सेयरमा लगानी गर्नुभन्दा बचतमा दोब्बर फाइदा, मोलमोलाई गर्नेलाई उपहार पनि
लेखक सेयर बजार ध्वस्त हुन लाग्यो भनेर सेयर बजारमा हाईक्राई भईरहेको छ । केही लगानीकर्ता नेप्सेको दैलोमा आमरण अनसन बसेका छन् । अनसनलाई लगानीकर्ताहरुको एउटा तप्काले स्वभाविक मानेको छ, राम्रो प्रयास ठानेको छ । तर, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो कार्यलाई ‘अवाञ्छित’ गतिविधिको संज्ञा दिएको छ । वास्तविकता नेप्सेमा उतारचढाब जारी छ तर सेयर बजार ध्वस्त भईरहेको छैन । खराब कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । राम्रा कम्पनीको सेयर मूल्य स्थीर छ, केही कम्पनीको मूल्य बढेको पनि छ । गत एक वर्षमा हिमालयन डिस्ट्रलरीको सेयर मूल्य प्रतिकित्ता ९२६ रुपैयाबाट १५२० रुपैयाँसम्म पुग्यो । जान्ने बुझ्नेले मालामाल कमाए । राम्रा कम्पनीको सेयर मूल्य अहिले पनि महँगो छ । नेप्सेका अनुसार मंगलबार युनिलिभर नेपालको सेयर प्रतिकित्ता २३ हजार ४०२ रुपैयाँमा कारोबार भयो । राष्ट्रिय बीमा कम्पनी सेयर प्रतिकित्ता ९ हजार २२० रुपैयाँमा कारोबार भयो । जनउत्थान सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ५८९ रुपैयाँमा किनबेच भयो । नागरिक लगानी कोषको सेयर १ हजार ६१० रुपैयाँमा किनबेच भईरहेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर प्रतिकित्ता १ हजार ५८० रुपैयाँमा करोबार भईरहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता १ हजार २४२ रुपैयाँमा कारोबार भईरहेको छ । उल्लेखित कम्पनीहरु समूहगत प्रतिनिधि मात्र हुन् । नेप्से ११६८ अंक हुँदा धेरै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११६९ रुपैयाँ भन्दा माथि छ । अंकित मूल्य १०० भएको तर बजार मूल्य त्यो भन्दा पनि कम भएका कम्पनीहरु पनि प्रशस्त छन् । छ्याङदी हाइड्रोको ९८ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ९७ रुपैयाँ, गोर्खा फाइनान्सको ९८ रुपैयाँ, जेविल्स् फाइनान्स ९७ रुपैयाँ, खानीखोला हाइड्रोपावरको ९६ रुपैयाँ, नेशनल हाइड्रो पावरको ७० रुपैयाँ, रिडी हाइड्रोपावर ९८ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९७ रुपैयाँमा झरेको छ । संसारमा परोपकारी मान्छेभन्दा ठग मान्छे धेरै हुन्छन् । राम्रा कम्पनी भन्दा खराब कम्पनी धेरै हुन्छन् । नेप्सेमा सूचिकृत २१२ कम्पनी मध्ये खराब कम्पनीहरुको सूचि बनाएर, तिनको मूल्य हेरेर सेयर बजार ध्वस्त भयो भन्नु आधा भरी पानी भएको गिलासलाई रित्तो भन्नु जस्तै हो । नेप्से भन्दा व्याजदर वृद्धि उच्च विगत एक वर्षमा नेप्से अधिकतम १४६७ र न्यूनतम १११८ अंकको बीचमा तलमाथि गरिरहेको छ । यहि अवधिमा निक्षेपको व्याज १० देखि १३.५० प्रतिशतको बीचमा तलमाथि भईरहेको छ । प्रतिशतमा हेर्दा नेप्से बढीमा २३ प्रतिशतले तलमाथि भएको छ तर व्याजदर ३५ प्रतिशतले तलमाथि भएको छ । नेप्से भन्दा उच्च दरमा व्याजदर घटबढले बैकिङ क्षेत्रमा हाइक्राई छ । पुसको ठण्डिमा पनि बैंकका उच्च व्यवस्थापकहरु खलखली पसिना चुहाएर काम गर्दैछन् । ऋणीहरुको हालत झनै खराब छ । उच्च व्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्नेको भ्यालु लागभग माटो सरह भईसकेको छ । यस परिवेसमा केही लगानीकर्ताहरु आमरण अनसनमा बस्न पुगेका छन् । बैंकमा बचत गर्दा तीन गुणा फाइदा नबिल बैंकले ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंगलबार बैंकको सेयर मूल्य ८५८ रुपैयाँ छ । अहिलेको मूल्यमा नविल बैंकको सेयर किन्नेले ३.