महिलाहरुको पेट नचिरि शल्यक्रिया गर्ने नयाँ प्रविधि र त्यसका फाइदाहरु- डा. रंगिना शाह 

डा. रंगिना शाह पाठेघर बाहिर नली, डिम्बासय, पेट र पहिला अप्रेशन गरेको पाठेघरको घाउमा गर्भ रहेको अवस्थालाई इक्टोपिक प्रेग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी प्राय जसो महिनावारी रोकिएको दुईदेखि चार हप्तामा थाहा पाउन सकिन्छ । यस प्रकारको गर्भावस्थामा बच्चाको आकार बढ्दै जाँदा नली अथवा डिम्वाशय फुटेर महिलाको ज्यान समेत जाने सम्भावना रहन्छ । कम उमेरका महिलाहरुमा यस प्रकारको गर्भ बस्ने सम्भावना रहन्छ । १६-२० र ३५-४० वर्ष उमेर समूहका महिलाहरुमा इक्टोपिक प्रिग्नेन्सी हुन सक्ने अनुसन्धानले समेत बताएको छ । पाठेघरमा संक्रमण, परिवार नियोजनको साधन जस्तोः कपरटीको प्रयोग, टेष्टट्युव बेबी उपचार गर्ने र पहिला इक्टोपिक गर्भ भएका महिलाहरुमा पुनःइक्टोपिक प्रिग्नेन्सीको समस्या देखिने सम्भावना रहन्छ । इक्टोपिक प्रिग्नेन्सीको उपचार ल्याप्रस्पोपिक दुर्बिन प्रविधिबाट विना समस्या सजिलै गर्न सकिन्छ । यो पेट चिरेर शल्यक्रिया गर्ने जस्तो पुरानो प्रविधि होइन । यसमा शल्यक्रियाको आवश्यकता छैन । अत्यन्त लाभदायक तरिकाले ल्याप्रोस्कोपिक सर्जरी गरेर समस्याबाट छुट्कारा दिलाउन सकिन्छ । ल्याप्रस्कोपिक दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्दा चिरेर गरिने शल्यक्रियाको जस्तो नली वा डिम्बासय फाल्नुपर्ने अवस्था धेरै कमैमा हुन्छ । ल्याप्रस्कोपिक दुर्बिनको माध्यमबाट फुटेको नली वा फुटेको डिम्बासय फ्याल्नुपर्ने जरुरत पर्दैन । यसका साथै नली अथवा डिम्बासयलाई सिलाएर नयाँ बनाउन सकिन्छ । यो महिलाहरुका लागि एउटा महत्वपुर्ण फाइदा जनक उपचार प्रविधी हो । नेपालमा इक्टोपिक प्रेग्नेन्सीका कारण उच्च रक्तचाप भएर एकदमै जटिल अवस्थामा अस्पताल आइपुग्ने महिलाहरुमा ल्याप्रस्पोपिक दुर्बिन प्रविधिको उपचार निकै प्रभावकारी सावित भएको छ । त्यसैले हरेक महिलाले महिनावारी रोकिएर गर्भ बसेको शंका लाग्ने बित्तिकै स्त्रीरोग विशेषज्ञसँग जाँच गराएर गर्भ बसेको ठाउँ पत्ता लगाउनुपर्छ । विकसित देशहरूमा अधिकांश रोग पहिचान र उपचारको लागि ल्याप्रोस्कोपी प्रविधी प्रयोगमा छ । तर, नेपालमा भने यो प्रविधी भित्रिएको धेरै समय भएको छैन । नेपालमा पनि ल्याप्रोस्कोपी प्रविधीको प्रयोग बढाउन सके यसबाट धेरै नेपालीले उत्कृष्ठ सेवा पाउनेछन् । ल्याप्रोस्कोपी प्रविधीबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर डा. रंगीना शाह यसो भन्छिन् : नेपालका केही अस्पतालहरूले स्त्रीरोगको पहिचान र उपचारमा यो प्रविधी प्रयोगमा ल्याइसकेका पनि छन् । ल्याप्रोसकोपी भनेको धेरै चीरफार नगरी दुरबिनबाट गरिने सर्जरी (शल्यक्रिया) हो । ल्यप्रोसको विधीबाट स्त्रीहरूमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ । सामान्य शल्यक्रियाभन्दा कम समय, कम दुखाई हुन्छ । साथै अन्य धेरै दृष्टिबाट यो प्रविधी उपयुक्त मानिन्छ । जहाँ दुखेको हो वा सम्भावित स्थानमा सानो प्वाल पारिन्छ र दुरबिन छिराई त्यहि अंगको अवस्था हेरी उपचार गरिन्छ । यस प्रविधिका फाइदाहरू : पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा १० सेन्टीमिटर चिर्नुपर्छ भने, यो प्रविधिबाट एक सेन्टीमिटर । दुखाई कम हुने । रगत कम बग्ने । घाउ छिटो निको हुने । अस्पतालमा धेरै समय बस्नु नपर्ने । बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने । ल्याप्रोसकोपीबाट सहज उपचार हुने रोगहरू : पाठेघरबाट धेरै रगत बगेमा । पाठेघरमा ट्युमर पलाएमा । बच्चा पाठेघरको नलीमा बसेमा । डिम्ब नलीमा ट्युमर पलाएमा । पुरानो प्रविधी र यो ल्याप्रोसकोपीको अन्तरः पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ । छालाको २र३ तह चिर्नुपर्ने हुन्छ । तर, ल्याप्रोसकोपीबाट शल्यक्रिया गर्दा एकसेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धीत स्थानको अबस्था हेरिन्छ र आधा आधा सेन्टीमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ । ल्याप्रोसकोपी प्रविधी निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यसबारे केही भ्रम छन् । महंगो छ, रोग निदन हुन लामो समय लाग्छ, एकपटक रोग निको भएपनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन । यो पुरानो पद्धतिबाट शल्यक्रिया गरे जत्तिनै मात्र पैसा लाग्छ । रोग पनि छिटो निको हुन्छ । हरेक दृष्टिले यो उपचार पद्धति उत्कृष्ठ छ । (डा. शाह अल्का हस्पिटलकाे स्त्री तथा प्रशुति विशेषज्ञ एवं ल्याप्रो स्कोपिक सर्जन हुन् ।)

साग बेच्नेसँग कर उठाएर देश विकास गर्ने सरकारको यो कस्तो नीति ? ज्ञानेन्द्रलाल प्रधान

राज्यले के गर्नका लागि कर उठाउँदै छ भन्ने कुरा सबैले बुझनुपर्छ । कर राज्य सञ्चालनको लागि हो कि विकासका लागि । विकासका लागि हो भने करबाट उठेको रकम मात्र प्रयाप्त हुदैंन । नेपालको विकास गर्न एसियाली विकास बैंक (एडिबी), विश्व बैंक र छिमेकी देशहरुबाट सहयोग लिनुपर्छ । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिइरहेको छ । स्थीर अर्थतन्त्र निर्माणका लागि हामी सबै सचेत हनुपर्छ । उदाहरणका लागि सडकमा बसेर साग बेच्नेलाई कर । साग बेच्ने व्यक्ति आफैंमा गरिब हुन्छ, उसले आफ्नो परिवारको लागि खान लाउन पुर्याउन समेत सकेको छैन । २५ रुपैंया मुठामा बेच्ने सागमा कर लगाएर कति रकम उठ्छ ? यसबाट वार्षिक २० लाखदेखि ३० लाख रुपैयाँसम्म उठ्ला । यति रकमले के हुन्छ यहाँ ?