व्यवसायमैत्री कानुनी सुधारः वाणिज्य कानुनको अपराधमुक्तिकरणको आवश्यकता

नेपाल उद्योग परिसंघले मुलुकको औद्योगिक विकास तथा आर्थिक समृद्धिका लागि सरकारलाई तथ्यमा आधारित नीतिगत सुझाव दिँदै आएको छ । औद्योगिक विकासलाई तीव्रता दिन, लगानीकर्ताका लागि अनुकूल वातावरण सिर्जना गर्न तथा रोजगारीका अवसर विस्तार गर्न विभिन्न कार्यक्रम तथा नीतिगत संवाद, सुझाव तथा अनुसन्धानको माध्यमबाट परिसंघले आर्थिक विकासको वातावरण निर्माणमा सहजीकरण गर्दै आएको छ । मुलुकको समग्र आर्थिक विकासका लागि अनुकूल कानुनी व्यवस्था पहिलो सर्त हो । त्यसैले मुलुकको समग्र औद्योगिक र आर्थिक प्रणालीलाई प्रभावकारी बनाउन, उत्पादनशील क्षेत्रमा नवप्रवर्तनको प्रवर्द्धन र उद्यमशीलता अभिवृद्धिका लागि विभिन्न ऐन, नियम तथा कानुनी प्रक्रिया व्यवसायमैत्री बनाउनुपर्छ ।  वर्तमान कानुनी व्यवस्थाले औद्योगिक क्षेत्रका नयाँ चुनौतीहरूलाई समेट्न नसक्दा आर्थिक गतिविधिमा अवरोध सिर्जना भइरहेकाले अर्थतन्त्रसँग सम्बन्धित विद्यमान पुराना एवं असान्दर्भिक कानुनहरूमा सुधार आवश्यक छ ।  त्यसैले, विद्यमान कानुनी व्यवस्थालाई आधुनिक परिवेशअनुसार र समय सान्दर्भिकताअनुसार परिमार्जन गर्दै औद्योगिक वातावरण सहज बनाउन तथा उत्पादनशील क्षेत्र र दीगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न परिसंघ निरन्तर क्रियाशील छ । हाल नेपालमा वाणिज्य कानुनको अपराधमुक्तिकरणको आवश्यकता आजको व्यावसायिक परिवेशमा सान्दर्भिक बनेको छ ।  विशेषगरी वाणिज्य कानुनहरू व्यवसायी, लगानीकर्ता र उद्यमीहरूका लागि सहज, स्पष्ट र अनुकूल रहनुपर्छ भन्ने मुल मान्यतालाई नेपाल उद्योग परिसंघ सदैव अनुशरण गर्दछ । हाल नेपालमा व्यावसायिक क्रियाकलापलाई नियमन गर्ने व्यवस्था गरिएका केही कानुनी प्रावधानहरूलाई अनावश्यक रूपमा फौजदारी कसुरअन्तर्गत राखिएको छ ।  साथै हाल प्रस्तावित विधेयकहरूमा पनि वाणिज्य क्रियाकलापहरूमा समेत कैद सजायका व्यवस्थाहरू राखिएका छन् । फलस्वरुप, व्यवसायी एवं उद्यमीहरू अनावश्यक कानुनी जोखिम तथा अन्योलमा परिरहेको गुनासो उद्योगी व्यवसायीहरूले गर्दै आएका छन् । यसैगरी, विशुद्ध व्यावसायिक सिलसिलामा उत्पन्न हुने विवादहरूमा व्यक्तिगत प्रतिशोधयुक्त भावनाबाट अभिप्रेरित भइ कानुनको अनुचित प्रयोगको प्रचलनमार्फत उद्योगी व्यवसायीहरूको स्वतन्त्रता पूर्वक व्यापार व्यवसाय संचालन गर्न पाउने हकमा आघात पुर्याउने बदनियतयुक्त कार्य समेत बढ्दै गइरहेको उदाहरण नेपालमा प्रशस्त भेटिन्छन् ।  यसै परिप्रेक्षमा कानुन सुधारको आवश्यकता महसुस गर्ने तर सुधारका लागि पहलकदमी लिन ढिलाइ भइरहेको महसुस परिसंघले गरेकाले सरकारलाई कानुन सुधारका लागि सहयोग गर्ने अभिप्रायले यो प्रतिवेदन प्रस्तुत गरेका हौं। यस अध्ययन प्रतिवेदनले नेपालमा व्यावसायिक गतिविधिहरूलाई गैर-आपराधिक रूप दिनुपर्ने कारणहरूलाई गहन रूपमा विश्लेषण गरेको छ ।  