९४ प्रतिशत प्रतिफल पाउने छन् । नविल बैंकको त्यहि सेयर आजको मूल्यमा बेचेर नविल बैंकमै मुद्दती खातामा राख्ने हो भने १३.५० प्रतिशत प्रतिफल पाउने छन् । नविलको सेयर किन्नु भन्दा नविल बैंकमा नै निक्षेप राख्नु ३४२ प्रतिशत बढी प्रतिफल पाउनु हो । नविल मात्र होइन, नेपाल टेलिकमको सेयरले दिने प्रतिफल भन्दा हिमालयन बैंकले दिने मुद्दती व्याज दोब्बर छ । अपि पावर कम्पनीको सेयरमा गरिएको लगानीले दिने प्रतिफल भन्दा कुमारी बैंकले दिने व्याज ३५० प्रतिशत बढी हुन्छ । समग्रमा सेयरमा लगानी गर्ने लगानीकर्ताले पाउने प्रतिफलभन्दा मुद्दतीमा राख्नेले दोब्बरभन्दा बढी प्रतिफल पाइरहेका छन् । साथमा उपहार पनि अर्को भित्री कुरा पनि छ, जुन बाहिर आएको छैन । केही बैंकहरुले ठूला निक्षेपकर्तालाई व्याज मात्र होइन उपहार पनि दिन्छन् । करोड रुपैयाँभन्दा बढी बैंकमा बचत राख्न सक्ने व्यक्ति वा संस्थाका कार्यकारी प्रमुखले अतिरिक्त लाभ पाउन थालेका छन् । निक्षेपकर्ताको आवश्यकता अनुसार मोवाइल, टिभी, एसी, फर्निचर, सुट लगायतका सामाग्रीहरु बैंकले उपहार दिन थालेका छन् । विल बैंकको नाममा काटिन्छ । बैंकले आन्तरिक प्रयोग वा व्यापार प्रवद्र्धन शिर्षकमा खर्च देखाउँछ । सामान निक्षेपकर्ताले उपहार स्वरुप सित्तैमा पाउँछ । उपहारमा लाग्ने कर पनि तिर्नु पर्दैन । यतिसम्म राणा, शाह लगायत नेपालका कुलिन वर्ग जो करोडौ रुपैयाँ बैंकलाई निक्षेप दिन सक्छन्, उनीहरुको ठूला परिवारिक भोज भतेरको बील पनि बैंकको नाममा कटिन्छन्, बैंकले बिजनेशन प्रमोशन शिर्षकमा खर्च समायोजन गर्छ । केही ठूला कर्पोरेट हाउसले समेत यस्तो भार बैंकलाई बोकाउने गरेका छन् । राष्ट्र बैंकले छानविन गर्ने र प्रतिवेदन सार्वजनिक पनि गर्ने हाे भने वास्तविकता बहिर आउने छ । वित्तीय बजारकाे सुशासनमा पनि त्यसले बल पुर्याउनेछ । बोनस सेयर र भ्रम केही लगानीकर्तामा बोनस सेयरबारे भ्रम छ । बोनस सेयर आउँदै छ, त्यसमा धेरै फाइदा छ । बजार मूल्य ८५८ रुपैयाँ भएको बोनस १०० रुपैयाँमा पाइन्छ । बोनस सेयरपछि मूल्य कति घट्छ भनेर हेक्का राख्न जरुरी छ । नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । बुक क्लोजपछि यस कम्पनीको सेयर मूल्य घट्ने भनेको ५५ देखि ६५ रुपैयाँ मात्र हो । तर ३४ प्रतिशत लाभांश दिने नविल बैंकको मूल्य समायोजन हुँदा ३४ रुपैयाँ मात्र घट्दैन । कम्तिमा १०६ रुपैयाँ देखि ११६ रुपैयाँले बजारमा गिरावट आउने छ । सेयर संख्या बढे पनि त्यसको मूल्य बराबरी हुन जान्छ । विगत तीन वर्षका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब ४५०० बाट ९०० रुपैयाँमा झर्यो । एभरेष्ट बैंकको सेयर प्रतिकित्ता करिब ३४०० बाट ५३६ रुपैयाँमा झर्यो । तर नेपाल टेलिकमको सेयर मूल्य करिव ६०० बाट ७५० रुपैयाँभन्दा माथि गयो । नगद लाभांश दिने र बोनस सेयर दिने कम्पनीको सेयर मूल्यमा देखिएको प्रष्ट उदाहरण हुन् यी । