पुँजी निर्माणको आधार र अवरोधहरु
‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर पुँजी निर्माण हुन सकेन भन्ने आवाज उठ्दैन । पुँजी निर्माण विना रोजगारी सिर्जनाको अपेक्षा गर्नु खेती नलगाई फलको अपेक्षा गर्नु जस्तै हो । पुँजी कसरी निर्माण गर्ने ? खल्तीभरी पैसा हुनु पुँजी निर्माण होइन । व्याज आम्दानीले घर परिवार चल्ने गरी, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्न पुग्ने गरी बैंकमा निक्षेप हुनु पुँजी निर्माणको सहायक पक्ष हो । मुल रुपमा पुँजी निर्माण गर्नु भनेको नयाँ बस्तु तथा सेवा उत्पादन गर्नको लागि आवश्यक पूर्वाधार बनाउनु हो । आयआर्जन गर्ने उदेश्यले उद्योगहरु लगाउनु, स्कूल वा हस्पिटल चलाउनु, व्यापार गर्नु, व्यवसायिक प्रयोजनको लागि जमिन किन्नु, गाडी किन्नु वा उत्पादन वृद्धिमा सहयोग पुग्ने पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गर्दै जानु तथा उत्पादन मुलक सम्पत्ति वृद्धि गर्दै जानु र सरकारको हकमा सार्वसाधरणले प्रयोग गर्ने साझा पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । उद्योगमा पनि उपभोग्य वस्तु मात्र उत्पादन गर्ने उद्योगहरु फास्टाएको देशहरु भन्दा मेसिनरी सामानहरु उत्पादन हुने देश, निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु भएको देशहरु बढी सम्पन्न भएका हुन्छन् । पुँजी निर्माणको कार्य तीन तहमा हुन्छ । ‘बचत गर्नु’ पुँजी निर्माणको पहिलो तह हो । यो कार्य जनस्तरमा हुन्छ । सामान्यतय जुन देशमा प्रतिव्यक्ति आम्दानी बढी हुन्छ, ती देशमा बचत पनि बढि हुन्छ । अमेरिकीयन वा युरोपियनको बचत क्षमता जति हुन्छ, नेपाली र भारतीयको बचत क्षमता त्यो भन्दा कम हुन्छ । सँगै, बचत गर्ने व्यक्तिगत बानी, इच्छाशक्ति, पारिवारिक तथा सामाजिक संस्कार पुँजी निर्माणको महत्वपूर्ण आधार हुन् । बचत गर्ने संस्कार र बानी नभएको समाजमा प्रतिव्यक्ति आय उच्च भएपनि बचत हुन सक्दैन । बचत संकलन गर्नु र परिचालन गर्नु कार्य पुँजी निर्माणको दोस्रो चरण हो । यो कार्य मूलरुपमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक सुरक्षा कोष चलाउने संस्थाहरुले गरिरहेका हुन्छन् । त्यस्तै बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरुले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीहरुले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । पुँजी बजारको राम्रो विकास भएको देशमा बैंक बचत अतिरिक्त ऋणपत्र, सेयर लगायत पुँजीबजारका औजारहरु मार्फत ठूलो मात्रामा पुँजी परिचालन भएको हुन्छ । पुँजी निर्माणको खास वा तेस्रो चरणको काम उद्यमीले गर्छन् । आफ्नो पूँजी, बैंकबाट लिएको कर्जा वा साना साना सेयरधनीबाट पुँजी लिएर उनीहरुले वस्तु तथा सेवा उत्पादनको कार्यमा लगाउँछन् । पुँजी निर्माणदेखि वितरणसम्ममा उनीहरुको भूमिका निकै ठूलो र निर्णायक हुन्छ । ऋणको व्याज भुक्तानी, जग्गा वा घरको भाडा भुक्तानी, कर्मचारीलाई तलब भुक्तानी, सरकारलाई कर भुक्तानी गर्दै आफूले नाफा आर्जन गर्नु उद्यमीको काम हो । उद्यमीहरु भनेको सरकारको कर संकलक पनि हुन् र उनीहरु सरकारको साझेदार हुन् । नेपालको सन्दर्भमा भ्याट, अन्तशुल्क, टिडिएस लगायत शीर्षकमा कर संकनल गर्न अधिकार उद्यमीले पाएका हुन्छन् भने उद्यमीले गरेको नाफाको करिब २५ प्रतिशत हिस्सा सरकारले आय करको नाममा लिन्छ । बचतकर्ता र पुँजी बजारमा लगानी गर्ने साधारण लगानीकर्ता भन्दा उद्यमीहरु बढी चलाख र गतिशिल हुन्छन् । अवसरको पहिचान गर्नेदेखि बढी जोखिम लिने क्षमता उनीहरुसँग हुन्छ । उद्यमीले गर्ने नाफा पुँजी निर्माणको उच्चतम रुप हो । