उत्पादनमुलक उद्योगलाई आयकर पाँच प्रतिशत गरौं
जेठ १ गते सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रद्धारा प्रवर्द्धन हुने लगानी कम्पनीलाई प्रवर्द्धन गरिने भनिएको छ । तर अहिलेका मूलभूत समस्या सम्बोधन गरि दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्न बजेटले रुपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । निजी क्षेत्र त्यसको केन्द्रविन्दुमा हुनुपर्छ । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवर्द्धन विशेष योजना मार्फत सुधार थालिनुपर्छ । यसपटक बजेटको आकार नबढाउन हाम्रो सुझाव छ । बजेटको आकार बढाउँदा राजश्व र आन्तरिक ऋण बढाउनुपर्ने चाप सरकारमा पर्नेछ । जसले निजी क्षेत्र हतोत्साही हुने र ऋण दायित्व बढ्न जाने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने छ । राजश्व र खर्चको अनुमान गत वर्षको बजेटमा नभइ वास्तविक खर्चको बढिमा १० प्रतिशत बढाइ खर्च र राजश्व अनुमान गर्नु उपयुक्त हुन्छ । वित्तीय र मौद्रिक नीति मार्फत लगानी बढाउन सुधारको नीति आवश्यक छ । लगानी प्रवर्द्धन दशक आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवर्द्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नुपर्नेछ । देशको क्रेडिट रेटिंग गर्ने सम्पन्न गर्ने नीति तथा कार्यक्रममा घोषणा भएको छ । हामीले नीतिगत सुधार गर्दै गएनौ भने रेटिंगमा हामी पछाडि पर्ने सम्भावना हुन्छ । मन्त्रिपरिषदबाट पारित द्विपक्षीय लगानी सम्झौता कार्यान्वयन गर्नु पर्दछ । सम्भावित लगानीकर्तालाई भिसा शुल्क नलाग्ने गरी कम्तीमा तीन बर्षका लागि वहुबर्षिय भिसा उपलब्ध गराउनु पर्दछ । स्वचालित लगानी स्वीकृत गर्ने व्यवस्थाको प्रभावकारी कानुन र ५ कार्य दिनभित्र व्यवसाय दर्ता गर्ने व्यवस्था गर्नु पर्दछ । भारतीय, चिनियाँ र त्यहाँ रहेका बहुराष्ट्रिय कम्पनी लगायत अन्य सम्भावित लगानीकर्ताहरूसंग निरन्तर सम्पर्कको लागि निजी क्षेत्रमा सम्पर्क सेवा स्थापना गर्नु पर्दछ । हालको एकल विन्दु सेवामा करिब १४ निकाय बस्नुपर्ने हो । एक ठाउँमा आवश्यक कागजात बुझाएपछि सोहि स्थानबाटै कार्य सम्पन्न भई लगानीकर्ता सबै निकाय जानु नपर्ने व्यवस्था गर्नुपर्ने छ। एकल विन्दु सेवा स्वदेशी लगानीकर्ताहरूका लागि पनि खुला गरिनु पर्दछ । मुलुकभर व्यवसायिक वातावरण वातावरण निर्माणका साथै व्यवसायीको मनोबल बढाउन छरिएर रहेको सानो पूँजी एकिकृत गरि ठूला परियोजना, उद्योग कलकारखाना, बन्द भएका सार्वजनिक संस्थान आदिमा लगानी गर्न निजी क्षेत्रद्वारा प्रवर्द्धन गरिने लगानी कम्पनीलाई प्रोत्साहन दिनु पर्दछ । राजनीतिक र कर्मचारीतन्त्रमा स्थायित्वको लागि राजनीतिक नेतृत्व फेरिएपनि सचिव, सह-सचिव, महानिर्देशक लगायतका नीति निर्माण तहमा रहने कर्मचारीहरू कम्तिमा दुई बर्ष एकै ठाउँमा बस्ने व्यवस्था गर्नु पर्दछ । भायवलिटी ग्याप फन्डको पहिचान गरि त्यसको सुविधा दिने व्यबस्था हुनुपर्दछ । संरक्षणवादी