यसले देशको विकास गर्छ ? यदि गर्छ भने त्यो पनि एक पटक सोचौं । स्थानीय करले गर्दा सरकारलाई धेरै अप्रिय बनाइराखेको छ । गरिब निमुखाको गाँस खोस्ने काम सरकारको होइन । कर उठाउनु पर्छ । कर विना मुलुक अघि बढन सक्दैन् । धेरै कर उठाउन अर्बौ रुपैयाँ लगानीमा उद्योग खोल्ने वातावरण बनाउनुस न । किन सागमा कर लगाउनु पर्यो ? चीनमा लसुन र स्याउमा ३७ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । किनभने चीन आफैंमा धनि देश हो । यो नेपालको लागि सम्भव छैन राज्य गरिब छ । मेरो जलविद्युत आयोजनालाई गाँउ पालिकाले १० लाख रुपैंमा कर तिर्न चिठ्ठी लेख्यो । मैले भने म कर तिर्न तयार छु । पहिलेको व्यवस्थामा विधुत विकास विभागलाई कर तिर्नु पथ्र्यो । यसरी तिरिएको कर ४० प्रतिशत विद्युत र ६० प्रतिशत गाविसमा जान्थ्यो । तर अहिले कर लिने प्रणाली पुरै अन्योलमा छ । सरकार पुरै सतेर बसेको छ । यो समस्याको समधानका लागि तत्काल अर्थमन्त्री युवराज खतिवडाले प्रदेश अर्थमन्त्रीहरुलाई बोलाएर छलफल गर्नुपर्छ । राज्य सञ्चालनको लागि पक्कै कर आवश्कयक पर्छ । तर दीर्घकालिन कर प्रणालीको विकास गर्नुपर्छ । ताकी निमुखा जनतासँग कर लिने अवस्था नआओस् । राज्यलाई दुई कामको लागि पैसा आवश्यक पर्छ । राज्य सञ्चालन र देश विकासका लागि तर राज्य नै दुबिधामा छ । कसरी कर उठाउने भनेर, हामी ७ वटै प्रदेशमा करको विषयमा कुरा गर्न गयौ । यसबाट हामीले के पायौ भने कर बढाएपछि राज्यको विकास हुन्छ भने मान्याता रहेको छ तर यो असम्भव । हामीलाई देश विकासको लागि धेरै पैसा चाहिएको छ सो रकमले पुर्वाधार विकासमा माखो मार्न सक्दैन । उदाहरणको लागि भारतबाट रेल ल्याउने भनिएको छ, चीनबाट रेल ल्याउने भनिएको छ, पानी जहाज किन्ने भनिएको छ र निजगढ विमानस्थल बनाउने भनिएको छ । यसको लागि अर्बौ होइन खर्बौ रकम आवश्यक पर्छ । यसरी गरिब जनतालाई कर लगाएर धेरै पैसा उठाउन सकिदैन किनभने हाम्रो देशको नागरिकको त्यो आर्थिक विकास भएको छैन । सबैभन्दा पहिले प्रदेश सरकारले के प्रयोजनको लागि पैसा आवश्यक परेको हो सो कुराको निर्णय गर्नुपर्छ । पक्कै पनि प्रदेश सरकारका लागि राज्य सञ्चालनकै लागि पैसा आवश्यक पर्ने हो । यसको लागि पनि प्रदेश सरकारले कसरी कर लगाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्नुपर्छ । अध्ययन बिना कर प्रणाली लागू गरेर दिगो बन्न सक्दैन । कर दुई प्रकारले लगाइन्छ एउटा उत्पादनमा अर्को नाफा गरेको रकममा । यदि मैले पैसा कमाएको छु भने मैले कर तिर्नै पर्छ । किनभने नपालमा कर धेरै पुगेको छैन विकसित देशमा जस्तो । अहिले विकसित देशका जनताले ४५ देखि ६० प्रतिशतसम्म कर तिरिरहेका छन् । यसमा नागरिकले सरकारलाई विस्वास गरेका छन् । सरकारले पनि नागरिकलाई आवश्यक सेवा सुविधाहरु प्रदान गरको छ । यसकारण सरकारले वृहत छलफल गरेर मात्र कर प्रणाली लागू गर्नुपर्छ । यसमा सरकारले पनि खर्च कम कसरी गर्ने भनेर सोच्नु पर्छ । खर्च कम गर्ने मामिलामा भने म अर्थमन्त्री खतिवडालाई स्यालिउट भन्न