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । इन्जिनका लागि फ्यूल जस्तै उद्यमीको लागि नाफा धेरै महत्वपूर्ण तत्व हो । फ्युल राम्रो भए इन्जिन राम्रो चल्छ, खराव भए गडबड हुन्छ । नाफा उच्च हुँदा उद्यमी पनि उत्साहित हुन्छन्, पुँजी निर्माणले गति लिन्छ । नाफा कम वा घाटाको अवस्थामा उद्यमीको उत्साह मर्छ, पुँजी निर्माण प्रक्रिया सुस्ताउँछ वा बन्द नै हुन्छ । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । नेपालमा समस्या के छ भने उद्यमीले नाफा गर्दा अरुले रिस गर्छन् । नाफा गर्ने कम्पनीलाई राजनीतिक नेतृत्वदेखि प्रसाशनिक तहसम्म, स्थानीय तहका झोलो मुन्द्रेदेखि अदालतसम्मले खराब नजरले हेर्छन् । कुनै पनि कम्पनीले गरेको नाफामा सोझै आफ्नो हिस्सा खोज्नु र त्यो नपाए कम्पनीलाई कसरी समस्यामा पार्ने भन्ने जालझेल गर्ने प्रवृति नेपाली समाजमा गडेर बसेको छ । गुगलबाट लिएकाे सांकेतिक स्केज पुँजी निर्माणको अर्को आधार भनेको विदेशी लगानी हो । त्यसमा विदेशी संस्था वा व्यक्तिको प्रत्यक्ष लगानी एउटा पाटो हो भने सरकारले विदेश सरकारसँग लिने ऋण तथा अनुदान, विश्व बैंक, एशियाली विकास बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्ने ऋण लगानी पनि पर्छ । यसरी आउने विदेशी लगानी विस्तारै सुधार भएको छ तर उत्साहजनक अवस्था छैन । नेपालको समस्या मानिसहरुले सम्पूर्ण आय दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने, सरकारले जनताबाट प्राप्त राजश्व सबै प्रशासनिक कार्य वा साधारण बजेट शीर्षकमा खर्च गर्ने कार्यले पुँजी निर्माण हुन सक्दैन । नेपालको सन्दर्भमा यो समस्या ठूलो हुँदै गएको छ । सरकारी बजेटको ठूलो हिस्सा सरकारी कर्मचारीको तलब भत्तामा सकिँदै छ । जनस्तरमा पनि मासिनहरु आम्दानीको ९० प्रतिशतभन्दा बढी रकम उपभोग्य वस्तुमा खर्च खर्चन भने १० प्रतिशतभन्दा कम पुँजी निर्माणमा खर्च भईरहेको छ । हिजो दिनमा दुई छाक खानेले आज दिनमा चार छाक खानु, हिजो टिसर्ट पाइटमा हिड्ने मान्छे आज कोर्ट पाइटमा हिड्नु, हिजो कच्ची घरमा बस्ने मान्छे अहिले पक्की घर बनाएर बस्नु, हिजो साइकलको यात्रा गर्नेले आज मोटर साइकलमा यात्रा थाल्नु, हिजो मोटर साइकलको यात्रा गर्नेले अहिले कारमा यात्रा गर्न थाल्नु खुशीको विषय हो । आधुनिक समाजमा विकासको महत्वपूर्ण आधारमध्ये एक हो सुविधायुक्त जीवनशैली । सँगै, मानिसको चेतनास्तर, संस्कार, सभ्यताको विकास पनि उच्चस्तरको हुनुपर्छ । जसले मानिसको परिचय पनि दिन्छ । देशको भौतिक पूर्वाधार विकास पनि सँगै हुनुपर्छ । सरकारले सुरक्षा, न्याय र सुसाशन प्रदान गर्नुपर्छ । तब मात्र त्यो देश समृद्ध बन्छ, नागरिक तहमा पनि खुशी छाउँछ । संविधानले समाजबाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर व्यवहारमा नेपाली समाज पुँजीबादी अभ्यासमा अभ्यस्त छ । पुँजीपति वर्ग त स्वभाविक रुपमा पुँजीवादी बन्ने नै भए । समाजवाद हुँदै साम्यबादको लक्ष्य बोकेर हिडेका, कम्यूनिष्ट पाटीको झण्डा बोकेर हिड्नेहरु पनि व्यवहार त पुँजीबादी नै छन् । कामरेड केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, पम्फा भुसाल र चित्रबहादुर केसीको दैनिकी पनि पुँजीबादी संस्कारमा घुलित भईसकेका छन् । समाजबादी चिन्तक पूर्व राष्ट्रपति रामबरण यादवको जीवनशैली भन्दा साम्यवादी चिन्तक वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनशैली धेरै महँगो, सुविधाभोगी र विलाशीपूर्ण देखिन्छन् । नेपाल कम्यूनिष्ट पार्टी वा वामपन्थी विचारधारालाई प्रवद्र्धन गर्ने वा समर्थन गर्ने पेशाकर्मी, बुद्धिजीविहरुको विचार साम्यवादी वा समाजबादी भए पनि आहार र विहार पुँजीबादी नै छ । उनीहरु पनि ५ सय रुपैयाँ पर्ने जुत्ता भन्दा १५ सय रुपैयाँ पर्ने जुत्ता रोज्छन् । मौका पर्दा विदेश यात्रा गर्दा इकोनोमिक क्लासको सिट छोडेर विजनेश क्लासको सिटमा बस्ने चाहाना गगन थापामा जति छ, योगेश भट्टराईमा पनि त्यति नै छ । राजनीतिक संलग्नता र आस्थामा जति फरक भए पनि वरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाको जीवनशैलीमा कुनै फरक छैन । न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पीडितहरुसँग कसेर सकेसम्म बढी पैसा लिनु, नुहाउनेदेखि चिया पिउनेसम्मका कार्य पाँचतारे होटलमा गएर महँगो मूल्य तिर्नु उनीहरुको दैनिकी हो । यसको अर्थ पुँजीवादी जीवनशैली अपनाउनु, महँगो मूल्य तिरेर वस्तु तथा सेवा खरिद गर्नु वा महँगो मूल्यमा वस्तु तथा सेवा बेच्नु गलत भन्न खोजिएको कदापी होइन । १० वर्षअघि मासिक १० हजार तलब पाउने श्रमिकले अहिले मासिक १ लाख रुपैयाँ पाउनु, १० वर्षअघि एउटा उद्योग चलाउने व्यवसायीले अहिले ५ वटा उद्योग चलाउनु, १० वर्षअघि २५ जनालाई रोजगारी सिर्जना गर्ने उद्योगले अहिले ५०० जनालाई रोजगारी दिनु, १० वर्षअघि १ करोड नाफा गर्ने कम्पनीले अहिले १ अर्ब नाफा गर्नु उन्नति र प्रगतिको सूचक हुन् । जसले उन्नति र प्रगति गर्छन, उनीहरुको प्रशंशा गर्ने, जो पछि पर्छ उसलाई उकास्न सरकार र समाजले सहयोग गर्ने अभ्यास जरुरी छ, सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो भने । सुखी नेपाली हुनको लागि उच्च आम्दानी हुनुपर्छ । उच्च आम्दानीको लागि राम्रो रोजगारी हुनु आवश्यक छ । राम्रो रोजगारी त्यो संस्थाले दिनसक्छ, जसले धेरै भन्दा धेरै मानिसलाई सेवा दिनसक्छ, धेरै भन्दा धेरै कारोबार गर्न सक्छ र उच्च नाफा लिनसक्छ । घाटामा गएको कम्पनी, पुँजीलाई पोष्न नसक्ने कम्पनीले श्रमिकलाई पनि पोष्न सक्दैन । पुँजीबादको मूल विशेषता भनेको ठूलो कम्पनी हुनु नै राम्रो हो । ठूलो कम्पनी ठूलै मात्रामा वस्तु तथा सेवा उत्पादन गर्न सक्छ । बजारमा ठूलो हिस्सा लिन सक्छ । उत्पादन तथा सञ्चालक लागत कम हुन्छ । बिक्री मूल्य पनि कम हुन्छ । बजारमा प्रतिस्पर्धामा अगाडि आउँछ । तर ठूलो कम्पनी बन्नको लागि ठूलो पुँजी चाहिन्छ । ठूलो पुँजी लगानीबाट नै ठूला पूर्वाधार बनाउन सकिन्छ । सडक मार्ग, सुरुङ मार्ग, हवाई मार्ग, बिजुली, सञ्चारका पूर्वधार, शिक्षालय, स्वास्थ्यलय लगायतका पूर्वाधार निर्माण राज्यले गर्नुपर्छ, त्यसको लागि पनि पुँजी आवश्यक छ । उद्योग, व्यापार तथा सेवा लगायत व्यवसायिक लाभका क्षेत्रमा निजी क्षेत्रले लगानी गर्नुपर्छ । निजी क्षेत्रले लगानी गर्ने नाफा हुनु क्षेत्रमा हो । नाफाबाट सरकारलाई कर तिर्ने हो । करको प्रयोग पूर्वाधार निर्माण, सुरक्षा, न्याय र प्रशासनमा खर्च गर्नुपर्छ । गलत के भईरहेको छ भने नेपाल सरकारले करको ठूलो हिस्सा प्रशासनमा सकेको छ र सरकारी सेवाको गुणस्तर गए गुज्रेको छ । सुरक्षा र न्याय प्रणाली र पूर्वधारको अवस्था ज्यादै कमजोर छ । प्रयाप्त पुँजीको कमीले सरकारले पनि चाहेजस्तो पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन भने पुँजीगत क्षमताका आधारमा नेपालको निजी क्षेत्र पनि कमजोर छ ।
विदेशी लगानीकर्ताको उदेश्य व्यवसाय हो कि अरु नै छ ? कसरी विश्वास गर्ने ?- पशुपति मुरारका
पशुपति मुरारका, निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नेपालमा औद्योगिकीकरणको इतिहास धेरै लामो छैन । २०३९ सालअघिसम्म नेपालमा एकाध जुटमिल स्थापना भएका थिए । त्यही बेला चामल, तेल र दाल उद्योग खुलेको पाइन्छ । नेपालमा चामल मिलहरुले केही परिमाणमा निर्यात पनि गर्थे । जनकपुर चुरोट कारखाना, सलाइ उद्योग, बिँडी उद्योग पनि सोही बेला खुलेका हुन् । यसको अर्थ नेपालमा उद्योग–धन्दा सुरु भएको ४० वर्ष जति मात्रै भएको छ । यद्यपि छिमेकी मुलुक भारतको तुलनामा नेपाल पहिला आर्थिक उदारीकरणमा गएको हो । खास गरेर २०३९ सालमा कच्चा पदार्थ आयातमा भन्सार छुट दिएपछि केही उद्योग फस्टाए । त्यो बेला सरकारले एक प्रतिशतमात्रै भन्सार लिने गरेको थियो । सोही समयमा पाँच वर्षका लागि आयकर पनि छुट दिएको थियो । तर त्यो बेला उद्योग खोल्न लाइसेन्स लिनुपर्ने तथा सामान ल्याउन पनि अनुमति लिनुपर्ने व्यवस्था