नीतिमा सुधार हुनु पर्दछ । उद्यमी नेपाली कार्यक्रम लगानी आकर्षित गरि उत्पादनमूलक उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता बढाउनु अर्को चुनौति हो । उत्पादनमूलक उद्योगको क्षमता विस्तार गर्न सबै चक्रमा बजेटले हस्तक्षेपकारी सहुलियत र सहयोग गर्नु आवश्यक छ । उत्पादन, आयात प्रतिस्थापन र निर्यातको आधारमा सहुलियत दिइने उत्पादनमा आधारित सहुलियत कार्यक्रम पाँच वर्ष संचालन गर्नु पर्नेछ । छुट्टै कार्यविधि बनाएर कार्यान्वयन गर्न सकिने यस कार्यक्रममा हाललाई उच्च मुल्य अभिवृद्धि भएका उत्पादनमूलक क्षेत्र समेटि, सूची बढाउँदै लैजानु पर्नेछ । भारतमा १४ वटा उत्पादनमूलक क्षेत्र समेटि कार्यान्वयनमा आएको यस्तै खाले कार्यक्रममा एक बर्षमै पाँच गुणा थप लगानी भएको छ । आयात प्रतिस्थापन गर्ने उद्योगलाई निर्यात अनुदानको आधा अनुदान प्रदान गर्नुपर्नेछ । औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा दुई तह कम हुनुपर्नेछ । साप्mटाको कारण दुई तह फरक गर्न नसकिने बस्तु पहिचान गरी त्यस्ता कम्पनीहरूलाई अन्य शुल्क तथा सहुलियतहरू दिनु पर्दछ । औद्योगिक करिडोर विशेष कार्यक्रम अन्तर्गत भारतीय सिमादेखि चुरेफेदीसम्मका सडक किनारहरू र आसपासका क्षेत्र तथा अन्य सम्भावित करिडोरमा उद्योग लक्षित विशेष कार्यक्रम ल्याउनु आवश्यक छ । लगानीकर्तालाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न उत्पादनमूलक उद्योगमा लाग्दै आएको आयकर क्रमशः घटाइ पाँच बर्षमा पाँच प्रतिशत विन्दुले कम गरि निश्चित अवधिसम्म नबढने सुनिश्चिता गर्नु पर्दछ । एक सय भन्दा बढि रोजगारी दिने उत्पादनमूलक उद्योग, पर्यटन लगायतका सेवा उद्योग, सूचना प्रविधि उद्योगलाई रोजगार च्याम्पियनको सम्मान सहित आयकरमा न्यूनतम ४० प्रतिशत छुट दिनु पर्दछ । नेपाली उत्पादनमूलक क्षेत्रको कच्चा पदार्थ बिजुली पनि भएकोले उत्पादनमूलक/आयात प्रतिस्थापन गर्ने उद्योगलाई विद्युत महशुलमा पाँच वर्षसम्मको समय सीमा निर्धारण गरी ५० प्रतिशत छुट दिने व्यबस्था हुनु पर्दछ । ह्वीलिंग चार्ज तिरेर उद्योगले सिधै बिजुली खरिद गर्न पाउने व्यवस्था हुनु पर्दछ । उत्पादनमूलक क्षेत्रका उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गर्नु पर्दछ । पूँजीगत लाभकर लगायत अन्य कर विवाद समाधानका लागि न्याय निरुपणको प्रक्रिया छिटो र सहज बनाइनु पर्दछ । उद्योग व्यबसाय बन्द गर्न चाहेमा सहज व्यबस्था गर्नु पर्दछ । बजेटले मौद्रिक नीतिको पनि दिशा निर्देश गर्ने हुँदा वित्तिय क्षेत्रमा रहेको अधिक तरलता निजी क्षेत्रमा प्रवाह हुने नीति ल्याउनुपर्छ । निजी क्षेत्रलाई आकर्षित गर्न कर्जा प्रवाह र उठाउने नीतिमा सुधार आवश्यक छ । पुर्नसंरचना र पुर्नतालिकीकरण लगायत चालु पूँजी कर्जा सम्बन्धि व्यवस्था बैंक र ऋणी दुवैले आपसी सहमतिमा गर्न सक्ने व्यवस्था गर्नुपर्छ । सानालाई सहुलियत कार्यक्रम नेपालमा करिब ८५ प्रतिशत व्यवसाय साना एवं मझौला उद्यमी