चाहान्छु । कर्मचारीको पेन्सनको सुविधा दिनै पर्ने हो । एउटा कर्मचारीले आफ्नो जिवनभर राज्यको लागि सेवा गरको हुन्छ । तर यसले वार्षिक भार ४५ अर्ब रुपैयाँ भन्दा बढी पर्न जान्छ । साढे ४ वर्षमा यो रकम डबल भएर जान्छ र १५ वर्षमा यसले अर्थतन्त्रमा ठूलो असर पर्न जान्छ । यसरी अब पेन्सनलाई समर्थन गर्ने कि राज्यलाई बचाउने । खतिवडाले साउन १ देखि पेन्सनलाई रोक्नु भयो । यसैगरी राष्ट्रपति कार्यालय र भन्सारमा काम गर्ने कर्मचारीलाई दिने भत्ता रकममा व्यापक कटौती गर्नुभयो । यसबाट ६ अर्ब जोगिएको छ । मलाई लाग्छ यस्तो राम्रो उदाहरण प्रदेशमा पनि जानुपर्छ । कम्तीमा करबाट प्रदेश सञ्चालन हुनुपर्छ, अनावश्यक खर्च कटौती हुनुपर्छ । अहिलेको कर प्रणलीलाई सन्तुलन गर्ने कुनै मापदण्ड बनेको छैन यसले भ्रष्ट्राचारलाई टेवा दिने देखिन्छ । भ्याटको प्रतिशत बढाउँदा हामीलाई समस्या होइन तर उद्योग कुन गतिमा अघि बढीरहेको छ । सरकारले यसको पनि मूल्याङकन गर्नुपर्छ । (प्रधानले राखेको विचारमा आधिरित)

बसेर पूजा गर्नु, भाँडा माझ्नु र सुकुलमा बसेर खाना खानु मेरुदण्ड दुखाईको मुख्य कारण

मेरुदण्डको दुखाई समस्याबाट विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ । विश्वव्यापी रुपमा हेर्ने हो भने टाउको दुख्ने भन्दा पनि खतरानक दुखाई भनेको ब्याकपेन हो । हाम्रो देशमा यो रोगको अवस्था भयावह छ । किनभने मेरुदण्ड रोग र हाम्रो संस्कृतबीच प्रत्यक्ष सम्बन्ध रहेको छ । हाम्रोमा हरेक कुरा निहुरेर गर्ने चलन रहेको छ । कुनै पनि अङ्ग जसरी रहनुपर्ने त्यसरी नभएपछि त्यसमा दुखाई सुरु हुन्छ । मेरुदण्ड बाङ्गिने समस्यामा वृद्धवृद्धा मात्र होइन, बालबालिका समेत मेरुदण्ड बाङ्गिने समस्याबाट ग्रसित छन् । नेवारी संस्कृतिमा भुईमै बसेर भोज खानु पर्ने, बसेरै छलफल गर्ने चलन छ । धेरै बिरामीहरु यहाँ आउनुहुन्छ अनि भुँईमा बसेको २ घण्टा उठ्नै भएन भन्नुहुन्छ । तर शरीर नै नरहे कसरी गुठी रहन्छ ? बसेर पूजा गर्नुपर्ने, भाँडा बसेर माझ्नु पर्ने हाम्रो संस्कार छ । यसले मेरुदण्डको रोग निम्त्याएको हुन्छ । उठेर भाँडा धुने ठाउँ मात्र बनाईदिए सधैं धेरै नेपाली महिलाहरु मेरुदण्डको रोगबाट बच्न सक्नेछन् । भुईमा बसेर बाटा समातेको छ, भाँडा माझेको छ, लुगा धोएको छ । अन्तिममा तिनै महिलालाई मेरुदण्डको रोग हुने सम्भावना दुई गुणा बढी हुन्छ । त्यसैले हामीले हाम्रो संस्कृति नै बदल्नु पर्छ । यसको लागि हामीले मुख्य अभिभावक, विद्यार्थी र शिक्षकलाई समात्यौ भने उनीहरुले यसलाई परिवर्तन गर्न मुख्य भूमिका खेल्नेछन । ९०/९५ प्रतिशत मेरुदण्ड दुख्नुको कारण जीवनशैली नमिलाउदा देखिएको छ । पानी कम खाने कारणले मेरुदन्डको रोग लागिरहेको हुन्छ । लडेर, दुर्घटना भएर मेरुदण्डमा समस्या ल्याउँछ । टिभी, क्यान्सर, टिउमर यस्ता कारणले पनि