सुकिला नोट सटहीमा छैन खासै सर्वसाधरणको चासो
काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतको दशैँहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भीड लाग्ने गर्दथ्यो । नेपाल राष्ट्र बैंकले आईतवारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ । राष्ट्र बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसअघि राष्ट्र बैंकले दशैका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो । यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ ।
धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । राष्ट्र बैंककाअनुसार २०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.१ प्रतिशत रहेको छ । यस्तै, २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ । राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ साउन मसान्तमा सूचीकृत ८ अर्ब ८८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर,.७१ करोड ८५ लाख बराबरको बोनस सेयर र २ करोड २५ लाख बराबरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।
असोजमा ०.१२ प्रतिशत घट्यो बैंकको ब्याजदर, ९ बैंकले घटाउँदा २ बैंकले बढाए
काठमाडौं । वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ३.९६ प्रतिशत ब्याजदर थियो । भदौ महिनाका लागि विभिन्न ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले साउनको तुलनामा असोजमा ब्याजदर घटाएका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनको तुलनामा असोजमा ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने असोजमा ब्याजदर स्थिर राखेका छन् ।