छन् । नेपालमा उद्यमशीलताको भविष्य सुनिश्चित गर्न लघु, घरेलु एवं साना उद्यमीको स्थापना संचालन र वहिर्गन सहज बनाउन सानालाई सहुलियत कार्यक्रम संचालन गर्नु आवश्यक छ । लघु घरेलु साना एवं मझौला उद्यमीले हाल पाँच भन्दा बढि स्थानमा दर्तामात्रै गर्नुपरेको छ । एकै ठाउँमा दर्ता हुने गरि स्थानीय तहलाई अधिकार दिइनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा लाग्ने कर फरक भएपनि बुझाउने ठाँउ भने एकै हुनुपर्छ । पूर्वानुमानित कर विवरण (डे १) दाखिला गर्ने कारोवारको सिमा १ करोडसम्म विस्तार गरि हालको कर रकम पाँच बर्षका लागि आधा घटाइनेछ । एक देखि पाँच करोडसम्म कारोवारमा आधारित कर लगाउनुपर्ने र करको दर आधा घटाउनु पर्दछ । साना उद्यमीलाई पच्चीस लाख रुपैयाँसम्मको परियोजना कर्जा विना धितो उपलब्ध गराई सो कर्जाको बीमा गराउने व्यबस्था गर्नु पर्दछ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा युरोप लगायत बिकसित मुलुकमा निर्यात गरिरहेका उद्योग बढि प्रभावित हुने हुँदा लक्षित सक्षम उद्यमी कार्यक्रम अन्तर्गत तालिम, बजार एवं वस्तु विविधिकरण, लागत न्युनिकरण र दातृ निकायको एकिकृत सहायता परिचालन गर्नुपर्नेछ । स्वदेशी खाद्य सम्बद्ध उद्योगहरूले अनुमतिका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आवेदन परेको एक हप्ताभित्र निणर्य गरिसक्नुपर्नेछ । सम्भव नभए लिखित कारण सहित जानकारी गराउनुपर्नेछ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न स्थानीय तह र सम्बन्धित बैंक शाखालाई जिम्मेवार बनाइ सुचारु गर्नुपर्नेछ । साना उद्यमीका उत्पादन अनलाइनमार्फत दर्ता नविकरण र बजार खोज्न सहयोग पुग्ने गरि साना उद्यमी पोर्टल संचालन गरि बिक्री वितरणका लागि इ-कमर्श प्लाटफर्मलाई प्रोत्साहित गर्नु पर्दछ । स्टार्टअप नेपाल कार्यक्रम स्टार्टअपको परिभाषा आइसकेको सन्दर्भमा स्टार्टअप नेपाल कार्यक्रम संचालन गरि प्रवर्द्धन गर्नु पर्दछ । निजी क्षेत्रद्वारा प्रवद्र्धित स्टार्टअप नेसन २०३० कार्यक्रम अन्तर्गत विशेष कार्यक्रम संचालन गर्नु पर्दछ । स्टार्टअप उद्यमलाई हाल प्रदान गरिएको पाँच बर्षसम्मको आयकर छुटलाई अर्को पाँच बर्ष पचास प्रतिशत छुट दिइनु पर्दछ । निजी क्षेत्रसंगको सहकार्यमा सबै प्रदेशमा ग्रोथ सेन्टर स्थापना गर्नु पर्दछ । यस आर्थिक बर्षभित्रमा कम्तिमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सय स्टार्टअप, सय लगानीकर्ता कार्यक्रम संचालन गरि निजी क्षेत्रसंग सहकार्य गर्नु पर्दछ । पच्चीस लाख रुपैयाँसम्मको स्टार्टअप परियोजना कर्जा तथा निक्षेप सुरक्षण निगम मार्फत गराई कर्जाको २० प्रतिशत रकम लगानीकर्ताले राखेमा बाँकि रकम बैंकले उपलब्ध गराउने व्यबस्था गर्नु पर्दछ । स्टार्टअप परियोजनामा ठूला उद्यमी वा प्राइभेट भेन्चर क्यापिटलले लगानी गरेमा त्यस्तो लगानी गरिएको रकममा खर्च कटृी गर्ने सुविधा पाउनु पर्दछ । स्टार्टअप पोर्टल संचालन गरि सोही मार्फत