मेरुदण्डमा समस्या आउँछ । मेरुदण्डको दुखाई उमेर बढ्दै गएपछि आफै बढदै जान्छ । बच्चाहरु र टिनएजभन्दा मुनि रहेको बच्चाहरुलाई ब्याक पेन हुन्छ । यस्तो हुनुमा मुख्य कारण भनेको दुर्घटना हो । तिनीहरुलाई फरक तरिकाले सम्बोधन गर्नुपर्छ । किनभने त्यो लाग्नुको कारण नै फरक छ । फरक उमेर समूहलाई फरक तरिकाले रोगको सम्बोधन गर्न जरुरी छ । कहिलेकाही जन्म दोषको कारणले हुन सक्छ । खानपानसँगको सम्बन्ध मेरुदण्ढमा लाग्ने रोगमा खानपानको पनि सम्बन्ध हुन्छ कालन्तरमा । तर मेरुदण्डका रोगहरु खानपानले नै तुरुन्तै पैदा गर्ने होइन । आज खायो र भोलि मेरुदण्डको दुखाई आउने भन्ने हुँदैन । खानपानले मेरुदण्डको रोग चाँही लगाउन सक्छ । सेतो भात, चिनी, बिस्कुट, चाउचाउ, पाउरोटी, डुनोट, माछामासु यी सबै हड्डी खियाउने तत्व हुन् । यसले रक्तको अम्लियता बढाउँछ । मान्छेको शरीरमा ८० प्रतिशत अल्कालाईन हुन्छ । त्यसलाई नियन्त्रण गर्न सकेन भने समस्या हुन्छ । विश्वव्यापी रुपमा र नेपालमा मेरुदण्डको स्थिति हेर्दा एकदमै भिन्न छ । विश्वको रिपोर्टहरु हेर्दा सबैभन्दा पहिला हड्डी खिईने घुडा र हिपको हो तर नेपालको सन्दर्भमा घुडाको अलिक पछि खिईन्छ, हिपको प्राय जस्तो खिईदै खिईदैन । नेपालको बढी खिईने भनेको गर्दनको हड्डी हो । म अहिले १०/११ बर्षको बच्चाको उपचार गरिरहेको छु । जसको गर्दनको हड्डी खिईएको छ । हाम्रो जीवनसैली पनि त्यस्तै रहेको छ र खानपान पनि त्यस्तै छ । सागपातले चिसो बनाउँछ, गेडागुडीले युरिक एसिड बढाउँछ भन्ने हामीमा भ्रम छ । सबैभन्दा बढी क्याल्सियम सागपात र गेडागुडीमा पाईन्छ । तिनै खानेकुरा खान हामी जोड गर्दैनौ । सिन्की, गुन्द्रुक, तोफु राम्रो राम्रो खानेकुरा होइनन् । यसले युरिक एसिड बढाउँछ, बाथ रोग लगाउँछ । नेपालीहरु यस्ता छन् जे खाएर स्वस्थ भईन्छ, त्यही खादैनन् । जे खानु हुँदैन, त्यही खान्छन् । चिनी नै चिनी भएको चियामा बिस्कुट चोपेर खान्छन् । त्यो बिस्कुट र चिया खाएर कति हड्डी खियिएको छ, उनीहरुलाई मतलब छैन । अमृत समान गेडागुडी र सागपात खान नहुने, सिन्की, गुन्द्रुक खान हुने प्रवृति हामी माझ छ । युरोप, अमेरिकामा, उत्तरअमेरिकामा घाम लाग्दैन । किनभने त्यो ईक्वेडर भन्दा धेरै माथि रहेको छ । भिटामिन डी पैदा गर्ने किरणहरु त्यहाँ पाइन्दैन, स्वच्छ बातावरण छैन, पानी छैन । हामीलाई त प्रकृतिले दिन सक्ने सबै कुरा दिएको छ तर ती जडिबुटी, स्वाच्छ हावाको हामी उपयोग गर्दैनौ । यी भनेका फ्रिमा पाईने औषधी हुन । घामले भिटामिन डी दिन्छ । यो सिधै छालामा पुग्नुपर्छ । एउटा बिदेशी घाम ताप्नको लागि लाखौं खर्च गरेर क्यारिबियन कन्ट्री जान्छ, क्युबा जान्छ तर हामीलाई त्योसँग मतलब छैन । नेपालमा जताततै घाम लाग्छ । हामीलाई त सन स्क्रिन लोसन लाउनु छ, छाता ओढ्नु छ । मसँग यस्ता बिरामी छन जसको ५०/६० बर्षको उमेरमा ढाँडका ६/७ वटा हड्डी भाचिएको छ । हामीहरुले हरेक तरिकाले मेरुदण्डलाई यातना दिईरहेका छौ । थोरै समय मेरुदण्डले आरम पाउनुपर्ने त्यो पनि पाउदैनन् । रोकथाम उपयुक्त जीवन शैली र खानपान रोकथामको पहिलो विधि हो । मेरुदण्ड दुख्न थालेपछि लगत्तै जाँच गराउँनुपर्छ । रोग लागे लगत्तै जचाँउदा उपचार सरल हुन्छ । जतिपछि भयो उपचार त्यति नै बढी जटिल बन्छ । १० वर्ष लामो मेरुदण्डको रोग पनि निको हुन्छ । फरक यति हो कि समय अवधि जति बढ्छ त्यति नै रोग निको हुने सम्भावना कम हुँदै जान्छ । वास्तवमा अमेरिका, बेलायतको डाटा हेर्न हो भने सामाजिक सुरक्षा कोषको रकम ब्याक पेन, स्पाइनल पेन उपचारमा खर्च भएको छ । त्यसैले त्यहाँ सरकारले आँफै बच्चादेखि नै प्रशिक्षण दिने गर्दछ । हरेक ब्यक्ति स्पेसल हुन्छ । हरेक व्यक्तिलाई छुट्टै खानाको जरुरत पर्दछ । उसको सबै इतिहास बुझेर मात्रा उसले के खाने के नखाने भन्ने निर्णय गर्नुपर्छ । एउटा डाक्टरले यस्तो सबै चिज हेर्दैन । एउटा दबाई लेखिदिन्छ । नामै त दबाई, यसले दबाईराख्छ । यसलाई औषधी नै बनेको छैन जसले पूर्णरुपमा ठीक पार्छ । जबकी कारण आँफै भित्र छ भने कसरी अर्कोले ठीक गराउन सक्छ ? त्यसैले यसको सबैभन्दा मुख्य उपचार भनेको बिरामीलाई शिक्षित गराउने हो । तर जब बिरामी यो रोगको बारेमा अनविज्ञ हुन्छन, उनीहरु उपचार गराईरहन्छन् । तर जीवनशैली परिवर्तन नगरेसम्म केही हुने वाला छैन । त्यही भएर बच्चा बेलादेखि नै यस विषयमा ज्ञान दिन जरुरी छ । विद्यालयको पाठ्यक्रममा यस बिषयलाई राख्न एकदमै जरुरी छ । बस्ने डेस्क, बेन्च कस्तो राख्ने, कतिसम्मको भारी ब्याग बोक्ने किनभने यसले पनि ब्याक पेन गराईरहेको छ । हामीले यस विषयमा निःशुल्क स्वास्थ्य क्याम्प गर्दै आएका छौं । हामीकोमा उपचार गर्न आउने सबैलाई सबै कुरा सिकाएर मात्र पठाउँछौ । ब्याक पेन लिएर आएपछि हाम्रो अस्पतालमा एउटा किताब किन्नै पर्छ जसमा हामीले मेरुदण्ड सम्बन्धी सबै कुरा राखेका छौ । त्यसले पनि नभएर अहिले हामी आउनुहुने सबैलाई हाम्रो यूटुबको भिडियो जसमा सबै कुरा सिकाईएको छ त्यो हेर्न आग्रह गर्छौ । नेपालमा स्वास्थ्य मन्त्रालय भन्ने ठाउँ नै छैन यहाँ त केवल रोग मन्त्रालय मात्रै छ । किनभने स्वास्थ्य दिनलाई प्रयास नै गरेको छैन । आजसम्म ९९ प्रतिशत बजेट सबै रोग नियन्त्रणमा जान्छ । त्यसैले त्यसलाई रोग नियन्त्रण विभाग भन्दा केही फरक पर्दैन । स्वास्थ्य मन्त्रालय छुट्टै बनाउन पर्छ जसले स्वास्थ्य दिनलाई मेहेनत गरोस । स्वास्थ्य कसरी दिने । रोग लागेपछि कताबाट स्वास्थ्य आउँछ त्यसपछी त केवल व्यवस्थापन आउँछ । त्यहीभएर स्वास्थ्य मन्त्रालय नेपालमा छैन र यो नयाँ बनाउन जरुरी छ । (स्पार्क हेल्थ होम हस्पिटलका संस्थापक निर्देशक तथा  व्याकपेन एक्पर्ट पौडेलसँग गरिएको कुराकानीमा आधारित)