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स वा एभरेष्ट बैंकको वित्तीय अवस्था खराब भएर सेयर मूल्य घटेको होइन । नेपाल टेलिकमको वित्तीय अवस्थामा चमत्कारिक सुधार भएर सेयर मूल्य बढेको होइन । बीमा र बैंकहरुले बोनस सेयर दिदै गए । मूल्य समायोजन हुँदा धेरै मूल्य घट्यो । टेलिकमले नगद लाभांश दियो । मूल्य समायोजनले धेरै मूल्य घटेन । बरु हरेक वर्ष मूल्यले नयाँ उचाई लिँदै गयो । त्यसैले हो पुँजी बजार विकास भएको देशमा कम्पनीले बोनस सेयर घोषणा गर्यो भने कम्पनीको सेयर मूल्य घट्ला तर बढ्दैन । नेपालमा बोनस सेयर होइन, हकप्रद सेयर घोषणा भयो भने पनि मूल्य वृद्धि हुन्छ । भविष्य नि ? निक्षेपमा उच्च व्याज र उपहार आजको फाइदा हुन् । ‘भविष्यमा त सेयर बजारले नै राम्रो पे गर्छ । पैसा निक्षेपमा राखेपछि व्याज मात्र आउँछ, सेयरमा लगानी गरेपछि बोनसबाहेक मूल्य वृद्धिबाट पनि लाभ लिन सक्ने सम्भावना हुन्छ’ तपाईको मनमा यो तर्कले पक्कै बास गरेको छ । नविलले २ वर्षसम्मका लागि, हिमालयन र कुमारी बैंकले ३ वर्षसम्मको लागि मुद्दतिमा १३.५ प्रतिशत व्याज दिएका छन् । एनआईसी एशिया, सानिमा, सिद्धार्थ लगायत बैंकले १० देखि ११ प्रतिशत व्याज तोकेर ७ देखि १० वर्षसम्मका लागि ऋणपत्र जारी गरिरहेका छन्, जुन बिक्री भएको छैन । वाणिज्य बैंकको मुद्दतीमा वा ऋणपत्रमा लगानी गर्नु पूर्ण सुरक्षित हुन्छ । मुद्रास्फिति दर ६ प्रतिशतभन्दा कम हुँदा मुद्दतीको व्याज १३.५ प्रतिशत छ । तैपनि ऋणपत्र नबिकेर, उच्च व्याजदरमा आवश्यकताअनुसार निक्षेप नआएर बैकर्सहरु बढो तनाव बोकिरहेका छन् । बैंकले निक्षेपकर्तालाई दिएको उच्च व्याजदर र त्यसको अवधिले कम्तिमा तीन वर्ष निक्षेपको व्याजदर उच्च हुन्छ भन्ने संकेत गरिरहेको छ । ऋणपत्रको व्याज र त्यसको अवधिले अगामी ७ देखि १० वर्ष निक्षेपको व्याज ९-१० प्रतिशतभन्दा कम नहुने संकेत गरिरहेको छ । बैंकहरुको क्यापिटल एडेक्वसी करिब १५ प्रतिशत छ । त्यसले बैंकहरुले पुँजीलाई पोसाउने गरि लगानी विस्तार गर्न नसकेको संकेत गरिरहेको छ । नेप्से त्यतिबेला १८८१ अंकमा चढेको थियो जतिबेला बैंकहरुले मुद्दतीमा बढीमा ५ प्रतिशत व्याज दिन्थे, बचतमा १ देखि ३ प्रतिशत व्याज दिन्थे । त्यतिबेला सेयरमा लगानीकर्ता कम्तिमा ५-६ प्रतिशत लाभांश पाउँथे । जबसम्म निक्षेपको व्याज र सेयर लगानीकर्ताले पाउने प्रतिफल बराबर नजिक हुुँदैन, तबसम्म सेयरको मूल्य वृद्धिमा आड मिल्दैन । सेयर आपूर्ति राम्रो हुने देखिन्छ । करिब ३५ वटा कम्पनीले हकप्रद सेयर, साधारण सेयर र बोनस सेयर जारी गर्नेछन् अबको दुई वर्षसम्म । नेपाल लाईफ, नेशनल लाइफ, शिखर इन्स्योरेन्ससहित बढीमा ४ वटा कम्पनीले मात्र नगद लाभांश दिनेछन् । नविल, इन्भेष्टमेन्ट, एनआईसी एशिया, हिमालयन, ग्लोबल आईएमई, प्रभु लगायत केही बैंकहरुको क्यापिटल एडेक्वसी टाईट हुँदैछ । उनीहरुले बोनस सेयर दिदै जानेछन् । धेरै बैंकहरु ऋणपत्र जारी गर्न डीलमा बसेका छन् । जलविद्युत र सिमेन्ट कम्पनीहरु, हस्पिटल, दुरसञ्चार, हवाई, पूर्वाधार विकास बैंक जस्ता सेवा प्रदायक कम्पनीहरुले ठूलो परिणाममा साधारण सेयर निष्काशन गर्दैछन् । अबको दुई वर्षसम्म बैंकको व्याज उच्च रहने र सेयर आपूर्ति पनि उच्च रहने सम्भावनाले सेयर मूल्य वृद्धिबाट लिन सक्ने लाभको सम्भावना कम हुन्छ ।
कर्जाको व्याजमा हस्तक्षेप जरुरी छ, निक्षेपको व्याजमा होइन