व्यवसाय दर्ता, नविकरण र अन्य सहायता सम्बन्धि जानकारी लिन सकिने व्यवस्था गरिनु पर्दछ । प्रविधिबाट समृद्धि कार्यक्रम प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत सेवा व्यापार विस्तार र अन्य उद्योग व्यवसायको प्रमुख उत्प्रेरकका रुपमा बिकास गर्नु आवश्यक छ । सूचना प्रविधिसंग सम्बन्धित निर्यातमूखी फर्म कम्पनीहरूलाई पाँच बर्षसम्म एक प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गर्नु पर्दछ । प्रविधि सम्बद्ध विदेशी कम्पनीहरूलाई लगानी र रोजगारीको आधारमा थप सहुलियत दिइ आकर्षित गर्नु पर्दछ । प्राईभेट इक्विटी र भेन्चर क्यापिटलको व्यवसायलाई सामुहिक लगानी कोष सरहका कर तथा अन्य सुविधा प्रदान पर्दछ । नेपालमा स्वागत छ कार्यक्रम पर्यटन प्रवर्द्धन का लागि शीतल नेपाल लगायतका नेपालमा स्वागत छ कार्यक्रम संचालन गरि पाँच बर्षमा पर्यटन क्षेत्रको योगदान अर्थतन्त्रमा दोब्बर बढाउने गरि देहायका कार्यक्रम संचालन गर्नु पर्दछ । हिलस्टेशनमा निर्माण हुने पर्यटकीय पूर्वाधारसम्म पहुँच मार्ग र बिजुलीको सुविधा प्रदान गर्नु पर्दछ । भारतीय सिमा नजिकका हिलस्टेसनमा स्थापना हुने होटल रिसोर्ट, पोलिटेक्निकल इन्स्टिच्युट, अन्य शिक्षालय, शिक्षण अस्पताललाई पनि पहुँच मार्ग र बिजुलीको सुविधा उपलब्ध गराई पहिलो पाँच बर्ष पुरै र अर्को पाँच बर्ष आयकरमा पचास प्रतिशत छुट दिनु पर्दछ । नेपाललाई विवाह, सभा सम्मेलन पर्यटन गन्तव्यका रुपमा बिकास गर्न पुर्वाधार र प्रवर्द्धनका कार्यक्रम संचालन गर्नु पर्दछ । सभाका लागि साझा नेपाल कार्यक्रम अन्तर्गत सभा सम्मेलनमा भाग लिन आउने प्रतिनिधि पर्यवेक्षकहरूलाई भिसा छुट लगायत अध्यागमनमा सहज सुविधा उपलव्ध गराउनु पर्दछ । निर्यात प्रवर्द्धन विशेष योजना नेपाल विश्व व्यापार संगठनको सदस्य भएयता आयात दश र निर्यात जम्मा तीन गुणा बढेको सन्दर्भमा निर्यात प्रवर्द्धनमा विशेष जोड दिनुपर्छ । त्यसका लागि मुुख्य सबै भन्सार नाकाहरूमा एकिकृत जाँच आईसीपी चौकिस्थापना गरिनु पर्दछ । प्रत्येक आईसीपीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुुसारको प्रयोगशालास्थापना गरिनु पर्दछ । नेपालमा जाँचपास भएका उत्पादनलाई सार्क मुलुक भित्र मान्यता पाउने गरि सम्वाद अगाडि बढाउनु पर्दछ । साफ्टमा यो व्यवस्था छ । विशेष आर्थिक क्षेत्रको भाडादरलाई रु.४ प्रति वर्गमिटर कायम गरिनु पर्दछ । निर्यात क्रेडिट इन्सोरेन्सको व्यवस्था गरिनु पर्दछ । निर्यात पुर्नकर्जालाई सहजीकरण गरि ब्याज अनुदान दिने व्यवस्था हुनु पर्दछ । निर्यातजन्य उद्योगलाई चालु पुँजी कर्जासम्बन्धित बैंक तथा वित्तिय संस्थाले निर्धारण गरे अनुसार लिन पाउने व्यवस्था गर्नु पर्दछ । आयकर ऐन २०५८ को दफा ८८ को बुदा नं.८ बमोजिम ढुवानी सेवा वापतको भाडा भुक्तानीमा २.