थियो । देश आर्थिक उदारीकरणमा गयो; त्यो बेला उद्योग क्षेत्रमा एउटा चमत्कार नै भयो । २०४६ सालको आन्दोलनपछि निर्वाचित सरकार बन्यो । त्यो सरकारले औद्योगिक क्षेत्रमा क्रान्ति नै ग¥यो । उद्योग खोल्न अनिवार्य लाइसेन्सको प्रावधान पूर्ण रुपमा हटाइयो । त्यहीँबाट औद्योगिक वातावरण बनाउन सुरु भएको हो । त्यही बेला आयात गर्न पनि खुला गरियो । त्यसपछि उद्योगहरु फस्टाउने चरण सुरु भएको हो । सुरु–सुरुमा स्वदेशी उद्योगीसँग ठूलो परिमाणमा उद्योग लगाउने क्षमता पनि थिएन । पुँजी पनि थिएन । स–सानो पुँजीबाट उद्योग स्थापना गरेका थिए । त्यसपछि स्टिल, प्लास्टिक, सिमेन्ट लगायत उद्योगहरु विस्तारै थपिँदै गए । पहिला उद्योग खोल्न लाइसेन्स लिनुपर्ने प्रावधानले सताएको थियो, पछि उद्योग खोल्न लाइसेन्स नै हुनुपर्ने प्रावधान हटाएपछि धेरै सहज भयो । नेपालमा उत्पादित सामानलाई भारतमा भन्साररहित प्रवेश दिने सम्झौता गरेपछि विदेशी तथा स्वदेशी लगानीकर्ता नेपालमा आकर्षित हुन थाले । एकातिर सरकारले आफ्नो प्रक्रियालाई सहज बनाउँदै लग्यो भने अर्कोतिर नेपाली उद्योगीको क्षमता बढ्दै गयो । विदशी लगानी पनि बढ्दै जान थालेको थियो । देशको अर्थतन्त्रले विस्तारै फड्को मार्दै गयो । नेपालीहरु विदेशतिर रोजगारीका लागि गए र त्यहाँबाट उनीहरुले पठाएको पैसाले अर्थतन्त्र विस्तारै उकालो लाग्यो । र मुलुकभित्र विस्तारै एकपछि अर्को गर्दै उद्योगहरु थपिँदै गए । देश उदारीकरणमा गइसकेपछि ठूला भनिएका उद्योगहरु सबै स्वदेशी लगानीकर्ताले नै स्थापना गरेका छन् । एयरलाइन्स व्यवसायमा स्वदेशी लगानीकर्ताले एकदमै राम्रो गरेका छन्, बैंकिङ क्षेत्रमा पनि एकाधबाहेक सबै स्वदेशी लगानीकर्ताले स्थापना गरेका हुन् । त्यो क्षेत्र स्वदेशी उद्योगीले राम्रै चलाइरहेका छन् । बैंकिङ क्षेत्रमा प्रयोग भएको प्रविधि, पुँजी, जनशक्तिलगायत सबै आफ्नै छ । स्टिल, सिमेन्ट, प्लास्टिक, चिनी, धागो, कपडा उद्योग, हाइड्रोपावर, स्कुल, अस्पताल, चिया, मिडिया उद्योगलगायत सबैमा स्वदेशी लगानीकर्ताको बर्चस्व छ । स्वदेशी उद्योगीले एक किसिमको छाप नै छाडेका छन् । यतिसम्म कि स्वदेशी उद्योगले उत्पादन गरेका कतिपय ब्रान्ड विश्व बजारमा पुगेका छन् । नेपाली उत्पादनले नेपालको शान बढाएका छन् । उदाहरणको रुपमा गोल्डस्टार जुत्ता, वाईवाई चाउचाउ, शेर्पा गार्मेन्ट, हिमालयन जाभालाई लिन सकिन्छ । ती सबै नेपाली ब्रान्ड स्वदेशीले बनाएका हुन् । यसबीचमा सशस्त्र द्वन्द्व भयो । त्यो अवधिमा उद्योगहरु जुन गतिमा अघि बढ्नुपर्ने हो, त्यो भएन । र, त्यो बेला विदेशी लगानी आउन ठप्पप्रायः भयो । राजनीतिक अवस्था यस्तो हुँदाहुँदै पनि यहाँसम्म आउँदा निजी क्षेत्रको क्षमता छ है भन्ने प्रमाणित भइसकेको छ । अरुभन्दा हाम्रा निजी क्षेत्रका उद्योगहरु क्षमतावान छन् भन्ने देखियो । हो, हामीसँग क्षमता कम छ । देशमा पुँजीको अभाव छ । लगानीयोग्य पुँजी छैन । स्वदेशी लगानीकर्ता जोखिम मोल्न तयार छन् र सक्छन् पनि । प्रविधि पनि भित्र्याउन सक्छन् । लगानी गर्न पनि तयार हुन्छन् । तर पुँजीको अभाव छ । यसले उद्योगी, व्यवसायीलाई ठूलो समस्या बनाएको छ । देशमा प्रविधिको अभाव देखिँदैन, जनशक्तिको पनि खासै अभाव छैन । बजार पनि छ, तर अभावै भनेको पुँजीको हो । विदेशी लगानीकर्ता नेपाल आउन चाह्यो भने सबैभन्दा पहिला उसले स्वदेशी उद्योगी, व्यवसायीसँगै देशको वातावरण बुझ्छ । स्वदेशी लगानीकर्ता बलियो भयो भने उसले विदेशी ल्याउन सहयोग गर्छ । देशभित्र उद्योगी छैनन् भने विदेशी लगानीकर्ता आउँदै आउँदैन । हाइड्रो, सिमेन्ट उद्योगमा स्वदेशीकै कारण विदेशी लगानीकर्ता आएका हुन् । स्वदेशी लगानीको महत्व स्वदेशी उद्योगीले उत्पादन गरेको नाफा बाहिर जाँदैन । हामी आफैं बाहिर जान नसक्ने अवस्था भएकाले स्वदेशी पँुजी स्वदेशमै रहन्छ । हामीलाई स्वदेशमै लगानी