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ३५ लाख ४४ हजार निक्षेप खाता छन् । १३ लाख १ हजार कर्जा खाता छन् । यो तथ्याङ्क २०७५ भदौ मसान्तको हो । विवाद गर्नु पर्दैन, राष्ट्र बैंकको तथ्याङकमा डुब्लिेकेशन छ । एक व्यक्तिले एक भन्दा निक्षेप खाता खोलेका हुन्छन् । एउटै कम्पनीले एक भन्दा बढी बैंकबाट कर्जा लिएका हुन्छन् । बैंकिङ सुविधा लिनेमा ९४.४८ प्रतिशत निक्षेपवाला छन् र ५.५२ प्रतिशत कर्जावाला छन् । निक्षेपको व्याज वृद्धिले करिब ९४ प्रतिशत बैकिङ् ग्राहक लाभान्वित भएका छन् र कर्जाको व्याज वृद्धि हुँदा करिब ६ प्रतिशत ग्राहकलाई आर्थिक दाहित्व थपिन्छ । तर आम जनताको पक्षमा नीति बनाउने सरकारी अधिकारीहरु बैकिङ् ग्राहक मध्ये ६ प्रतिशतको पक्षमा बोलिरहेका छन् । ९४ प्रतिशत ग्राहकको पक्षमा आवाज बन्द भएका छन् । वर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक मञ्चमा सबैभन्दा बढी जोड दिएर उठाउने विषय हो बैंक चल्ने निक्षेपकर्ताको पैसाले हो । निक्षेपकर्ताको हित र सुरक्षा नियामक निकाय राष्ट्र बैंकको पहिलो प्राथमिकता हो । गभर्नर नेपालको यो विचारमा सबैको सहमति छ । सरकारी अधिकारीहरु, सञ्चारकर्मीहरु, बैंकका लगानीकर्ता, सञ्चालक, उच्च व्यवस्थापन, उद्यमी, व्यापारी सबैले स्वीकार गर्छन् । मंसिर १८ गते जनता बैंकले निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिन घोषणा गर्यो । १९ गतेदेखि माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याज दिन थाल्यो । २० गते कुमारी बैंकले १३ प्रतिशत व्याजमा निक्षेप लिन थाल्यो । अन्ततः व्याज वृद्धिले आयात वृद्धिलाई सघाउँछ । बैदेशिक व्यापार घाटालाई बढाउँछ । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्यालाई झन् जटिल बनाउँछ । २० गते साँझ नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा गभर्नर नेपाल आक्रोशित भए । निक्षेपको व्याजदर बढाएर राष्ट्र बैंकलाई नजिस्काउन चेतावनी दिए । त्यति मात्र होइन, राष्ट्र बैंक मौन नबस्ने जनाउ दिए । त्यहि दिन बिहान मुद्रा बजार र पुँजी बजारमा देखिएको मूल्य अस्थीरतालाई स्थीर बनाउने विधि खोज्न अर्थमन्त्री डा. युवराज खतिवडाले एउटा कार्यदल बनाएका छन् । डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजक रहेको उक्त समितिले काम गर्दैछ । यहि सातामा उसले समस्या समाधानको विधि सिफारिस गर्दैछ । यहि बीचमा उद्योगी व्यापारीहरु भावी नीतिमा आफ्नो प्रभाव छोड्न सक्रिय भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले २० बुँदे सुझाव गभर्नरलाई बुझाएको छ । व्याज वृद्धिको असर निक्षेपको व्याज वृद्धिले कर्जाको व्याज वृद्धि गर्छ । कर्जाको व्याज वृद्धिले उत्पादन लागत बढाउँछ । उत्पादन लागत वृद्धि हुँदा बस्तु तथा सेवाको बिक्री मूल्य वृद्धि हुन्छ । अन्तिममा सर्बसाधारणलाई नै भार पर्ने हो । सरसरर्ती हेर्दा उद्योगीलाई पनि नोक्सान नहुनुपर्ने हो । तर हामीले खुला र प्रतिस्पर्धात्मक बजार तथा विश्वव्यापीकरणलाई भुल्नु हुन्न । नेपालको वित्तीय बजारमा मात्र कर्जाको व्याजदर उच्च हुँदा नेपाली उत्पादनको मूल्य विदेशी उत्पादनको तुलनामा महँगो हुन जान्छ । प्रतिस्पर्धी बजारमा नेपाली उत्पादन महँगो हुँदा विदेशी उत्पादनको उपभोग बढ्छ । नेपाली उद्योग थला पर्छन् । अन्ततः व्याज वृद्धिले आयात वृद्धिलाई सघाउँछ । बैदेशिक व्यापार घाटालाई बढाउँछ । नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्यालाई झन् ठूला बनाउँछ । हस्तक्षेप जरुरी निक्षेपकर्ताले राम्रो व्याजदर पाउँदा सरकारी अधिकारीहरुको टाउको दुःखेको छ र कर्जाको व्याज निर्धारण प्रक्रियामा बैंकहरुले अपनाउँदै आएको गलत अभ्यासप्रति सरोकारवाला सबैले मौन समर्थन जनाउँदै आएका