५ प्रतिशतले स्रोतमा कर कट्टी गरिने प्रावधान परिमार्जन हुनु पर्दछ । कृषि तथा जडीबुुटी उत्पादनहरूको अर्गानिक प्रमाणीकरणकोे व्यवस्था हुनु पर्दछ । उर्जा विद्युत ऐन २०४९ मा जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गर्ने कम्पनीहरूलाई १० वर्षसम्म पूरै तथा १० देखि १५ वर्षसम्म ५० प्रतिशतका दरले आयकरमा छुट पाउने र भ्याट फिर्ता दिने सुविधा २०८२ असार मसान्त भित्र निर्माण पूरा गर्ने कम्पनीहरूले मात्र पाउने व्यवस्था भएकोमा नेपाल भारत बीच भएको सम्झौता अनुसार १० हजार मेगावाट विद्युत बिक्री सम्झौता भएको प्रावधानलाई सार्थक वनाउन पनि यो समय सीमालाई ५ वर्ष थप गरी २०८७ सम्म विस्तार गरिनुृ पर्दछ । रन अफ द रिभर प्रकारका आयोजनाको मात्र निर्माण भइरहदा देशमा जलाशय युक्त जलविद्युत आयोजनाहरूको निर्माणलाई प्राथमिकता दिन आवश्यकता पर्ने जग्गा प्राप्ति, सडकको पहुँच, उच्च भोल्टेज क्षमताको प्रसारण लाइन निर्माणका पूर्वाधारहरू नीजि क्षेत्रलाई प्रदान गर्ने व्यवस्था हुनु पर्दछ ।प्रशारण लाइनहरुको सिघ्र निर्माण नभएको अवस्थामा निजी क्षेत्रवाट निर्माण हुने जलविद्युत आयोजनाहरूको पहुँच मार्ग एवं प्रशारण लाइन निर्माणको लागि आवश्यक वजेटको व्यवस्था गरिनुपर्ने । निजी क्षेत्रलाई प्रसारणलाइनमा खुला गर्नुपर्दछ ।
मनलाई बसमा राख्ने व्यक्ति सफल हुन्छ
शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ । शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । मूलतः विपश्यनाको १० दिने साधना र जीवन विज्ञानका कक्षाहरुमा सहभागी हुँदा योग गुरु रमेश नेपाल र एलपि भानुसँगको प्रवचन तथा जीवन विज्ञान प्रतिष्ठानद्वारा २०७५ सालमा प्रकाशित पुस्तक “समस्या अनेक समाधान एक नामक पुस्तकको अध्ययनबाट प्राप्त ज्ञानले यो आलेख लेख्न प्रेरित गरेको छ । आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारिरीक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरुको सहयोगले आत्मिक रुपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टी गर्ने अभियान जीवन विज्ञानमा रहेको छ । अहंकारबाट ॐकारतिरको यात्रा हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । अहंकारबाट सिर्जित चार शक्तिका रुपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रुपले हामीलाई छद्मरुपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन । सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचाैँ शक्तिका रुपमा ॐकारलाई अवलम्वन गर्न सक्नुपर्दछ । ताकि बाँकी चारवटा शक्तिले पैदा गर्ने खरावीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामिसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाँहि यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररुपी शक्तिलाई ॐकाररुपी शक्तिमा रुपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ । प्रश्न उठ्न सक्छ कि अहमरुपी भारी कसरी बिसाउने रु अहम बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, सङ्गठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ समय गएको पत्तो नै