गरौं भन्ने इच्छा हुन्छ । विदेशी लगानी आयो भने नाफा सबै बाहिर लग्ने हो । उदाहरणको रुपमा खिम्ती जलविद्युत् आयोजनालाई लिन सकिन्छ । उसले यहाँ लगानी गर्यो, नाफा पनि लिएर गयो । त्यति बेला हामीलाई लगानी आवश्यक थियो । नाफा पनि राम्र्रै गर्यो । पैसा सबै लिएर बाहिर गयो । थप लगानी गरेन । स्वदेशी लगानीकर्ताले नाफा गरेको अवस्थामा लगानी नेपालमै हुन्थ्यो । बाहिर जाने अवस्था हुँदैन । स्वदेशी उद्योगीलाई आफ्नो देशको माया हुन्छ, जसले गर्दा यहीँ लगानी गरौं भन्ने हुन्छ । र, अर्को कुरा स्वदेशी उद्योगीले सरकारसँग धेरै माग, बार्गेनिङ गर्दैनन् । विदेशी उद्योगीले स्वदेशीको तुलनामा बढी माग गर्छन् । र, सरकारले पनि विदेशी लगानीकर्तालाई बढी माया गर्ने गरेको पाउँछौं । उसको कुरा सबैभन्दा पहिला सुनुवाइ हुन्छ । स्वदेशी लगानीकर्ताको कुरा सुनिदैन । जबकि हुनुपर्ने उल्टो हो । म के भन्छु भने– बढी नदिऊँ तर, घटी पनि नदिऊँ । विदेशी लगानीकर्ताले सबै नाफा लिएर जान्छ । अर्को विदेशी लगानीमा खुलेका उद्योगको उत्पादन लागत महँगो हुन्छ । उद्योगलाई चाहिने प्रविधि र सामग्री प्रायः विदेशबाटै आउँछ । ठूला ठूला म्यानेजरहरु सबै विदेशबाटै लिएरै आउँछन् । त्यसैले मुलुकका लागि स्वदेशी लगानीकर्ता नै फाइदाजनक हुन्छ । यसको अर्थ विदेशी लगानीकर्ता चाहिँदैन भन्न खोजेको होइन । हाम्रो उद्योगको क्षमताभन्दा बाहिरको क्षेत्रमा विदेशी लगानीकर्ता चाहिन्छ, ल्याउनु पर्छ । हवाईजहाज बनाउनुप¥यो भने हामीसँग पुँजी, प्रविधि केही छैन । विदेशी नै ग्ुहार्नु पर्छ । यस्तै, पाँच सय मेगावाटभन्दा माथिको जलविद्युत् आयोजना बनाउनुप¥यो भने विदेशीलाई नै बोलाउनुपर्छ । किनकि पैसा उनीहरुसँगै छ । यस्ता कतिपय उद्योगमा विदेशी लगानी चाहिन्छ । तर स्वदेशी लगानीकर्तालाई पनि राज्यले ग्राह्यता दिनुप¥यो भन्न खोजेको हो । नेपाली उत्पादनहरु विदेशी बजारमा पुगिरहेका छन् । त्यो उत्पादन कहाँको हो भन्दा नेपालकै हो । कतिपय ब्रान्डले एम्बेडरको काम गर्छ । जस्तो हिमालयन जाभाले नेपालको कफीलाई परिचित गराएको छ । यस्ता कतिपय ब्रान्डले देशको प्रतिनिधित्व गर्छन् । गोल्टस्टार जुत्ता अन्तर्राष्ट्रिय स्तरमा ब्र्रान्डको रुपमा उपस्थित छ । यस्ता ब्रान्डले धेरै कुरामा सहयोग गरेको हुन्छ । र, विदेशी लगानीकर्ता नेपाल आउन चाहेमा सबैभन्दा पहिला उसले स्वदेशी उद्योगी, व्यवसायीसँगै देशभित्रको वातावरण बुझ्ने हो । त्यसैले विदेशी लगानीकर्ता आकर्षित गर्न पनि स्वदेशी लगानीकर्ता बलियो हुनुपर्छ । स्वदेशी लगानीकर्ता बलियो भयो भने उसले विदेशी लगानीकर्ता ल्याउन सहयोग गर्छ । देशभित्र उद्योगी छैनन् भने विदेशी लगानीकर्ता आउँदै आउँदैन । हाइड्रोमा स्वदेशी लगानीकर्ताले सुरु गरेपछि मात्रै विदेशी आएका हुन् । सिमेन्ट उद्योगमा पनि त्यस्तै हो । यस्ता उद्योगमा कोही न कोही लोकल साझेदार भएकै छन । अर्को महत्वपूर्ण कुरा, स्वदेशी पुँजी स्वदेशमै रहन्छ । हामी जस्ता स्वदेशी लगानीकर्ताले त्यति हाइफाई गर्दैनौं । र, अर्को कुरा विदेशी लगानीकर्ता के के उद्देश्यले आएका छन्, त्यसलाई कसरी विश्वास गर्ने ? उद्योग व्यवसाय मात्रै गर्न आएका छन् कि अरु कुनै उद्देश्य लिएर आएका छन् ? विदेशी उद्योगी, व्यवसायी आज यहाँ छ भोलि केही गडबड गर्यो भने बाहिर गइहाल्छ । त्यसैले विदेशी लगानीकर्ता भित्र्याउन पनि स्वदेशी लगानीकर्ता चाहिन्छ । विदेशी लगानीकर्ता के के उद्देश्यले आएका छन्, त्यसलाई कसरी विश्वास गर्ने ? उद्योग व्यवसाय मात्रै गर्न आएका छन् कि अरु कुनै उद्देश्य लिएर आएका छन् ? विदेशी उद्योगी, व्यवसायी आज यहाँ छ भोलि केही गडबड गर्यो भने बाहिर गइहाल्छ । त्यसैले विदेशी लगानीकर्ता भित्र्याउन पनि स्वदेशी लगानीकर्ता चाहिन्छ । जुन क्षेत्रमा स्वदेशी लगानीकर्ताले सफल रुपमा काम गरिराखेका छन्, त्यस्ता क्षेत्रमा