छन् । व्याजदरमा सरकारी हस्तक्षेप जरुरी छ तर निक्षेपमा होइन, कर्जाका व्याजदरमा हस्तक्षप हुनुपर्छ । बैंकिङ क्षेत्रमा भित्रभित्र ठूलो आक्रोश बढिरहेको छ । त्यो आक्रोस सामाजिक सञ्जालमा व्यक्त पनि भईरहेको छ । यस्तो आक्रोश निक्षेपको व्याजप्रति छैन, कर्जाको व्याजदरप्रति आक्रोश बढेको छ । बैंकहरुले हिजो ८ प्रतिशतमा दिएको कर्जाको व्याज १३ प्रतिशत बनाए, ९ प्रतिशतमा दिएको कर्जाको व्याज १४ प्रतिशत बनाए, १० प्रतिशतमा दिएको कर्जाको व्याज १५/१६ प्रतिशत बनाए । समस्याको जड यहिभित्र छ र उपचार पनि यहि खोजी हुनुपर्छ । ९ प्रतिशत व्याज तोकेर १५ वर्षको लागि घर कर्जा दिने । पछि निक्षेपको व्याज बढ्यो भनेर ९ प्रतिशत व्याज तोकिएको कर्जामा १४/१५ प्रतिशत व्याज असुली गर्न थालिएको छ । घर कर्जामा मात्र होइन, सवारी कर्जा, सेयर कर्जा, व्यापार कर्जा, उद्योग कर्जा सबैमा यस्तै भएको छ । जसरी मुद्दती खातामा, ऋणपत्रमा व्याजदर स्थीर हुन्छ त्यसरी नै जति अवधिको लागि ऋण सम्झौतामा भएको छ त्यति अवधिको लागि ऋणको व्याजदर स्थीर राखिनुपर्छ । यहाँँ बैंकहरु प्रोफेशनल भएनन्, ऋणीमाथ जबर्जस्ती गरिएको छ । बैंकहरुले अभ्यास गरेको यस्तो शैली नियन्त्रण गर्न जरुरी छ । राष्ट्र बैंकले यहि हस्तक्षेप गर्नुपर्छ । जसरी मुद्दती खातामा, ऋणपत्रमा व्याजदर स्थीर हुन्छ त्यसरी नै जति अवधिको लागि ऋण सम्झौतामा भएको छ त्यति अवधिको लागि ऋणको व्याजदर स्थीर राखिनुपर्छ । यो विधिमा जाँदा न ऋणिलाई समस्या हुन्छ, न निक्षेपकर्तालाई समस्या हुन्छ । बैंकहरुको नाफा पनि घट्दैन । व्याजदरको अस्थीरताले बैंकका सीईओहरुलाई पनि धेरै टाउको दुखाउँदैन । यसो गर्दा एकदिन अघि मुद्दती खातामा १० प्रतिशत व्याज दिने, भोलिपल्ट १३ प्रतिशत व्याज घोषण गर्ने अभ्यासको अन्त्य हुन्छ । एकै पटक ३० प्रतिशत व्याज बढाउने निर्णय गर्नुपूर्व बैंकहरुले व्याज आम्दानीको स्रोत विश्लेषण गर्न बाध्य हुनेछन् । व्याजदर नियन्त्रण गर्ने विधि अरु पनि हुन सक्छन् । स्प्रेडदर घटाउने, बेसरेट क्यालकुलेशन विधि परिवर्तन गर्ने, निक्षेपको अधिकतम व्याजदर सीमा तोक्ने विधि पनि हुन सक्छन् । तर खुट्टामा काँडो विजेको छ, तोलु कोट्याएर काँडो निस्कदैन । बजारको आवश्कता र वाध्यता पनि हेरिनुपर्छ । आज धेरै बैंकहरुले १३ प्रतिशतभन्दा कम व्याजदरमा कर्जा दिन बन्द गरेका छन् । यति हुँदा हुँदै पनि कर्जाको माग बढेको छ । कर्जाको माग वृद्धिले नै बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमी भएको हो र निक्षेपको व्याज बढेको हो । जतिबेला आर्थिक वृद्धि २/३ प्रतिशत मात्र हुन्थ्यो त्यतिबेला पनि कर्जाको व्याजदर १०/११ प्रतिशत नै हुन्थ्यो । अर्थात आर्थिक वृद्धिदर भन्दा तीन गुणा बढी कर्जाको व्याज देखिन्थ्यो । अहिले आर्थिक वृद्धिदर ६/७ प्रतिशतको बीचमा देखिन्छ । १३/१४ प्रतिशतमा व्यवसायीले कर्जाको माग गर्नु गलत पनि होइन । यस्तो अवस्थामा निक्षेप वृद्धिका लागि बैंकहरुले गरेको सकारात्मक प्रयासलाई सरकारले हस्तक्षेप गर्ने होइन । विगतमा १०, ११ वा १२ प्रतिशत जतिमा कर्जा लगानी सम्झौता भएको छ त्यसमा स्थीर रहन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने हो भने सबैको हित हुने देखिन्छ । तीन महिनाको लागि मात्र होइन, संधैको लागि स्थीर बनाइनु पर्छ ।
भ्रष्टहरू जति सहयोगी होऊन्, ती राष्ट्रद्रोही नै हुन्छन्