वाणिज्य क्षेत्रलाई नियमन गर्ने कानुनहरूमा भएका कैद सजायका व्यवस्थाहरूमध्ये केही अनावश्यक कैद सजायहरूलाई पुनरावलोकन गरी व्यवसायमैत्री कानुनी संरचना विकास गर्ने कार्य आजको मुल आवश्यकता हो भन्नेमा परिसंघ स्पष्ट छ । यस अध्ययन प्रतिवेदनले वाणिज्य क्रियाकलापहरूको सञ्चालनको क्रममा हुने गरेको कार्यहरू मध्ये विशेषतः व्यक्ति, समाज र वातावरणलाई मनसायपूर्वक हानी-नोक्सानी नपुर्‍याउने कार्यहरूलाई कैद सजायको दायराबाट हटाउनुपर्ने आवश्यकता उजागर गरेको छ ।  नेपाल जस्तो उदाउँदो अर्थतन्त्र भएका देशका देशको लागि वाणिज्य कानुनको अपराधमुक्तिकरणले नयाँ लगानी भित्र्याउने, व्यवसायको वातावरण सुधार गर्ने, व्यवसायीहरूलाई कानुनी अनिश्चितताबाट मुक्त गर्ने लगायतका महत्वपूर्ण योगदान दिन सक्छ ।  यस प्रतिवेदनले कानुन तथा नीति निर्माणको तहमा रहने नेपाल सरकारको सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग तथा मार्गनिर्देशन प्रदान गर्ने विश्वास नेपाल उद्योग परिसंघले लिएको छ ।  कानुनका विज्ञ, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकाय एवं व्यक्तिहरूसँगको गहन छलफल, विषयविज्ञको राय-सुझाव, छिमेकी भारत तथा अन्य मुलुकका कानुनहरूको अनुसन्धानात्मक अध्ययनको निष्कर्षबाट मुलुकको विद्यमान वाणिज्यसम्बन्धी क्रियाकलाप नियमन गर्ने कानुनहरूमा भएका केही कैद सजायको व्यवस्थाहरूलाई जरिवानामा रूपान्तरण गर्ने तथा केही कार्यविधिगत त्रुटिहरूलाई अनावश्यक रुपमा कसुरको रुपमा परिभाषित गरी कैद सजायको व्यवस्था गरिएकोमा उक्त कार्यहरूलाई कसुरको दायराबाट हटाउन यस प्रतिवेदनले सिफारिस समेत गरेको छ । यस प्रतिवेदनमार्फत मुलुकको विद्यमान वाणिज्य कानुनी व्यवस्थाको अपराधमुक्तिकरणबाट समग्र व्यावसायिक वातावरणमा सुधारमार्फत आर्थिक विकासमा टेवा मिल्ने परिसंघको ठहर छ ।  समग्र आर्थिक विकासलाई टेवा प्रदान गर्न यो प्रतिवेदनलाई नेपाल सरकारले गम्भीर रूपमा लिइ विद्यमान वाणिज्य कानुनसँग सम्बन्धित कानुनी व्यवस्थाहरूको अपराधमुक्तिकरणद्वारा कानुनमा सुधार एवं नयाँ कानुन ल्याउन विशेष प्राथमिकता दिने विश्वास परिसंघले लिएको छ ।  (वाणिज्य कानुनअन्तर्गत फौजदारी दायित्व सिर्जना हुनेगरी व्यवस्था गरिएको कानुनी व्यवस्थाहरूको अपराधमुक्तिकरणसम्बन्धी अध्ययन प्रतिवेदनमा प्रस्तुत नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको विचार) 

गभर्नर नियुक्तिमा ‘परीक्षा’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि अहिले प्रधानमन्त्री पद फलामको चिउरा बनेको छ । सत्ता गठबन्धनका लागि सुरुमा प्रमुख दल नेपाली कांग्रेसले निर्वाध र स्वतन्त्र रूपमा काम गर्न दिए पनि पछिल्लो समय ओलीको अराजकता, सुस्त कार्यशैली, देशभन्दा पार्टी र कार्यकर्तालाई महत्त्व र उनको मपाइत्वप्रति दिक्क बन्दै नेपाली कांग्रेस उनको विकल्प खोज्ने कि आफू हावी हुने भन्ने रणनीति बुनिरहेको छ । सुरुवाती दिनमा सरकार र राजनीतिक स्थायित्वका लागि ठूला राजनीतिक दलले गठबन्धन गर्नुपरेको तर्क दिँदै आएका नेपाली कांग्रेसका नेताहरू अहिले खुला मञ्चहरूमा ओलीको आलोचनामात्रै होइन, संघीन आरोप लगाउनुपर्ने स्थितिमा आइपुगेका छन् ।  