विदेशी लगानी आवश्यक हो वा होइन भन्ने सोच्नुपर्ने बेला आएको छ । त्यतिमात्रै होइन, जहाँ विदेशी लगानी आवश्यक हुन्छ त्यहाँ मात्रै लगानी गर्ने गरी छुट्ट्याइदिनु पर्छ । विदेशी लगानीकर्तासँग पर्याप्त मात्रामा पुँजी हुन्छ । उनीहरु केही वर्षसम्म घाटा खाएर पनि व्यवसाय गर्न सक्छन् । तर विदेशी लगानीकर्तासँग स्वदेशी लगानीकर्ताले प्रतिस्पर्धा गर्न सक्दैन । र, स्वदेशी लगानीकर्ता त्यहाँबाट पलायन हुन्छन्, त्यसपछि विदेशी लगानीकर्ताको राज चल्छ । स्वदेशी लगानीकर्ताको चुनौती नेपालमा लगानीका धेरै ठूला चुनौतीहरु छन् । मुलुकमा यसअघि द्वन्द्व थियो त्यसबाट देश मुक्त भयो । त्यसपछि १८–१८ घन्टा लोडसेडिङको समस्या थियो, त्यो सबै हट्यो । मजदुर ट्रेड युनियनको समस्या थियो । त्यो करिब करिब हल भएको अवस्था हो । पहिला लाइसेन्स राज थियो त्यो सबै हट्यो । अहिलेको ठूलो समस्या पुँजीको अभाव नै हो । बैंकहरुसँग लगानी गर्न लगानीयोग्य पुँजी छैन । त्यसैगरी, अहिले कानुनी अड्चन बढ्दै गएका छन् । तीन तहको सरकार अर्को चुनौतीको रुपमा देखापरेको छ । उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । अहिले पनि मुनाफाखोरको दृष्टिकोणले हेरिन्छ । त्यो सबैभन्दा ठूलो समस्या हो । अहिले पछिल्लो समय राजनीतिक दल, सरकारी कर्मचारी, आम जनतामा उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा थोरै परिवर्तन त आएको छ । तर जति परिवर्तन हुनुपर्ने हो, त्यो हुन सकेको छैन । सरकारी नियम कानुनको अधीनमा रहेर व्यापार व्यवसाय गरेर कमाइ गरेको छ भने हेर्ने नजरियामा परिवर्तन आउनु पर्छ । त्यसैगरी, अहिले उद्योगी व्यवसायका निम्ति कानुनी स्पष्टता नै छैन । अन्तर मन्त्रालयबीच एकआपसमा समन्वय छैन । अदालतमा धेरै बोझ छ । न्याय सम्पादन ढिलो छ । सरकारले उद्योगी, व्यवसायीलाई सहज हुनेभन्दा ठूलो मात्रामा मासलाई खुसी पार्ने गरी काम गर्नुपर्छ भन्ने सोच राखेको छ । उद्योगी, व्यवसायीलाई दुःख दिएमा ठूलो मास खुसी हुन्छ भन्ने गरी हेरिन्छ । यसले गर्दा कताकता उद्योगी व्यवसायलाई निरुत्साहित बनाउँछ कि जस्तो लाग्छ । त्यसैगरी, सरकारले आर्थिक अपराधलाई नै सबैभन्दा ठूलो अपराध मानेको छ । आर्थिक अपराध गर्नेबित्तिकै जेलमा हाल्न थालियो । मान्छे मारेर गएकालाई जमानतमा छुट वा अन्य केही प्रावधानबाट छुट्न सकिएला । तर आर्थिक अपराध गरेको व्यवसायी छुट्दै छुट्दैन । उद्योगी, व्यवसायीको सबैभन्दा ठूलो बिडम्बना यही हो । हामीलाई जमानतमा छुट्ने व्यवस्था नै छैन । भारतमा उद्योगी, व्यवसायीलाई समाउन थाल्यो भने पहिल्यै अग्रिम जमानत लिएर आउँछन् मान्छेहरु । भारतमा उद्योगी, व्यवसायीलाई जेलमा हालेर कारवाही गर्ने परिपाटी एकदमै कम छ । भारतले आफ्नो राजस्व छोड्ने पनि होइन । आर्थिक अपराध गरेको व्यवसायीलाई जेलमा हाल्यो भने राजस्व डुब्न सक्छ । यस्तो प्रावधानले व्यवसायी डुब्ने भएकाले असुल गर्ने तरिका त्यो होइन । हामी जस्ता व्यापारीले आफ्नो डिलरलाई घाटा लागेको छ भने त्यसलाई थोरै सहयोग गरेर उकास्नु पर्छ । उसलाई माथि उकास्ने प्रयास गर्छौं पनि । पुरानो, नयाँ सबै पैसा आइहाल्छ भन्ने आस हुन्छ । त्यसैगरी, सरकारले पनि वैकल्पिक उपाय अपनाएर अघि बढ्न सक्छ । तर आर्थिक अपराध गरेका उद्योगी, व्यवसायीलाई जेलमा राख्दा उसको व्यापार, व्यवसाय पनि डुब्ने र राज्यले पाउनुपर्ने कर पनि नउठ्ने सम्भावना हुन्छ । अर्को चुनौती भनेको दक्ष कामदारको अभाव हो । अहिले दक्ष कामदार पाउनै मुस्किल छ । दक्ष पाए पनि अनुभवी कामदार पाउन कठिन छ । हाम्रो सीमित मार्केट भएको कारणले सीप नै बढाउन सकेनौं । अर्को चुनौती कमजोर भौतिक पूर्वाधार नै हो । बाटोघाटो पुलपुलेसा लगायत भौतिक पूर्वाधारमा समस्या छ । वीरगन्जदेखि काठमाडौंसम्मको दुरी दुई सय किलोमिटर जति होला । अहिले प्रतिकेजी भाडा दुई रुपैयाँभन्दा बढी पर्छ । यसको अर्थ ढुवानी खर्च एकदमै बढी छ । जबकि कोलकाता–वीरगन्जको दुरी सात सय किलोमिटरभन्दा बढी छ । तर त्यहाँबाट वीरगन्ज सामान ल्याउँदा प्रतिकेजी दुई रुपैयाँ ५० पैसा मात्रै ढुवानी खर्च लाग्छ । त्यसैले स्वदेशी लगानीकर्ता भनेका देशका अभिन्न अंग हुन् । उनीहरुको सहभागिताबिना सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्दैन । त्यही भएर स्वदेशी पुँजी र स्वदेशी लगानीकर्तालाई थप प्रोत्साहित बनाउन राज्यले आवश्यक कदम चाल्नु आजको आवश्यकता हो । ( मुरारकाकाे विचार अर्थनीतिबाट साभार गरिएकाे हाे )
बाख्रा पालनः यस्ता छन् सुधारका उपाय
परिचयः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेको छ । विशेष गरी तराई र पहाडमा गरीब कृषकहरू ३ देखि ४ वटा बोका बाख्राहरू पालेर गरी जीविका चलाई रहेका हुन्छ । तिनीहरूले बोकालाई खसी बनाएर, तथा पाठापाठी बिक्रीगरी आफ्नो गर्जो टार्ने गर्दछ । बाख्रालाई गरीवको गाई पनि भनिन्छ । तराई मधेशमा बाख्राहरू प्रायःखुल्ला चरीचरणमा, परम्परागत तथा अव्यवस्थित तरीकाले पालनगर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकि रहेको अवस्था छैन । परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नभएकोले बाख्रालाई थप तनाव हुनगई बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने गरेका छन् । प्रायः तराई मधेशमा बाख्रालाई बर्षा र शितलहरीले विभिन्न किसिमका रोगहरू लागेर मृत्यू हुने गर्दछन् । यस परिप्रेक्ष्यमा बाख्राकोे खोर सुधार गरी जलवायु समानूकुलित खोरनिर्माण अति आवश्यक रहेको छ । बाख्राको खोर बनाउँदा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन हुने समेत देखिएको छ । महत्वः बाख्राकोे खोर सुधार गर्दा जलवायु परिवर्तनको असर न्यून गर्न सकिन्छ । बाख्राकोे उत्पादनका महत्वपूर्ण ४ खम्बाहरू (खोर, नश्ल, आहारा र स्वास्थ्य) मध्ये खोर व्यवस्थापन प्रमुख हुन् । परम्परागत खोर अँध्यारो, सूर्यको प्रकाश नपर्ने, चिसो भएकोले उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धिविकास तिब्र भई बाख्राहरू बिरामी भई रहन्छ । हावा नखेल्ने खोर बाफिलो, दिसा पिसावले दुर्गन्धित र चिसो हुने भएकोले श्वास प्रश्वास संबन्धि रोग (निमोनिया)ले बाख्राहरू विरामी पर्ने गर्दछन् । डा.श्रीभगवान् ठाकुर सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको निर्माण हुन्छ । खोरसुधारले बाख्राकोे सोत्तर, बडकौला र मूत्र व्यवस्थापन हुने र घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिना जस्ता तनावलाई घटाई र मौसमी तनावले हुन जाने रोगव्याधिमा कमी हुन्छ । यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहारको प्रभावकारीता बढ्ने हुन्छ । फलःस्वरूप बाख्राकोे उत्पादनमा वृद्धि गर्न सकिन्छ । ठाउँको छनौटः खोर ओभानो, सुखा तथा पानी नजम्ने खालको उच्च, समथर र कम्तीमा दिनमा ५–६ घण्टा सूर्यको प्रकास पर्ने, जोडसँग हावा नचल्ने तर हावाको आवागमन राम्रो भएको ठाउँको छनौट गर्नु पर्दछ । खोरको लागि आवश्यक क्षेत्रफलः सुधारिएको खोरको आवश्यक लम्बाई चौडाई तथा उँचाईको विवरण तल उल्लेख गरिएको छ । सुधारिएको खोरको नमूना खोर निर्माण गर्दा प्रति वयस्क बाख्राको लागि सरदर ६ वर्ग फिट ठाउँको आवश्यक्ता पर्दछ । खोरमा स्थानीय सामग्रीहरू काठ बाँसहरू प्रयोग गर्नु पर्दछ । खोर निर्माण गर्दा पहाडमा दक्षिण वा पूर्व र तराई मधेशमा उत्तर पश्चिम मोहडा पारी बनाउनु पर्दछ । खोर बनाउँदा चित्रमा देखाए अनुसार जमीनबाट ३ फिटको उचाईमा, ७ फिट लम्बाई र ६ फिट चौडाईको खोर बनाउदा सुहाउँदो हुन्छ । खोरको भूईंक्षेत्र निर्माण विधिः खोरको भूँईक्षेत्र कडा, पानी नजम्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नु पर्दछ । त्यसको लागि सेमेन्ट, गिटिबाट ढलान गरेर वा ईटा छपाएर वा ढूँगा छपाएर वा