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । समुद्रमा पाइने जेलिफिसले कहिलेकाहीँ शंखेकीरालाई आहारा बनाउँछ । कवचभित्र बस्ने हुँदा शंखेकीरा पेटभित्र पनि बाँचिरहेको हुन्छ । पेटभित्र रहँदा शंखबाट मुख बाहिर निकालेर शंखेकीराले जेलिफिसको सम्पूर्ण शरीरलाई भित्रभित्रै खाएर आफू भने हुर्कंदै जान्छ । मुलुकका आन्तरिक शत्रुहरूले पनि शंखेकीरालेझैं नै समाज र राष्ट्रलाई खाँदै जान्छन् र समाप्त पार्छन् । भारतका दार्शनिक पूर्वराष्ट्रपति डा. सर्वोपल्ली राधाकृष्णनको भनाइ अनुसार राष्ट्र बाह्य आक्रमणबाट हैन, आन्तरिक चरित्रको स्खलनले समाप्त हुने गर्छ । सानो गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले सैनिक शक्तिका बलले मात्र शक्तिशाली एवं समृद्ध काठमाडौं राज्यलाई अधीनस्थ गरेका होइनन् । आफू शक्तिशाली भए पनि उपत्यकाका राज्यमा आपसी कलह, घोर भ्रष्टाचार एवं अराजकता व्याप्त थियो । कीर्तिपुरबाहेक कसैले बाह्य आक्रमणका बेला प्रतिकार गर्ने आत्मबल र चाहना प्रदर्शित गरेनन् । फलतः शक्तिशाली उपत्यकाका राज्यहरू त्यतिबेला सानो गोरखाबाट पराजित हुनुपर्यो । यसमा भक्तपुरे राजपरिवारको देशद्रोही चरित्रको योगदान पनि कम थिएन । उपत्यका राजपरिवारका देशद्रोही सदस्यहरूले आफ्नै राज्य समर्पण गरेर तत्कालीन शत्रु पृथ्वीनारायण शाहलाई भरपूर सहयोग गरेका थिए । तर, ती राष्ट्रद्रोहीलाई पृथ्वीनारायणले पछि कडा सजाय दिएर देशनिकाला गरेका थिए । देशद्रोही कुनै पनि राष्ट्रको नागरिक हुन लायक हुँदैनन् भन्ने पृथ्वीनारायणले मजाले बुझेका थिए । भ्रष्टहरू जति सहयोगी होऊन्, ती राष्ट्रद्रोही नै हुन्छन् । सुप्रसिद्ध लेखक शिव खेराले आफ्नो लोकप्रिय पुस्तक फ्रीडम इज नट फ्री को आरम्भमै भनेका छन्, यदि तपाईंकी आमालाई क्यान्सर भएको हुन्थ्यो भने, के तपाईं उनलाई मर्न छाडिदिनुहुन्थ्यो ? हाम्रो मातृभूमि पनि भ्रष्टाचारको क्यान्सरबाट पीडित छिन् । हामी कसलाई पर्खिबसेका छौँ ? मातृभूमि नेपाल पनि भयानक भ्रष्टाचार एवं तस्करीको दुःखदायी अर्थतन्त्रबाट लामो समयदेखि सञ्चालित हुँदै आएको छ । त्यसैले कसैले त्यसमा प्रहार गर्यो कि ठूलो कोकोहोलो मच्चिन थाल्छ । भ्रष्ट र तस्करहरू देशद्रोही हुन् । यिनलाई नियन्त्रण गर्न नसक्ने मुलुक सहजै आतंकवादको धरापमा फस्न पुग्छ । अहिले आतंकवादबाट पीडित मुलुकहरू निश्चित रूपमा भ्रष्टाचार र तस्करीबाट पनि ग्रस्त भएकै छन् । ती गरिबी र बेरोजगारीमा डुबेका हुन्छन् । गरिब नेपाल भ्रष्ट र तस्करको बिगबिगीका कारणले नै लामो समयदेखि भ्रष्टाचार र आतंकवादको चपेटामा परेको हो । देशद्रोही कुनै पनि बेला सक्रिय एवं निस्कृय हुने गर्छन् । मातृभूमिलाई व्यक्तिगत लाभका निम्ति बेच्नेहरू सक्रिय देशद्रोही हुन् । बेचिएको टुलुटुलु हेरी केही नगरी हात बाँधेर बस्ने निस्कृय देशद्रोही हुन् । पहिलो बेइमान हुन्, दोस्रो बेइमान र कायर हुन् । देशद्रोहीकोे छ्यापछ्याप्ती चलखेल भएको मुलुक स्वतन्त्र हुन सक्दैन । भारतका केन्द्रीय सतर्कता आयोगका पूर्वप्रमुख डा. एन भित्तल भ्रष्टाचारविरुद्ध प्रख्यात एवं सम्मानित योद्धा मानिन्छन् । डा. भित्तलका अनुसार भ्रष्टाचारका पाँच खेलाडी हुन्छन् । नम्बर एक नेता अर्थात् भ्रष्ट राजनीतिकर्मी, दुई बाबु अर्थात् भ्रष्ट कर्मचारी, तीन लाला अर्थात् उद्योगी(व्यापारी, चार झोला अर्थात् एनजिओ र पाँच दादा अर्थात् अपराधी । शासन व्यवस्थाको