प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जुन किसिमको कार्यसम्पादन गरिरहेका छन्, त्यसमा सिंगो नेपाली कांग्रेससँगै सत्तासीन दलहरू पनि असन्तुष्ट छन् । यसअघि विभिन्न निकायमा नियुक्तिका लागि भाग खोज्ने प्रवृत्ति र अभ्यासबाट आजित बन्दै राजनीतिक स्थायित्वका लागि गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भएको भनेर तर्क गर्ने नेकपा एमाले र कांग्रेसीहरू अहिले त्यही नियुक्तिको भागबन्डा नमिलेर छुट्टिने कि भन्ने बार्गेनिङको बाण बजाइरहेका छन् । विशेषगरी नेपाली कांग्रेसकै शीर्ष नेता तथा पदाधिकारीहरूले नै सार्वजनिक रूपमै ओलीको आलोचना गरेर उनलाई आमसर्वसाधारण र राजनीतिक वृत्तमा धूमिल पारेर साथ छोड्ने संकेत देखाइरहेका छन् ।  प्रधानमन्त्री ओलीले गलत काम गरे पनि सुरुवाती दिनहरूमा त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको नेपाली कांग्रेस ‘अब यो किसिमले भएन’ भन्दै विकल्प खोज्ने दाउमा देखिएको छ । त्यसको सुरुवात नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले गरेका छन् । सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका थापाले यो पाराले नहुने धारणा राख्नुले पनि पछिल्लो समय कांग्रेस ओलीको कार्यशैलीप्रति सन्तुष्ट नभएको बुझ्न सकिने आधार पर्याप्त छ ।   ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म भयो, यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई काँध थाप्न सकिँदैन’ भन्ने थापाको अभिव्यक्तिले पनि ओली र कांग्रेसको सम्बन्ध पातलिँदै गएको बुझ्न सकिन्छ । उनको त्यो बोलीलाई कांग्रेसकै अन्य नेताहरूले पनि समर्थन गरेका छन् । ओलीले काम गर्न नसकेको उनीहरूले स्वीकार गरेका छन् ।  विगतका दिनहरूमा सरकारमा सामेल नभएर आफू प्रतिपक्षमै बस्ने धारणा राख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षकै मौका पारेर २०८२ मा नयाँ गठबन्धनको सरकार बन्ने वक्तव्य दिएका छन् । यसले पनि राजनीतिक कोर्स बदलिँदै गएको बुझ्न धेरै गाह्रो छैन । ओलीप्रति कांग्रेसीहरूको असन्तुष्टि सार्वजनिक मञ्चबाटै प्रस्फुटन हुनु, २०८४ सम्म सरकारमा जान्नँ भनेर तराई-मधेश जागरण अभियान थालेका प्रचण्डले पुनः वर्तमान गठबन्धन भत्किएर नयाँ समीकरण बन्न सक्ने धारणा प्रष्ट रूपमा राख्नुले पनि वर्तमान सत्ता गठबन्धन धर्मराएको बुझ्न धेरै टाढा जानु पर्दैन ।  यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिमा कुरा नमिलेर तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएर एमाले र कांग्रेसको गठबन्धन बनेको थियो । त्यतिखेर बिचौलियाहरू हाबी भएको आरोप लागेको थियो । बिचौलियाले ओलीलाई आफ्नो फन्दामा पारेर धितोपत्र बोर्डको अध्यक्षमा आफूले चाहेको व्यक्ति नियुक्त गरेरै छाडेको आरोप अहिलेसम्म सेलाउन सकेको छैन । सोही घटनाको पुनरावृत्ति नेपाल राष्ट्र बैंकमा पनि देखिन डर अन्य राजनीतिक दल, वित्तीय क्षेत्र, वित्तीय क्षेत्रका विज्ञ तथा सरोकारवालाले पनि गरेका छन् । ओलीले पुनः स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाउन सक्ने अनुमान गर्दै सरोकारवालाले यसप्रति चिन्ता र चासो व्यक्त गरिरहेका छन् । मंगलबार दिएको गगन थापाको वक्तव्यले पनि त्यो आशंका र अनुमानलाई थप पुष्टि पार्ने काम गरेको छ ।  