हुँदैन । संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका होलाऔँ तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ । तीन किसिमका फोहर संसारमा नयाँ नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रुप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरिरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरिरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरिरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहोरहरु हामीले शरिरबाहिर निष्काशन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरिरभित्रको फोहोर सम्बन्धित छ । रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयाभह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रुपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ, असल जीवनप्रणालीको अभ्यास आवश्यक छ । समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् । हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलव्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक वेठिक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्मो भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ । खुसी हुने सूत्र चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरु प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरु चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्वन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख । विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँगुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाँही बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ यसको हित हुने काम गर्दै अगाडि वढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ । अन्त्यमा जीवनलाई सार्थक बनाउने मार्ग सिकाउने विभिन्न सिकाइस्थल छन् । बुद्धले सिकाउनु भएको व्यक्तिभित्र जम्मा भएका क्लेश विसर्जन गर्ने विपश्यनाको स्वयम् अभ्यास कलादेखि ओशो रजनिशले सिकाउनुभएको साधनाको विधिसम्म । डा योगी विकासानन्द, डा राजु अधिकारीलगायत थुप्रै साधकहरुले पूर्वीय सभ्यताको प्राचीन भूमि नेपालमा मौलिक योगाभ्यासको चम्किलो उज्यालो छरिरहेका छन् । जीवन विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्र लुम्बिनीमा वृहत चक्र विज्ञान साधनाको शिविर सञ्चालन गरेको छ । जीवन विज्ञान सबै उमेर समूहका लागि साधनाको कोर्ष निरन्तररुपमा सञ्चालन गरिरहेको छ । लामो अनुभव र प्रेरणादायी शैलीयुक्त नेपाली गुरुहरुबाट नेपाली आवश्यकता सुहाँउदो साधना कक्षामा सहभागी भएर, युटुवबाट वा पुस्तकबाट सिक्न र आफुलाई रुपान्तरण गर्ने मार्गमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षाका साथ हरि ॐ । रासस (लेखक नेपाल सरकारका सहसचिव हुन्)
लघुवित्तबाट बैंक ‘एक्जिट’ हुनुपर्छ, घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कहीँ पुगिँदैन