स्वच्छताका लागि यी पाँच भ्रष्टाचारका खेलाडीविरुद्ध एकैसाथ संयोजित युद्ध छेड्नुपर्छ । डा. भित्तलकै अनुसार पाँच कारणबाट शासन व्यवस्थामा भ्रष्टाचारले मलजल पाउँछ । ती नम्बर एक सेवावस्तुको अपर्याप्तता, दुई लालफिताशाही एवं विलम्बता, तीन पारदर्शिताको कमी, चार कानुनी कमजोरी, र पाँच भ्रष्टतत्त्वहरूबीच एक(अर्कालाई जोगाउने आपसी साँठगाँठ हुन् । यस्ता चरित्र र पात्र भ्रष्टाचारविरुद्धको युद्धका विषय हुनुपर्छ । इमानको अभाव भ्रष्टाचार हो । भ्रष्टाचार र अन्यायको मूल स्रोत खराब शासन हो । सार्वजनिक स्रोतको व्यक्तिगत उपयोग भ्रष्टाचार हो । अयोग्यता एवं भ्रष्टाचार लुकाउने अनुकूल थैलो अपारदर्शिता हो । भ्रष्टाचार राष्ट्रविरोधी, विकासविरोधी र गरिबविरोधी हुन्छ । भ्रष्टाचार व्याप्त राष्ट्रमा राष्ट्रियता र राष्ट्रिय सुरक्षा थिलथिलो परेको हुन्छ । तस्करतन्त्र र अन्तर्राष्ट्रिय आतंकवादीहरूको सुरक्षित स्वर्गस्थल बन्न पुगेको हुन्छ । भ्रष्टाचार विकास विरोधी भएकाले नै खर्बौं रुपैयाँ वैदेशिक सहयोगको खोलो बगाए पनि नेपालको आर्थिक विकास भएन । यो गरिब विरोधी भएकाले जति बजेट खन्याए पनि नेपालमा गरिब र बेरोजगारको संख्या बर्सेनि घटेन, बरु बढ्दै गयो । राजतन्त्र, गणतन्त्र, समाजवाद, साम्यवाद, लोकतन्त्र, जनगणतन्त्र, जनवादीतन्त्र वा जस्तोसुकै राजनीतिक प्रणालीमा पनि भ्रष्टाचारको संक्रमण समान रूपले हुन सक्छ । राजनीतिक प्रणाली र भ्रष्टाचारबीच प्रत्यक्ष सम्बन्ध छैन । भ्रष्टाचार निर्मूलनका निम्ति कुनै राजनीतिक व्यवस्था पर्खिरहनु पर्दैन । प्रतिबद्धतालाई प्रविधिको प्रयोगसाथ कार्यान्वयन गर्ने कला, विज्ञान, व्यवस्थापन सीप, उपयुक्त संस्था र सुयोग्य जनशक्तिको दरकार हुन्छ । समाजमा भ्रष्टाचार प्रतिको हेराइ व्यक्तिगत मूल्य, समाजमा स्थापित मूल्य प्रणाली, र मुलुकको शासनप्रणालीले निर्धारित गरेको हुन्छ । घरपरिवारको संस्कार, शिक्षादीक्षा, मातापिता र गुरुगुरुमाको प्रभावले व्यक्तिको मूल्यप्रणालीलाई रूप दिएको हुन्छ । असल संस्कारयुक्त व्यक्तिमा इमानको स्तर पनि उच्च हुन्छ । आदर्श समाज(सुधारक, सच्चरित्र राजनीतिज्ञ वा धार्मिक नेताका आध्यात्मिक, सामाजिक वा धार्मिक व्यवहारको सकारात्मक प्रभाव, बुद्धिमत्ता, सिर्जनात्मकता, सामाजिक पुजीबाट समाजको मूल्यप्रणाली स्थापित भएको हुन्छ । सामाजिक पुजी पर्याप्त विद्यमान मुलुकमा भ्रष्टाचारको स्तर र परिमाण पनि स्वतः कम हुन्छ । राज्य र शासन व्यवस्थाका उच्च तहमा इमानदार व्यक्ति पुग्नसक्ने शासन प्रणाली भएको मुलुकमा भ्रष्टाचारको मात्रा कम हुन्छ । इमानदार व्यक्ति शासनको आसनमा पुग्न नसक्ने राजनीतिक प्रणालीमा कानुन, प्रक्रिया, नियन्त्रण प्रणाली स्वतः भ्रष्ट हुन्छ । भ्रष्टाचारतन्त्रबाट लाभान्वित वर्गको हातबाट शासनको बागडोर नहटेसम्म भ्रष्टाचार नियन्त्रण असंभव हुन्छ । भ्रष्टाचारीहरू आफैं सच्चिँदैनन् । तिनलाई शासनको मैदानबाट हुत्याउनुपर्छ । बोका आफैंले मलाई बलि चढा भन्दैन । सन् १९९३ मा बम्बईमा भएको भयानक विस्फोटनमा तीन सय निर्दोष मानिसको ज्यान गएको थियो । तस्करहरूले भारतीय भन्सार अधिकृतलाई २० लाख रुपैयाँ घुस दिएर शक्तिशाली आरडिएक्स विस्फोटक भित्र्याएका थिए । नेपालमा पनि विभिन्न हतियार र विस्फोटक पदार्थ तस्करीबाटै भित्रिँदै आएको छ । बर्सेनि हजारौँ टन रक्तचन्दन तस्करीबाट अर्बौं खर्बौं रुपैयाँको कालो कारोबार