ओलीको अराजकता र मपाइत्वको आलोचना गर्दै नेपाली कांग्रेसले पनि विभिन्न निकायको नियुक्तिमा भाग खोजिरहेको छ । नेपाल बीमा प्राधिकरणमा कांग्रेसले आफू निकट व्यक्तिलाई अध्यक्ष बनाएको चर्चा पनि बजारमा छ । नेपाल राष्ट्र बैंकमा पनि कांग्रेसले भाग खोजिरहेको छ । तर, प्रधानमन्त्री ओलीले बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा आफूले रोजेको व्यक्ति नै गभर्नर बन्नुपर्ने अडान राखेका छन् । तर, कांग्रेसले भने आफ्नो भागमा गभर्नर नपरे गठबन्धन नै टुट्न सक्ने चेतावनी र धम्की ओलीलाई सांकेतिक भाषामा दिइरहेको छ । धेरैले मंगलबारको गगन थापाको वक्तव्य यही चेतावनीको एउटा सार भएको बुझेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गभर्नरका लागि आ-आफ्ना उम्मेद्वारको लिष्ट पकेटमा राखेको छ । गभर्नर कसले पाउने भन्ने विषयको निर्क्यौलपछि यी दुई दलबीच ती व्यक्तिहरूमध्ये कसलाई गभर्नर बनाउने भन्ने विषयले स्थान पाउनेछ । दुवै दलले स्वार्थ समूहले बोकेका व्यक्तिलाई गभर्नर बनाउने योजना बुनिरहेका छन् । जसरी नेपाल धितोपत्र बोर्डमा एउटा व्यावसायिक घराना र व्यावसायिक स्वार्थ समूहले बोकेको व्यक्ति अनेक रस्साकस्सी र मुद्दा-मामिलाबीच नियुक्त गरियो, सोही घटना नेपाल राष्ट्र बैंकमा दोहोरिने निश्चित नै बनिसकेको छ ।  अर्थतन्त्र समस्याबाट गुज्रिरहेको बेला, उद्योगी तथा व्यवसायीको मनोबल कमजोर बनिरहेको बेला र सरकारप्रति सर्वसाधारणको दृष्टिकोण र विश्वास गुम्दै गइरहेको बेला सरकारले स्वायत्त र स्वतन्त्र नियामक निकायको छवि निर्माण गरेको नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान, अनुभवी र योग्य व्यक्ति नियुक्त गर्नुपर्ने अपेक्षा धेरैको भएपनि सरकारले भने राष्ट्र बैंकको जिम्मा राजनीतिक निकट तथा स्वार्थ समूहको व्यक्तिलाई दिने तयारी गरेको भन्दै आलोचना समेत हुने गरेको छ । केही सञ्चारमाध्यमले गभर्नर नियुक्तिमा एक अर्बको सेटिङ भइरहेको समाचार पनि सम्प्रेषण गरिरहेका छन् ।  नेपाल विद्युत प्राधिकरणमा राम्रो काम गरिरहेका कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णय नेपाली कांग्रेसलाई मन परेको छैन । १५ दिनदेखि विभिन्न माग राखेर सडकमा रहेका शिक्षकहरुको माग सम्बोधनमा सरकारले देखाएको मौनतामा पनि कांग्रेसको चित्त बुझेको छैन । यिनै विषय र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न काँग्रेसले बैशाख ७ गते केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ । नेपाली कांग्रेसकै नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा बोल्न थालेपछि ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा ओली र देउवाबीच गभर्नरको लागि सहमति भइसकेको दाबी पनि गरिएको छ । यो दाबी सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नै गरेका छन् । ‘प्रधानमन्त्री ओली र देउवाबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ, अब राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुन्छ’ भन्ने उनको भनाइले पनि अब राष्ट्र बैंक योग्य व्यक्तिभन्दा पनि राजनीतिक र स्वार्थ समूहको अखडा बनेको बुझ्न धेरै घोत्लिनु पर्दैन । तर, दशकौंदेखि एउटा स्वायत्त र स्वतन्त्र नियामकको रूपमा काम गर्दै आएको राष्ट्र बैंकमा शीर्ष दलहरूको गठबन्धन रहेकै सरकारले राजनीतिक र स्वार्थ समूहको फन्दामा परेर गभर्नर नियुक्त गर्नु आफैमा लज्जास्पद विषय हो । यदि तपाईं/हामीले अनुमान गरेका स्वार्थ समूहका उम्मेदवार नेपाल राष्ट्र बैंकको गभर्नर बनेमा नेपाली कांग्रेस र नेकपा एमालेले इतिहासको पानामा कालो धब्बाको बीजारोपण गर्नेछन् । विगतका गभर्नरहरूले जोगाएको स्वायत्तताको सान नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तीलाञ्जली दिनेछन् ।  