चिम्टयाईलो माटोले खोरको भूईनिर्माण गर्नु पर्दछ । खोरको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ३ प्रतिशतको भिरालो बनाएर पाईपको माध्ययमले पिसाव जम्मा हुने खाल्डोमा पुर्याउनु पर्दछ । जस्ले गर्दा भुई सफा हुनुका साथै मिथेन ग्यासको उत्सर्जन भई दुर्गन्ध हुदैंन । खोरको टाँड निर्माण विधिः खोरको टाँड बनाउँदा आधा ईन्चको फरकमा काठको २ ईन्च चौडाई र आधा ईन्च मोटाईको फल्याक वा बाँसको भाटा बनाई किलाले ठोक्नु पर्दछ । यस्तो टाँड बनाई बाख्रापालन गरेमा कक्सिडियोसिस तथा फिते जुका कमलाग्ने गर्दछ । साथै १०–२० प्रतिशत मृत्यूदर घटेको पाईएको छ । गर्मीको तनाव घटाएर जिउँदो वजन ६०–७० ग्राम देखि ७८–८६ ग्राम प्रतिदिन बढोतरी हुन सक्दछ । खोरको छाना निर्माणः छाना बलियो टिकाउ पानी नचुहिने, तापक्रमको कुचालक तथा आकर्षक हुनु पर्दछ । छाना पानी नथामिने भिरालो हुनु पर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ । छाना खर तथा २५–२६गेजको वा ०.३२ एम.एम. जी. आई. जस्ताको हुनु पर्दछ । भिरालो छाना भएको खोरमा अग्लो भागतिर पर्खालको उँचाई ६ देखि ६.५फिट र बलेनीतिर ५ फिट उचाईको पर्खाल बनाउनु पर्दछ । गर्मीबाट बचाउन सकभर खरको छाना प्रयोग गनर्् पर्दछ अथ्वा जस्ता पाताका छाना भए माथिबाट खर १ईन्च बाक्लो गरी खर ओछ्याउनु पर्दछ । बढी तापक्रम हुने स्थानमा अर्धसधन विधि अर्थात आधाखुल्ला आधाबन्द विधिवाट बाख्रापाल्नु पर्दछ । पर्खाल क्षेत्र र भेन्टिलेशनः खोरको पर्खाल मजबुत अर्थात बलियो हुनु पर्दछ । छेउको पर्खालमा ५ फिटसम्म काठको फल्याक वा बाँसको टाटी लगाएर माथि बाँकी भाग हावा आवागमनका लागी जाली वा सानो द्मयाल लगाउनु पर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनु पर्दछ । चित्रमा देखाए अनुसार अग्लो पर्खालपट्टि १.५ फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनको लागि झयाल बनाउनु पर्दछ । उच्च पहाडमा बाख्राको खोरलाई अग्लो बनाउनु हुदैंन । जाडोयाममा चिसोबाट बचाउन चित्रमा देखाए जस्तै ज्टको बोरा वा प्लाष्टिकले खोरलाई राती ढाक्नु पर्दछ र दिनमा घाम परेको बेला दोबारेर खोल्नु पर्दछ । गर्मीयाममा तातो हुन नदिन द्मयाल तथा भेन्टिलेशन खोलेर राख्नु पर्दछ । खोरको ढोकाः खोर बनाउँदा ५ फिट फराकिलो र ३.३३ फिट उँचाईको ढोका बनाउनु पर्दछ । ढोका काठ वाबाँसको भरयाङ्ग हुने किसिमको माथिबन्द गर्ने खालको बनाउनु पर्दछ । घाँस झुन्ड्याउने विधिः खोर बनाउँदा खोर भित्र बीचमा ३.३३ मिटर उचाई भएको बाँस वा काठको लठीको क्रस गरी घाँस राख्ने टाट्नो जस्तो बनाएर घाँस राखी खुवाउनु पर्दछ वा स्थानीय बुनेको जुट वा प्लाष्टिकको ठुलो प्वालभएको जालीमा राखी घाँस खुवाउनु पर्दछ जसले घाँस खेर नगई बढी सदुपयोग हुन्छ । पानीको व्यवस्थापनः बाख्राको लागि सफा, गन्ध नभएको, आरसेनिक नभएको पानी खुवाउनु पर्दछ । मल राख्ने खाडलः एक वयस्क बाख्रोबाट प्रतिवर्ष १३८ किलोसम्म बडकौला मल प्राप्त हुन्छ । बडकौलामा भएको पोषक तत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध आउन नदिन खोरभन्दा अलि टाढा मल राख्नु पर्दछ । १० फिटलम्बाई ३.३३ फिट चौडाई र ३.३३ फिट गहिराईको खाल्डो बनाउनु पर्दछ । प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउँछ । अमोनिया तथा मिथेन ग्याँस उत्सर्जन हुन नदिन हप्ताको दुई पटक खोरमूनिबाट बडकौला तथा पिसाव सफा गरी खाल्डोमा राख्नु पर्दछ । चुना छर्किनेः बाख्रामा लाग्ने विभिन्न रोग तथा कीरालाई व्यवस्थापन गर्न खोरको टाँडमा हप्ताको एक पटक चुन पाउडर छर्नु पर्दछ । निश्कर्षः जलवायु परिवर्तनले बाख्राको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन प्रादेशिक सरकार एवं स्थानीय तह गाउँपालिका र नगर पालिकाले बाख्राको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ । (-मधेश दर्पण फिचर सेवाबाट)