निरन्तर र नियमित दशकौँदेखि भइरहेको हो । यस्ता कालो धन कहाँकहाँ, कसरी उपयोग भएका होलान् ? यसमा कहाँदेखि कहाँसम्मका मानिस साझेदार वा मतियार भए होलान् ? वर्षौंदेखि कालो धन्दामा मतियार हुदै आएका तिनै व्यापारी, सुरक्षा अधिकारी, राजनीतिकर्मी, कर्मचारीकै हातमा शासन प्रशासन रहिरहे मुलुकको भविष्य सुरक्षित एवं निर्मल हुन सक्ला ? भ्रष्टाचारको कारणले विश्व बैंककै एक अध्ययनअनुसार विकासशील मुलुकमा भित्रिने विदेशी सहयोगको १२ प्रतिशत मात्र प्राप्त मुलुकमा खर्च हुन्छ, बाँकी दातामा नै र्फकन्छ । सन् २००५ मा भ्रष्टाचार निर्मूलन गर्ने प्रमुख एजेन्डा साथ पद सम्हालेका विश्व बैंकका अध्यक्ष पाउन उल्फोबित्ज आफैं भ्रष्टाचारका कारण पदमुक्त हुनुपर्यो । भ्रष्टाचारका कारणबाट पर्यावरण ध्वस्त हुन पुग्छ र यसले सबैभन्दा पहिलो सिकार गरिबलाई बनाउँछ । जुन मुलुकमा स्रोतको अभाव हुन्छ त्यहाँका विकास आयोजनाको चयनमा भ्रष्टहरू नै निर्णायक बनेका हुन्छन् । कथित प्राविधिक वा आर्थिक संभाव्यता अध्ययनको बहाना गरेर ठेकेदार, कन्सल्ट्यान्ट, कमिसनखोर, नेता, उच्च प्रशासकहरूले आफूलाई लाभ पुग्ने गरिब विरोधी योजना निर्माण गर्छन् । सामाजिक असन्तुलनको खाडल चौडा हुनपुग्दा शान्तिसुरक्षा जटिलबाट झन् जटिल हुन पुग्छ र सामाजिक अमनचैन खराब हुन पुग्छ । नेपाललाई समृद्ध नेपालमा परिणत गर्न भ्रष्टाचारप्रति निर्मम गर्नु प्रहार प्रथम र महत्त्वपूर्ण कार्य हो । विगतका भ्रष्टाचारको आहालमा पौडी खेल्दै आएका तिनै नेता, कर्मचारी, उद्योगी(व्यापारी, बुद्धिजीवी, पेसाधर्मीकै भरमा यो कार्य पूरा हुने आशा गर्नु महाभूल हुनेछ । यो काम ती राजनीतिक दल र कर्मचारी, जसले हिजोको भ्रष्ट आहालमा पौडी खेलेका छैनन्, ती युवा वर्ग जो भ्रष्टाचारको ढलबाट अझै गुज्रिसकेका छैनन्, ती प्रतिबद्ध नैतिकवान् राष्ट्रप्रेमी पत्रकार, बुद्धिजीवीहरू जो असंदिग्ध, स्वच्छ, निर्मल छन्, तिनका बीचको सक्रिय एवं समन्वयात्मक सहकार्यबाट मात्र सफल हुनेछ । राष्ट्र नागरिकको पहिचान हो । राष्ट्र छैन, मानिसको पहिचान छैन । मानिसको पहिचानका लागि राष्ट्र जीवित, जीवन्त, समुन्नत र समृद्ध हुनुपर्छ । भ्रष्टाचारमुक्त मुलुकले मात्र अन्तर्राष्ट्रिय प्रतिष्ठा र पहिचान पाउन सकेको हुन्छ । भ्रष्टाचार वित्तीय एड्स रोग हो । एड्स रोगीमा छुद्र संक्रमणलाई पनि प्रतिकार गर्ने सामर्थ्य रहँदैन । नेपाल देश द्रोहीहरूको बदनाम मुलुक बन्दै जानुको कारण यही भ्रष्टाचार एवं तस्करीको एड्स रोगले गाँजेकाले हो । त्यसको प्रतिकार हुन नसकेकाले हो । सित्तैमा केही पाइन्न, स्वतन्त्रता त झन् के को सित्तैमा पाइन्छ र ? बितेको पुस्ताले थुपारेको भ्रष्टाचारको फोहरमैलाका कारण मौलाएको तस्करीको अर्थतन्त्रमा टिकेको यो मुलुक अहिले जति पराधीन बन्ने डीलमा पुगेको भए तापनि सुनौलो नेपालको भविष्य निर्माणार्थ् त्यस फोहरलाई सफा गर्ने दायित्व र चुनौतीलाई वर्तमान नयाँ पुस्ताले बेहोर्नुको विकल्प छैन । जे हुनु थियोे, सो भयो । अहिले त समृद्ध नेपालको सपनालाई विपना बनाउने दायित्व इतिहासले नयाँ पुस्ताको काँधमा बिसाइसकेकोे छ । आगे जो नयाँ पुस्ताको इच्छा । महान् अमेरिकी वैज्ञानिक इन्जिनियर चार्ल्स किटरिङ भन्छन्, मेरो रुचि भविष्यमा मात्र छ । किनभने, मैले मेरा बाँकी सारा जीवन त्यहीँ व्यतीत गर्नु छ । अब विगतलाई सरापेर समय खेर फाल्नु बुद्धिमानी होइन ।