सार्वजनिक भाषणमा प्रष्ट बोलेर उखान-टुक्कामार्फत् सर्वसाधारणलाई मनोरञ्जन दिन माहिर प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ पछिल्लो समय आरालो लागिरहेको छ । पार्टीभित्र पनि उनीप्रतिको सम्मान स्खलित भइरहेको छ । नेकपा एमालेका नेता कार्यकर्ताले उनको खुलेरै आलोचना गर्न नसके पनि अनौपचारिक छलफलमा उनीप्रति आक्रोश पोख्ने गरेका छन् । ओलीकै कारण नेकपा एमाले आलोचित बन्दै गएको विश्लेषण पनि एमालेकै नेता तथा कार्यकर्ताले गर्न थालेका छन् । सर्वसाधारणमा ओलीप्रतिको विश्वास गुम्दै गएको छ । यही समयमा ओलीले स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाउने चेष्टा तथा निर्णयमा गरेका ओलीको मात्रै होइन, सिंगो नेकपा एमाले, नेपाली कांग्रेस, अर्थमन्त्री विष्णु पौडेल र गभर्नर सिफारिस समितिका सदस्यहरू पनि राष्ट्र बैंकको स्वायत्तता चीरहरण गर्ने मतियारका रूपमा पुस्तौं–पुस्ताले चिन्नेछन्/बुझ्नेछन् । राष्ट्र बैंकको गभर्नरको नियुक्ति सत्तासीन ठूला दुई दल, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर सिफारिस समितिको अग्नि परीक्षामात्रै मात्रै होइन, उनीहरू कसका लागि र केका लागि काम गरिरहेका छन् भन्ने विषयको थप प्रमाणित र पुष्टि गर्ने आधारशीला पनि हो । 

बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर

खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ  । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं ।  झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें ।  मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ  । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने ।  उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ?  श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो ।  छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन्  । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् ।  कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो ।        छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ ।  ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्‌नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’  म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्‌नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्‌नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् ।  सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो ।  यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्‌न मन लागेको छ मलाई ।’   मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’