुर्‍याए । विभिन्न माध्यममा सार्वजनिक भएका भिडियो र फोटोहरूलाई आधार मान्दा त्यहाँ राष्ट्र बैंकले जारी गरेका विभिन्न दरका नोटहरूमा पनि क्षति पुग्यो । केही नोटहरू जलेका छन् भने केही नोटमा आंशिक क्षति पुगेको छ । तर, अहिले आंशिक क्षति भएका नोटहरूलाई संकलन गरेर जोडेर बजारमा कारोबार गरिरहेको भेटिएका छन् । आधी-आधी (केही भाग मात्रै) जलेका नोटहरूलाई एक आपसमा टाँसेर बजारमा चलनचल्तीमा ल्याइरहेकाले सजग रहन बैंकहरूले आग्रह गरेका छन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आंशिक क्षति भएका नोटहरूलाई जोडेर बजारमा चलनचल्तीमा ल्याइरहेको बताउँछन् । बजारमा कारोबार भइरहेका त्यस्ता नोटहरू बैंकमा समेत आउने तर डिटेक्टर मेसिनले समेत पहिचान गर्न नमिल्ने भएकाले नगद कारोबार गर्दा सजग रहन उनले आग्रह गरे । | उनका अनुसार फरक-फरक सिरियल नम्बर भएका नोटलाई जोडेर पसलमा चलनचल्तीमा ल्याइरहेको र विस्तारै त्यस्ता नोटहरू बैंकमा समेत आइपुग्ने जाेखिम छ ।  ‘नोट आधी मात्रै छ । आधी मात्रै जलेको वा क्षति भएको नोटमा अर्काे आधी जलेको वा क्षति भएको नोट टाँसेको छ । यस्ता नोट ठूल्ठूला बन्डलमा हाल्दा एउटै जस्तै देखिन्छन्,’ उनले भने, ‘बैंकको नोट डिटेक्टरले गन्दा फेक नोट आईडिन्टीफाई (पहिचान) गर्छ । तर, बैंकको फेक नोट डिटेक्टरले समेत यस्ता नोट पहिचान गर्न सक्दैनन् । किनभने नोटको कागज ओरिजिनल छ ।’ यस्ता जोडिएका नोटहरू सक्कली नोट भनेर बजारमा कारोबार भइरहेकाले सिरियल नम्बर जाँच गरेर मात्रै कारोबार गर्न सीईओ खनालले आग्रह गरे । आन्दोलनमा परेर वा अन्य कुनै कारण जलेका वा च्यातिएका नोट संकलन गरेर जोडेर चलाउने काम भइरहेको उनले बताए । यस्ता नोट बैंकको डिटेक्टरले समेत पत्ता लगाउन नसक्ने गरी बनाइएका हुने उनको भनाइ छ ।  ‘यस्ता नोट बैंकमा आइसकेको छैनन् । तर, यस्ता नोट बैंकमा आउन सक्ने सम्भावना छ । साथै बजारमा भने पसल-पसलमा यस्ता नोट कारोबार भइरहेका देखिन्छन् । त्यसैले नगद कारोबार गर्दा नोट भेरिफाई गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ,’ सीईओ खनालले भने ।  जेनजी आन्दोलनपछि यस्ता नक्कली नोटको बिगबिगी बढेकाले यस्ता नोटहरू जाँच गरेर मात्रै कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बजारमा एउटै नोटमा फरक-फरक सिरियल नम्बर भए/नभएको जाँच गरेर मात्रै नगद कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा

काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।