अहिले बैंकरहरू बैंकमा ५/६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भनेर विभिन्न सार्वजनिक छलफलका कार्यक्रमहरूमा बोलेको सुन्छु । बैंकमा पैसा त छ तर कुनै बैंकलाई (कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिर्काइरहेको छ, कुनैलाई पुँजीले त कुनैलाई रिकभरी र कुनैलाई खराब कर्जाले हिर्काइरहेको छ । तपाईंहरूसँग भएको कन्फर्टटेबल पैसा कति हो ? यसको जवाफ बैंकरले दिनुपर्छ । राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशत बनाएको दिन तपाईंहरूको लगानीयोग्य पुँजी कति रहन्छ ? अहिले ७९/८० प्रतिशत सीडी कायम भएको बेला तपाईंहरू गुनासो गरिरहनु भएको छ । सीडी रेसिया बैंकहरूका लागि मेजर विषय पनि होइन । राष्ट्र बैंकले ९० प्रतिशतत सीडी रेसियो कायम गरेर दुनियाँमा कतै नभएको अभ्यास गरेको हो । भोलि राष्ट्र बैंकले सीडी रेसियोलाई ८० प्रतिशतमा झार्यो भने त्यतिबेला अवस्था के बन्छ ? यो अवस्थाको पूर्वमूल्यांकन बैंकरले गर्न सक्नुपर्छ । अर्को, अहिले बैंकरहरू भुक्तानीको कुरा गरिहरेको सुन्छु । सरकारले भुक्तानी गर्नुपर्ने पैसा तिरेन भनेर ३०/४० अर्बको कुरा गरिरहनु भएको छ । यहाँ खर्बको लगानीयोग्यको कुरा पनि आइरहेको छ । निर्माण व्यवसायीले पनि ५०/६० अर्ब रुपैयाँ भुक्तानी नपाएको कुरा उठाइरहनु भएको छ । तर, भुक्तानी माग गरिरहनु भएको छ तर आयोजना सम्पन्न भएको छैन । भोली आयेजना सम्पन्न नहुँदै बिलबिजक बिना भुक्तानी गर्यो भने पनि अर्को समस्या आउँछ । भोलि भुक्तानी दिने व्यक्ति नै जेल जान सक्ने अवस्था बन्न सक्छ । काम सम्पन्न भइसकेका र भुक्तानी पाउनु पर्ने रकम कति हो भनेर एकिन रकम भन्न सक्नुपर्छ । कोरोना बीमाको कुरा पनि त्यस्तै हो । कतिपय भुक्तानी गर्नु पर्ने पैसा पनि छ र नगर्दा हुने पैसा पनि छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी छ । स्वास्थ्य बीमा र कृषिको अनुदानको पैसा पनि दिनै पर्नेछ । त्यसले अर्थतन्त्रमा केही ‘बुष्टअप’ गरे पनि समस्या समाधान भने गर्न सक्दैन । महत्वपूर्ण विषय अहिले कर्जाको माग भएन भन्ने पनि छ । ऋणमाथि ऋण थपेर समस्याको समाधान हुँदैन । हामीले २५/३० लाख मानिसलाई ऋण दिइसक्यौं, अनि समस्या कहाँ भयो ? म भन्छु बैंकहरू लघुवित्तबाट बाहिर जानुपर्छ । एसएमईमै केन्द्रित हुनुपर्छ । बैंकहरूका लागि लघुवित्तको बिजनेस धेरै चल्दैन । अब धितोमा आधारित कर्जामै बैंकहरू जानुपर्छ । सरकारले सबै ठीक्क पारिदियोस् अनि हामी जाऔंला, काम गरौंला भन्ने आशामा बैंकरहरू हुन्छन् । आशामा बस्नु हुँदैन । बैंकहरूले नाफाको थप एक प्रतिशत खर्च गरेर थप परियोजनामा लगानी गर्नुपर्छ । फाइनान्सिङको इनोभेसन गर्नुहोस् । बैंकहरूले सरकारले बनाइदेला र लगानी गरौंला भन्ने आशमा बस्नु हुँदैन । सरकारले पकाइदेखा र म खाउँला भन्ने मानसिकतामा बस्नु हुँदैन । यति काम बैंकले पनि गर्नुपर्छ । बैंकहरु परियोजना फाइनान्सिङमा जानै पर्छ । अन्तर्राष्ट्रिय नेटवर्कलाई प्रयोग गरेर लगानी ल्याउन सहयोग गर्न सक्नुपर्छ । त्यसले बैंकलाई मात्रै होइन समग्र देशलाई टेवा पुग्छ । यस कारण बैंकबाट पनि पहलकदमी पुगेको छैन । सम्पत्तिको मूल्यांकन बढ्दा लोन क्रियसन पनि बढ्छ भन्ने तर्क बैंकरको हुन्छ । कर्जा प्रवाह पनि बढ्छ भन्ने तर्क ठीक छैन । यो बाटो हिँडेर कतै पुगिँदैन । घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कतै पुगिँदैन । हामीले आम्दानी बढाउने विषय र क्षेत्रमा लगानी गर्नुपर्छ । यसले पुँजी निर्माण हुन सक्दैन । बरु पुँजीको जोखिम सिर्जना हुन्छ । हामी आर्थिक मन्दीमा छौं । त्यसबाट माथि जान सकिन्छ । बाहिरी क्षेत्र राम्रो भएको छ भन्ने बहस हुन्छ । तर, सुधार भएको छैन । व्यापार घटेर राम्रो भएको कुरालाई राम्रो मान्न सकिँदैन । दुई वर्षयता देशको व्यापार २२ प्रतिशतले घटेको छ । निर्यात अझै बढी घटेको छ । आयात घट्दा ढुवानीको सेवा घटेको छ । ट्रकको व्यापार घटेको छ । डिजेलको बिक्री भइरहेको छैन । मन्दी आउनुको कारण आयातसँग जोडिएको छ । त्यही आयात घटेको कारण सञ्चिति बढेको हो । यसमा हामीले खुसी मनायौं भने यो उल्टो हुन्छ । त्यस कारण बाह्य क्षेत्रमा सञ्चिति बढेको छ, हामीलाई भुक्तानीको समस्या छैन, त्यति मात्रै हो । धेरै खुसी हुनु पर्ने अवस्था छैन । पर्यटनमा सुधार भएकै हो । तर, जति पर्यटक हामीले भित्र्याइरहेका छौं, त्यसको दोब्बर हाम्रा मान्छे बाहिर गइरहेका छन् । उनीहरूले पुँजी बाहिर लिइरहेका छन् । यसमा पनि खासै खुसी हुनु पर्ने अवस्था म देख्दिनँ । रेमिट्यान्सबाट पैसा बढिरहेको छ । यो पनि आयात कम भएकोले बढी देखिएको हो । आयात बढ्दै गयो भने रेमिट्यान्स कति हराउँछ हेर्दै जाउँला । केही नीगित सुधार गर्न आवश्यक नै छ । उदाहरणका लागि केही लगाउन नहुने ठाउँमै करको नीति लगाइयो । जसले पुँजी बाहिरिएको अवस्था पनि छ । मौद्रिक नीतिमार्फत् चालु पुँजी कर्जामा अझैं खुकुलो गर्नतर्फ ध्यान दिनुपर्छ । कहिले सतप्रतिशत कडाइ गर्ने र कहिले सतप्रतिशत खुकुलो नीति बनाउनुहुँदैन । लोन भ्यालू रेसियो चलायमान बनाउनुपर्छ । व्यवसायीलाई अहिले सास फेर्न दिनुपर्छ । व्यवसाय र बैंकिङ नै जोखिममा पर्ने काम गर्नु हुँदैन । नियमनकारी निकायबाट धरपकड गर्ने नीति बनाउनु हुँदैन । पारदर्शी ढंगबाट जानुपर्छ । एउटा व्यवसायीलाई समात्दा समग्र व्यावसायिक क्षेत्रको मनोबल गिर्छ भने त्यसतर्फ पनि राज्यले ध्यान पुर्याउनु पर्छ । हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामीले आशा गर्नु पर्ने ठाउँ छ । हामी बटमबाट माथि लाग्न थालेका छौं । आर्थिक वृद्धिदर साढे तीन प्रतिशत हुने अनुमान छ । बैंकको कर्जा वृद्धिर ५ प्रतिशत पुग्नै लागेको छ । ब्याजदर घटेको छ । अब बैंकरले तीन वर्षसम्म १० प्रतिशतमा ऋण दिन्छौं भनेर घोषणा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै व्यवसायीमा पनि आत्मबल बढ्छ । (सार्वजनिक कार्यक्रममा राखेको धारणा)